संविधान बालअधिकार र बालश्रम

इन्दिरा पाण्डे
सामान्यतया बालबालिका भन्नाले साना उमेरका केटाकेटी भन्ने बुझिन्छ । बालबालिकाको परिभाषालाई जो जसले जसरी परिभाषित गरे पनि १६ वर्षभन्दा कम उमेर भएका व्यक्तिलाई बालबालिका भनिन्छ । अधिकार भन्नाले कानुनी, परम्परागत र नैतिक रूपमा प्राप्त न्यायोचित हक वा दाबी भन्ने बुुझिन्छ । राज्यले बालबालिकाहरूका लागि भनेर कानुनी रूपमा दिएको अधिकार नै बालअधिकार हो । बाँच्न पाउनु, संरक्षण पाउनु र सबै पक्षको विकासका अवसरहरू पाउनु नै बालबालिकाहरूका मौलिक हक र अधिकार हुन् ।
कुनै पनि देशको मूल कानुनलाई संविधान भनिन्छ । संविधानमा देशका हरेक नागरिकका कर्तव्य र अधिकारलाई समावेश गरिएको हुन्छ । नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्य राखिएको छ । भाग ३ को धारा ३९ मा बालबालिकाको हकलाई समेटिएको छ । यस धारामा बालबालिकाको आफ्नो पहिचानसहित नामकरण जन्मदर्ताको हकलाई पनि सुरक्षित गरिएको छ । परिवार र राज्यबाट उचित शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार खेलकूद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तिगत विकासको हकलाई पनि राखिएको छ । कुनै पनि कलकारखाना र उद्योगमा काममा लगाउन नपाइने, बालबिवाह, गैरकानुनी काम, अपहरण र बन्धकमा राख्न नपाइने, शारीरिक र मानसिक यातना दिन नपाइने, बाल अनुकूल न्यायको हक दिनुपर्ने जस्ता हकहरूलाई समेत निर्दिष्ट गरिएको छ । असहाय, अनाथ, अपाङ्ता भएका द्धन्द्धपीडित विस्थापित र जोखिममा परेका बालबालिकालाई संरक्षण र सुविधा दिने जस्ता अधिकार उल्लेख गरेर १० वटा उपधारामा बालबालिकाको अधिकारलाई संविधानमा उल्लेख गरिएको छ । संविधानमा मात्र नभएर बालअधिकारको विषयमा समकालीन समयमा समेत धेरै चर्चा परिचर्चा समेत भएको पाइन्छ । बालबालिकाहरूको अधिकारलाई सुनिश्चित गर्दै बाल अधिकार सैद्धान्तिक रूपमा मात्र नभएर व्यवहारमा समेत लागू गर्नुपर्ने आह्वान सहित नेपालमा पनि प्रत्येक वर्ष भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । संविधानमा बालअधिकार सम्बन्धी कानुनी प्रावधान र हरेक वर्ष बाल दिवस मनाइए पनि अझै सबै बालबालिकाले व्यावहारिक रूपमा अधिकार प्राप्त गर्न नसकेको कुरा सर्वविदितै छ । विद्यालयमा पढ्ने उमेरका बालबालिकाहरूलाई विभिन्न ठाउँमा बालश्रम गराइएको कुरा हामी विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामजिक सञ्जालमार्फत् सुन्दै आएका छौँ ।
वास्तवमा सानो उमेरका केटाकेटी वा बालकलाई बाल भनिन्छ । कुनै पनि वस्तुको उत्पादन गर्न, निर्माण गर्न तथा आफ्नो जीवन धान्नका लागि शारीरिक तथा बौद्धिक शक्ति लगाएर गरिने काम मिहिनेत तथा परिश्रमलाई श्रम भनिन्छ । यसरी हेर्दा बालश्रम भन्नाले साना उमेरका केटाकेटीहरूलाई कुनै वस्तु उत्पादन गर्न, निर्माण गर्न तथा जीवन धान्नका लागि काममा लगाउनु भन्ने बुझिन्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक परिश्रमसँग सम्बन्धित छ । १६ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाउन नपाइने भनेर नेपाल लगायत संसारका धेरै देशहरूले नियम बनाएका छन् तर भनाइ एकातिर र गराइ अर्कातिर भइरहेको छ ।
आजका कलिला बालक भोलिका देश हाँक्ने सारथि हुन् । मुछेको हिलो माटोलाई जस्तो आकारको भाँडोमा राखिन्छ । त्यो हिलो माटो पनि त्यस्तै आकारको हुन्छ भनेझैँ आजका ती कोमल हात भएका बालबालिकाहरूलाई कलम समात्न दिनुको सट्टा धारिला औजार समात्न दिइयो भने तिनको भविष्य कता जाला ? सिर्जनाका बाटाहरू खोज्दै आफूलाई एक सबल, सक्षम र असल व्यक्तित्व बनाउँदै हिँड्न खोज्ने ती सिर्जनशील पाइलाहरू अपाङ्ग जस्तै भएर रोकिनु पर्दा उनीहरूको जीवनमा कस्तो मोड आउँला? विश्व प्रसिद्ध विचारक इन्जिलले भनेका छन् यदि स्वर्गमा पुग्ने इच्छा छ भने पहिले बालक बन भनेर । बालबालिकालाई सही वातावरण र अधिकार प्रदान गरियो भने उनीहरूले आफ्नै भूमिलाई स्वर्ग बनाउन सक्छन् । यदि बालबालिकालाई बालश्रममा लगाइयो, उचित वातावरण दिइएन भने उनीहरू नर्कको खाडलमा फस्न सक्छन् ।
घरको आर्थिक अवस्था कमजोर हुनु, बुबाआमा अशिक्षित हुनु, बुबाआमाले पढाइको महŒवबारे चाल नपाउनु जस्ता कारणले बालश्रम बढेको छ । कतिपय बालबालिका घरको उपेक्षापूर्ण व्यवहारले पीडा सहन नसकेर र कतिपय बालबालिका आफ्ना इच्छा चाहना आमाबुबाले पूरा गर्न नसकेको भएर श्रम गर्न बाध्य छन् । धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तै देशमा रहेको पारिवारिक, सामाजिक एवम् मनोवैज्ञानिक कारणले गर्दा बालश्रमको समस्या दिनहुँ बढ्दै गइरहेको छ । बालबालिकाहरू धेरै जसो शोषित हुने ठाउँ भनेका होटल, पसल, यातायातका साधन तथा साना ठूला उद्योगहरू हुन् । यस बाहेक अन्य ठाउँमा पनि बालबालिकाहरू शोषित हुने गरेका छन् । समाजमा सम्पन्न र धनी भनाउँदाहरूले पनि घरमा काम गर्नको लागि तिनै बालबालिकाहरूलाई नै लगाएका हुन्छन् । सहर बजारमा बाटोको छेउछाउमा देखिने फोहोरका थुप्राहरूमा कवाडी सामानहरू खोज्दै मैला कपडा लगाएर यताउता गरेका बालकलाई देख्दा कसको मन खुसी हुन सक्छ होला र? तर पनि सबैजना टुलुटुलु हेरिरहेका मात्र छौँ । तिनीहरूले कहिले बालअधिकारको महसुस गर्न पाउँछन् ? के तिनीहरूलाई बालअधिकारको बारेमा थाहा होला ?
बालअधिकार र बालहितका सम्बन्धमा नेपालको संविधान २०७२ मा धेरै कुरा लेखिएको छ । खै ती कुराहरू व्यवहारमा लागू भएको ? कानुनी कागजमा लेखेर राख्नलाई मात्र ती नियमहरू बनाएको त पक्कै पनि होइन होला ? विभिन्न किसिमका बालहितका राष्ट्रिय र अन्र्तराष्ट्रिय सन्धि महासन्धिहरूमा नेपालले पनि हस्ताक्षर त गरेकै छ । जसका हातले ती सन्धि र महासन्धिहरूमा हस्ताक्षर गरेका छन् । तिनैको घरमा उनीहरूका श्रीमतीले ती बच्चालाई ढाड मस्कने गरी भाँडा माझ्न र कपडा धुन लगाउँछन् । ढिला काम गरेको बहानामा कति पटक कान निमोठिएका छन् । बाबु नानी भनेर सुन्न खोज्ने कानले छि ः छि र दुर् दुर्का गालीहरू सुन्न बाध्य छन् । के बालश्रमको अन्त्य कागजी र कानुनी किताबका पानामा अधिकारका कुरा लेखेर मात्र होला ?
देशमा शान्ति नभएर, आतङ्क भएर, युद्धमा परेर, परिवारबाट साथ छुटेर विचल्लीमा परेका कतिपय बालबालिकाहरू पनि बालश्रममा परेका छन् । बालश्रम एउटा जटिल समस्या हो । तर, यो समस्यालाई हामी सबै जना मिलेर समाधान गर्न खोज्यौँ भने सफल हुन्छौँ । बालश्रम निवारणका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रूपमा धेरै संघ संस्थाले काम गरेका छन् । अन्र्तराष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र संघ, नेपाल श्रम ऐन २०४८, बाल ऐन २०४९ आदि जस्ता संस्था र कानुनी दस्तावेजले यस सम्बन्धी धेरै कामहरू गर्ने निर्णय गरेका छन् । तर, ती निर्णयहरू पाँचतारे होटलसँगै बसेर खाएको मासु र चिउरासँगै बिलाएर गएका छन् । उनीहरूले त्यहाँनिर यो पनि बिर्सन्छन् कि तिनीहरूको अगाडि खानाको मेनु लिएर आउने, गिलासमा पानी लिएर आउने मानिस पनि बालक नै हुन् भन्ने । अनि कसरी हुन्छ ? बालश्रमको अन्त्य सोचौँ त एक पटक …… ।
कागजको पानामा मात्र यसो गर्ने उसो गर्ने भनेर भत्ता पचाउने काम मात्र नगरौँ । गाउँ ठाउँमा गएर समस्या बुझ्ने र ती समस्यालाई समाधान गर्ने उपाय खोजौँ । गरिबी निवारण शिक्षा र साक्षरताका कार्यक्रमलाई सफल र प्रभावकारी रूपबाट अगाडि बढाउँदै कार्यान्वयन गर्ने बानी बसालौँ । यसले गर्दा समाज शिक्षित हुन पुग्छ । समाज शिक्षित भयो भने यस बारेमा जानकारी सबैलाई प्राप्त हुन्छ । देशमा रहेको बेरोजगारी समस्या हटाउनका लागि वैकल्पिक उपायहरू ल्याउने गरौँ । सम्पूर्ण अभिभावकलाई शिक्षाको महŒवबारे बुझाउने गरौँ । सञ्चार माध्यमहरूमा विशेष बालबालिका अभिमुखीकरण र व्यावहारिक कार्यक्रमहरू ल्याउने गरौँ । उनीहरूलाई हित हुने खालका कार्यक्रमहरू ल्याउने गरौँ । यति गर्यौ भने बालश्रमको समस्यालाई केही मात्रामा भएपनि समाधान गर्न सकिन्छ ।
बालश्रम एउटा अपराध जस्तै हो । बालकलाई श्रममा लगाउने व्यक्तिलाई दण्ड सजायको व्यवस्था गर्नु पर्छ । बालकलाई बालश्रमबाट मुक्त गराउनका लागि स्थानीय तह, प्रदेश सरकार र संघ सरकारले विशेष पहल गर्नुपर्छ भने हरेक नागरिकले यो हाम्रो पनि कर्तव्य हो भन्ने जानेर काम गर्नुपर्छ । यति मात्र नभई हरेक स्थानीय तहका प्रतिनिधिहरूले एकएक जना गरिबी र अभावमा छट्पटिएका तथा बालश्रमिकका रूपमा काम गर्न बाध्य बालबालिकाको शिक्षादीक्षाका लागि जिम्मा लिने वातावरणको सिर्जना गरेमा दिन दो गुना रात चौगुना बालबालिकाहरूले बालअधिकार प्रत्याभूति गर्न पाउँछन् । त्यसैले बालअधिकार सुनिश्चित गरी बालश्रमको अन्त्य गर्न घरपरिवार, गाउँ, टोल, सहर र सदनमा विशेष छलफल चलाऔँ । बालश्रम अन्त्य गर्न सबैले आफ्नो ठाउँबाट लागि परौँ । सबैले हातमा हात, काँधमा काँध राखेमा बालअधिकार सुनिश्चित गर्न र बालश्रम अन्त्य गर्न अगाडि बढौँ । आउनुहोस् तपाईँ हामी सँगै मिलेर बालश्रमलाई अन्त्य गर्ने प्रण आजै गरौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार