रुपन्देहीमा ४२ जनामा डेंगु

सी. पी. खनाल : बुटवल । रुपन्देहीमा ४२ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार अस्पतालहरुमा उपचार गराउन आएकामध्ये ४२ जनामा डेंगु देखिएको हो ।

यो वर्ष साउन २८ गते पहिलो पटक एकजनामा डेंगुको संक्रमण देखिएकोमा करीब २० दिनको अवधिमा ४२ जनामा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

उनका अनुसार एक दिनमा ४ जनासम्म संक्रमित थपिने गरेका छन् । जसमा ५ वर्षदेखि ७५ वर्ष उमेरसम्मका व्यक्ति छन् । भदौमा मनसुन सक्रिय भएपछि रुपन्देहीमा डेंगुको संक्रमण देखिएको उनको भनाई छ ।

विगतका वर्षहरुको तुलनामा संक्रमण नफैलिएपनि लामखुट्टेको संख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मंसिरसम्मको अवधिमा डेंगुको संक्रमण फैलिन सक्ने शाहले बताए ।

‘रुपन्देहीमा विगतमा दसैँको सेरोफेरोमा बढी संक्रमण देखिने गरेको थियो, खासगरी भदौदेखि मंसिरसम्ममा बढी फैलिनसक्छ, उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालमा दिनहुँ डेंगुका बिरामी आइरहेको बताए ।
‘बिरामीहरु आइरहेका छन्, उनले भने–हामीले डेंगु उपचारलाई बढी प्राथमिकतामा राखेका छौं ।’

पूर्वी तराईमा डेंगु अनियन्त्रित भइरहेको बेला रुपन्देहीमा डेंगु देखिएपनि नियन्त्रणको पूर्वतयारी भने देखिँदैन । रुपन्देहीमा २०६७–०६८ मा पहिलोपटक डेंगुको बिरामी फेला परेका थिए र सोही वर्ष ४ जनाको मृत्यु भएको थियो । त्यसयता ०७३–०७४ मा २ जना र ०७४–७५ मा २ जना गरी ४ जनाको मृत्यु भएको थियो ।
यो ८ वर्षको अवधिमा रुपन्देहीमा करीब १५ सय जनामा डेंगुको संक्रमण देखिएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार