‘पशुपतिमा राष्ट्रियगान बज्दा किरियापुत्री उभिने कि नउभिने ?’-कांग्रेस सांसद

काठमाडौं । पशुपतिनाथ मन्दिरमा राष्ट्रियगान गाएर आरती सुरु गर्नुपर्ने सरकारी नियमको नेपाली कांग्रेसका सांसदले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथको आरतीअघि राष्ट्रिय गान गाउने प्रचलन ठीक नभएको बताए ।

आरती गाउने ठाउँ नजिकै दाहसंस्कार गर्ने ठाउँमा पनि रहेको भन्दै उनले सोधे ‘राष्ट्रियगान बज्दा दाहसंस्कार गर्दै गरेका पुत्र पुत्रीले उभिने कि नउभिने ?

पशुपतिनाथमा नेपाली नागरिकमात्र नभई विदेशी नागरिक पनि आउजाउ गरिरहने भन्दै उनले राष्ट्रियगान बज्दा विदेशी उभिएनन् भने के गर्ने भन्ने प्रश्न गरे ।

सांसद प्रधानले पशुपतिनाथमा बजाउने निर्णयले राष्ट्रियगानको गरिमा नहुने पनि बताए । ‘यस्तो निर्णयले राष्ट्रियगानको अनादर हुन्छ’ उनले भने ।

सरकारले पटक पटक विवादास्पद निर्णय गरिरहेको भन्दै उनले सरकारप्रति अनास्था पैदा हुने पनि बताए । राष्ट्रियगानका विषयमा निर्णय गर्नुअघि धर्म संस्कृतिको संवेदनशीलता ख्याल गर्न पनि सांसद प्रधानले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार