भूमण्डलीकरणको आर्थिक प्रभाव

नेपाल सानो पहाडी मुलुक हो । यो ऐतिहासिक कालदेखि नै स्वतन्त्र तथा स्वाधीन रही आएको छ । संसारका अति ठूला, सम्वृद्धशाली तथा शक्ति सम्पन्न मुलुकहरू पनि इतिहासको विभिन्न काल खण्डमा वैदेशिक दबाब, हस्तक्षेप तथा उपनिवेश कायम हुँदै आएका र स्वाधीनताका लागि जीवन मरणको लामो राष्ट्रियमुक्ति आन्दोलन मार्फत बिजय भइ सार्बभौम सत्तासम्पन्न बनेका हुन् ।
२०६२।६३ को ऐतिहासिक जनआन्दोलनले सामन्ति निरङ्कुश राजतन्त्रको अन्त्य गरी नेपाल एक स्वतन्त्र, सार्बभौमसत्तासम्पन संधिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा स्थापित भयो ।लामो समय देखि कायम रहेको एकात्मक तथा केन्द्रिकृत सासन प्रणालीको अन्त्य भई संघिय समावेशी लोकतान्त्रिक प्रणाली बहाली भएको छ । सबै बर्ग, तप्का, लिङ्ग, जातजाती, धर्म, बर्ण र सम्प्रदायका मानिसहरू देशको शासन प्रणालीमा समानुपातिक पद्दतिका आधारमा सहभागी हुन पाउने आधार तयार भएको छ । सबैको समानुपातिक प्रतिनिधित्वलाइ सुनिश्चित तथा कानुनमार्फत प्रत्याभुत गरिएको अवस्था छ । केन्द्रमा अवस्थित अधिकारहरू गाउँनगरमा स्थापित भएका छन् ।
विश्वव्यापिकरण विज्ञान तथा प्रबिधिको विकासको परिणाम हो । यसैका कारण आज संसार एउटा सानो गाँउमा परिणत भएको छ । खास गरी विश्व राजनीतिक, आर्थिक तथा सांस्कृतिक पद्धतिहरूको एकीकरण भई सबैको पहुँचको बिषय बनेको छ । यसले संसारमा विचार, सामान तथा सेवाहरूको स्वतन्त्र आवागमनलाई पत्याभूत गरेको छ । साथै यसले विश्वका सम्पूर्ण मानवहरू बिचको आपसी अन्तरसम्वन्धलाई बढावा दिएको छ । विश्वव्यापिकरणले विश्वका पूँजीपति वा उद्यमीहरूका बिच तिब्र प्रतिस्पर्धाको वातावरणको निर्माण गरेको छ । अझ यसले आर्थिक मामिलामा उदारीकरण तथा निजीकरणलाइ महत्व दिएको छ । त्यसै कारण यसले विश्वलाई एकीकृत तथा अन्तरआश्रित बनाउने काम गरेको छ (पौड्याल, २०७१ः ३५४) । विश्वव्यापिकरणले विश्वका बिभिन्न मुलुकहरू बिच आर्थिकरूपले अन्तरनिर्भर बनाएको छ । यसले एउटा देशको सिमानालाई नाघेर विश्वका सबै मुलुकहरूमा आफ्ना वस्तु तथा सेवाहरू पु¥याउने, एक आपसमा प्रतिस्पर्धा गर्ने तथा पूँजी प्रविधि, श्रम तथा व्यापार फैलाउने काम गर्दछ । साथै यसले राजनीतिक रूपमा विश्व समुदायको विचार, मूल्य र मान्यताहरूको एकीकरण गर्दछ र विश्वलाई एउटै सूत्रमा आवद्ध हुन प्रेरित गर्दछ । (पन्त २०७१ ः २८०) । संसारका सम्पूर्ण मुलुकहरू बिच आपसी सद्भाब, विश्वास र बिचारहरूको एकीकरण गर्न मदत गर्दछ ।
विश्वव्यापिकरणले राष्ट्रिय अर्थतन्त्रलाइ अन्तराष्ट्रिय जगतसँग जोड्न सहयोग गर्दछ । यसले विश्व समुदायलाइ एकीकृत तथा अन्तरआश्रित अर्थतन्त्रमा रूपान्तरित गर्दछ । साथै व्यवसायमा सरकारी हस्तक्षेपलाइ अन्त्य गर्दै खुला, उदार तथा निजी अर्थतन्त्रको पक्षमा ओकालत गर्दछ । संसारका व्यवसायी एवम् उद्यमीहरू बिचमा कडा प्रतिस्पर्धाको अवधारणालाइ महत्व दिन्छ । हाल संसारका बिभिन्न मुलुकहरू बिच पूँजी, जनशक्ति, सामाग्रीहरू, व्यवस्थापन तथा प्रबिधि स्वतन्त्र तथा निर्बाध आबागमनलाई जोड दिन्छ । व्यावसायीहरूले राजनैतिक तथा कानुनी बन्देज बिना उत्पादनका साधनहरूलाई संसारको कुनैपनि मुलुकमा हस्तान्तरण गर्न सक्दछन् । संसारका बिभिन्न मुलुकहरूमा व्यावसायीहरूले आफ्ना उत्पादनका इकाईहरू स्थापना गर्न सक्दछन् । अत्याधुनिक प्रबिधिको प्रयोग गरी बस्तु तथा सेवाहरू उत्पादन गरी प्रतिस्पर्धात्मक रूपमा आपुर्ति गर्ने हुँदा सम्पूर्ण उपभोक्ताहरू गुणस्तरीय बस्तुहरू किफायती मुल्यमा उपभोग गर्ने अवसर पाउँदछन् ।
२. विश्वव्यापीकरणको प्रभावः
विश्वव्यापिकरणका कारण आजको संसार सबैको पहुँचको बिषय बनेको छ । यसैका कारण संसारका बिभिन्न मुलुकहरू रोजगारीका लागि खुला भएका छन् । खास गरी नेपाल बि सं. २०४७ सालमा प्रजातन्त्रको पुनर्बहाली पश्चात उदार तथा खुला अर्थतन्त्रमा प्रवेश गरेको देखिन्छ । त्यसपछि नेपालले अन्तराष्ट्रियश्रम बजारमा प्रवेश गरेको थियो । वि.सं. २०५०।५१ सम्म बैदेशिक रोजगारीका लागि बिदेश जाने नेपालीहरूको संख्या ३,६०५ जना थियो । २०७२।७३ सम्म आइपुग्दा यो संख्यामा बृद्धिभई तेह्र लाख पचास हजार भन्दा बढि पुगेको छ । यो आर्थिक बर्ष नेपालमा करिब ६ खर्ब बराबरको विप्रेषण भित्रीएको छ (मिर्मिरे २०७३ः२७) । यसरी नेपालले बर्तमान समयसम्म एक सय दश मुलुकहरू बैदेशिक रोजगारीका लागि खुला गरेको छ । विश्वव्यापिकरणबाट नेपाली जनताहरूको जीवनस्तर माथि उठाउन र आयआर्जन गर्न ठूलो सघाउ पुगेको छ । साथै बैदेशीक रोजगारीका कारण नेपालको गरिबीको संख्यामा कमी आई करिब २२ प्रतिशतमा झरेको छ ।
विकसित मुलुकहरूका व्यवसायिक संस्थाहरूले नेपालमा पनि व्यवसायिक संस्थाका इकाइहरू स्थापना गर्ने तर्फ ध्यान दिइरहेको अवस्था छ । यसैको परिणाम स्वरूप बैंक एवम् वित्तीय क्षेत्र, उत्पादन तथा सेवा मुलक क्षेत्र, मानव संसाधनको विकास आदि क्षेत्रमा पूँजी एवम् प्रबिधिको हस्तान्तरण गरेर मुलुकको श्रीबृद्धिमा ठूलो योगदान पुर्याइरहेका छन् । साथै देशभित्र बिभिन्न किसिमका बहुराष्ट्रिय निगमहरू स्थापना भइ उत्पादन तथा रोजगारीका अवसरहरू उपलब्ध गराएका छन् ।
विश्वव्यापिकरणले अन्तराष्ट्रिय बजार सबैकालागि खुला गर्ने भएबाट गुणस्तरीय बस्तु तथा सेवाले अन्तराष्ट्रिय बजारमा कारोबार बढाई उत्पादनतथा उत्पादकत्व बढाउन सहयोग पुर्याएको छ । आज संसारका हरेक ठाउँमा सम्पूर्ण उद्यमी, व्यवसायी एवम् पूँजीपतीहरू आफ्ना बस्तु तथा सेवाहरू उपलब्ध गराइ प्रतिस्पर्धामा उत्रन सक्षम भएका छन् । र उपभोक्ताहरूले पनि कम मुल्यमा स्तरिय बस्तु तथा सेवाहरू उपभोग गर्न सक्ने भएका छन् । बिभिन्न मुलुकहरूबिच रहेका व्यापारिक अबरोधहरूलाई हटाइ वा कम गरी अन्तराष्ट्रिय बजार सबैकालागि खुला गरेका छन् । संसारभरका उद्यमीहरू विश्वको हरेक ठाँउमा आफ्ना गुणस्तरीय वस्तुहरूका साथ उपस्थित भइ सेवा सुबिधाहरू उपलब्ध गराउने वातावरण यहि विश्वव्यापिकरणका कारण सृजना भएको छ । नेपाली उद्यमी एवम् व्यवसायीहरूलाइ पनि यो सुविधा उपयोग गर्ने अवसर प्राप्त भएको छ ।
विज्ञान तथा प्रबिधिको विकासले संसार एउटा सानो गाँउ बनिरहेका बेला मुलुकहरूबिच आपसी हितका आधारमा सहयोगका हातहरू फैलाउन पूँजी एवम् प्रबिधिको आदान प्रदान गर्न तथा एक–आपसमा सुमधुर सम्बन्ध स्थापित गर्न सम्भब भएको छ । बहुराष्ट्रिय निगमहरू अन्तराष्ट्रिय सहयोगका महत्वपर्ण माध्यम बनेका छन् । साथै बहुराष्ट्रिय कम्पनीहरू पूँजी, प्रबिधि, संस्कृती, मुल्यमान्यता, ज्ञान तथा बिचारको आदान प्रदान गर्ने मुख्य माध्यमहरू हुन्। यी अवसरहरूको उपयोगबाट नेपालपनि लाभान्वित भइरहेको अवस्था छ ।
औद्योगीकरण पूँजीबादको देन हो । औद्योगिक विकासकै गर्भबाट पूँजीबादको जन्म भएको हो । औद्योगिक पूँजीबादले आर्थिक बिकास एवम् सम्बृद्धिमा ठूलो मद्दत पुर्याउदछ । पूँजीबादमा आर्थिक असमानता हुने हुँदा समताम्ूलक समाज निर्माण गर्न पूँजीबादका खराब पक्षहरूसँग निर्मम संर्घष गरी वा न्यूनीकरण गरी समाजबादी वा लोककल्णकारी राज्य निर्माण गर्नु अनिवार्य हुन्छ । त्यसैले औद्योगिकरणका लागि आवस्यक पूँजी, प्रबिधि, श्रम एवम् कच्चा पदार्थ आदिको आपुर्ति गर्न विश्वव्यापिकरणले ठूलो मद्दत गर्दछ । नेपालको औद्योगिक विकास गर्भावस्थामा छ । यसलाइ आवस्यक पर्ने सम्पूर्ण कुराहरू अन्तराष्ट्रिय बजारबाट आपुर्ति भएमा यो कार्य सरल तथा सहज हुने देखिन्छ । आन्तरिक रूपमा उत्पादित वस्तु तथा सेवाहरूको अन्तराष्ट्रिय बजार उपलब्ध हुँदा उद्योग धन्दाहरू मौलाउने अवसर प्राप्त हुन्छ । यसले औद्योगीकरणमा मद्दत पुग्ने देखिन्छ ।
विस्वव्यापिकरणले नेपालको अर्थतन्त्रमा सकरात्मक योगदान मात्र होइन केहि नकरात्मक असर पनि पारेको छ । हाल देशको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मुस्किलले ५.७२ प्रतिसत छ । यो योगदान अत्पन्त नगन्य छ । नेपालले २०४७ साल पछि लिएका उदारीकरण एवम् निजीकरणका नीतिले मुलुका उद्योग धन्दाको क्षेत्र चौपट भएको छ । स्थापना गरिएका उद्योग धन्दाहरू धमाधम बन्द हुने तथा केहि उद्योगहरू निजीक्षेत्रलाइ बिक्री गर्ने काम गरेबाट नेपालमा उद्योगहरू विस्थापित भएका छन् । स्वदेशी बजार विदेशी मुलुकहरूको उत्पादनको बजार बनेको छ । राज्यले बिदेशी पूँजी एवम् प्रबिधि आकर्षित गर्ने, नयाँ उद्योग धन्दा स्थापना गर्ने तिर खासै ध्यान दिएको देखिदैन । मुलुक अन्तरनिर्भर वा आत्मनिर्भर होइन, परालम्वि बन्न पुगेको छ । हरेक बर्ष नेपालको व्यापार घाटा चुलिदै गएको छ । बिप्रेषणले केहि मात्रामा यसलाइ धाने पनि समग्रमा अवस्था नाजुक छ । देशभित्र बिक्रित पश्चिमी सभ्यता, संस्कृती, भेष र भुषाले बजार लिएको छ । स्वदेशीपन, संस्कृती, मुल्यमान्यता विस्थापीत हुने क्रममा छन् । यसले गर्दा देश प्रेम, स्वदेशी संस्कृति माथीको लगाब र सद्भाब घटेर गएको अवस्था छ । यसैले यी नकरात्मक पक्षहरूका बाबजुत विश्वव्यापिकरणले विदेशी पूँजी, प्रबिधि एवम् रोजगारीको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकाले यसबाट भरपुर फाइदा लिन सकेमा नेपालीको भबिष्य उज्वल हुने देखिन्छ ।
३. निष्कर्ष ः
विश्वव्यापिकरण बिज्ञान तथा प्रबिधिको क्षेत्रमा भएको चमत्कारिक विकासको परिणाम हो । आज संसार ज्यादै सानो तथा साँघुरो बनेको छ । संसारको हरेक कुना काप्चा सबै मानव जातीको लागि पहुँचको बिषय भएको छ । संसारका सबै ठाँउहरूमा पूँजी, प्रबिधि, श्रम तथा अन्य उत्पादनका साधनहरूको हस्तान्तरण गर्न र मानव जातीका हितका लागि उपयोग गर्न विश्वव्यापिकरणले सम्भब बनाएको छ ।
विश्वव्यापिकरण भनेको राजनीतिक, आर्थिक, सांस्कृतिको विश्वव्यापी एकीकरण हो । यसले उदारीकरण तथा निजीकरणको आदर्शलाई आत्मसात गरेको छ । देशको साँघुरो घेरालाई भत्काइ विश्वलाइ बिचारधारात्मक, आर्थिक तथा सांस्कृतिकरूपले एकताबद्ध गरी संसारका मानिसहरूलाई विकासको प्रतिफलमा पहुँच पुर्याउने उदेश्यबाट विश्वव्यापिकरण निर्देशित छ । विश्वव्यापिकरणले संसारका बिभिन्न देशहरूमा व्याप्त श्रम, प्रबिधि, पूँजी लगाएत प्राकृतिक सम्पदाहरूको बुद्धिमतापूर्ण तथा किफायती ढङ्गले उपयोग गरी मानव मात्रको भलाइ र उन्नतिमा संसारभर पुर्याउनु वा हस्तान्तरण गर्नु यसको चाहना हो । मुलुक मुलुक बिच रहेका व्यापारिक अबरोधहरू हटाइ सस्तो, गुणस्तरीय तथा आकर्षक बस्तु तथा सेवाको आपुर्ति गरी विश्वका सबै मुलुकहरूलाइ सम्बृद्धशाली बनाउने दिशामा विश्वव्यापिकरण परिलक्षित छ ।
विश्वव्यापिकरणले साना, कमजोर तथा आर्थिकरूपले बिपन्न मुलुकहरूलाइ आफ्नो अस्तीत्व तथा पहिचान कायम राख्न धौ धौ परिरहेको अवस्था छ । स्वदेशी उत्पादनहरूले विकसीत मुलुकहरूका बस्तु तथा सेवाहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग धन्दाहरू बिस्थापित भइ आन्तरिक बजारहरू बिकसित मुलुकहरूको बजारमा रूपान्तरित भएका छन् । साथै साना तथा कमजोर मुलुकहरूको राष्ट्रिय स्वाधीनता जस्ता बिषय संकटग्रस्त बनेका छन् । यी खराबीहरूको बाबजुद विश्वव्यापीकरणका उपलब्धिहरूलाई आत्मसात गर्न सके देशले छिट्टै काँचुली फेर्ने अवस्था समेत आउने देखिन्छ ।
(लेखक ः सहप्राध्यापक बुटबल ब.क्याम्पसका सह प्राध्यापक हुनुपर्छ ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार