श्रावणी ः एक नाम अनेक कर्म

कृष्णप्रसाद कोइराला

श्रावण नक्षत्रमा पुग्दा चन्द्रकला पूर्ण हुने दिन श्रावण पूर्णिमा हो । यही श्रावणको नामबाट महिनाको नाम पनि श्रावण बन्न गएको छ र यसै दिन गरिने कर्मको नाम श्रावणी । श्रावणको अर्थ हो श्रुति, श्रुतिको अर्थ हो वेद । यो महिना वेदसित सम्बन्धित भएकाले पवित्र मानिन्छ ।
उपकर्म प्राचीन कालमा गुरुकुल पद्धतिको शिक्षा हुन्थ्यो, जहाँ वेद, वेदाङ्ग, दर्शन, धर्मशाश्त्र, नीतिशास्त्र पढाइ गरिन्थ्यो । वेद पढ्दा स्वर र स्वराधातमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत उच्चारण भयो अर्थको अनर्थ हुन्छ, तर सबैले सबै बखत त्यस प्रकारको शुद्ध उच्चारण गर्न सक्दैनथे, त्यसबाट उनीहरुमा ठूलो दोष वा पाप लागेको मानिन्थ्यो । त्यस प्रकारको पापबाट र वर्ष दिनसम्म जानी नजानी गरिएका अनेक पापहरुबाट मुक्ति पाउन पर्यायवचन्त स्वरुप श्रावणी धर्म (उपाकर्म) गर्ने गरिन्छ । अहिले वेद पठन पाठनको परम्परा लोप भईसकेको छ, तर पनि व्रतवन्धमा सांकेतिक रुपमा गुरुकुल पद्धतिको झलक देख्न सकिन्छ । उपाकर्मको महिमा नबुझ्नाले यो लोपोन्मुख भएको छ, बुझेकाले आज पनि गरेकै छन् ।
श्रावण पूर्णिमाको दिन तागाधारीहरुले सबेरै कुनै जलाशयमा गई तीर्थहरुको आव्हन गरी महान संकल्प गरी शरीर शुद्धिको लागि गोबर, माटो र खरानीले मन्मयपूर्वक लेपन गरी नुहाउने विधान छ । मानसिक शुद्धिको लागि मन्त्रपूर्वक कुश, अपाङ र दुबोद्वारा मार्जन गरिन्छ । साथै सन्ध्या पर्पण पनि गरिन्छ । यसप्रकार शरीर र मन शुद्ध भएको भावना गरिन्छ ।
ऋषि तर्पणः
सारा ब्रह्माण्ड चैतन्य तत्वले भरिएको छ । यसैलाई चिन्मय पनि मन्दछन् । चेतनाको अर्को नाम हो ज्ञान, ज्ञानको अर्को नाम हो वेद । ब्रह्माण्डमा वेद अनन्त छन् – ‘अनन्त वै वेदाः’ । वेद निर्मित विधिद्वारा प्रकृतिको रुपमा ब्रह्माण्ड भरका गतिविधिहरु सञ्चालित छन् । पृथ्वीबासीलाई जति वेद प्राप्त छ, त्यो अनन्त महासागरको एक थोपा मात्र हो ।
ब्रह्मको व्यवहारिक रुप प्रकृति हो । प्रकृतिमा रहेका तीन गुणहरुको तारतम्यले सधर्मी र विधर्मी अनेक प्रकारका पदार्थ उत्पन्न हुन्छन् । जसको संघातले वा द्वन्द्वले सृष्टि, स्थिति र लय प्रक्रिया अगाडि बढ्दै जान्छ । ऋषिहरुले दार्शनिकहरुले र वैज्ञानिकहरुले आफ्नो दीर्घ साधनाद्वारा तीन ज्ञानलाई प्रत्यक्ष गरी हामीलाई उपदेश गर्छन् र प्रशिक्षित गर्दछन् ।
ज्ञानवृद्ध, ज्ञानका अन्वेषक वा दर्शकहरुलाई ऋषि भनिएको छ । ऋषिहरु धेरै छन्, तापनि सात ऋषि ज्ञान, तप र सिद्धिको आधारमा प्रमुख मानिएका छन् । यी सप्तर्षिहरु ज्ञानराज्यका नियामक हुन् । प्रत्येक युगधर्म अनुसार ज्ञानराज्यलाई नियमन गर्नुपर्ने हुँदा ऋषिको योग्यता अनुरुप प्रत्येक युगका लागि छुट्टाछुट्टै स्पतर्षि निर्धारित छन् । वर्तमानमा कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम जमदाग्नि र वशिष्ठ यी सात ऋषिहरुको समूहलाई सप्तर्षि भनिन्छ । यो दिन यिनको पूजा तर्पण गरी आशीर्वाद ग्रहण गरिन्छ । नयाँ जर्ने पनि चढाइन्छ ।
जनै के हो ?
जनैको शास्त्रीय नाम यज्ञोपवीत हो । यज्ञोपवीत अर्थात् यज्ञ गर्नका लागि धारण गरिने तन्तु । यज्ञलाई यजन पनि भन्दछन् । लोकबोलीले यजनको यलाई लोप ग¥यो र उपवीतको उलाई ग्रहण ग¥यो र शब्द जन्मियो जनेउ । भारततिर जनेउ भनिन्छ भने नेपाल पसेपछि यो शब्द बन्यो जनै । यज्ञको तात्पर्य हो अदृश्य अलौकिक शक्तिलाई प्रसन्न पार्ने कर्म । यज्ञ गर्ने व्यक्ति मन, वचन र कर्मले शुद्ध हुनुपर्छ । त्यही शुद्धि प्राप्तिका लागि व्रतबन्ध गरिन्छ । जसमा प्रथम जनै पहिराइन्छ र गायत्री सुनाइन्छ । एक जनैमा तीन सरा हुन्छ, प्रत्येक सरा भित्र ९ सरा लुकेको हुन्छ, यस हिसाबले एक जनैमा २७ सरा हुन्छ । प्रत्येक तीन सराले देवऋण, पितृ ऋण र ऋषि ऋणलाई सम्झाउँछ । तीन गुण सत्व, रज र तमलाई बताउँछ । ब्रह्मा, विष्णु महेश्वरलाई जनाउँछ । शिखा गन्थ्रीले परब्रह्मालाई जनाउँछ, जहाँ सारा विविधता हराएर एक बन्दछ । यसरी बनाइएको जनैलाई श्रावण पूर्णिमाको दिन ऋषिहरुको समक्ष राखी तन्तुहरुमा र ग्रन्थिमा देवताहरुको आव्हान गरी पूजा गरिन्छ र यो भावना गरिन्छ कि जनै लगाएपछि मन, वचन र कर्मले पवित्र बनिएको छ । सामान्यतः जनै एक जोडा लगाउने गरिन्छ । विशेष यज्ञीय कर्ममा ३, ४ सय पनि लगाउने गरिन्छ । चार जनै लगाउँदा १०८ सरा बन्न पुग्छ ।
रक्षा बन्धन ः
मानव शरीरलाई आघात पु¥याउने रोग व्याधि निम्त्याउने अनेक प्रकारका अदृश्य शक्तिहरु वातावरणमा घुमिरहेका हुन्छन् । तीनबाट बच्न, बचाउने मन्त्रले पवित्र पारिएको तीनसरे पहेंलो धागो पुरोहितबाट बाँध्ने बँधाउने गरिन्छ । यसैलाई रक्षाबन्धन भन्दछन् । तीन सरामा जनैमा जस्तै त्रिदेव, त्रिगुण र त्रिशक्तिको अव्हान पूजन हुन्छ । यो भावनात्मक कवच हो जसलाई मनोबलमा बृद्धि भई रक्षा हुन्छ । हिंजो आज दिदी बिहिनीले दाजुभाइलाई रंगीचंगी घडी आकारको राखी बाँधिदिने चलन पनि आएको छ । यो भावनात्मक रुपले राम्रो भए पनि अभिमन्त्रित नहुँदा त्यो शक्ति यसमा हुँदैन जुन अभिमन्त्रित धागोमा हुन्छ । त्यसैले यसलाई पनि अभिमन्त्रित गराउनु आवश्यक छ ।
यस प्रकार श्रावण पूर्णिमालाई हामी उपकर्म, ऋषितर्पणी, जनैपूजन र रक्षाबन्धनको रुपमा मनाउँछौं । हिंजो आज जनैको महत्व बुझ्न र बुझाउन नसक्दा यो सारहीन मानिन थालिएको छ । यो पवित्रताको प्रतीक हो, साँस्कृतिक गौरव हो, यसको रक्षा गर्नुपर्छ ।
केही मानिस भन्छन् कि जनैपूर्णिमा तागाधारीको मात्र चाड हो । त्यसो होइन, यो वैदिक धर्मावलम्बी सबैको चाड हो । किनकि जनैको साथमा अभिमन्त्रित रक्षा (रखौदा) सबैले बाँध्छन्, बँधाउँछन् । अब त जनै पनि केही वर्णमा मात्र सीमित नराखी यसको महत्व बुझाएर सबैलाई दिनुपर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार