तीज संस्कृतिमा रूपान्तरण

समाज वर्गीय छ । उच्च वर्गले सम्भ्रान्त संस्कृति निर्माण गरेको हुन्छ भने आम जनताहरुले सरल संस्कृतिको माग गरिरहेका हुन्छन् । जनताभन्दा आफूलाई भिन्दै र माथिल्लो देखाउने संस्कृति आडम्बरी संस्कृति हो । यो संस्कृति भडकिलो हुन्छ । यसलाई सम्भ्रान्त संस्कृति पनि भनिन्छ । विपन्नहरुले सम्भ्रान्त संस्कृति थाम्न सक्ने देखिदैन । यस्तो परम्पराले समाजमा हीनताबोध र उच्चताबोधको मनोविज्ञान खडा गरेको छ । यही मनोविज्ञानले वर्ग संघर्षको वातावरण बनाएको हुन्छ । समाजमा वर्ग संघर्ष ल्याउने सम्भ्रान्त संस्कृति जिम्मेवार छ ।
सामान्य जनताहरुले यस्तो भडकिलो संस्कृति थाम्न सक्दैनन् । यसले गर्दा हाम्रा चालचलन, रीति रिवाजहरु, चाडवाडहरु सबै खर्चालु बन्दै गएका छन् । खर्च गर्न सक्नेहरु इज्जत भएका र खर्च गर्न नसक्नेहरु इज्जत नभएका ठानिन्छन् । यसले सामाजिक विखण्डन ल्याएको छ । यसले अरु ज्यादा वर्ग संघर्ष बढाएको छ । हिन्दु धर्ममा रहेको यो विकृतिले समाजमा नराम्रो वातावरण खडा गरेको छ र संस्कृति र संस्कार थाम्न नसकेर धर्मान्तरण भएको पाइन्छ । त्यसैले सम्भ्रान्त संस्कृतिको अन्त्यको लागि धर्मगुरुहरु लाग्नुपर्छ ।
हाम्रा दशैं, तीज, तिहार, छट लगायत सबै चाडहरु भड्किला हुँदैछन् । पास्नी, व्रतबन्ध, विवाह,जन्मोत्सव, मृत्यु संस्कार पनि त्यति नै भड्किला हुँदै गएको देखिदैछ । यस्ता संस्कारहरु र पर्वहरुमा हुनेखाने र हुँदा खानेहरु बीचमा खाडल देखिन्छ । निम्न आय भएका विपन्नहरुको मनोविज्ञानमा नराम्रो भावना पैदा गरेर जान्छ । यसले बन्धुत्व, भाइचारा र हार्दिकता हराउँदै जाने खतरा हुन्छ ।
अब चाडवाड शुरु भए । नागपञ्चमीदेखि माघे सक्रान्तिसम्म निरन्तर चाडवाडहरु आउँदैछन् । यस बीचमा विभिन्न धर्मलम्वीहरुका चाडवाड र जनजातिका चाडवाडहरु पनि पर्छन् । ती चाडपर्वहरुमा पनि खर्च बढ्न थालेको छ । चाडवाडहरुलाई ज्यादै सरल र मीतव्ययी बनाउनु पर्छ । भव्यताको अर्थ अचकाक्ली खर्च हैन । जुन उद्देश्यले संस्कार वा चाडवाड मनाउने गरिन्छ यसैलाई केन्द्रित गरेर सम्पन्न गर्नुपर्छ ।
अब तीजको स्पर्शले छुन थालेको छ । रेडियो, टेलिभिजन र युटुभ हेर्नेहरुले तीजको गीत सुन्न र हेर्न थालेका छन् । अब होटलहरु पार्टी प्यालेसहरुले तीजको तयारीकोे लागि रणनीतिहरु बनाइरहेका छन् । यस तीजमा पनि लाखौं महिलाहरु पार्टी प्यालेसमा रमाउने मनस्थिति बनाइरहेका छन् । अझ यो तीजमा धेरैभन्दा धेरै महिलाहरु गहना कपडाको प्रतिस्पर्धा गर्ने देखिन्छ । यसले सम्भ्रान्त संस्कृति बढाउँछ । त्यसैले तीजलाई सरल मात्र हैन, सरस बनाउने गरी मनाउन सक्नुपर्छ । जसले गर्दा विपन्न महिलाहरुले पनि आफूमा हीनताबोध नआओस् । हीनताबोधका कारण इष्र्या बढ्न सक्छ । यसले सामाजिक विखण्डन ल्याउँछ । समाजमा रहेको भाइचारा,बन्धुत्व र हार्दिकतामा खिया लाग्छ ।
अन्त्यमा तीज पर्व सरल र सरस हुनु पर्छ । परम्परागत बाजागाजा संगीत अरु विकसित रुपमा आउनु पर्छ । संस्कृति भव्य हुनुपर्छ तर खर्चालु हुनु हुँदैन । विपन्नहरुले पनि यस चाडमा आत्मसम्मान पूर्वक तीजी गीतमा निर्धक्क सहभागी हुन र नृत्योत्सवमा भाग लिन संकोच नमानून् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार