सकारात्मक कर्मको परिणति :संस्कृति र समृद्धि!

हामीले सहजै अनुमान गर्न सकिन्छ कि विगत पक्कै पनि आज जस्तो थिएन । हामी अनुमान गर्न सक्दछौं कि आज जस्तो भोलि रहँदैन । प्रकृति उस्तै रहला, तर मानव समाज उस्तै रहन सक्दैन । आजको मानिसका खानपान, रहन—सहन, साधन—औजार, परिधान उस्तै रहिरहन सम्भव छैन । यी परिवर्तनले मानिसका चिन्तनमा पनि अवश्य नै प्रभाव पार्दछ । फलतः यी सबै विषयमा परिवर्तन स्वाभाविक र अवश्यम्भावी छ ।
परिवर्तन अवश्यम्भावी छ । यो परिवर्तनलाई मानव जातिले सचेतनतापूर्वक, सकारात्मक ढंगले, न्यायपूर्ण रूपमा ग¥यो भने सापेक्षित रूपमा छिटो र अनुकूल हुन सक्दछ । यदि मानिसले सचेतन प्रयत्न नगरी परिवर्तन भयो भने कम अनुकूल, कम न्यायिक, कम सकारात्मक र तुलनात्मक रूपले ढिलो हुन सक्दछ ।
मानव जातिले आफ्ना परम्परा, मूल्य—मान्यता, रहनसहन, खानपानमा समयसापेक्ष परिष्कार गर्दै जाँदा ‘संस्कृति’ निर्माण भइरहेको हुन्छ । यदि यसो हुन सकेन भने अन्धविश्वासले मानिसलाई जकडिदिन्छ र ‘विकृति’कोपरिणाम दिन्छ । संस्कृतिमा अग्रगमन छ भने अन्धविश्वासमा, अपरिष्कारमा पश्चगमन वा यथास्थिति रहन्छ ।
संस्कृति कुनै पनि समाजको सकारात्मक कर्महरूको परिणति हो । केही नगरी प्रतिफलको परिकल्पना गर्नु कायरता हुन्छ । भनिएको पनि छ ः दैवेन देयमिति कापुरुषाः वदन्ति अर्थात् कायर मानिसले मात्र सबै कुरा दैवले (भाग्यले) नै दिन्छ भन्दछन् । प्रतिफल त केही गरे पनि वा केही नगरे पनि पाइने नै छ, तर गरेर पाइने प्रतिफल र नगरीकन पाइने प्रतिफल उस्तै होला त ?अवश्य हुँदैन । त्यसैले संस्कृति आफै बन्दैन, संस्कृति सचेतनतापूर्वक निर्माण गनुपर्दछ ।
संस्कृति निर्माणको विषय जति सहज छ, उत्तिकै जटिल पनि छ । देश, काल, परिस्थिति र लोकको आवश्यकतालाई बुझेर इमान्दार प्रयास गर्दा संस्कृति निर्माणको विषय सहज हुन्छ भने आफ्ना पूर्वमान्यता र परम्पराको जकडनमा रहने प्रयत्न गर्दा यो विषय जटिल बन्दछ ।
संस्कृति निर्माणका प्रसंगमा केही विरोधाभाष वा अन्तर्विरोधी अवस्था पनि हुन्छन् । एकातर्फ यसमा इतिहास र परम्पराको पक्ष रहेको हुन्छ भने अर्कोतर्फ यसमा निरन्तर परिष्कार भइरहेको हुन्छ । संस्कृति विगत वा वर्तमानका कर्मको परिणति हो । सकारात्मक कर्मकै दौरान् यो संस्कृति बनिहाल्दैन, कर्मको परिणाम संस्कृति बन्दछ ।संस्कृति निर्माणको आधार इतिहास, परम्परा र स्वयं संस्कृति नै हो । ‘सम्’ भनेको राम्रो, ‘कार’ भनेको भनेको गर्ने (कर्ता) हो, ‘कृति’ भनेको बनिसकेको हो । जसरी गीतकार, साहित्यकार, उपन्यासकार भनिन्छ, तिनै ‘कार’मा ‘सम्’ उपसर्ग लगाएपछि संस्कार बन्दछ । त्यसैगरी ‘कार’को उत्पादन कृतिमा ‘सम्’ उपसर्ग लगाएपछि संस्कृति बन्दछ । सारमा सुन्दर ‘कार’बाट मात्र सुन्दर ‘कृति’ बनेको हुन्छ, बनेको छ र बन्दछ । त्यसैले, हामीले, हाम्रा चालचलन, व्यवहार, खानपान, पहिरन, हाम्रा उत्पादनका उपकरण र तिनको प्रयोग राम्रो बनाउँदा संस्कृति राम्रो बन्दछ । यी सबैको परिणामबाट सकारात्मक सोच—चिन्तन पनि सकारात्मक बन्दछ । यसरी संस्कृति सचेतन प्रयासबाट निर्माण गरिने परिष्कृत जीवन व्यवहार हो भन्ने स्पष्ट हुन आउँछ । शाब्दिक अर्थको हिसाबले संस्कृति भनेको परिष्कृत÷शुद्ध पारिएको, खारिएको भन्ने नै हुन्छ ।
राम्रो—नराम्रो, सही—गलत, आवश्यक—अनावश्यक भन्ने विषय निरपेक्ष वा सधै एकनासको हुँदैन । कुनै बेलाको राम्रो समय फेरिँदा राम्रो नरहन वा नमानिन सक्दछ । कुनै बेलाको सही अर्को कालखण्डमा सही नमानिन सक्दछ । कहिलेको आवश्यकता कहिले अनावश्यक पनि हुन सक्दछ । समय गतिशील छ, आवश्यकताहरू पनि गतिशील नै हुन्छन् । बालककालमा सही मानिएको विषयवस्तु युवावस्थामा सही हुँदैन । वृद्धावस्थामा त झनै अनुपयुक्त हुन पुग्दछ । समय पनि त्यस्तै हो, कतिपय कुरा समयले र कतिपय कुरा स्थानविशेषले उपयोगी वा अनुपयोगी हुन्छ । विचार पनि त्यस्तै हो । सभ्यता र संस्कृति पनि समय र स्थानसापेक्ष नै हुन्छ ।
हामीले पहिरने गरेका परिधानको रूपरेखा कसले निर्माण ग¥यो होला ? सबैभन्दा पहिले यस्तो लुगा कसले बनायो, कसले सिलायो र कसले पहि¥यो होला ? हामीले प्रयोग गरिरहेका भाँडाकुँडा कसले, कहिले, कसरी बनाएको होला ? यसको पहिलो उपभोक्ता को होला ? हामीले खाने गरेका खान्की कसले पत्ता लगायो होला ? खाने जुक्ति कसरी, कहिले र कसले जुरायो होला ? यी प्रश्नहरूमा इतिहास, परम्परा, भूगोलसँग सम्बन्धित जवाफ अन्तर्निहित छन् ।
हाम्रा पहिरन र खानपान भौगोलिक अवस्थाको प्रभाव रहेको छ । हाम्रा औजारहरूमा इतिहास र भूगोलको प्रभाव रहेको छ । यिनीहरू सीपमा आधारित छन् । हाम्रा बोलीवचन परम्पराबाट चलेका छन् । हाम्रा चाडपर्वमा इतिहास, धर्म, परम्परा र भौगोलिक विशेषता झल्किन्छन् ।
अहिलेको आधुनिक पहिरन निर्माण हुनुमा नेपाली सूचीकारहरूको योगदान छ । अहिले चलनचल्तीका भाँडाकुँडामा हाम्रा कुम्भकार, ताम्रकारहरूको सीपको योगदान छ ।अहिलेका काट्ने, ताछ्ने, खन्ने, जोत्ने आदि औजार उपकरणहरूमा विश्वकर्मा समुदायको सीपको भूमिका रहेको छ । जाल बनाउने, जाल हान्ने आदि सीप हामीसँग छ । अहिले बज्ने बाजा बनाउने र बजाउने सीप र कलामा हाम्रो योगदान छ । हाम्रोमा बज्ने नौमति बाजा, पञ्चेबाजा हाम्रा मौलिक वाद्यवादन हुन् । हामीले लगाउने दौरा—सुरुवाल, चौबन्दी चोलो आदि हाम्रा मौलिक परिधान हुन् । हाम्रोमा प्रचलित टोपी फरक र मौलिक छ । उमार्ने, पूmलाउने, फलाउने, पकाउने, सुरक्षित भण्डारण गर्ने, कुट्ने, पिस्ने(पिंध्ने), पेल्ने, पकाउने आदि सबै सीप हामीसँग छ र यिनमा मौलिकता छ । यी सबै हाम्रै समाजको विभिन्न समुदायका मानिसहरूबाट बनेका छन् । दशैँ, तिहार आदि परम्परागत पर्वहरू हामीले फरक ढंगले मनाउने गर्दछौं । यी सबै हाम्रो संस्कृतिका आधार हुन् । अनि यी परम्परा, सीप, ज्ञान, प्रविधि आदि सबै नेपालीकासाझा हुन् । त्यसैले, सांस्कृतिक हिसाबले हाम्रो समाज, हाम्रो सिंगो राष्ट्र साझा सांस्कृतिक पूmलबारी हो ।
हाम्रो संस्कृतिमा देवीदेवता, पूजा पनि त्यसै आएका होइनन् । हरेक ‘उपयोगी’लाई हाम्रो संस्कृतिले देवीदेवता मानेको छ । हरेक गुण—विशेषतालाई पूजा गरिने गरिएको छ । हरेकका भूमिकालाई स्वीकार गरिएको छ । पृथ्वीलाई सर्वोपरि देवी (माता) मानिएको छ । यहाँ सूर्य देवता छन् । यहाँ वायुलाई देवता मानिएको छ । जललाई देवता भनेर मानिन्छ । आकासलाई पूजिन्छ । बनाउने, चलाउने र मिति पुगेपछि (म्बतभ भ्हउष्चभ भएपछि) त्यसको व्यवस्थापन गर्नेलाई मुख्य देव(त्रिदेव) मानिएको छ । नारद, गणेश, नन्दी, गाई आदिको मात्र होइन; सर्प, काग, कुकुर आदिको पूजा हुन्छ । वरपिपल आदि ठूला वृक्षको मात्र होइन; दुबो, कुश, तुलसी आदि झारको पनि पूजा गरिन्छ । पूजितको मात्र होइन, पूजा गर्ने वस्तु र पात्रहरू, पूजकको लागि समेत मन्त्र छन् । सीप र कलाका लागि विश्वकर्माको, औषधिका लागि धन्वन्तरी र अश्विनी कुमारको पूजाको प्रावधान छ । सबै आवाहनकर्ता(बोलाउने)लाई ऋषि र आवाहित(बोलाइने÷बोलाइएका) लाई देवता भनिएको छ । अहिले भारतमा तेस्रो लिङ्गीलाई ‘किन्नर’ भन्ने गरिएको छ, हाम्रो पूजापरम्परामा यक्ष, गन्धर्व, किन्नर आदिको उल्लेख पाइन्छ । उनीहरूलाई आममानिसभन्दा माथिल्लो कोटिमा राखिएको छ । हामीले बोल्दा—लेख्दा कुनै प्रवृत्ति र व्यक्तित्व(देवदेवी) छुट्न सक्दछन्, तर पूजापरम्परामा केही र कोहीलाई पनि छुटाइएको छैन ।
के स्पष्ट हुन आवश्यक छ भने पूजा संस्कार हो, संस्कृति होइन । पूजाले दिने सन्देश वा परिणति संस्कृति हो । पूजाले विनम्रताको शिक्षा दिन्छ । पूजाले गुण—विशेषताहरूको सम्मान गर्ने शिक्षा दिन्छ । पूजाले कृतज्ञताको शिक्षा दिन्छ । पूजाले पवित्रतातर्फ प्रेरित गर्दछ । पूजाले प्रकृतिमा रहेका पदार्थहरूको मूल्यबोध गराउँछ । पूजाका यस्ता अनेकौं अन्तर्वस्तु छन् । तर पूजा गर्नेले, पूजा गराउनेले यी विषयमा ध्यान दिएको छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण छ ।
धार्मिक स्थलहरूलाई पनि संस्कृति निर्माणका स्थलहरूको रूपमा बुझिन्छ । यस्ता धार्मिक स्थलहरूलाई मूलतः तीनवटा नामले सम्बोधन गर्ने गरिन्छ ः धाम, तीर्थ र पीठ । धाम त्यस्तो ठाउँ— जहाँ देवीदेवताहरू(विभूतिहरू) बसे, तीर्थ ती ठाउँ— जहाँ देवीदेवताहरूले यात्रा गरे या पुगे । पीठ त्यस्तो ठाउँ— जहाँ शक्ति उत्पन्न वा स्थापना गरियो । संस्कृति निर्माणका यस्ता ठाउँहरूको विशेष भूमिका रहेको देखिन्छ । यस्ता ठाउँहरूका विषयमा वेदमा, पौराणिक—धार्मिक ग्रन्थहरूमा रहेका विवरणलाई पछ्याएर पहिचान गरिन्छ । इतिहास लेखनको सुरुआत हुनु अघिको विषय भएकोले यस्ता सन्दर्भहरूलाई प्रागैतिहासिक (इतिहास लेखिनुपूर्वको) भनिन्छ । यिनीहरूको कालक्रम निर्धारण पनि तिनैका आधारमा गरिन्छ । यसमाप्रायः कथ्यलाई नै तथ्य मानिंदै आएको देखिन्छ ।यस्ता ठाउँहरूका बारेमा उत्खनन् गरेर प्रमाणित गरेको खासै भेटिंदैन । भारतका ‘सुप्रसिद्ध’ स्थलहरू शास्त्रीय आलेखका आधारमा प्रसिद्धि पाइरहेको लगायतका अन्य अवस्था हामीले देखेकै छौँ । तर ऐतिहासिक संरचना, भग्नावशेष आदिको भने उत्खनन् हुनु आवश्यक छ । राम, कृष्ण, विष्णु, शिव, पार्वती, अहिल्या, सीता, गण्डर्षि, भगिरथ, व्यास, मार्कण्डेय, विश्वामित्र, कपिल, ध्र्रुव, परशुराम, गजेन्द्रमोक्ष स्थल आदिका विषयमा के उत्खखन् गर्ने ?यस्ता विषयको उत्खखन् शास्त्रीय तर्क वा विवेचना, जनविश्वास वा जनश्रुति नै हो ।
संस्कृतिको सबैभन्दा महत्वपूर्ण पक्ष मानवीय क्रियाकलाप हो । मानिसका क्रियाकलाप र अनुभवहरूको परिष्कार नै संस्कृतिको आधारभूत पक्ष हो । यस विषयको लिखित प्रमाणका रूपमा वेद (मूलतः ऋग्वेद) लाई मान्न सकिन्छ । यसमा त्यस्ता क्रियाकलाप, अनुभव र अनुमानका विषयको उल्लेख छ । यद्यपि, वेद श्रुतिपरम्पराबाट आएको हो, तथापि यसमा समाज व्यवस्थापनका विषयमा उल्लेख गरिएका सन्दर्भहरूले समाज विकासक्रमको अध्ययन गर्न सहयोग गरेका छन् । तर हामी आधारमा नै टाक्सिएर र टाँस्सिएर रहिरह्यौं भने असल संस्कृति निर्माण हुन सक्दैन ।
वायुयान होस् वा रकेट वा यातायातका कुनै साधन होस्, जहाँ बनेको हो, जहाँ प्रारम्भ ृक्तबचतेभएको हो, त्यहीँ नै रहिरह्यो भने के होला ? गन्तव्यमा पुग्न सक्दैन र ती निरर्थक हुन्छन् । हामीले खेतबारीमा छरेको बीउ जस्ताको तस्तै सुरक्षित मात्र रह्यो भने के होला ?
त्यसैगरी संस्कृति पनि आफ्नै आधारमा रह्यो भने, त्यो गतिशील भएन भने त्यसले आधारलाई समेत दोषि प्रमाणित गरिदिन्छ । संस्कृति निर्माणका आधार भरपर्दा र बलिया हुनुको प्रमाण त्यसमा निर्मित संरचनाको सबलता हो । नत्र ढुंगामा बनेको वालुवाको घर र दलदलमा बनेको काठ वा फलामको संरचना जस्तो उदाहरण संस्कृतिले पनि बोक्नपर्ने हुनसक्छ ।
सबल संस्कृति निर्माण गर्न हाम्रो संस्कृतिका आधार तथा पक्षहरूको व्यवस्थित अध्ययन गर्न आवश्यक छ । वेद, पुराण तथा जनविश्वास र जनश्रुतिमा आधारित सांस्कृतिक स्थलहरूको अध्ययन, उचित मर्मत—सम्भार, संरक्षण र प्रचार—प्रसार गर्न आवश्यक छ । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका संरचना तथा भग्नावशेषहरूको उत्खनन् गर्नुपर्ने हुन्छ । हाम्रो राष्ट्रको पहिचान दिने मौलिक औजार—उपकरण तथा परिधानहरूको प्रवद्र्धन गर्न आवश्यक छ । अन्य संस्कृतिका असल पक्षहरूलाई पनि हामीले ग्रहण गर्नु सांस्कृतिक दृष्टिले उपयोगी हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार