पूर्वीय दर्शनको विकास

अध्यात्मवादी दर्शन पूर्वीय दर्शनको एक सशक्त धाराको रूपमा हजारौं वर्षदेखि उपस्थित छ । यसले ब्रह्माण्ड, प्रकृति, जगत, मानव समाजलाई आत्माको प्रतिरूप मान्दछ । भौतिक संसारलाई परमात्मा र त्यसका गुणहरूलाई अभिव्यक्ति गर्ने माध्यम मान्दछ । अध्यात्मवादको एउटा गज्जबको विशेषता के देखिंदै आएको छ भने यसले वैज्ञानिक आविष्कारलाई समेत भरपूर आफ्नो पक्षमा निरन्तर उपयोग गरिरहेको छ । त्यसको लागि सबैभन्दा पुरानो र निकै ठूलो वेदजस्तो खजाना अध्यात्मवादको पूँजीको रूपमा रह्यो ।अध्यात्मवादी दर्शनको लागि वेदको अध्ययन अनिवार्य जस्तै मानिन्छ ।
पृथ्वी भौतिक जगत हो । यहाँ सारा जीवित प्रजातिहरू, वनस्पतिहरू, निर्जीव वस्तुहरू, नदी, हावा, तेज, खानीहरूको अवस्थिति रहेको छ । पृथ्वीमा भएका कुराहरू नै मान्छेले पत्ता लगाएको छ र त्यसबाट आफूले ज्ञान लिएको छ वा आफ्नो समुदाय वा जीवनमा उपयोग गरेको छ । तर हामीले जब पृथ्वी के हो भनेर छलफल गर्दछौं, अध्यात्मवादीहरूको बेग्लै मत पाइन्छ । अध्यात्मवाद एउटा आदर्शवादी विचार हो र त्यसले भौतिकवादी विचारसंग मेल खाँदैन । अध्यात्मवादले हजारौं वर्षको समयसम्म मानव समुदायलाई लगातार डो¥याउने काम गरेको छ । यसले कैयौं मान्यताहरू स्थापित गरेको छ । अध्यात्मवाद एउटा सशक्त दर्शनको रूपमा खडा भएको छ ।
अध्यात्मवादले परमात्माले सबै कुराको उत्पत्ति गरेको विश्वास गर्दछ । ‘परमात्माले जगतका सबै रूपको ज्ञानको लागि अग्नि, वायु र सूर्यबाट, ऋक, यज्ञ, साम रूप विविध ज्ञान भएका नित्य वेदलाई दोहेर प्रकट गरे अनि फेरि समय तथा महिना, ऋतु, पक्ष जस्ता काल विभाजन, नक्षत्र कृतिका आदि २७ नक्षत्रलाई, सूर्य आदि ग्रहलाई र नदी, समुद्र, पर्वत तथा तलमाथिका ठाउँलाई बनाए । फेरि यी प्रजाहरूका सृष्टिको इच्छाअनुकूल ती ब्रम्हाले तपलाई, वाणीलाई, रतीलाई, इच्छालाई, क्रोधलाई रचे । अनि कामको विवेचनालाई धर्म अधर्मलाई छुट्याए । यी सबै प्राणीका सुखदखका द्वन्द्वसंग जोडे ।’ (शर्मा, ६ ः २०६१) । अध्यात्मवादी दर्शनले परमात्मा भन्दा पर गएर कुनै कुराको पनि कल्पना गरेको छैन । यो संसारमा जे हुन्छ, त्यो सबै परमात्माको इच्छाअनुसार नै हुन्छ भन्ने कुरालाई निरन्तर स्थापित गरिएको छ । मानव, प्राकृतिक जीवजन्तु, वनस्पति, वायु, तेजलगायत ब्रह्माण्डमा भएका सबैथोक परमात्माले आफ्नो इच्छाअनुसार रचना गरेका हुन् ।
यो सबै सृष्टि जसरी सञ्चालन भइरहेको छ, त्यो सबै परमात्माले नै गरिरहेका छन् भन्ने अध्यात्मवादको स्थापित मान्यता हो । ‘परमात्माले कर्मात्मा सूर्य, अग्नि, वायुजस्ता देवता, मानिस, पशुपंक्षी जस्ता सामान्य प्राणीलाई साधना गर्ने कोटीका विशेष विद्वान समुदायलाई तथा सृष्टिबाट प्रलयकालसम्म निरन्तर चलिरहेका सुक्ष्म संसारलाई रचना गरे ।’ (शर्मा, ६ ः २०६१) ।
उपनिषदहरू, जुन वेदका विभिन्न प्रवर्गहरू हुन्, तिनमा ब्रम्ह (ईश्वर)लाई सबैथोक मानिएको छ । उनले चाहे भने सबैथोक गर्न सक्छन् र ब्रह्माण्डमा जे भइरहेको छ, त्यो उनकै इच्छाले भएको हो भन्ने अध्यात्मवादी दर्शनको मूल पक्ष हो ।
गंगाको उपत्यकामा इशापूर्व १५०० तिर, जतिबेला वेदको रचना भइरहेको थियो, त्यो समय पितृसत्ताको युग थियो । त्यही वेद नै अध्यात्मवादी दर्शनको पहिलो जग हो । पछि वेदमा जति पनि विकास गरिंदै लगियो, त्यसले अध्यात्मवादी दर्शनलाई शक्तिशाली बनाउँदै लग्यो । वेदकालीनपितृसत्ता समयक्रममा राजतन्त्रमा बदलियो र राजाहरू बलियो बन्दै गए । राजालाई भगवानका रूपमा व्याख्या गरियो । राजाहरूमा पैसा, सेना सबै केन्द्रित हुँदै गयो र सर्वसाधारणको नजरमा त्यो अकल्पनीय शक्ति राजाहरूले हासिल गरे । अध्यात्मवादी समाजमा राजाहरू र ब्राह्मणहरूको सम्बन्ध घनिष्ट बन्यो । ब्राह्मण पण्डितहरू ज्ञान बाँड्थे र राजाहरू शासन गर्दथे । ‘गंगा उपत्यकाको इतिहासको सुरुदेखि नै हामी कुरु, पञ्चाल, काशी र कोशल राज्यहरू स्थापित भएको देख्छौं । वेदका कवि या ऋषि विश्वामित्र, बशिष्ठ, भारद्वाज आदि यिनै राजाका कृपापात्र थिए । उनीहरूका दान स्तुतिहरूमा यीमध्ये कैयौंको प्रशंसा गरिएको छ । गंगा उपत्यकामा जब आर्यजन पुगे, आफूसंग राजतन्त्र लिएर गए भन्ने प्रमाण भेटिन्न किन कि प्रारम्भिक कालको बारेमा वेद चुप छ । त्यसले त्यो बेलामाथि प्रकाश हाल्दछ, जब कुरु र पञ्चालमा दुई वटा शक्तिशाली राजतन्त्र कायम भएका थिए र बशिष्ठ र विश्वामित्रजस्ता सशक्त ऋषि, पोषक र पूरोहित र राजकवि थिए ।’ (सांकृत्यायन, २३, २४ ः २०५७) । निश्चय पनि त्यो राजतन्त्रको युग थियो र राजतन्त्रको शक्तिमार्फत् अध्यात्मवाद बलियो हुँदै थियो ।
अध्यात्मवाद ‘आदर्शवादी विचार हो । यसले भौतिक संसार र यसका सबै गतिविधिहरूलाई ईश्वरीय वा परमात्माको मायाजाल वा लीला मान्दछ । कतिपय अध्यात्मवादी विचारकहरूले भौतिक संसारलाई परमात्मा वा उसका गुणहरूको अभिव्यक्तिको माध्यम मान्दछन् । अध्यात्मवादीहरूले आत्मा कहिल्यै नास नहुने, अनादी छ, सर्वव्यापी छ र शरीरबाट स्वतन्त्र छ भन्ने मान्दछन् । उनीहरूले इहलोक र परलोक, पुर्वजन्म र पुनर्जन्म तथा भाग्य र कर्म आदिमाथि विश्वास गर्दछन् ।’ (पन्थी, १५ ः २०६२) । हजारौं वर्षदेखि अध्यात्मवादीहरू यी कुरामा दृढ छन् । उनीहरूले यसबारेमा कहिल्यै आफ्नो धारणा फेरेका छैनन् । र अध्यात्मवादीहरूले बेग्लै कुनै नयाँ अवधारणा पनि ल्याएका छैनन् । हजारौं वर्षअगाडि जुन अवधारणाहरू थिए, तिनैलाई निरन्तरता दिइरहेका छन् ।
अध्यात्मवादले पूर्वजन्म र पुनर्जन्ममा पूरापूर विश्वास गर्दछ । उपनिषदहरूमा त्यसबारे उल्लेख गरिएको छ । पूर्वजन्म र पुनर्जन्म किन उल्लेख गरियो होला भनेर खोज्नु झनै चाखलाग्दो विषय हो ।त्यो तत्कालीन अवस्थामा समाजलाई आफू अनुकूल ढाल्नको लागि पूरोहितहरूले रचना गरेको गज्जबको जुक्ति हुनुपर्छ ।‘पुनर्जन्मको सिद्धान्त सबभन्दा पहिले हामी उपनिषदमा देख्दछौं । वेदमा परलोकका ‘अमर’ हुने ठाउँमा यसले यही जगतमा जन्मपुनर्जन्म जोडिदिन्छ । जस्तो कि भनिसकिएको छ, यो वर्ग विभाजित समाजको ढाँचालाई अक्षुण्ण राख्ने सशक्त तरिका थियो ।’ (सांकृत्यायन, ८० ः २०५७) । समाजलाई निश्चित मार्गमा हिंडाउनको लागि एउटा सचेत वर्गको उदय भइसकेको थियो ।
ती आर्यसमाजका ऋषिमुनिहरू, पण्डितहरू थिए । समाजमा शासन गर्नको लागि राजतन्त्रको उदय भइसकेको थियो । जसले अध्यात्मवादलाई समाजमा स्थापित गराउनको लागि सबै शक्ति लगाउन सक्थ्यो । ‘भारतमा पहिलेकाधार्मिक विकासमाथि ध्यान दिएर सोच्ने हो भने केही अरू कुराहरूको पनि थाहा लाग्दछ । उपनिषद्को ब्रह्मज्ञान आर्यहरूका दिमागको उपज थियो ।’ (सांकृत्यायन, ८१ ः २०५७) । उनीहरूले आफ्नो दिमागलाई भरपुर उपयोग गरे । त्यसको लागि वातावरण पनि उनीहरूकै अनुकूल थियो ।
‘साहित्यिक सामग्रीहरू भन्दा वेदका मन्त्र, सूक्त र छन्दहरू निकै प्राचीन ठहरिएका छन् । यी मन्त्रहरू पनि कुनै निकै प्राचीनका हुन भने कुनै त्यसभन्दा पछिका ठहरिन्छन् । आर्यहरूको विकासको एउटा चरणमा वैदिक ऋचाहरूको निर्माण एवं रचना प्रायः अबरुद्ध रचना भयो । त्यसैलाई ब्राह्मणहरूले आफ्नो परम्परागत बौद्धिक पुण्य सम्पत्तिका रूपमा आबद्ध पारेर आफ्नो एकाधिकार जमाउन सफल भए ।’ (डाँगे, ३५, २०६५) । उनीहरू त्यसरी सफल हुनाको कारण के पनि थियो भने उनीहरूले वेदको अध्ययनलाई धेरै महत्व दिए र ब्राह्मणबाहेक अन्य समुदायले वेद अध्ययन गर्न सकेन वा तिनीहरूलाई रोक लगाइयो ।
अध्यात्मवादको विकासमा धेरै दार्शनिकहरूले योगदान गरेका छन् । मनु दार्शनिक मात्रै नभएर राजा पनि थिए । उनले राज्य सञ्चालन र अध्यात्मिक जीवनशैली निर्माणको जग बसाले । मनुस्मृति यस्तो ग्रन्थ हो जसले हिन्दू समाजमा एकछत्र राज गरेको छ । मान्छेको अध्यात्मवादी जीवनशैली निर्माण गर्न, राजाले राज्य सञ्चालन गर्न, राज्यमा कोष स्थापना गर्न, मान्छेको जिम्मेवारीका विषयमा उनले लामो व्याख्या गरेका छन् ।
दार्शनिक शुक्र अध्यात्मवादी दार्शनिक मध्येका एक हुन् । उनले दैवी शक्तिलाई मुख्य प्राथमिकतामा राखेका छन् । ‘शुक्रले राज्यको उत्पत्ति दैवी तथा सावयवी प्रस्तुत गरेका छन् । उनले राज्यलाई ईश्वरद्वारा उत्पत्ति गरेको मान्नुका साथै यसलाई जीवित स्वरूप सहर मानेकाले जसरी शरीरमा विभिन्न अंग हुन्छन्, त्यस्तै राज्यमा पनि सात अंग मानेका छन् ।’ (सिवाकोटी, ४८ ः २०६१) उनले राजाको निर्माण इन्द्र, वायु, यम, सूर्य, अग्नि, वरुण, चन्द्र र कुवेर गरी आठ देवताको अंगले बनेको कुरा बताएका छन् । उनले राजालाई ईश्वरका निकट मानेका छन् ।
याज्ञबल्क शुक्ल यजुर्वेदका द्रष्टा मानिन्छन् । उनले पनि अध्यात्मवादी दर्शनको फैलावटमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसबाहेक कौटिल्य पनि अध्यात्मवादी दार्शनिक हुन् । उनले राज्य सञ्चालनसम्बन्धी व्यवहारिक सिद्धान्तहरूको प्रतिपादन गरेका छन् । उनले राजा, राजाको शक्ति, लडाईं, राज्यकोष, कुटनीतिको सञ्चालन आदिका बारेमा अध्यात्मवादी शासनसत्तालाई मबजुत बनाउनको लागि दार्शनिक रूपमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसबाहेक धेरै पूर्वीय दार्शनिकहरूले अध्यात्मवादी दर्शनमा ठूलो योगदान गरेका छन् ।
हिन्दू धर्मले अध्यात्मवादलाई फैलाउनको लागि महत्वपूर्ण भूमिका खेलेको छ । भारतीय धर्महरूको युगलाई मूल रूपमा तीन भागमा विभाजन गरिन्छ । वैदिक काल, ब्राह्मणकाल र हिन्दू काल । वैदिक काल भनेको वेदको रचनाकाल हो । चार भागमा रचना गरिएको वेदको पहिलो रचना ऋग्वेद हो भने पछिल्लो रचना अथर्ववेद हो । जसमा जादु र टुनामुनाका मन्त्रहरू संकलन गरिएका छन् । तिनमा अध्यात्मवादकै रूप पाइन्छ ।
‘इन्द्रलाई आर्यहरूको प्रारम्भिक देवता मान्न सकिन्छ किनभने उनमा सबैभन्दा पुराना लक्षणहरू पाइन्छन् । वेदहरूमा उनी सबैभन्दा लोकप्रिय देवता हुन्, यद्यपि उनको उल्लेख्य अन्य ऋचाहरूमा समेत पाइन्छ तापनि २ सय ५० भन्दा बढी ऋचाहरू एक्लै उनैका खातिर समर्पित छन् ।’ (तोकारेव, १५६) । वेदका केही ऋचाहरूमा बरुणलाई सर्वाेच्च देवता भनिएको छ । ‘वरुण रातको समयको आकाश, आकाशीय र भूमिगत जलका देवता थिए । उनको नाम बर धातुबाट बनेको हो, जसको अर्थ अच्छादित गर्नु हुन्छ ।
त्यसरी उनी अच्छादित गर्ने देवता हुन् ।’ (तोकारेव, १५६) वेदमा देवताहरूको कैयौं वर्णन गरिएको छ । वेदमा केवल देवताहरूको मात्रै वर्णन गरिएको छैन कि सम्पूर्ण प्रकृतिको वर्णन गरिएको छ ।
यज्ञहरूले अध्यात्मवादी दर्शनको फैलावटमा धेरै ठूलो योगदान गरेका छन् । त्यसरी यज्ञ गर्नु पुण्य कमाउनु हो भन्ने स्थापित मान्यता छ । स्वर्ग जानको लागि त्यसरी यज्ञहरू गरिन्छन् र यज्ञहरू गरिएपछि पापहरू पखालिन्छन् । ‘वैदिक कर्मकाण्डमा यज्ञहरूले सबैभन्दा बढी भूमिका खेल्ने गर्दथे । ती देवताहरूसित सम्पर्क गर्ने मुख्य साधन थिए । देवताहरूलाई अधिकांश रूपमा सोमरस, गाईको दूध, घीउ, मह र अन्न अर्पित गरिन्थ्यो ।’ (तोकारेव, १५८) । ती यज्ञहरूमा वेदको ज्ञाता ऋषिमुनिहरू रहन्थे र तिनीहरूले यज्ञबाट धेरै सम्पत्ति थुपार्ने र आफ्नो जीविकोपार्जन गर्दथे । तिनीहरूको मुख्य काम नै यज्ञ गर्नु थियो । त्यसले एकातिर अध्यात्मवादी दर्शनलाई समाजमा स्थापित गर्दै लग्यो भने अर्कातिर ऋषिमुनिहरू सम्पन्न हुँदै गए । यज्ञहरूले अध्यात्मवादी दर्शनको फैलावटमा ठूलो हतियारको काम गरेको पाइन्छ । यसरी यज्ञहरूलाई व्यापक बनाउँदै लगियो । त्यो हालसम्म पनि विद्यमान रहिआएको छ ।
‘समग्रतामा वैदिककालको धर्म अपेक्षाकृत सरल र जटिलताविहीन थियो । त्यसमा यज्ञ अर्थात् देवताहरूलाई खुशी बनाउनका लागि उनीहरूको निम्ति भेटी र बलि दिने कुरामा सबैभन्दा बढी जोड दिइएको छ । देवताहरूको संख्या ज्यादै बढी छ र तीमध्ये अधिकांश प्राकृतिक घटनाक्रमका मूर्त रूप छन् । तर पनि हरेक यज्ञमा त्यो सम्पन्न गराउेको चासो कुनै खास देवतासित नै हुन्छ ।’ (तोकारेव, १५९) । सबै यज्ञहरू देवताको लागि गरिन्थ्यो । देवताको ठूलठूला महिमागानहरू गाइन्थ्यो र समाजमा देवताको सबै प्रकारका रूपहरूलाई स्थापित गराइएको थियो । परमात्मा, ईश्वर, देवताहरू समाजमा सर्वमान्य भइसकेका थिए ।
वैदिककालपछि समाजमा ब्राह्मणकाल सुरु भयो । मनुस्मृतिमा ब्राह्मणहरूलाई देवत्वकरण गरिएको छ । ब्राह्मणलाई सर्वश्रेष्ठ रूपमा प्रस्तुत गरिएको छ । त्यसले ब्राह्मणहरूले वेदको अध्ययन गर्न सक्यो भने वेदलाई समाजमा स्थापित गर्नको लागि ब्राह्मणको एकल भूमिका रह्यो । मनुस्मृतिमा ब्राह्मणलाई जन्मदेखि नै पृथ्वीको सर्वश्रेष्ठ प्राणी घोषणा गरियो । अरू सबै जातिहरू ब्राह्मणको सेवामा खटिनुपर्ने नियम बनाइएपछि हजारौं वर्षसम्म त्यही परम्परा कायम गरियो । ब्राह्मणकालमा धार्मिक दार्शनिक साहित्यको यति धेरै प्रचार गरिएको पाइन्छ कि त्यसले धेरै हदसम्म एकछत्र राज गर्न सक्यो । त्यो पनि अध्यात्मवादी दर्शनकै फैलावट थियो ।
हिन्दू धर्मकाल ब्राह्मणकालको पछिल्लो रूप हो । यस कालमा धेरै मठमन्दिरहरूको निर्माण गरियो । ब्राह्मणकालमा पुनर्जन्मको सिद्धान्त प्रतिपादन भएको थियो । तर हिन्दूकालमा त्यो हिन्दू धर्मकै आधारभूत सिद्धान्त बन्यो । बौद्ध धर्मले अध्यात्मवादको विरोध गर्न थाल्यो । त्यसो हुँदा स्पष्टरूपमा ती दुई धर्मका बीचमा संघर्ष भयो ।
आफ्ना परम्परागत मान्यताहरूलाई जोगाउनको लागि हिन्दूकालमा ठूलठूला संघर्षहरू गरिए । ‘त्यो युगको लाक्षणिक विशेषता के थियो भने कर्मकाण्ड बढी जनपरक बन्न पुग्यो । व्यापक जनसमुदायमाथि प्रभाव पार्ने नयाँ तरिका निकालियो । सबैभन्दा पहिले जनतालाई कर्मकाण्डमा भाग लिने सम्भावना पैदा गर्नु थियो र सार्वजनिक, सामाजिक समारोह, अनुष्ठान, पूजास्थल, मन्दिर, तीर्थस्थान आदिसमेत आवश्यक थिए ।’ (तोकारेव, १६६) । यसको परिणाम के भयो भने भारतभरी व्यापक मात्रामा मन्दिरहरूको निर्माण गरियो र भक्तहरूलाई मन्दिरहरूमा केन्द्रित गरियो । मन्दिरभित्र देवीदेवताका मूर्तिहरू राख्न थालियो ।त्यो मूर्तिपूजाको युग बन्न थाल्यो । भगवान, देवीदेवता, विभिन्न जनावर, जीवजन्तुहरूलाई मूर्तिको रूपमा ढाल्न थालियो । पशु र प्रकृति पूजाको रूपमा रहेको धर्म अब मूर्तिपूजाको रूपमा समेत विस्तार भयो । यसरी अध्यात्मवादले फरक फरक तरिकाले व्यापकता पाउँदै गयो । यसले निरन्तर आफूलाई फरक तरिकाले विकास गर्दै लग्यो ।
वैदिककालमा जुन अध्यात्मवाद थियो, त्यही अध्यात्मवादले विकसित रूप धारण गर्दै गयो । नयाँ नयाँ मान्यताहरू स्थापित भए । ती स्थापित मान्यतासहित अध्यात्मवाद समााजमा पहिलेकै स्वरूपमा वा पहिले जत्तिको शक्तिशाली नभए पनि ठूलो शक्तिसहित कायम रहेको छ । अध्यात्मवादले निरन्तर भौतिकवादसंग संघर्ष पनि गरिरहेको छ । भौतिकवादसंग उसको लडाईं आज वा भोलि समाप्त हुने लडाईं होइन । यो निरन्तर चलिरहने लडाईं हो ।
सन्दर्भ सामग्रीः
डाँगे, श्रीपाद अमृत (२०६५) आदिम साम्यवाददेखि दासप्रथासम्मको इतिहास, पुस्तक सेन्टर, काठमाडौं ।
तोकारेव शे (मिति नभएको), धर्मको इतिहास, मालिका प्रकाशन, काठमाडौं
पन्थी, युवराज, (२०६२) राजनैतिक दार्शनिक शब्दकोष, सहस्राब्दी प्रकाशन प्रा.लि., काठमाडौं
शर्मा, अर्जुनदेव (२०६१) मनुस्मृति, प्रवेश प्रकाशन, काठमाडौं
सांकृत्यायन, राहुल (२०५७) मानव समाज (अनु युवराज पन्थी), निरन्तर प्रकाशन, काठमाडौं
सांकृत्यायन, राहुल (२०७३) दर्शनदिग्दर्शन, अक्षरदीप प्रकाशन, काठमाडौं
सिवाकोटी, गोपाल (२०६१) विश्वका प्रमुख राजनीतिक विचारधारा, पैरवी प्रकाशन, काठमाडौं

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार