सकारात्मक विचारले मन जोडिन्छ

पद्मप्रसाद शर्मा
वर्तमान अवस्थाकै कुरा गर्ने हो भने नेपाल एउटा यस्तो र आश्चर्यलाग्दो सीमा कोरिएको मुलुक बन्न गएको छ कि यहाँ एकले अर्कालाई विश्वास गर्नै सक्दैन । जतिसुकै इमान्दार व्यक्ति भए पनि एउटा न एउटाले कुनै न कुनै कोणबाट उसलाई आशंकाको दृष्टिले हेर्ने गरिन्छ । एक स्थान वा एक व्यक्तिमा मात्र यस्तो आरोप नभएर अनेक स्थानमा एकले अर्कोलाई यस्तै कोणबाट हेर्ने गरेको पाइन्छ । किन यस्तो अविश्वास जन्मायौं हामीले ? तपाई चाहे पूर्व जानुस् चाहे पश्चिम जानुस् चाहे उत्तर जानुस् चाहे दक्षिण जानुस् यस्तै अविश्वासका पहाडहरु पाइन्छन् । पहाडै नभएका तराइमा अझ ठूला यस्ता अविश्वासका पहाडहरु देख्न र सुन्न पाइन्छ । कस्तो आश्चर्य ! कस्तो विडम्बना !?
यस्ता अविश्वासका पहाडहरु व्यक्तिमा मात्र नभएर सरकारी तथा गैरसकारी संघसंस्थाहरुमा पनि पाइन्छन् । यस्तो अविश्वासको कुरा त सरकारीस्तरमा अझ भयलाग्दो पाइन्छ । अहिले भएका नेतृत्व वर्गमा कम विश्वास गर्छन नागरिकहरु । किन यस्तो भयलाग्दो अवस्था छ नागरिकमा ? यो काम त सरकारले गर्छ भन्यो भने कति त हाँस्छन अनि पर सर्न मन गर्छन् । यसै सन्र्दभमा एउटा उदाहरण गतवर्ष दाङको नारायणपुर श्रोतकेन्द्रमा प्रधानाध्यापकहरुको श्रोतकेन्द्र स्तरीय बैठक बस्दै थियो । त्यही क्रममा विद्यालयको सुधारको प्रसंग आयो त्यसै समयमा यो पंक्तिकारले “नेपाल सरकारले केही समयभित्र सबै विद्यालयमा कम्प्युटरको व्यवस्था गर्दैछ ।

केही वर्षभित्र यो योजना पूरा गर्ने छ । विद्युत नभएको स्थानमा सोलारको व्यवस्था गरी सबै विद्यालयलाई इन्टरनेट जोडने योजना तय गरेको छ । यसका लागि शिक्षा मन्त्रालय शिक्षा विभाग अग्रसर भएर लाग्दै छ” भनेर भनेपछि उपस्थित सबै प्रधानाध्यापकहरु अपत्यारिलो स्वरमा एकसाथ गलल्ल हाँस्नु भयो । त्यसको प्रतिवाद गर्नु पर्ने पनि केही थिएन । उहाँहरुको हासो नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागको योजनाप्रतिको अविश्वास नै हो । अझ नेपाल सरकारप्रतिको ठूलो अविश्वास हो । यो पंक्तिकारले त्यसो भन्नुको आधार केही दिन पहिले शिक्षा विभागका उपसचिव बाबु काजी कार्की र नागरिक लगानी कोषका अधिकृत छविरमण अधिकारीसँग गरिएको कुराकानीको आधार थियो । उहाँहरु दुबैजनाले नेपालका विद्यालयलाई इन्टरनेटले जोडने प्रसंगमा एकै योजनाका कुरा सुनाउनु भएको थियो । यो पंक्तिकारको आधार पनि त्यही थियो । अहिले त्यही योजना अनुसार धेरै उ.मा.वि.र मा.वि.हरुमा यस प्रकारका कार्यलाई अगाडि बढाइँदैछ । विस्तारै यो नि.मा.वि. हुँदै प्रा.वि.सम्म आउनेछ । कतै कतै नि.मा.वि.र प्रा.वि.हरुले पनि योे अवसर प्राप्त गरेका छन् तर राज्यले बनाएको कुरा सुनाउँदा पनि एउटा वौद्धिक जमात एकै साथ किन हाँस्यो ? यो अहम प्रश्न हो । उहाँहरु हाँस्नुमा पनि कुनै आश्चर्य लागेन किनभने हरेक सरकारले यस्ता योजना कति ल्याए कति आफैमा बिलाएर गए । अनि जतिसुकै बौद्धिक भनिने व्यक्तिहरुपनि नहाँसेर के गर्ने ? यसमा दुईवटा कुरा हुन सक्छन् पहिलो सरकारले ल्याएका यस्ता योजना कति आए कति गए पूरा भएनन् अर्थात कार्यान्वनयन भएनन् । पहिलो यो हुन सक्छ । अर्को आफैलाई हेरेको पनि हुनसक्छ । आफैलाई हेरेको भन्नुको मतलब आफैले बनाएका योजना आफै कार्यान्वयन गर्न नसक्नु पनि हुन सक्छ । न आफूले केही गर्न सक्ने न अरुले गर्छ भनेर विश्वास गर्न सक्ने हामीमा यो दुबै कुराको खडेरी परेकै हो ।

सरकारी स्तरबाट आएका नेपालका केही जल्दाबल्दा उदाहरण हेरौं जस्तो लाग्यो । नेपालका वर्तमान कृषिमन्त्रीले कृषकलाई पेन्सन दिने कुरा गरे तर नागरिक स्तरबाट त्यसको विरोध जस्तै स्वरमा आवाज आयो । यो सम्भव नै छैन । विश्वास नै लागेन नागरिकलाई । ऊर्जा संकट टार्नका लागि प्रधानमन्त्रले हावाबाट विद्युत निकाल्ने योजना बनाउनु पर्छ भनेको सुनेर उहाँले भनेको दुईघण्टा नबित्दै हावादारी कुरा भनेर सामाजिक सञ्जालमा फैलियो । नेपालमा रेल चलाएर देखाउँछु भन्दा यस्तो त सम्भव नै छैन भनियो । अब सिलिण्डरबाट ग्याँस बोक्ने होइन पाइपबाट ग्याँस घरघरमा मिटरसहित जडान गर्नु पर्छ भन्दा आकासे कुरा भनेर टिप्पणी गरियो । नेपाल आफैले पानीजहाज किनेर चलाउने योजना बनाउनु पर्छ भनेको सुनेर भोलिपल्ट नै कार्टुनबाट खूव व्यंग्य गर्न थालियो । नेपालका वर्तमान प्रधानमन्त्री के.पी.शर्मा ओली हावादारी कुरा गर्ने मानिस हुन् ? के कृषि मन्त्री फोस्रो गफ गर्ने मानिस हुन् ? हाम्रो मुलुकका खानीहरुबाट खनिज वस्तु निकाल्ने योजना बन्दै छ भन्ने कुरा आएको छ । यो पनि सपना बाँटेको हुन्छ । यो दुनियाँमा सत्कर्म गर्ने कुनै राजनेता वा नागरिक नै छैनन् ? घूस भ्रष्टाचार नगर्ने कुनै कर्मचारी नै छैनन् ? यी त प्रतिनिधिमूलक प्रश्न मात्र हुन् । हामी यस्ता कुरा यत्रतत्र सर्वत्र सुन्न सक्छौं ।

तपाई सरकारको नीतिको कुरा गर्नुस् चाहे जनस्तरबाट आएका कुराहरुको चर्चा गर्नुस् । कुरा सधै र सबै उस्तै हुन् । हाम्रो समुदायमा सबै बेइमान मानिसमात्र बस्दैनन् र सबै सरकार प्रमुख गफमा मात्र दिन बिताउने खालका हुँदैनन् । तर हामीले सबैलाई एउटै चश्माले हेर्ने गर्दछौं र एउटै भाषामा आक्षेप लगाई हाल्छौं । हामीमा सानो पनि धैर्यता छैन । कसैले योजना बनायो वा योजनाको कुरा सार्वजनिक गर्न भ्याएको हुँदैन । हमी पहिलेदेखि मुख बाएर त्यसको बिरोध गर्न तम्तयार भएर बसेका हुन्छांै कि उसको कुरा कताबाट उडाउने हो वा उसका कुरा काटेर आफ्नो समय बर्बाद गर्ने हो भनेर । हामी यस्ता कुरामा कत्तिपनि पछाडि पर्दैनौं । यो दुनियाँमा राम्रो गर्ने र देख्नेहरु पनि छन् । पहिले त उनीहरुलाई देख्ने आँट गर्नु पर्दछ । हुन त कसै कसैको बानी सकारात्मक भन्दा नकारात्मक देख्ने र खोतल्ने बानी हुन्छ । हजार सप्रेको नदेख्ने तर एउटा बिग्रेकोमा छिट्टै नजर लगाउनेहरु पनि छन् । हामी मध्य कति त छिद्र खोतल्दै हिंडनेहरु पनि छन् । हामीले अहिलेसम्म लगानी गरेको समय सकारात्मकतिर बढ्ता छ कि नकारात्मकतिर छ ? यसरी एकपटक आत्मसमीक्षा गर्न जरुरी छ । बिग्रेको मात्र हेर्ने बानी लागेहरुले सप्रेको देख्दै देख्दैनन् यो पक्का हो । सप्रेको नदेख्नु पनि जीवनको एउटा ठूलो दोष हो । यसै दोषबाट मुक्त हुनका लागि अब बानी परिवर्तन गर्न सक्नु पर्दछ ।

बानी परिवर्तन गर्ने भनेको सकारात्मक मार्गमा आफूलाई लैजानु हो । कतिको मन र मस्तिष्क पनि नकारात्मक तत्वले बनेको हुन्छ । जसले जहाँ पनि दोषमात्र देख्छ र जे कुरा सुने पनि राम्रो वा सकारात्मक विश्लेषण गर्न सक्दैन । पहिले त सकारात्मक सोंच बनाउनका लागि यो दुनियाँमा राम्रा काम पनि हुन्छन् र राम्रा कुरा पनि हुन्छन भन्ने विश्वास मनमा लिनु पर्दछ । विश्वास लिन नसक्नेहरुले कहिल्यै पनि न आफूले राम्रो सोंच बनाउन सक्छन् न योजना बनाउन सक्छन ्। न त राम्रो काम भएको सुन्ने चेष्टा नै हुन्छ । जसले योजना बनाउन सक्दैन उसको हातबाट सकारात्मक अपेक्षा नगरेपनि हुन्छ । सरकारी र जनस्तबाट हुने हरेक काममा सधै अविश्वासको पोको पारेर राख्नु र त्यही पाहुर अरुलाई खुवाउने प्रयास गरिरहनु पनि एउटा दोषको कुरा हो । दोषबाट पनि पार पाउनु पर्दछ । सधै दोषको मात्र भारी बोक्ने गर्नाले जीवन पार लाग्दैन । त्यो असफल जीवन हो । एउटा मानिसको जीवन दोषमा भासिदै जानु भनेको समाज भासिनु हो ।

पूरै समाज दोषमा भासियो भने त्यो मुलुक कहाँबाट पार लाग्छ ? जता पनि दोष, जतापनि झूठ र फरेप देख्ने बानी नहटेसम्म हामीले गर्ने उन्नत मुलुकको कल्पना कतै काकाकुलले पानी पिए जस्तै हुन्छकि ? किन यतिविधि तल झन तल झर्दै छौं ? किन अविश्वासका पहाड आफै उठाउँदै छौं । एकपटक साेंचौं आफैले अरुमाथि गरेको विश्वास वा अविश्वास के हो ? यो मुलुकका नीति निर्माताले बनाएको योजनामा पनि विश्वास छैन अनि योजना बनाउने र कार्यान्वयन गर्ने आफ्नो ढंग पनि छैन भने आफूले गर्ने के हो त्यही समयमा हो धैर्यताको पालना गर्ने तर हामीसँग त धैर्यताको पालना पनि भएन । जसले हामीलाई एकअर्काबाट टाढा झन टाढा लग्दैछ परिणाम देशको विकासको गति त्यति धिमा बन्दैछ । योग्य व्यक्ति वा सरकारले बोलेको कुरामा स्याबासी दिन जाने पनि त सकारात्मक सोंच हुँदो हो यसैको कमीले पनि हामी आपसमा राम्ररी जोडिन सकेका छैनांै । आपसमा मन राम्ररी नजोडिएको स्थानमा कहाँ पो प्रगति भएको छ र ? पहिले मनको कल्मस त्यागेर सकारात्मक विचार बनाउनतिर लाग्नु पर्दछ । सकारात्मक सोंचले हाम्रो मन जोड्नतर्फ लाग्ने छ । देशको उन्नतिको मार्ग पनि खुला हुने छ । यसबाट एकमना एकता भन्ने जान्न सकिने छ । मन जोडिनु भनेको देशको भलो पनि हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार