‘डेंगु : भ्रम र वास्तविकता

डेङ्गुलाई महामारीको तथा प्रकोपको रुपमा बुझिरहिएको छ । विभिन्न सामाजिक सञ्जालमा डेङ्गुबाट बच्न यसो गरौँ भन्दै प्रचारहरु बनिरहेका छन् । वास्तवमा डेङ्गु के हो र कसरी लाग्छ तथा यो रोगको विषयको बारेमा अर्घाखाँची मेडिकल हलमा कार्यरत फिजिसियन डा. महेशराज घिमिरेसँग पूजा पन्थीले गरेको कुराकानीको सम्पादित अंश ।

डेंगु के हो ? यो रोग हो हो कि ज्वरो वा के हो ?
यो एक भाइरस हो । aedes species को लामखुट्टेले रोग फैलाउँछ । जब डेंगु भएको लामखुट्टेले हामीलाई टोक्छ तब हाम्रो शरीरमा डेंगुको भाइरस छिर्छ अनि त्यो भाइरस हाम्रो शरीरमा थप फैलन्छ । यो भाइरस हाम्रो शरीमा संक्रमित भएपछि केही दिनमा ज्वरो आउने, जोर्नीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, थकित महशुस हुने, ब्लड प्रेसर कम हुने र यो बढी नै फैलिएको छ भने कोही कसैलाई नाक, मुखबाट रगत बग्ने, दिसामा रगत देखिने, छालाबाट रगत बग्ने समेत हुन्छ । यो ज्वरो नभएर एक प्रकारको रोग नै हो ।

यो कसरी हुन्छ ? यसका लक्षण के हुन् ?
डेंगु एडिस एजेप्टी नामक दिउँसो टोक्ने पोथी लामखुट्टेले टोकेर हुने डरलाग्दो भाइरल संक्रमण हो । डेंगुले गर्दा शरीरको रगत जम्ने (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । यो संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन ।
यसका मुख्य लक्षणहरु यस प्रकार छन् ।

सुरुमा बिरामीहरुमा धेरै टाउको दुख्ने,
ज्वरो आउने
रिँगटा लाग्न
जिउ, हाड तथा जोर्नीहरु दुख्ने
आँखाका गेडी दुख्ने
शरीरको मासु पूरै दुख्ने
वाकवाकी लाग्ने÷वान्ता हुने
छालामा बिमिरा आउने
रक्तस्राव हुने
आलस्यता हुने जस्ता लक्षणहरु देखा पर्छन् ।
शरीरमा रातो दानाहरु आउँछ, स्वासप्रस्वासमा समस्या आउँछ । साथै नाकबाट रगत आउने, रगतमा पानीको मात्रा कम हुने, प्लेटलेट्सको सङ्ख्या एक लाखभन्दा कम हुने, रक्तचाप कम हुने पनि हुन्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने हुन्छ । अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने बताइएको छ तर बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जाने सम्भावना पनि हुन्छ । यो रोगको तीनवटा चरणहरु देखिन्छ । क्लासिक डेङ्गुज्वरो, डेङ्गुहेमोरेजिक ज्वरो र डेङ्गुशक सिन्ड्रोम । क्लासिक डेङ्गुसामान्य प्रकारको डेङ्गुहो, यो आफै निको हुन्छ तर डेङ्गुहेमोरेजिक ज्वरो वा डेङ्गुसक सिन्ड्रोम भएको छ भने यसको सही र समयमै उपचार नगरे मृत्युसमेत हुन सक्छ ।
यस्तै, डेंगुको संक्रमणमा शरीरमा प्लेटलेट्सको संख्या चिन्ताजनक स्तरसम्म तल झर्न सक्छ । यसमा छाला, आमाशय, आन्द्रा आदि ठाउँबाट असामान्य रक्तस्राव हुन सक्छ । एउटा सामान्य चोट लाग्दासमेत निकै रगत बग्न सक्छ ।

यसको उपचार छैन, यो लागेपछि मरिन्छ भनेर एकदम हल्ला फैलिएको छ, खासमा के हो ?
यो हल्ला एकदमै झूटो हो । यसको उपचार छ र डेंगु लागेर मात्र बिरामीको मृत्यु हँुदैन । हामीले बिरामीमा देखिएका लक्षणहरुको कारण खोज्छौँ । कारण पत्ता लागिसकेपछि त्यो डेंगु नै हो भने हामीले त्यहीअनुसार उपचार सुरु गर्छांै । सुरुमा बिरामीलाई ज्वरो बसाल्न एन्टिवायोटिक खुवाउँछौँ, त्यसपछि प्रशस्त झोलिलो पदार्थ र डेंगुको लामखुट्टेले नष्ट गरेको प्लेटलेटस बढाउन रगत दिइन्छ । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहेर उपचार गर्दा छिटो निको हुन्छ ।

डेङ्गु भाइरस (जीवाणु) ४ अलग अलग प्रकारको (सेरोटाइप) हुन्छ, ती हुन डेन–१, डेन–२ डेन–३ डेन–४ । भन्नुको मतलब कुनै एक व्यक्तिलाई जीवनभरमा ४ अलग अलग चोटि यो रोग लाग्न सक्छ । मानौँ तपाईंलाई आज डेन–१ ले बिरामी पा¥यो भने तपाईं निको भएपछि फेरि डेन–१ ले जीवनभर डेङ्गु लगाउन सक्दैन तर अन्य डेन–२,३ र ४ले भने फेरि लगाउन सक्छन् तर एकपटक जुन प्रकारले लगायो त्यसले फेरि भने लगाउँदैन । यो रोग सामान्यतया ६ देखि १४ दिनमा निको हुने गर्छ । डेङ्गु रोग सामान्यतया सजिलै उपचार गर्न सकिने रोग हो ।

यसको खास उपचार के हो ? कसैले मेवाका पातको जुस खाने, नरिवलको तेल लगाउने, अलैचीको दाना चुस्ने गरे लाग्दैन भनेको सुनिन्छ । के यो साचो हो ?
यो रोग प्रायः आफै निको हुने रोग हो । यसको खास उपचार भनेको राम्रो खाना र आराम हो । जसले यो रोग आफै सञ्चो हुन्छ । कुनै औषधि खान पर्दैन । तर रोग प्रतिरोधात्मक शक्ति कम भएका, बालबच्चा, वुढापाका, सुत्केरी र दिर्घरोगीहरु जस्तैः मधुमेह बिरामी, विपी हाइ भएका, मृगौला, मुटु र आदि रोगको समस्या भएर लामो समयदेखि औषधि खानुपरेकाले भने विशेष ध्यान दिनुपर्छ । त्यसैले यसको खास परीक्षणमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।
अब रह्यो कुरा मेवाको पातको जुस खाने, नरिवलको तेल घस्ने र अलैचीको दाना चुस्ने यो एक भ्रम हो । जो यो भ्रमको पछाडि ढौडिन्छ त्यो नै यसको सिकार हुन सक्छ त्यसैले यस्ता खालका भ्रमको पछाडि नदौड्नुहोस् ।

डेंगु लामखुट्टे कसरी चिन्ने ?
यो लामखुट्टे निकै नै बाठो हुन्छ । मानिसलाई टोक्नासाथ उड्छ अरु लामखुट्टे जस्तो लोसे र एकठाउँमा बसे जस्तो बसिरहँदैन । यसलाई चिन्नको लागि यो चम्किलो, टाटेपाटे र बाठो हुन्छ ।

यसबाट जोगिन मान्छेले कस्ता सर्तकता अपनाउने, केही औषधि वा मल्हम वा केही उपाय छ ?
यसबाट जोगिन वा टाढा रहनको लागि यसका कुनै पनि लक्षण तपाई हामीमा देखिएमा तुरुन्त चिकित्सक कहाँ गएर जाँच गराउनुपर्छ । डेंगु हो वा होइन निश्च्ति हुनुपर्छ । ज्वरो आउनासाथ डेंगु नै हो भन्न नमिल्ने र १०० मा १० जनालाई मात्र डेंगु हुने भएकाले भाइरल ज्वरो मात्र भए पनि अहिलेको परिस्थितमा डेंगु परिक्षण गराउन जरुरी छ ।

यसबाट जोगिनको लागि भनेर औषधि नै त छैन तर हामीले यस किसिमका सर्तकता अपनाउन सक्छौँ ।
लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।
घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।
घर नजिक कुनै पनि झाडी राख्नु हुँदैन
लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा मल्हम प्रयोग गर्नुपर्छ ।
झ्याल ढोकामा जाली राख्नु पर्छ ।
शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्छ ।
सरसफाईमा ध्यान दिनुपर्छ ।

यसबाट संक्रिमत भएकाले के गर्ने ?
सकेसम्म त हामी यो रोगको सिकार नै हुनुहुँदैन । यदि भइहालेमा पनि तुरुन्तै चिकित्सकलाई चेक÷जाँच गराएर उपचार गरिहाल्नुपर्छ । डेंङ्गु रोग सामान्यतया ८ देखि १० दिनमा निको हुने गर्छ । कुनै खास औषधिले यसको उपचार गरिने होइन । तर बिरामीको शरीरमा पानीको मात्रा घट्न नदिन भने धेरै ख्याल गर्नु पर्छ । यसबाट संक्रमित व्यक्तिले प्रसस्त मात्रामा पानी पिउने, आराम गर्ने, शारीरिक बल पर्ने काम गर्दै नगर्ने, फेरि फर्केर ज्वरो आउन नदिन चिकित्सकको सल्लाह अनुसार औषधि खाने गर्नुपर्छ ।

अहिले धेरै बिरामीले भनेको सुनिन्छ, शुरुमा भाइरल भनेर औषधि खाइयो अनि ज्वरो ठीक भयो, केही दिनपछि फेरि आँखाको नानी दुख्यो, शरीर दुख्यो भनेर चिकित्सक कहाँ जाँदा डेंगु भेटियो । शुरुकै उपचारमा चिकित्सकले पनि लापरवाही गरेको हो कि अरु कारण हो ?

अहिलेको समयमा भाइरल ज्वारो आइरहेको हुन्छ । डेङ्गु १ सय जनामध्य १० जनामा पनि हुँदैन । त्यसैले हरेक सबै ब्यक्तिहरुलाई हामीले डेङ्गु परीक्षण गर्दैनौँ । बिरामीको आग्रह अनुसार हामीले परीक्षण र उपचार गर्दछौँ । डेङ्गु परीक्षणको किट अभाव पनि हुन्छ सबैलाई परीक्षण गर्दा त्यसैले हामी बिरामीलाई सोधेर मात्रै यो काम गर्दछौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार