आहाल र बेहाल !

आफ्नै घर अगाडि सधैं हिड्ने सडकको खाल्टो पुर्न र सहमतिमा तय गरिएको पालो कुर्न नसक्नेले अन्तरीक्षमा बस्ती बसाउँछु र सवैलाई सवै सुख सुविधा दिलाउँछु भनेर गफ् गर्दा पत्याउन परेको छ । निःसन्तान दम्पतीले सबैका सन्तानको जिम्मा लिन्छु, सेवा गर्छु, सबैलाई समान र जन्मदिने बाबु–आमाले भन्दा बढी माया पु¥याउँछु भन्दा दिन परेको छ । बाघ, स्याल र ब्वाँसाले घाँस खान्छु, तीर्थ गर्न जान्छु र व्रत बस्छु भन्दा जयजयकार गरेर जुलुसमा हिंड्न बाध्य छ दुनियाँ । मारवाडी, बनिया र व्यापारीले कत्ति पनि मुनाफा लिन्न, मेरै पसलमा आउनुस् सर–सामान किन्न भनेपछि उपभोक्ताको ओइरो त्यतै छ । बाहिर कम्युनिष्टको साइनबोर्ड झुन्ड्याएर भित्र ‘द लाल पुँजीवाद’को प्रयोग, बाहिर प्रजातान्त्रिक समाजवादको साइनबोर्ड झुन्ड्याएर भित्र साम्राज्यवाद र सामन्तवादको उपयोग, धर्मका नाममा विगतमा गरेका पाप कर्मको प्रयश्चित्तादि क्रियाकलाप पचिसकेको विषय भयो भ्रष्टाचार नै शिष्टाचारमा परिणत भैसकेपछि र सदाचार आफै विलोपीकरणमा गैसकेपछि । चोरलाई चौतारो र साधुलाई शूली हुने ठाउँ, अर्थात् झिङ्गापुरका सरदारको बास सिङ्गापुरमा, कान्तिपुरका कामचोर कारिन्दाहरु कुरै नबुझी कराउँछन् यता बेसुरमा । ठग् ठेकेदार र तस्करका लस्करसँग शासकको साँठगाँठ, विदेशी खुफिया एजेन्सीका प्रमुखसँगको भेटघाटमा कान समातेर उठ्बस् गर्नु त आधुनिक राजनीतिको रङ्ग हो । निर्देशित शासन गर्ने नयाँ तौर–तरिका र ढंग हो । नबुझ्नेले मात्र विरोध गर्छ, बुझ्नेले समयको सदुपयोग गर्छ र मोज लिन्छ एकबारको जुनीमा । सत्ताका पछिलागे भत्ता, भ्रमण, रमण, भोज र मोज गर्न पाइन्छ । विरोध गरे, धेरै इमान्दार र सज्जन रहेको शेखी झारे, शासनको आसनतिर हेरेर आँखा तरे, गाथ–गादी ताकेर र शक्तिकेन्द्र भाकेर भर परे, कारागारतिरको यात्रा सोझिन्छ । कता जाने ?
यमराजको राज्यमा चित्रगुप्तले मत्र्यलोकका हरेक मान्छेले गरेका यावत क्रियाकलापको बहीखाता जसरी सहीसलामत राखेको हुन्छ भनिन्छ, उसैगरी छ यहाँ पनि । मरेपछिको त्यो बहीखाता चुक्ता गरेर फुक्का होला नहोला मान्छे, बेग्लै विषय हो । यहाँ जिउदै रहँदाकोचाहिँ सकिन्छ, चाहेमा । ख्याल गर्न सकिएन र विचार पु¥याइएन समयमै भने जिउँदै नरकमा परिन्छ, गइन्छ, जाकिइन्छ । बेलैमा बुद्धि पु¥याएर शासकको सेवामा समर्पित रहे जहिले पनि स्वर्गै छ यतै । पञ्चायतकालमा राजा र पञ्चको, काँग्रेस कालमा सत्ताधारी नेता र गुटको, कम्युनिष्ट कालमा पनि शासनको आसनमा पुगेका शक्तिको भजन कीर्तन गर्ने हो र आरति उतार्ने हो भने पुग्छ । यतै स्वर्गको सुख भोग्न पाइन्छ । मरेपछिको आश गरेर, कुरेर, भएको र जीवित रहेको जिन्दगीलाई किन नरकमा धकेल्नु ? खुरुक्क मौकाको फाइदा उठाउनु नि ! हातको माछो छाडि दुलामा हात हाल्दा सर्पको डसाईमा पर्न सकिन्छ । काखमा भएको सन्तानलाई हेला गरेर, अर्को छोराका लागि व्रत बस्न हुन्न, बुद्धिमानी मानिन्न, ठानिन्न ।
हिजो यस्तै थियो, आज पनि छ, र हुने छ भोलि पनि । मन्त्री हुने मान्छे फेरिए, व्यवस्थाको नाम फेरियो, काम मात्रै नफेरिएको त हो नि ! यताका गाउँलाई उता सारियो, उताकालाई यता पारियो, कुनै गाभियो, कुनै छाडियो, चुनाव सुनाव पनि गरियो, स्थानीय सरकार भनियो । अञ्चल छोडेर, जिल्ला जोडेर, प्रदेश बनाइयो, भनाइयो । अरु सबै उस्तै छ । केही फरक छैन । खुशी र दुःखी हुन पर्दैन । बिहे गरेर, सन्तान जन्माएर, पाल्ने खर्च जुटाउन विदेश गएको लाहुरे घर फर्कदा छोरा–छोरीले खुशी हुँदै बाबा आए भनेर उफ्रँदा आमालेचहिँ मनमनै ‘तिमीहरुलाई त के आए र ? मलाई पो आए’ भनेर गमक्क परेजस्तै भएको छ यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि । यो संसारमा रहेका सबै व्यवस्था ल्याइए, प्रयोग पनि गरिए, तर जनता र देशको अवस्था जहाँकोतहिँ छ, बरु झन् बिग्रेको छ, नेता र कर्मचारीको अवस्था मात्र सप्रेको त हो नि ! जनताका लागि केही पनि आएन, भएन । जे जति आयो, परिवर्तन भयो, त्यो सबै नेता र कर्मचारीका लागि मात्रै हुन गयो । जनतामाथि करै करको बोझ थपियो, देश मिचियो, नेताका नौला सु(कु)शासनले थिचियो, थलियो । छट्पटी छ जताततै । पालो कुरेर बसेका शासकको हुट्हुटी भने अर्कै । स्वर पनि उति चर्कै । नसुनी सुखै छैन । सुनेर साथ दिए, लिए, सुख सुविधा पाइन्छ । नदिएर दुविधामा परे छुटिन्छ र पछि परिन्छ । के गर्ने ?
तीनजना सज्जनहरुको एउटा सानो समूह रहेछ । असाध्यै मिल्ने । आपसमा पटक्कै अविश्वास नगर्ने । भरपर्ने । ती मध्ये एकजना भान्से बन्न अघि सरेछ । दुइटा मात्रै रोटी पकाएको देखेपछि एउटालाई नपुग्ने कुरा गर्दा बित्तिकै भान्से बनेकोचाहिँले भनेछ – तिमीहरु दुबैलाई दुइटा सग्ला सग्लै रोटी दिउँला, तिमीहरुले दिएको आधा आधा खाएर मैले चित्त बुझाउँला ! सग्ला सग्लै पाएका मित्रले दिएको आधा आधाले चित्त बुझाउने त्यो चलाख भान्से र हाम्रो सरकारको बजेटको कारोबार ठ्याक्कै मिल्छ । जनता भोकै, नेता र कर्मचारीले डकारेको डका¥यै हुने कारण पनि त्यही हो । कमाएर ल्याउनेले आधा मात्र पाउने, खाने, अनि नकमाउने र शासनको आसनमा बसेर भाग लगाउनेले सबैबाट आधा आधा लिदा जति पनि थुप्रिने, पुग्ने र धेरै हुने भएपछि अनि किन गर्न प¥यो विकास ! बढाउन प¥यो उत्पादन ? पर्दैन । त्यही भएर नगरिएको हो । त्यो भान्सेको तरिका र हाम्रा सरकारको चाल चलनमा केही फरक छैन । त्यसैले केही हुँदैन । बडो चलाखीपूर्वक सग्लै दिएर आधा लिइने गरेको छ, गरिएको छ । खै बुझेको ?
दुनियाँका सबै ठाउँमा परजीवी र श्रमजीवीका बीचमा अन्तर छ र छ द्वन्द्व पनि । कम र बेसी, नरम र गरम, शारीरिक र मानसिक, भौतिक र बौद्धिकको मात्र फरक हो । विधि विधान र कानुन सानुन बनाउने, अदालत चलाउने, भागबण्डा लगाउने, चुनिने, कार्यालयमा बस्ने, कलमको भर पर्ने, आविष्कार गर्ने, शासनको आसनमा पुग्नेहरुले कहिँ पनि हलो, कुटो र कोदालो बोकेर हिंड्दैनन् । सकभर त्यहाँका श्रमजीवीलाई पनि सजिलो बनाउने उपकरणको आविस्कार गर्छन्, गराउँछन् र खुशी पार्छन् । उठेको राजश्व वा कर पनि कत्ति दुरुपयोग गर्दैनन्, हुन दिन्नन् । अलि बाठा, उदार र चतुरले श्रमजीवीलाई धेरै दिएर र आफूहरुले थोरै लिएर, पारदर्शी भएर, सम्मान पाएर, सदाचारको जीवन जिएर मान सम्मान लिन्छन्, शासन चलाउँछन् । हाम्रोजस्तो हन्तकालीहरुको समाजमा हुन्न त्यस्तो । जति दिए पनि पुग्दैन । देश र जनताको सेवा गर्न सत्तामा गएका भए पो हुन्थ्यो, सेवाका नाममा मेवा लिन गएका हुनाले सातपुस्ता सपार्ने साधन र धन थुपार्दा पनि पुग्दैन । इमान्दार हुँदा र बैमानी गर्दाको फरक जहाँ पुग्यो उही देखिन्छ, भेटिन्छ । दुईदशक पहिले जब सत्यसाई बाबाको आश्रम भएको ठाउँ भारतको पुट्टपर्ति(आन्ध्रप्रदेश) गइयो, त्यहाँको रङ्गशाला, भव्य भवन र व्यवस्थापन देखियो, चकित परियो । हाम्रो देशको रङ्गशाला बनाउन जति देशले सघाए पनि हुन्न, बन्दैन । दाताले दिएको दान पनि व्यक्तिगत खातामा पार्न तल्लीन शासक भए पछि नभएको त हो नि ! यसपल्ट पनि जब ॐ शान्तिको अन्तर्राष्ट्रिय मुख्यालय भारतको माउन्ट अबु(राजस्थान) गइयो, त्यहाँका भवन, लगन, अनुशासन, व्यवस्थापन देखेर दङ्ग परियो । ५० जनादेखि २५ हजारसम्म अट्ने अत्याधुनिक सुविधा सम्पन्न सभाकक्ष देखेर मन जति फुरुङ्ग भएको थियो, नेपालतिर सम्झदा वित्तिकै खिन्न भइयो । एकहजार जनाजति सभासद अट्ने सुविधासम्पन्न एउटा संसद भवन नभएर नेपालमा जुन हविगत छ, त्यसको के वर्णन गर्नु ? देशभरि जनता बेरोजगार, जता गयो उति कर उठाएर खाने सरकारै सरकार ! बाटा घाटामा हिंड्दा मन्त्री, मेयर र सांसदसँग कुहिनो नठोकिने दिन हुन्न । यति सानो देशमा त्यति धेरै शासक पाल्दा आफै कंगाल हुन परेको छ । जति दिए पनि तिनैलाई पुगेको छैन सुविधा, जनताले कहाँबाट पाउने र आश गर्ने ? हरेक प्रदेशका मन्त्री, पालिकाका मेयर र तिनीहरुका कागजपत्र मिलाउने कर्मचारीकै बेहाल छ, जनताको त हुने नै भयो नि !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार