समृद्धिका लागि भौतिक विकास र सकारात्मक सोच

घनश्याम कोइराला
यतिबेला हामी समृद्धि र सुखका कुरा गरिरहेका छौँ । यो हाम्रो राष्ट्रिय संकल्प हो । समृद्धि के हो ? यसलाई बुझ्न र कार्यान्वयन गर्न यतिबेला समाजको अवस्था कस्तो छ ? सामाजिक प्रवृत्तिहरू कस्ता छन् ? कति सकारात्मक छन् ? कति नकारात्मक छन् ? कसरी पहिचान गर्ने हो ? सकारात्मकताको प्रवद्र्धन कसरी गर्ने हो ? नकारात्मकतालाई कसरी निरूत्साहित गर्ने हो ? भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ ? समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पसँग समाजका प्रवृत्तिहरूको समुचित प्रवन्धन हुन आवश्यक होला नि ? तर यतातिर खासै ध्यान दिइएको जस्तो देखिँदैन । समृद्ध नेपाल, सुखी नेपाली कुनै एउटा र आवधिक आयोजन त होइन । यसको प्रभावको दायरा र विषय त व्यापक छ । तर किन हामी उद्योग, कृषि, भौतिक पूर्वाधार, पर्यटन मात्र भनिरहेका छौँ हँ ?! वास्तवमा समृद्धि भनेको बहु—आयामिक विषय हो । सम्+ऋद्धि=समृद्धि हुन्छ । ‘सम्’ भनेको उत्कृष्टता, परिपूर्णता, समीपता, निरन्तरता, आत्यन्तिकता आदि.. हो भने ‘ऋद्धि’ भनेको बढीबढाउ भनिएको हो । शब्दकोशमा समृद्धि भनेको सम्पन्न हुनाको भाव वा स्थिति, सम्पन्नता, अभ्युदय, बढ्ती भनिएको छ । यसरी बनेको समृद्धि शब्दको अर्थले धेरै विषय वहन गरेको छ ।

मानिस सुख चाहन्छ र त्यसको आधार समृद्धि हो भन्ने जान्दछ । व्यक्तिगत रूपमा मानिस समृद्धिका लागि क्रियाशील रहँदैआएको पनि देखिन्छ । मानिसले स्वाभाविक प्रयास मात्र होइन, आफ्नो व्यक्तिगत समृद्धि र सुखको लागि चाहिने—नचाहिने, जायज—नाजायज सबै कर्म गरिरहेको छ । समाजका सबै मानिस एकैखाले छैनन्, यो सत्य हो तर समाज बिगारेर भए पनि आपूm सप्रिने समृद्धिको अभ्यास भइरहेको छ । यस्तो अवस्थामा समाज सपार्ने सबै उपाय अवलम्बन गर्नु र समृद्धिको महान् यात्रामा सबैलाई परिचालित गर्नु समाजको सर्वोपरि हितमा हुन्छ ।

समृद्धि र सुखका लागि मानिसहरू आ—आफ्नो ढंगले लागिरहेकै भए पनि यस विषयलाई राष्ट्रिय संकल्पको रूपमा घोषणा गर्ने काम भने अहिले मात्र भएको हो ‘समृद्ध नेपाल, सुखी नेपाली’ वास्तवमा एउटा राष्ट्रिय संकल्प हो । आफ्ना व्यक्तिगत समृद्धि र सुखका कामना र कार्यहरू यो राष्ट्रिय संकल्पमा मिलान गर्ने हो भने मुलुकले समृद्धि र जनताले सुख पाउने विषय कुनै सन्देहको घेरामा रहँदैन, यो समाजभरी प्रभावकारी भएर देखापर्ने छ ।
पछिल्लो समय सरकारी लिखत र घोषणाहरूमा यो संकल्प अनेकौँ पटक दोहो¥याइएको छ । सरकारका सबै तहमा यो संकल्प पुगेको छ । बौद्धिक मानिसहरूका बीचमा पनि यो विषय चर्चामा छ । सरकारको विषय भएकोले यसमा विश्वासको मात्रा कम नै भए पनि यसको औचित्य र आवश्यकताका विषयमा मतभेद नभएको विषयको रूपमा यो संकल्प चर्चा र चासोको विषय बनेको छ ।

यद्यपि समृद्ध नेपाल, सुखी नेपालीको एक मात्र उद्देश्य र अभिप्रायको रूपमा त होइन, तथापि यसको प्रस्थानबिन्दुको रूपमा ‘नेपाल भ्रमण वर्ष ः २०२०’ को घोषणा भएको छ । यो घोषणालाई साकार पार्न पर्यटन, कृषि, उद्योग, भौतिक पूर्वाधार आदि विषय आकर्षित हुनु स्वाभाविक हो । ‘नेपाल भ्रमण वर्ष ः २०२०’ को सफलताले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा सहयोग पु¥याउने विषयमा पनि दुविधा राख्नुपर्दैन ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पका अनेकौँ आधारहरू खोजिएका छन् । यसका लागि सुझाइएका विषय पर्यटन, कृषि, उद्योग, भौतिक पूर्वाधार आदि छन् । प्राविधिक तथा गुणस्तरीय शिक्षा, वातावरणको संरक्षण, भ्रष्टाचार निवारण आदिलाई पनि समृद्धिका विषयमा मिसाउने सुझावहरू पाइएको छ ।

जतिबेला हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प गरिरहेका छौँ, त्यतिबेला अर्थात् यतिबेला राजनीतिक हिसाबले एउटै पार्टीको बहुमतको स्थिर सरकार छ । संसदीय राजनीतिक अंकगणितमा तेस्रो राजनीतिक शक्तिको रूपमा रहेको समाजवादी पार्टी नेपाल पनि सरकारमा सहभागी रहेको छ र यसले सरकारमा दुइ तिहाईभन्दा बढी मतको शक्ति जुटेको छ । लामो समयदेखि राजनीतिक अस्थिरताबाट वाक्क—दिक्क बनेका नेपालीहरूको लागि यो सुखद राजनीतिक अवस्था हो । अझ त्यसमा पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा र समाजवादी पार्टीको सहभागिता साह्रै अनुकूल अवस्था हो ।

खुला समाजमा धेरै मानिसका धेरैथरी विचार बाहिर आउनु र लोकतन्त्रमा प्रतिपक्षले आफ्नो राजनीतिक प्रभाव देखाउन खोज्नु अथवा अस्तित्वको स्वर मुखरित गर्नुलाई स्वाभाविक रूपमा लिनु पर्दछ । प्रतिपक्षका विषय जनताको सर्वोत्तम हित र संवैधानिक मर्मभित्र रहेर सम्वोधन गरिने विषय हो । जनताको वास्तविक हित र संविधानभन्दा पर रहेर त केही हुन सक्दैन । खैर, यी राजनीतिक तथा अत्यधिक चासो र चर्चाको राष्ट्रिय संकल्पको विषयमा यहाँ यत्ति भनौँ ।

समृद्धि भनेको निर्माण वा सृजनासँग जोडिएको भौतिक विषय मात्र हो त ? यस्तो हुन सक्दैन । भौतिक हिसाबले कुरा गर्ने हो भने बहुसंख्यक जनतासँग यी निर्माण वा सृजनाको उपयोग वा उपभोग गर्ने अधिकार तथा क्षमता छ कि छैन भन्ने विषय आकर्षित हुन्छ । त्यसैले समृद्धिमा सबैको पहुँच हुने गरी वितरण प्रणाली सुनिश्चित गर्ने नियम—कानुनको विषय महत्वपूर्ण हुन आउँछ । साथै, भएका नियम कानुनहरूलाई पनि बदलिएको संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी नियमितीकरण गर्न र यसबारे स्पष्ट पार्न आवश्यक छ ।

अहिलेको विसंगति कहाँनेर हो भने विद्यालय छन्, सबैको पहुँच छैन । मन्दिर छन्, सबैको पहुँच छैन । यातायातका साधन गुडेका छन्, त्यसमा चढेर यात्रा गर्ने हैसियत छैन । बजारमा वस्तुको उपलब्धता छ, किन्न सक्ने अवस्था छैन । यी त केही उदाहरण हुन्, अरु पनि यस्ता विषय हुन सक्दछन्, जसलाई समृद्धिले सकारात्मक सम्वोधन गर्नपर्ने हुन्छ ।

माथि पनि उल्लेख भइसकेको छ, समृद्धि भनेको सम्पन्न हुनाको भाव हो । समृद्धि भनेको सुखको माध्यम हो । सबै कुरा छ, तर छ भन्ने भाव वा मनोविज्ञान विकास गर्न सकिएन भने मानिसले समृद्धिबाट सुख प्राप्त गर्न सकिरहेको हुँदैन । यसको लागि मानिसहरूमा सकारात्मक सोचको विकास गर्न आवश्यक हुन्छ । मासिहरूमा यस्तो सकारात्मक सोचको विकासले भएको देख्ने, महसुस गर्ने र नभएकोलाई अवसरका रूपमा, सम्भावनाका रूपमा ग्रहण गर्ने दृष्टिकोण विकास गराउँछ ।

अहिले पनि गाउँ—गाउँमा रामायणका कथा सुनाइन्छ—सुनिन्छ, तर घर—घरमा सम्पत्तिका विवाद छन्, आदर्श सतीसावित्री र सत्यवानको कथा सुनिन्छ, मुना—मदन पढाइन्छ, विवाह गरेको केही वर्षमा नै श्रीमान्—श्रीमती बीचमा असमझदारी यति चुलिन्छ कि पारपाचुके गर्न परिरहेको छ । बाउ—आमा र सन्तानका बीचमा असमझदारीले रुवावासी चलेको पाइन्छ । वसुधैव कुटुम्वकम्को आदर्शको व्यापार चलिरहेको हुन्छ, वल्लो घर—पल्लो घरका मानिसका बीचमा बोलचाल बन्द रहेका हुन्छन् । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी मन्त्र राज्यको लोगोमा टाँसिएको राहदानी लिएर विदेश जाने अनुमति(भीसा) लिने लाईनमा घण्टौँ उभिइएको छ । मानिसहरूलाई विदेश पठाउने कम्पनी÷कार्यालयमा भीड छ, लाग्दै नलाग्ने रकम समेत तिरेर उछिना—पाछिना भइरहेको छ र सरकारलाई दोषारोपण भइरहेको छ । तोकिएको प्रावधान मिचेर समेत जसरी तसरी विदेश पुग्ने र त्यहीँबाट राज्यलाई÷सरकारलाई सत्तोसराप गर्ने काम पनि भइरहेको छ ।

यता सहरका यातायातका साधनमा पकेटमारी भइरहेको छ, रोक्न सकिएको छैन । प्रत्यक्ष रूपमा रुपियाँ नै घुस खाने वा अन्य प्रकारले हुने भ्रष्टाचार घटेको छैन । अधिकार र आर्थिक स्रोतको दुरुपयोगका घटना पनि उत्तिकै छन् । सुरक्षा गर्ने निकायका मानिसहरूबाट अवैध कारोबार भइरहेको छ । सामान्य पालो पर्खेर हुनुपर्ने काममा पनि भनसुन गर्नैपर्ने अवस्था विद्यमान छ ।

मन्दिर, विद्यालय, राजनीति, अड्डा, पसल, अस्पताल सबैतिर तँ छाड—म छाड, भनसुन र बल प्रयोगको अवस्था छ ।
माया गर्नुपर्नेले मायाँ नगर्ने, मायाँ पाउनु पर्नेले मायाँ नपाउने, सम्मान गर्नुपर्नेले सम्मान नगर्ने, सम्मान पाउनुपर्नेले अपमानित हुनुपर्ने, मूल्यांकन गर्नुपर्नेले सही मूल्यांकन नगर्ने, सही नै गर्नेहरूप्रति विश्वास नगर्ने प्रवृत्तिहरू समाजमा व्याप्त छन् । यो हाम्रो समाजका नयाँ घटना होइनन्, तर सापेक्ष रूपमा बढिरहेका अवश्य हुन् ।

भर्खरका मानिसहरू(युवाहरू) बरालिइरहेका छन् । बाउ—आमाका कुरा उनीहरूलाई पत्यार लाग्दैन, विद्यालयमा विषय बाहेकका कुरा पढाइ हुँदैन । विद्यालय÷विश्वविद्यालयमा कुन विषय छ, जसले आमा—बालाई, गुरुलाई सम्मान गर्न सिकाएको होस् ? जसले प्रेम गर्न सिकाएको होस् ? जसले घुस नखान सिकाएको होस् ? जसले विभेद नगर्न सिकाएको होस् ? पढेर पनि असल मानिस बन्न सकिरहेका छैनन् ।

मानिसहरू आत्महत्या गरिरहेका छन् । तथ्यांकहरू भन्छन्— अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरे । आर्थिक वर्ष २०७३ र ७४ मा ५ हजार १ सय ३१ जना मानिसले आत्महत्या गरेका थिए, जुन तथ्यांक अप्राकृतिक मृत्युका कारणका तथ्यांकमध्ये सबैभन्दा उच्च हो । अहिले आत्महत्याका घटना डरलाग्दो रुपमा बढिरहेको छ । पछिल्लो एक वर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ । (स्रोतः द्यद्यऋ, नेपाली न्यूज अगस्त १, २०१८÷काठमाण्डु टुडे, असार ३, २०७६ ।)

सुन्दर घरभित्र बेमेल, पवित्र धार्मिक स्थलहरूमा संकीर्ण साम्प्रदायिकता, सेवाप्रदायक स्थानहरूमा भ्रष्टाचार, शैक्षिक केन्द्रहरूमा शोषण र पाखुरा सुर्काइ, बौद्धिक जगतमा निष्ठाको खडेरी आदि इत्यादि भए जस्तै सुन्दर वनवाटिका÷उद्यान(पार्क)हरू अवाञ्छित क्रियाकलाप र आत्महत्याको स्थान बन्न दिँदै नदिन सकारात्मक मनोविज्ञान विकास गर्न आवश्यक देखिन्छ । यसका लागि उपलब्ध जनशक्ति र संरचनाको सदुपयोग गर्न सकिन्छ ।

भयावह ढंगले बढिरहेको आत्महत्या, चोरी, घुसघोरी, अपमान, पारिवारिक बेमेल, पारपाचुकेका घटनाहरूका बीचमा समृद्धिका पूmल पूmल्छन् त ? शंका पनि छ । तर समृद्धिको विकल्प पनि छैन । अहिलेकै विसंगति सहितको समृद्धि कस्तो होला ? भौतिक सम्पन्नताले उपरोक्त घटनाहरू कम होलान् ? कि ती ठाउँहरूमा समेत यस्ता घटना घट्लान् ? सरकारहरूसँग यस विषयमा केही नीति, कार्यक्रम र योजना छन् ? छैनन् भने स्थानीय सरकारहरू, प्रदेश सरकारहरू र संघीय सरकारले समेत यस विषयमा नीति, कार्यक्रम र योजना ल्याउन ढिलो गर्नु हुँदैन । समृद्धिका लागि भौतिक विकाससँगै सकारात्मक मनोविज्ञान विकास गर्नु अनिवार्य छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार