संघीयतामा पर्यटन अर्थतन्त्रको विकास

१.पृष्ठभूमि ः
०६२। ०६३ को जनआन्दोलनले नेपालको राजनैतिक इतिहासमा धेरै ठूलो फड्को मारेकोछ । यस आन्दोलनले संवैधानिक राजासहितको बहुदलीय व्यवस्थावाट राजतन्त्रको अन्त्य गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गरेकोछ । यसै राजनैतिक परिवर्तनको कारण नेपालको शासन व्यवस्थामा आमूल रूपान्तरण भएको छ र यसले आन्दोलनको उपलब्धिलाई नेपालको संविधान २०७२ का रूपमा संस्थागत समेत गरिसकेकोछ । नेपालको यस संविधानले नेपालमा युगौदेखि सञ्चालित केन्द्रीकृत शासन व्यवस्थालाई संघीयतामा रूपान्तरण गर्दै ३ तहका शासन प्रणालीको शुरुवात गरेकोछ । संघीय, प्रादेशिक र स्थानीय गरी ३ तहका यी सरकारहरू आआफ्नो क्षेत्रमा एकातिर स्वतन्त्र देखिन्छ भने अर्कातिर सहकार्य र समन्वयात्मक रूपले चल्ने प्रावधानहरू समेत रहेका छन् । समग्रतामा भन्दा यी सरकारहरू एक आपसमा सहयोग, समन्वय र सहकार्यमा चल्नु पर्ने अवस्था रहेकाछन् । तसर्थ संघले नीति नियम बनाउने र अन्तराष्ट्रिय तथा राष्ट्रिय महत्वका योजनाहरू संघले, प्रादेशिक महत्वका योजनाहरू प्रदेशले र स्थानीय महत्वका योजना तथा कार्यक्रमहरू स्थानीय सरकारले बनाउने र सञ्चालन गरिनु पर्दछ ।
अहिले मानिसहरूमा काम केही भएन भन्ने नकरात्मक विचारहरू त धेरै आएका छन तर नेपालमा यो दुई वर्षमा भएका विकास निर्माणका कामहरूको एकीकृत स्तरमा समिक्षाहरू नभएका र यसखालको प्रचार संयन्त्रहरू नभएका कारण हामीले हालसम्म भएका विकासका कामहरूको बारेमा जनतामा सकरात्मक रूपले कामको संप्रेषण गर्न नसकेका कारण आज अहिलेका सरकारहरू काम गरेर पनि आलोचनाको रूपमा प्रचारित छन् । तसर्थ सरकारले गरेका कामको नियमित रूपमा प्रचार प्रसार गर्ने र प्रशासनिक काममा भएका ढिला सुस्ती तथा विकृतिहरूलाई कडा कारवाहीको विषय बनाउन अनुगमन तथा मूल्याकन संयन्त्रहरूलाई चुस्त दुरुस्त बनाउँदै अझ तीव्र गतिकासाथमा सरकारले आफ्ना कामहरू अगाडि बढाउन आवश्यक छ ।
हाम्रो देशको स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको मूल आधारहरू कृषि, पर्यटन र प्राकृतिक सम्पदाहरूको व्यवस्थित र वैज्ञानिक व्यवस्थापन नै हो । हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सर्व प्रथम हाम्रा विकासका पूर्वाधारहरूको निर्माण आवश्यक हुन्छ । हामीले हाम्रो अर्थतन्त्रको विकासका लागि हाम्रा विकासको मूल आधारहरूको पूर्वाधारको रूपमा सर्वप्रथम गुरुयोजना बनाउने, गुरुयोजनालाई क्रमशः विकासका आवधिक योजनाहरूमा रूपान्तरण गर्ने र उक्त आवधिक योजनाहरूको कार्यान्वयनका लागि आवश्यक पूर्वाधारहरू निर्माण अनिवार्य हुन्छ । कुनै पनि विकासको योजना शुरुवातको लागि आधारभूत पूर्वाधार भनेको वाटो, विद्युत र पानीको व्यवस्थापन हो । त्यसपछि उक्त योजनाका लागि आवश्यक जमीन, लगानीको श्रोत, योजनाका लागि कच्चा पदार्थ, आवश्यक दक्ष जनशक्ति र उक्त जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालय तथा उत्पादित वस्तुको बजारको अवस्था आदि विषयहरूका बारेमा राम्रो अनुसन्धान तथा विश्लेषणवाट मात्र कुनै पनि योजानहरू सञ्चालन गर्नु पर्दछ ।
हाम्रो देशको अर्थतन्त्रको विकासमा तत्कालका लागि कृषि पछिको एउटा अर्को महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो देशमा पर्यटनका लागि अनुपम र अद्वितीय प्राकृतिक तथा साँस्कृतिक श्रोतहरू रहेका छन् । हाम्रा दुईतिर विशाल र सम्पन्न राष्ट्रहरू छिमेकीका रूपमा रहेकाछन् । विश्वमा हिन्दु र बौद्ध धर्मका पर्यटकहरूका लागि हाम्रा महत्वपूर्ण साँस्कृतिक तथा धार्मिक सम्पदाहरू रहेकाछन् । जातीय, भौगोलिक, वानस्पतिक, भौगर्भिक, जैविक, धार्मिक, साँस्कृति, वातावरणीय विविधताहरू नै हाम्रो पर्यटनका ज्यादै महत्वपूर्ण विशेषताहरू हुन् । यी सबै विविधता र विशेषताहरूको संयोजन र व्यवस्थापन गर्न सकियो भने नेपालमा अर्थतन्त्र कति चाडो विकास हुन्छ र विश्वको एउटा उन्नत र समृद्ध राष्ट्रको रूपमा उठ्नेछ भन्ने विषयमा हामी गम्भीरताका साथमा सोंच्ने र कार्यक्षेत्रमा लाग्न सकेका छैनौं । तसर्थ हामीले हामीसँग भएका यी अनुपम र अद्वितीय साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको विकासमा योजनाबद्ध रूपमा कर्मक्षेत्रमा लाग्न सक्यौ भने संघ, प्रदेश र स्थानीय सरकारहरूको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुग्नेछ । हाम्रो देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि तल केही चर्चा गरिएकोछ ।
पर्यटन विकासका सम्भावित क्षेत्रहरू ः
अहिले पर्यटनको क्षेत्र ज्यादै विशाल भएको छ र हामीले यसलाई निर्माण र प्रस्तुत गर्ने कलामा भर पर्दछ । हामीले गर्ने कामहरू कसरी योजना बनाउँछौ र कसरी प्रस्तुत गर्छौ भन्ने कुराले नै पर्यटनको भविश्य निर्धारण गर्दछ । हाल हाम्रोमा धेरै नै पर्यटकीय क्षेत्रहरू भए पनि त्यसलाई वर्गीकरण गर्ने वर्गीकरण गरिएका क्षेत्रहरूलाई ठोस योजनाकासाथमा निर्माण गर्ने र निर्माण भएको पर्यटकीय स्थलहरूलाई व्यवस्थित कार्य योजनाका साथमा परिचालन गर्ने काम हुन सकेको छैन । अब हामीले हाम्रा यी पर्यटकीय सम्पदाहरूलाई सुव्यवस्थित रूपमा निर्माण र परिचालन गरी नेपालको आर्थिक समृद्धिमा ठोस योगदान गर्ने गरी परिचालन गर्न आवश्यक छ । हामीले हामीसँग भएका र थप आवश्यक पर्यटकीय स्थलहरूलाई निम्न लिखित रूपमा विभाजन गर्न सकिन्छ भने यसैभित्र पनि विशिष्टीकरण गरी अनेकौ थप पर्यटकीय क्षेत्रहरू पनि निर्माण गर्न सकिन्छ ।
१.धार्मिक पर्यटनः
विभिन्न धार्मिक स्थलहरू पाथिभरा, जनकपुरधाम, काठमाण्डौ उपत्यकायका विविध धार्मिक स्थलहरू, लुम्बिनी क्षेत्र, मुक्तिनाथ, भैरवस्थान, श्रृगेश्वरधाम, रेसुड्गा, रुरु कन्या, सुपा देउराली, चौघेरा, धारापानी धाम, ठाकुर बाबा, पाण्डवेश्वर धाम, स्वर्गद्धारी, लगायतका अनेकौं क्षेत्रहरू ।
२.ऐतिहासिक तथा पुरातात्विक पर्यटन
हाम्रोमा रहेका राजनैतिक महत्व र प्राचीन इतिहासका क्षेत्रमा रहेका पुरातात्विक महत्वका स्थलहरू ।
३.प्राकृतिक तथा भौगोलिक पर्यटन ः
यस देशमा रहेका हिमश्रृंखला, मनोरम पाहाडी क्षेत्र तथा विविध भौगोलिक तथा भौगर्भिक स्थलहरूमा बनाइने हिलस्टेशन तथा मनोरम पर्यटकीय स्थलहरू ।
४.साहसिक पर्यटन
¥याफ्रटिंग, बन्जी जम्प, क्लाइम्बिंग, प्यारा ग्लाइडिंग, स्काई डाइभिंग, जीप लाइन आदि क्षेत्रहरू ।
५.संग्राहलय पर्यटन ( इतिहासको संरक्षण तथा सन्ततिलाई उपहार )
यस देशमा रहेका निम्न लिखित विषयका संग्राहलयहरूको निर्माण आवश्यक देखिन्छ । राजनैतिक इतिहास, समाज विकासक्रम, मानव विकासक्रम, वैज्ञानिक संग्राहलय, जैविक संग्राहलय, वनस्पति संग्राह्य, शैक्षिक विकास संग्राहलय, स्वास्थ्य उपचार विकास संग्राहलय, यातायात तथा सञ्चार विकास संग्राहलय, विविध साँस्कृतिक संग्राहलय, दार्शनिक तथा धार्मिक विकासका सम्बन्धी संग्राहलय, कृषि विकास संग्राहलय, नेपालको पर्यटकीय विषयवस्तुका संग्राहलय आदिका विशिष्टीकृत संग्राहलयहरूको निर्माण तथा सञ्चालन गर्न सकिन्छ ।
६.आधुनिक मनोरजनात्मक पर्यटन ः
हाम्रो देश पर्यटनको धेरै राम्रो क्षेत्र भएकोले ठूला अत्याधुनिक मनोरञ्जनात्मक पार्कहरू, प्रतिमूर्ति पार्क, अत्याधुनिक सिनेमा हलहरू, थिएटर तथा विविध साँस्कृतिक कार्यक्रमहरू सहितका आधुनिक पर्यटकीय गन्त्यव्य स्थलहरू निर्माण आवश्यक छ र यस दिशा तर्फ धेरैको ध्यान जान सकेको छैन।
७.पैदल पर्यटन
हाम्रो देशमा रहेका विविध प्राकृतिक तथा मनोरम भौगोलिक स्थलहरूको आनन्द लिदै गरिने पैदलयात्राहरू देशका विभिन्न भागमा रहेका छन् भने अझ पनि आवश्यक स्थानहरूमा यस्ता मार्गहरू बनाउन आवश्यक छ ।
८.शान्ति पर्यटन ः
अहिलेको व्यस्त जीवनमा मानिस एउटा निश्चित समय विभिन्न शान्तिपूर्ण स्थलहरूमा गई सुख, शान्ति र सुस्वास्थ्यका लागि योग, ध्यान तथा प्राकृतिक उपचारसहितको सुन्दर तथा मनमोहक स्थानहरूमा समय बिताउन चाहन्छ । हामीले मनोरम पाहाडी क्षेत्र तथा वनजंगलहरूमा यस प्रकारका शान्ति पार्कहरू बनाउन आवश्यक देखिन्छ ।
९.शैक्षिक तथा स्वास्थ्य पर्यटन
नेपालका पाहाडी मनोरम प्राकृतिक स्थलहरूमा अन्तराष्ट्रिय स्तरका अस्पताल तथा शिक्षालय संस्थाहरू निर्माण गरी शैक्षिक तथा स्वास्थ्य पर्यटनमूलक व्यवसायहरू सञ्चालन गर्नुपर्ने देखिन्छ तर यस दिशामा पनि पर्यटन व्यवसायीहरूको ध्यान पुगेको छैन ।
१०.व्यावसायिक तथा व्यापारिक पर्यटनः
आफ्ना पेसा व्यवसायको प्रवद्र्धनका लागि गरिने विविध औधोगिक तथा व्यापारिक प्रदर्शनीहरू तीव्र रूपमा अगाडि बढे पनि यसलाई पर्यटन प्याकेजसँग जोड्ने कार्य हुन सकेको छैन र अब यस प्रकारका तोकिएका स्थानमा सञ्चालन गर्ने व्यवसायिक प्रदर्शनीहरूलाई पर्यटकीय स्थल र पर्यटन प्याकेजसँग जोडन अति आवश्यक भएकोछ ।
११. ग्रामीण पर्यटन ः
ग्रामीण क्षेत्रमा होमस्टे तथा हाम्रा पुराना कला तथा सँस्कृति र जनजीवनहरूको अध्ययन भ्रमणसहितका पर्यटकीय गन्त्यव्यहरूलाई ग्रामीण पर्यटनको रूपमा सञ्चालन भएका छन् यसलाई अझ व्यवस्थित र आकर्षक बनाउनु पर्नेछ ।
१२ जल पर्यटन ः
पाहाडी स्थान तथा विभिन्न ताल तलैयाहरूमा जल पर्यटनसहितको आकर्षक पर्यटन केन्द्र स्थापना गर्दै विविध आकर्षक पर्यटन प्याकेजहरू निर्माण तथा सञ्चालन गर्नु पर्दछ । नदी, तालतलैया, दह, पोखरी तथा मानव निर्मित नहर तथा पोखरीहरूमा गरिने जलयात्रा तथा स्विमिङ्गसहितका आधुनिक पार्कहरू निर्माण तथा सञ्चालन गरिनु पर्दछ । नेपालमा ५३५८ वटा तालतलैयाहरू रहेकाछन् र यी श्रोतहरूलाई पर्यटन व्यवसायसँग जोडिनु पर्दछ ।
१३. वन पर्यटन ः
नेपालका सामुदयिक वन, राष्ट्रिय वन र राष्ट्रिय निकुञ्जहरूलाई खुल्ला जनावर तथा चराचुरुडी पार्क बनाउँदै वातावरणमैत्री पर्यटन व्यवसायहरू सञ्चालन गर्नुपर्ने ।

पर्यटन विकासका लागि गरिनु पर्ने कार्ययोजनाहरू ः
१. यस देशमा रहेका सम्पूर्ण पर्यटकीय स्थलहरूको अध्ययन गरी पहिचान पुस्तिका प्रकाशन ।
२. पहिचान भएका पर्यटकीय क्षेत्रहरूलाई वर्गीकरण गर्दै आवश्यक स्थलहरूको गुरुयोजना निर्माण ।
३. आवश्यक भएका स्थानहरूमा थप अत्याधुनिक पर्यटकीय स्थलहरूको निर्माण ।
४. राज्यले पहिचान गरेका पर्यटकीय स्थलहरूमा बाटो, बिजुली र पानीको यथाशीघ्र व्यवस्था ।
५. देशका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा यथाशीघ्र पर्यटन विकास समितिहरूको निर्माण तथा सञ्चालन ।
६. सरकारहरूवाट बजेट विनियोजनमा पर्यटन क्षेत्रलाई प्राथमिकता ।
७. संघ, प्रदेश र स्थानीय सरकारहरूको विचमा निरन्तर समन्वय तथा सहकार्य ।
८. शैक्षिक संस्थाहरूमा पर्यटन शिक्षा बारेमा शिक्षण सञ्चालन ।
९. पर्यटन सम्बन्धी सामाग्री प्रकाशन तथा पथ प्रदर्शकको उत्पादन ।
१०. नेपालीपन र नेपालको महत्व दर्शाउन गरी उपहार सामाग्रीहरूको उद्योगलाई उत्पादनमा प्रोत्साहन ।
११. पर्यटनको विकासका लागि आवश्यक भौतिक पूर्वाधारहरू बाटो, यातायातका साधान, सुविधा सम्पन्न आवास, मनोरञ्जनात्मक कार्यक्रम र किनमेलका लागि आधुनिक बजार आदिको योजनाबद्ध विकास ।
१२. स्थानीय रूपमा विविध टुर प्याकेजहरूको निर्माण तथा सञ्चालन ।
१३. अन्तराष्ट्रिय स्तरका खेल मैदान तथा प्रदर्शनी स्थलहरू निर्माण तथा सञ्चालन ।
१४. अन्तराष्ट्रिय स्तरका होटल तथा बजारहरूको योजनाबद्ध निर्माण ।
१५. पर्यटन मन्त्रालयले अन्तराष्ट्रिय तथा राष्ट्रिय महत्वका पर्यटकीय स्थलहरूलाई प्रत्येक वर्ष निश्चित संख्याहरूलाई ठूलो परियोजनाको रूपमा सञ्चालन ।
१६. पुरातात्विक महत्वका क्षेत्रलाई छिटो भन्दा छिटो पहिचानका लागि पुरातत्व विभागलाई थप सुविधा सम्पन्न बनाउँदै तीव्र रूपले उत्खननमा सहभागी ।
१७. पर्यटन एउटा सामूहिक उद्योग भएका कारण विभिन्न किसिमका यातायातका साधनहरू, टभल एजेन्सीहरू, सञ्चार, होटल तथा रेष्टुरेण्ट, पसलहरू, साँस्कृतिक संघ संस्थाहरू, वित्तीय संस्थाहरू लगायतका क्षेत्रमा सरकारले समन्वयात्मक भूमिका खेल्न संयन्त्रको निर्माण ।
१८. ठूला अत्याधुनिक परियोजनाहरूको लागि आम नेपाली जनता तथा वैदेशिक सहयोग तथा लगानीलाई प्रोत्साहन ।
१९. पर्यटनको प्रचारको लागि अन्तराष्ट्रिय विमान स्थलमा देशका मुख्य पर्यटक स्थलहरूको सूचना बोर्डहरू राख्ने र प्रत्येक सहरमा त्यस सहर र आसपासका पर्यटकीय स्थलहरूको बारेमा प्रचार बोर्ड राख्ने ।
२०. अन्तर्राष्ट्रिय र राष्ट्रीय स्तरका पर्यटकीय स्थलहरूलाई प्रत्येक सहरहरूमा दूरी तथा दिशा खुल्ने गरी बोर्डहरू राख्ने ।
२१. पर्यटन विकासका लागि विभिन्न किसिमका पर्यटकीय स्थलहरूलाई विभिन्न पर्यटन सर्किटका रूपमा निर्माण तथा सञ्चालन गर्ने जस्तै धार्मिक, पैदल तथा विविध प्राकृतिक पर्यटन लगायतका पर्यटन सर्किटहरू निर्माण तथा सञ्चालन ।
२२. प्रादेशिक यातायात बसपार्कहरूमा एउटा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत पर्यटन सेवा केन्द्र, पर्यटन सूचना केन्द्र तथा पर्यटन संग्राहलय समेत स्थापना ।
२३. पर्यटनको समानुपातिक विकासका लागि न्यूनतम रूपमा प्रत्येक राजनीतिक इकाइमा अनिवार्य रूपमा न्यूनतम एक पर्यटकीय स्थलको विकासको अवधारणा सञ्चालन ।
२४. पर्यटन क्षेत्रको विकास नै नेपालको समृद्धिको एउटा वलियो आधार हो भन्ने बारेमा जनचेतनामूलक कार्यक्रम बनाई अभियान सञ्चालन गर्ने र सवै सरकार, नागरिक, सहकारी तथा वितीय संस्थाहरूलाई यस क्षेत्रमा लगानीका लागि अभिप्रेरित गर्ने ।
२५.पर्यटन क्षेत्रको औद्योगीकीकरण तथा व्यवसायीकरणका लागि सरकारहरूले विशेष सहुलियत प्याकेज बनाउने ।
२६. आधुनिक तथा पर्यटनमैत्री पर्यटन सूचना केन्द्र तथा पर्यटन संग्राहलयको निर्माण गर्ने ।
२७. हाम्रो दक्षिणमा रहेको मित्रराष्ट्र भारतको विशाल हिन्दूहरूको तीर्थ स्थल मानसरोवर जाने हिन्दू पर्यटक मार्ग सुनौली, मुस्ताङ्ग, मानसरोवरका लागि वातावरण बनाउने ।
२८. भौगर्भिक पर्यटन मार्ग तथा संग्राहलय ( मर्चवारदेखि मुस्ताङ्गसम्मको क्षेत्र )
२९. ग्रेटर जीतगढी पर्यटन पार्क (नुवाकोट, मणिमुकुन्द उद्यान पार्क, दोभान, पाल्पा लगायत हाम्रा गौरवशाली युद्धहरूको संस्मरण गराउने जीतगढी संग्राहलय, अगे्रंज पराजय भएको स्थान र रोल्पामा प्रस्तावित युद्ध संग्राहलयहरूको बृहत्तर गुरुयोजनाका साथमा कार्य अगाडि बढाउने ।
३०. आधुनिक बृहत्तर पर्यटकीय पार्कहरू (जुलोजिकल, बोटानिकल, वर्डस, फ्रेलावर गार्डेन, विशिष्टीकृत पार्कहरू )
३१. नेपाल तथा प्रदेशका प्रतिमूर्ति पार्कहरू ( सम्पूर्ण नेपाल तथा प्रदेश झल्कने गरी )
३२. विशाल विशिष्टीकृत संग्राहलय ( जातीय संग्राहलय, समाजशास्त्रीय, वैज्ञानिक तथा सौर्यमण्डल लगायतका )
३३. राष्ट्रि«य निकुुञ्ज तथा खुल्ला चिडिया तथा पशुपन्छी घरहरू सहितका पार्कहरू
३४. अन्तराष्ट्रिय खेल मैदानहरूको निर्माण तथा खेलहरू सञ्चालन ।
३५.अत्याधुनिक एम्युजमेन्ट पार्क तथा सुविधा सम्पन्न ठूला तारे होटलहरूको निर्माणमा पहल ।
३६. हरेक क्षेत्रमा पर्यटनमैत्री सोंच, डिजाइन तथा वातावरण बनाउन पहल र प्रत्येक पर्यटकीय स्थलहरूमा पूर्ण पर्यटन मैत्री भौतिक संरचना तथा वातावरण निर्माण ।
१४. निष्कर्ष ः
 हाम्रो देश विविध पर्यटकीय ः सम्पदाहरूको खानी हो र हामीले नसोचेको पर्यटन विकास हाम्रो आँगनमा छ । हामीले यसको व्यवस्थापन र बजारीकरण गर्दै पर्यटनको बजारमा पस्कन सक्नु पर्दछ ।
 पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकासको व्यवस्थित योजनाहरू बनाउने र यसको लागि आवश्यक ज्ञान, सीप तथा दक्ष जनशक्तिको विकास गर्नु पर्दछ ।
पर्यटन व्यवस्थापनको विकासमा हामीले हाम्रा साेंच, ज्ञान र सीपलाई बदलिदो परिस्थिति अनुसार विकसित गर्ने काममा केन्द्रित गर्दै नयाँ शैलीवाट अगाडि बढन अति आवश्यक छ ।
 हाल हाम्रो देशले पर्यटनको विकासमा पाइलाहरू चाल्ने प्रयास गरिरहेको छ । यसलाई व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्न हामी सबै लाग्न आवश्यक छ ।
 पर्यटन व्यवसायको विकासले यहाँका बासिन्दाहरूको रोजगार, स्वरोजगार र व्यवसायमा वृद्धि भई उनीहरूको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्दै पर्यटन अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नेछ र नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुराउने निश्चित छ । यस कार्य नेपालले लिएको समृद्ध नेपाल सुखी जनताको लक्ष्य प्राप्त गर्न ठोस योगदान पुग्नेछ र पर्यटन क्षेत्र नेपालको संघीयताको विकासमा पनि एउटा बलियो आधार हुनेछ ।
लेखक पर्यटनविद् हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार