सबैका लागि र सधैंका लागि योग

१. योगको ऐतिहासिक पृष्ठभूमि ः
योग शब्दको उत्पत्ति संस्कृत भाषाको युजिर योगे धातुबाट भएको हो । जसको अर्थ सम्मिलित हुनु वा एक हुनु भन्ने हुन्छ । जीवात्मा तथा परमात्मामा एकीकरण हुनु, मानिसको शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक पक्षको एकीकरण हुनु र व्यक्ति तथा समाजबीच एकीकरण हुनु भन्ने विज्ञान नै योग हो । पतञ्जलिको योगसूत्रका अनुसार योग चित्तवृत्ति निरोधको (योगश्चित्तवृत्तिनिरोधः यो.सू.१ः२) अवस्था हो । भगवत गीताका अनुसार योग दुःख र वेदनाको मुक्तिको अवस्था हो (योग कर्मसु कौशलम्, दुःख संयोगवियोगं योगसंज्ञितम्, समत्वं योगमुच्यते)।
योग दिवसलाई विश्व योग दिवसका नाममा जुन २१ तारिखका दिन विगत ४ वर्षदेखि मनाउने गरिएको छ ।उक्त दिन नेपालमा पनि अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउन केन्द्र, जिल्ला र पालिका स्तरमा समेत विभिन्न समितिहरू गठन भई व्यापक तयारी भएको छ । यसरी अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइने कुराको शुरुवात, योग र योगदर्शनकोबारेमायस आलेखमा प्रकाश पार्ने जमर्को गरिएको छ ।
भारतमा नरेन्द्र मोदी पहिलो पटक भारतका प्रधानमन्त्री भएपछि २७ सेप्टेम्बर२०१४ सालमा योग दिवस सम्बन्धी प्रस्ताव तयार गरी अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्र संघको ६९ औं बैठकमा पेश गरे । यो प्रस्तावलाई सोही दिन १७५ देशले समर्थन गरी इतिहासमै एकैदिनमा यति धेरै समर्थन प्राप्त गर्न सफल प्रस्तावको रेकर्ड समेत राखेको थियो । उक्त प्रस्तावमा योग व्यक्तिलाई प्राचीन परम्पराले दिएकोएक उपहार हो, योगले मस्तिष्क र शरीरलाई जोड्छ, सोंचाइ र कार्यलाई जोड्छ, सबैलाई पूर्ण स्वस्थ बनाउने यो निकै महत्वपूर्णउपागम हो, योग मात्र शारीरिक अभ्यास नभई सम्पूर्ण व्यक्तिको आफ्नोपन, विश्व र प्रकृतिलाई समेत ओगट्ने साधन भएको र यसको वैज्ञानिक रूपमा पुष्टि भैसकेको कुराहरूलाई देखाइ संसारभरका मानिसहरूलाई स्वस्थ हुन वा निरोगी बन्न योग अपरिहार्य भएको कुरा उल्लेख गरिएको थियो । पछि विश्व स्वास्थ्य संगठनले समेत योगलाई असाध्य रोग निवारणको राम्रो माध्यम भएको भनी सबै सदस्य राष्ट्रहरूलाई आफ्नो देशमा लागु गर्न निर्देशन दियो । साथै योग दिवसको उपयुक्त दिन वर्षको सबैभन्दा लामो जुन २१ तारिखका दिन ठिक हुने तर्क सहितको प्रस्ताव गरेपछि उक्त प्रस्ताव पास भयो र डिसेम्बर ११, २०१४ का दिन संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा ग¥यो । यसरीभारतबाट योग विस्तारै पश्चिमा देशहरू हुँदै संसारभर समेत गएको मान्न सकिन्छ । यसरी अन्तर्राष्ट्रिय स्तरमा योगको महत्वलाई पहिचान गराई भारतको प्रस्तावमा विश्वभर योग दिवस मनाउन शुरु गरिएको हो । अहिले हामीले मनाउन गइरहेको योग दिवस ५ औं अन्तर्राष्ट्रिय योग दिवस हो ।
नेपालमा भने प्रत्येक वर्ष राष्ट्रिय योग दिवस भनेर माघ १ गते मनाउने गरिन्छ । शुरुमा २०३६ सालमा नेपालमा योगका प्रवर्तक राष्ट्रयोगी आदरणिय गुरु डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) को पहलबाट मनाउन थालिएको हो । शुरुमा नेपालमा अन्तर्राष्ट्रिय योग दिवस भनेर मनाउन थालिएतापनि विश्वभर नेपालले योगको ध्यानाकर्षण गराउन सकेन र हामीले संयुक्त राष्ट्रसंघमा लैजानुपर्ने प्रस्ताव पहुँचको आधारमा ओझेलमा परिरहेको थियो । यही परिप्रेच्छमा भारतका नरेन्द्र मोदीले विश्वभर आफ्नो प्रभाव र पहुँच पु¥याई प्रस्ताव लैजान सफल भएपछि उनैको प्रस्ताव अनुसार संयुक्त राष्ट्रसंघले अनुमोदन गरी सन् २०१४ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । तत्पश्चात नेपालमा अन्तर्राष्ट्रिय योग दिवसको सट्टा राष्ट्रिय योग दिवस भनेर माघ १ गते मनाउन थालियो । सदाझैं यस वर्ष पनि गत २०७५ माघ १ गते “शान्ति र समृद्धिका लागि योग, योगी बनौं र योग सिकाऔं” भन्ने नाराका साथ राष्ट्रिय योग दिवस मनाई सकिएको छ ।
२. योगदर्शन के हो र योगदर्शनमा के छ ?
योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन् । त्यसैले यस दर्शनलाई पतञ्जली योग पनि भनिन्छ । भारतीय तथा पश्चिमाहरूले योगलाई योगा ९थ्यनब० भन्ने गर्छन् । योगदर्शन पूर्वीय दर्शनशास्त्रको एउटा अत्यन्त पुरानो शाखा हो जसलाई व्यवस्थित रूप दिने काम ऋषि पतञ्जलीले गरेका हुन् र हाल स्वामी रामदेवले पतञ्जलीकै नामबाट योगलाई बढी लोकप्रिय गराउने काम गरेका छन् । वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइन्छ । यो सैद्धान्तिक मात्र नभई व्यवहारिक दर्शन पनि हो । स्वस्थ शरीर र शक्तिशाली आत्मा योग दर्शनका मुख्य विषयवस्तु हुन् । योग गर्ने समयमा शिर र गर्धनलाई सिधा पारेर राख्नु, इन्द्रियलाई मनले वशमा राख्नु, श्वास प्रश्वासको नियम पालना गर्नु र पवित्र मनको अनुकूल स्थानमा अभ्यास गर्नुजस्ता विधान यस दर्शनमा पाइन्छन् । यस दर्शनले शरीरलाई कहल्यै मिथ्या मान्दैन बरु उपयोगी वस्तु मान्दछ । यसले स्वस्थ शरीरमा शुद्ध दिमाग हुन्छ र शुद्ध दिमागले मात्र मुक्ति प्राप्त गर्न सकिन्छ भन्छ । योगदर्शन नै एउटा यस्तो दर्शन हो, जुन मानव जीवनमा अध्यात्मवाद, वादविवाद या तर्कशास्त्रलाई महत्व नदिएर जीवनको उद्धारकालागि मानवशरीरको व्यवहारिक र प्रयोगात्मक पक्षमा विशेष बल दिईन्छ । त्यसैले यस दर्शनमा आसन, यौगिक क्रिया, प्राणायाम तथा अन्य व्यायामहरूको माध्यमबाट आध्यात्मिक उपलब्धि पाउन सकिन्छ भन्ने कुराहरू दर्शाइएको छ । यसै विशेषताका कारण प्राचीन कालदेखि आजसम्म योगले आफ्नो उपयोगितावैज्ञानिक रूपमै सिद्ध गरेको छ । प्राचीन ऋषिमुनिहरूको अन्तरदृष्टिको कारणमा योग साधना नै मुख्य थियो भनिन्छ । त्यस्तै बुद्ध धर्मका पालित्रिपिटकहरूमा, संस्कृत ग्रन्थहरूमा पनि योगका चर्चा भएका छन् । जैनधर्ममा महावीर स्वामी आफैं योगी थिए र उनको समयमा योगको विवेचना बढी भएको पाइन्छ । गोरखनाथको नाथ सम्प्रदायमा पनि योगको यति आदर गरिन्छ कि त्यस सम्प्रदायलाई योगी सम्प्रदाय भनिन्छ । यसरी योग हरेक धर्म र सम्प्रदायमा लोकप्रिय नै रहेको पाइन्छ । योगका चार प्रकारहरू पाइन्छन् । ती हुन्— मन्त्रयोग, लययोग, हठयोग र राजयोग । ती मध्ये पतञ्जलीले राजयोगलाई अघि बढाएका छन् । त्यसकारण आज हामी योग भन्नासाथ पतञ्जलीको राजयोग भनी बुझ्छौं । पतञ्जली योगसूत्रका रचयिता र व्याकरण भाष्यका निर्माता हुन् जसको रचना विक्रमपूर्व दोस्रो शताब्दीमा भएको थियो ।योगसूत्रलाई समाधिपाद, साधनपाद, विभूतिपाद र कौवल्यपाद गरी ४ सूत्रमा वर्णन गरिएको छ । समाधिपादमा समाधिको रूप तथा भेद, चित्त र चित्तवृत्तिहरूको वर्णन गरिएको छ । साधनपादमा दुई वटा साधनहरू आन्तरिक र बाह्य साधन अन्तर्गत विभिन्न कुराहरूको चर्चा गरिएको छ । आन्तरिक साधनमा धारण, ध्यान र समाधिको चर्चा छ भने बाह्य साधनमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहारहरूको वर्णन गरिएको छ । विभूतिपादमा योगाभ्यास र सिद्धियोगको चर्चा छ । यसैगरी कौवल्यपादमा मुक्ति वा मोक्षका स्वरूपको विवेचना गरिएको छ ।
यस दर्शनमा प्रकृति र पुरुष नै मूल तत्वको रूपमा आउँछन् । यस दर्शनले ईश्वरलाई विशिष्ट तत्वको रूपमा त मानेको छ तर सृष्टिका लागि ईश्वर कारण होइन कि जीवनको कर्मफल अनुसार प्रकृतिद्धारा पुरुषको संयोग र वियोग गराउने निमित्त कारण मात्र हो भन्दछ । सांख्य दर्शन र योगदर्शनको निकै घनिष्ठ सम्बन्ध छ । वास्तवमा सांख्य दर्शनको सैद्धान्तिक रूपको व्यवहारिक प्रयोग नै योगदर्शन हो भनिन्छ । सांख्य दर्शनले २५ वटा तत्वलाई मानेको छ र योगले पनि त्यसैलाई नै मान्दछ तर योगदर्शनमा एउटा थप तत्व ईश्वर समेत जोडिएकोले यस दर्शनलाई ‘सेश्वर सांख्य’ पनि भनिन्छ । यसले पनि सांख्य दर्शनले जस्तै सत्कार्यवादलाई मानेको छ तर कार्य र कारण शब्द प्रयोग नगरी धर्म (परिणाम÷विकृति) र धर्मी (मूलतत्व÷प्रकृति) शब्दको प्रयोग गरेको छ ।
सारांशमा योगको अर्थ जोड्नु हो । अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो भनिन्छ । तर पतञ्जलीको दर्शनमा योग त्यो प्रयत्न हो, त्यो साधन वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रियलाई वशमा गरिन्छ । यहाँ योग भनेको जोड्नुको अर्थमा नआई प्रयत्नको अर्थमा आएको छ । वास्तवमा चित्तमा आउने विकार रोक्नु नै योग हो । शरीर, इन्द्रिय, मन, वुद्धि र अहंकार माथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरूप पाउन सकिन्छ र योग चित्तवृत्तिको निरोध हो जसलाई समाधि पनि भनिन्छ ।
३. के योगदर्शन हिन्दू धर्म विशेषको नै हो त ?
योग दर्शन वास्तवमा कुनैपनि धर्म, सम्प्रदायसँग सम्बन्धित छैन । हुनसक्छ कि हिन्दू धर्मले यस दर्शनको विकास र प्रचार प्रसार बढी गरेको होला, तर यसमा कुनैपनि धर्मप्रति विभेद छैन । यस दर्शनमा धर्म कर्मका लागि यज्ञ यज्ञादि र पुजापाठको कुनै गुञ्जायस छैन । केवल यस दर्शनमा शारीरिक तथा मानसिक शक्तिको उचित प्रयोग गर्ने प्रेरणा पाइन्छ । यस दर्शनले स्वःअध्ययनका लागि प्रेरणा दिन्छ भने ईश्वरको ध्यान गर्दा ईश्वर वाचक ओउम् को उच्चारण गरी चित्त एकाग्र गराउन भन्छ । योग भारतीय मनिषीहरूको आध्यात्मिक चिन्तनको सारभूत तत्व हो तापनि यो दर्शनले पूर्व तथा पश्चिमका सारा जगतहरूलाई जोड्ने काम गरेको छ । सबै किसिमका धर्म तथा सम्प्रदायले यसको अभ्यास गरेका हुनाले योगलाई सार्वभौम अभ्यास पनि भन्ने गरिन्छ । लगभग सबै खालका धर्म तथा दर्शनहरूमा योगाभ्यासको महत्व दिइएको हुनाले योगदर्शनको महत्व बढी छ । हिन्दू र बौद्ध बाहेकका अन्य धर्महरू जस्तैः ईसाइ धर्ममा योगको व्यवहारिक उपयोगका कुराहरू पाइन्छन्, मुहमद्ले योगको राम्रो अभ्यास गरेका थिए र पछि गएर उनी आध्यात्मवादका चिन्तक बने, ईस्लाममा नमाज पढ्नको लागि बसिने आसन योगासन हो, सूफिहरूको साधनमा ध्यानको निकै महत्व रहेको पाइन्छ, इसाई धर्मका प्रवर्तक इसामसिह ठूला योगी थिए जसको बारेमा न्यूगेष्टामेटमा कहानीहरू दिइएको छ र उनले आफ्नो साधनाका धेरै समय भारतका सिद्धहरूसँग बिताएको पाइन्छ । यस्ता उदाहरणहरूले के पुष्टि गर्न सकिन्छ भने योग सबैका लागि र सधैंका लागि आवश्यक अभ्यास हो, जसले सबै धर्म, जात, भाषाभाषी, वर्ण, लिङ्ग, सम्प्रदाय आदिलाई जोड्ने काम गर्दछ । यसले शरीर तथा मनलाई अनुशासित गराई जीवनका चरम उद्धेश्य आनन्दलाई प्राप्त गर्न सहायक सिद्ध हुन्छ । यसले आत्माभित्र रहेका विशेषताहरूलाई खोजेर निकाल्छ र मनुष्य जगतका मानसिकतामाथि सकारात्मक प्रभाव पार्ने काम गर्दछ । योगलाई आधुनिक चिकित्साको माध्यममा समेत समावेश गर्नुले योग निकै कल्याणकारी स्वास्थ्यको मानक पनि हो भन्न सकिन्छ । योगको महत्व दिनप्रतिदिन अझै बढ्दै जाने कुरामा पनि कुनै शंका छैन ।
यस दर्शनले ईश्वरलाई परम गुरु वा परम पुरुष मान्दछ, जुन सबै जीवभन्दा माथि र सबै दोषबाट मुक्त छ, ईश्वर सर्वव्यापी, सर्वज्ञ, सर्वशक्तिमान र पूर्ण परमात्मा हो भन्दछ । मोक्षको मुख्य मार्ग नै योग, साधक र समाधी हुन् भन्ने यस दर्शनले मुक्ति प्राप्तिका लागि ८ वटा मार्गहरू (अष्टाङ्ग योग) उल्लेख गरेको छ । ती हुन्
यम ः हिंसा, चोरी, लोभ आदि नगर्नु अर्थात अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रह ।
नियम ः ५ नियमहरूको पालना गर्नु जस्तै–शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वरप्रति विश्वास ।
आसन ः मन एकाग्र गरी आनन्दको अनुभूति गर्नु ।
प्राणायाम ः श्वास प्रश्वास नियन्त्रण गरी मनलाई एकाग्र राख्नु ।
प्रत्याहार ः इन्द्रियको कुप्रभाव मनमा पर्न नदिनु ।
धारण ः अन्तरनिहित वस्तुको पहिचानमा मन लगाउनु ।
ध्यान ः निश्चित विषयमा एकाग्रतापूर्वक सोंचविचार गर्नु ।
समाधि ः सम्पूर्ण चेतनालाई खिचेर आत्मामा लिन गराउनु । उल्लेखित यस्ता उपायहरूद्धारा मुक्ति मिल्दछ भन्नु योगदर्शनको मुख्य मर्म हो ।
४. सारांशमा
योगदर्शनमा सैद्धान्तिक ज्ञान मात्र छैन कि यसमा धेरै व्यावहारिक ज्ञानहरू पनि छन् । हामी जति पनि शारीरिक अभ्यास, दौड, बिहानको हिंडाई, कठिन परिश्रम आदि जे जति गरेतापनि ती अभ्यासबाट पूर्ण व्यायाम हुन सक्दैन । अझै भन्ने हो भने ती अभ्यासबाट केवल शारीरिक व्यायाम हुन्छ तर मानसिक, संवेगात्मक र आध्यात्मिक अभ्यास त हनै सक्दैन । तर योग नै एउटा यस्तो माध्यम हो जसबाट माथि उल्लेखित सम्पूर्ण अभ्यासहरू सम्पन्न भई पूर्ण व्यायाम हुन्छ । यसरी पूर्ण व्यायामका लागि योग अति महत्वपूर्ण र मानव जीवनमा अति आवश्यक भएकोले हामीले पनि आजैदेखि ढिला नगरी योगकर्ममा जुटिहालौं । अन्तमा के भन्न सकिन्छ भने सबैकालागि र सधैंकालागि योग भएकोले योगदर्शन अहिलेको युगमा आइपुग्दा पनि वैज्ञानिक दर्शन कै रूपमा रहेको कुरा प्रमाणित गर्न सकिन्छ ।
(लेखकः मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, नवलपुरका प्राध्यापक हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार