परजीवी मनोविज्ञान र हाम्रो नेतृत्व

आज मैले लेबी, चन्दा र राजश्वमा बाँचेको परजीवी वर्गको विषयमा मनोविज्ञानपरक छलफल चलाउन चाहन्छु । नेपालमा लोकतान्त्रिक आन्दोलनको क्रममा हुर्केको परजीवीपन कस्तो छ भनी खोज गर्नु यो लेखको मुख्य उद्देश्य हो ।
वास्तवमा लामो न लामो समयसम्म व्यक्तिले जुन काम गरिरहेको हुन्छ, त्यो कामले मनमा गहिरो छाप परेको हुन्छ । त्यो छापले मनोविज्ञानमा एउटा ढाँचा निर्माण गरेको हुन्छ । त्यो ढाँचा अन्ततः सीप र आदतमा ढल्छ । जीवनशैली, निर्णय र क्रियाकलापबाट अभिव्यक्त हुन थाल्छ । त्यसलाई करेक्सन गरी नयाँ ढाँचातिर जान अत्यन्त गाह्रो हुन्छ । त्यो मन मस्तिष्कमा जड रुपमा बसिरहन्छ । यही जडताले उनीहरुलाई रुढ बनाउँदै लैजान्छ ।
नेपाली लोकतान्त्रिक आदोलन निकै लामो समयसम्म चल्यो । १९९० देखि २०६३ सालसम्म अनवरत रुपमा क्रान्ति प्रतिक्रान्तिको चक्रब्यूहमा फन्फनी घुमीरह्यो । नेताहरु जीवनभर लोकतान्त्रिक आन्दोलनमा बिताए । उनीहरुले लोकतन्त्रको लागि ठूलो योगदान गरे । तर आन्दोलनको क्रममा संगठन निर्माण गर्दा र त्यसको परिचालन गर्दा पैसा चाहियो । त्यो पैसा कार्यकर्ताको लेबी, व्यापारी र उद्यमीहरुको चन्दाबाट आयो । लोकतान्त्रिक आन्दोलन लामो भएको हुनाले उनीहरु जीवनभर यसैबाट बाँचे । उनीहरुले उद्यम गरेर कहिल्यै पनि खान पाएनन् ।
सधै लेबी र चन्दाबाट चल्ने हुँदा उनीहरुको दिमागमा एउटा मनोवैज्ञानिक ढाँचा बन्यो । उनीहरु नेपालका शक्तिशाली धनाढ्यहरुको पछि पछि दौडन थाले । सुमार्गी र राज्यलक्ष्मी लगायतका धनाढ्यहरुको दौरा र सारीको फेर समाएर सर्वहारा जीवनशैली र दृष्टिकोणहरु समाप्त पारे । त्यही ढाँचाको लामो अभ्यासले उनीहरुलाई उनीहरुलाई परजीवी बनाउँदै लग्योे । यही परजीवी मनोविज्ञानले सत्ता र शक्तिमा रहिरहनको लागि पार्टीलाई नै आफ्नो चाहना अनुसार चल्ने कठपुतली जस्तो बनाए । उनीहरुले धन नै सर्वश्व हो पहिला आफ्नो जीवन बदल्नुपर्छ भन्ने कुराको रहस्य बने ।
अहिले पार्टीमा निर्वाचन प्रणाली लगभग खारेज गरिसकेका छन् । उनीहरुले अहिले पार्टीमा राणकालीन पजनी प्रथा चलाएका छन् । चाहेको मान्छे राख्ने र अलिकता तर्क वितर्क ग¥यो भने ‘खूब जान्ने भइस’ भन्दै सडकमा पछारी दिने गरी पार्टी चलाएका छन् ।
नेपाली राजनीतिमा लामो समयसम्म लोकतान्त्रिक आन्दोलनमा लागेका नेताहरु थुप्रै छन् । त्यो समयमा नेताहरु देशलाई निरङ्कुशताको चङ्गुलबाट मुक्त पार्न लोकतान्त्रिक आन्दोलनमा निष्ठा, समर्पण र त्यागका साथ लागेका थिए । उनीहरुको त्यो योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुपर्छ । निरङ्कुशता विरुद्धको लडाईको समयमा विभिन्न पार्टीहरु र उक्त पार्टीका नेताहरु भूमिगत तथा अर्धभूमिगत अवस्थामा रहनुपथ्र्यो ।
त्यो समयमा पार्टीलाई जोगाउन नेतृत्वलाई जोगाउनु पथ्र्यो । उनीहरुलाई खुवाउन र शुरक्षा दिन सक्नु पथ्र्यो । यसकारण पार्टी सदस्यहरु पार्टीलाई जोगाउन र आन्दोलनको आँधीबेहेरी सिर्जना गर्न पार्टीमा मासिक लेबी उठाउँथे र पठाउँथे । नेताहरु त्यही लेबीबाट बाँचेका थिए । आवश्यक पर्दा समर्थक शुभेच्छुकहरुसँग पनि अतिरिक्त चन्दा लिनु पथ्र्यो । त्यो समयको आवश्यकता थियो ।
लोकतन्त्र आयो तर आन्दोलन समाप्तिपछि भूमिगत अवस्थाबाट बाहिर आए पनि र नेतृत्वको स्वभावमा परिवर्तन आएन । उनीहरु त्यही परजीवी बाटोतिर लागे । यसले परजीवी मनोविज्ञानको विकास ग¥यो । यो परिवर्तन नआउनुको मुख्य कारण उनीहरुमा रहेको अभिवृत्ति अर्थात आदत हो । आदतले मानिसलाई दाश बनाउँछ । सांसद भएर राज्य सत्तामा पुगेपछि श्रोत विस्तार भएर राजश्वसम्म प्राप्त हुन थाल्यो । नेताहरु यिनै विविध श्रोतहरुबाट बाँच्न थाले । उनीहरुमा आफै कमाउनु पर्छ र आत्मनिर्भर भएर स्वभिमानका साथ बाच्नुपर्छ भन्ने रहेन । उनीहरु अरुकै पकेटको धनबाट बाँच्न थाले । सबारी साधन, खाना, नास्ता, चिया सबै अरुको भरमा पर्न थाले । नेतालाई रिझाएर कमाउन चाहने वर्ग अघि पछि लागेर परजीवीपनको मलजल गर्न थाल्यो । यसले हल्का चाकडी पनि जगायो ।
अहिले सबै पार्टीका नेताहरुमा सम्प्रभूताको बाग्डोर छ । उनीहरु मालिक भएका छन् । कार्यकर्ताहरु बिल्कुल रैती बन्दैछन् । मुलुक र मुलुक बाहिर जाँदा पनि उनीहरुलाई कार्यकर्ताहरुले सेवा गर्नुपर्ने मनोविज्ञान खडा गरेका छन् । देश प्रदेश जहाँ गएपनि उनीहरुलाई बस्न खान कार्यकर्ताले व्यवस्था गर्नु पर्छ । यो त उनीहरुको अधिकारजस्तो भएको छ । आन्दोलन सकेको यतिका वर्ष भयो तर उनीहरुमा आफूलाई आत्मनिर्भर बन्ने बनाउने भन्दा पनि चन्दा, लेबी,राजश्वबाट बाँच्ने प्रवृत्तिको विकास झन गहिरो गरी विकास गरेका छन् । यसले कार्यकर्ताहरुमा पनि सत्तामा विभिन्न विभागमा नियुक्तिको अवसर खोजेर बस्ने ठूलो संख्या छ । कार्यकर्ताहरु यही सिकेर परजीवी बन्ने शंका देखिन्छ ।
परजीवी मनोविज्ञान डरलाग्दो मोविज्ञान हो । यो शोषकीय मनोविज्ञान हो । यस मनोविज्ञानले आत्मनिर्भर स्वाधीन अर्थतन्त्रको विषयमा सोंच्न दिंदैन । राज्यमा पुग्दा पनि उनीहरुले स्वाधीन अर्थतन्त्रको खोजी अनुसन्धान भन्दा पनि विदेशी दाताहरुबाट मुलुकको विकास गर्नुपर्छ भन्ने मनोविज्ञानको विकास भएको छ । किनकि उनीहरुको जीवन लेबी र चन्दाबाट चलेको छ । उनीहरुले वार्षिक योजनामै विदेशी सहयोगको ठूलो बजेटको अंश राखेका हुन्छन् । किन कि उनीहरुमा परजीवीपन छ । यही परजीवीपनले उद्यमशीलता, स्वभिमान र आत्म विश्वास हटाइ दिएको छ । यो आम मनोविज्ञान बनेको छ ।
लोकतान्त्रिक खुल्ला अवस्थामा लेबी कम र चन्दा बिल्कुल बन्द गर्नुपर्छ । व्यापारी र उद्योगीलाई हैरान र हतोत्साही बनाएर स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन । उत्पादन गर्ने भन्दा पनि चन्दा मागेर खाने धेरै भए पछि मुलुक बन्दैन । सत्तासिन पार्टीमा मात्र हैन नेपाली कङ्ग्रेस, नेकपा विप्लवमा पनि परजीवी मनोविज्ञानको विकास भएको छ । त्यो पार्टीमा रहेका नेताहरुको मनोविज्ञान पनि त्यही नै हो । उनीहरुमा पनि उद्यमशीलता रहेको छैन । पार्टीलाई व्यवस्थित रुपमा चलाउन हरेक पार्टी सदस्यले सीमित लेबी तिर्छन् । सायद यो विश्वव्यापि नियम होला । नेकपा र नेपाली कङ्ग्रेसमा लाखांै पार्टी सदस्यहरु छन् । उनीहरुले मासिक लेबी तिर्छन् । लेबी तिर्नुपर्छ । त्यसमा हाम्रो विरोध हैन । तर लेबी र चन्दाले पारेको मनोवैज्ञानिक असर उदेकलाग्दो छ । त्यसले नेताको उद्यमशील प्रवृत्ति नै समाप्त पारिदिएको छ । उनीहरु परजीवी भएका छन् । कुनै पनि नेताले आफूले कमाएर खाएका छैनन् । परजीवी बन्नु त आखिर शोषक बन्नु हो ।
पार्टी चलाउन राजश्वको उपयोग गर्नु हुन्न भन्ने मान्यता छ । चीनले पार्टी र सरकारलाई अलग अलग रुमा संस्थागत गरेको छ । चिनियाँहरु सरकार ढले पनि ९ करोड पार्टी सदस्य बनेको विशाल पार्टी ढल्दैन । चिनियाँहरुले नेता पाल्न लेबी उठाउँदैनन् । उनीहरुले पार्टीलाई आधुनिकीकरण गर्न र संस्थागत गर्न लेबी उठाउँछन् । राज्य र पार्टी भिन्दाभिन्दै संस्थाहरु हुन् । उनीहरु अन्योन्याश्रित हुँदाहुँदै पनि अलग अलग हुन् । पार्टीले सरकार चलाउँछ तर राजश्व खर्चन पाउँदैन । शोभियत संघमा राज्य र सरकार फरक फरक नभई सरकार नै पार्टी हो पार्टी नै सरकार हो जस्तो भएको हुनाले समाजवाद ढल्दा पार्टी पनि समाप्त भयो ।
कुनै पनि मुलुकमा पार्टी नै राज्य र राज्य नै पार्टी भयो भने त्यसले निरङ्कुशता ल्याउँछ । विश्वभर लोकतान्त्रिक मुलुकहरुमा पार्टी र राज्यको सम्बन्धलाई अलग अलग रुपमा व्यवस्थापन गर्नुपर्छ भन्ने छ । नेपालमा पनि त्यसो गर्नुपर्छ । तर नेताहरुलाई चन्दा र लेबीले पाल्ने अरबी घोडाजस्ता बनाउनु हुँदैन । उनीहरु अरबी घोंडाजस्ता शक्तिशाली छन् तर बिल्कुल परजीवी छन् । आफै कमाएर खाने नेताहरु निकै कम छन् । वास्तवमा खुल्ला अवस्थामा नेताहरु उद्यमी हुनु पर्छ । आफ्नो खर्च आफै गर्न सक्ने हुनु पर्छ । चन्दा त लिनु दिनु अपराध नै हुन्छ ।
नेपाली नेताहरुको मनोविज्ञान परजीवीजस्तो बनेको छ । उनीहरुले आत्म निर्भरताको शिक्षा दिन सक्दैनन् । नेकपा विप्लवले पनि लेबी र चन्दालाई व्यापक बनाएको छ । यसले उसको चिन्तन र व्यवहारमा पनि गम्भीर असर परेको छ । उनीहरु सकेसम्म अरुको आम्दानीमा चल्ने मनोविज्ञान पाल्छन् । आफू मातहतका नेता तथा कार्यकर्ताहरुमा पनि परजीवी बनाउँदैछन् । उद्यम गरेर खानु पर्छ भन्ने त नेताहरुमा छंदैछैन । कुनै नेताले पनि आफूलाई उद्यमीमा रुपान्तरण गर्न सकेनन् । यसले हाम्रो अर्थतन्त्रमा पनि प्रभाव परेको छ । स्वाधीन अर्थतन्त्र नबन्नुको मनोवैज्ञानिक प्रभाव परजीवीपनमा आधारित मनोविज्ञान हो । नेपालमा कम्युनिष्टहरुले आफूलाई नबदलेसम्म मुलुक बनाउन सक्दैनन् । नेताहरुले परजीवी मनोविज्ञानलाई हटाउनु पर्छ । तर हटाउने सम्भावना देखिदैन । यसको लागि नयाँ आत्म विश्वासी र फ्रेस नेतृत्वको खाँचो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार