साउन, हरियो चुरा र महिला

माया कडेरिया
हिन्दु धर्मशास्त्र अनुसार साउन महिनालाई शुद्धताको महिनाको रुपमा लिइन्छ किनभने यसै साउन महिनामा भगवान शिवजीले अवतार लिइएको हो भन्ने भनाइ छ । भगवान शिवजीको पूजा आराधना आदि गर्नको लागि परापूर्वकालदेखि भाँग धतुर तथा अन्य नशालु पदार्थ प्रयोग गरिन्थ्यो किनभने यसरी यी सामग्री प्रयोग गरेर पूजा आराधना गर्दा भगवान शिवजी प्रसन्न हुने भन्ने मान्यता रहेको छ तर समयको अन्तरालमा महिलाहरुद्वारा भगवान शिवको पूजा गर्न साउन महिनामा हरियो चुरा लगाई जल चढाउने, व्रत बस्ने, पूजा गर्ने गर्दछन् । अर्को तर्फ यो भन्न सकिन्छ कि साउन महिना मनसुन पानी पर्ने महिना भएकाले यो महिनामा रुख विरुवा घाँस–पात वनस्पति आदि सम्पूर्ण वातावरण हरिया हुन्छन् जसले मानिसमा खुशियाली सकारात्मक सोंच आदि ल्याउँछ । यस्तै यो महिना वर्षातको महिना भएकाले खेतिपाती गर्नमा सहयोग पुग्दछ । यिनै सवै कारणले गर्दा प्राचीनकाल देखिनै हिन्दु महिलाहरुले हरियो रंगको चुरा लगाउने प्रचलन आएको भन्ने मान्यता रहेको पाइन्छ । जसको फल स्वरुप घरमा सुख शान्ति, समृद्धि र सकारात्मक सोच आउछ र सम्पूर्ण मानवजगत क्रियाशील भै आ–आफ्नो कार्यमा लाग्दछन् ।
नेपालमा हिन्दु नारीहरुको बाहुल्यता भएकोले यस्ता विवाहित हिन्दु नारीहरुले पनि साउन महीनामा प्रायः गरी हरियो चुरा लगाई पूरै साउन भरी भगवान शिवलाई जल चढाई पूजा आराधना गर्दछन् जसको फलस्वरुप आफ्नो पतिको आयु वृद्धि हुने र अविवाहित नारीहरुले सुन्दर वर पाउने मान्यता रहेको छ । साउन महिनाको महत्वलाई हिन्दु धर्मशास्त्रमा रहेको कुराहरुको आधारमा विश्लेषण गर्दा भगवान शिव र सती देवीको प्रसंगलाई जोड्नु सान्दर्भिक हुन्छ । एक किंवदन्ती अनुसार जब सती देवीले भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न सकिनन् उनले आफ्नो योग साधना अनुसार आफ्नो शरीर बुबाको घरमा त्याग गरिन् । सती देवीले भगवान शिवलाई प्रत्येक जन्ममा पतिको रुपमा प्राप्त गर्ने संकल्प गरिन् । त्यसपछि अर्को जन्ममा मेनका महारानीको छोरीको रुपमा पार्वतीले हिमालयमा जन्म लिइन र पार्वतीले हरियो चुरा र मेहेन्दी लगाएर पूरै साउन महिना भरी कठोर तपस्या गरिन र भगवान शिवलाई पतिको रुपमा प्राप्त गरिन् । त्यही समय देखि विशेष गरी हिन्दु अविवाहित महिलाहरुले भगवान शिव जस्तै पति पाउन साउन महिनामा हरियो चुरा तथा कपडा लगाएर भगवानको पूजा गर्ने प्रचलन र संस्कृतिको विकास भएको पाइन्छ र विवाहित महिलाले आफू सधै भरी सौभाग्यवती रहने मान्यतामा हरियो चुरा लगाउँछन् ।
यस्तै यस सम्बन्धमा अर्को किंवदन्ती रहेको छ कि हरियो रंग बुध ग्रहसँग सम्बन्धित छ । हिन्दु धर्ममा महिलाले हरियो चुरा, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रशन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले श्रावण शुक्ल पक्षको तृतीया तिथिको दिन हरियाली तीज पनि मनाइन्छ । हरियो रंगलाई श्रावण महिनामा प्राथमिकता दिन्छन् । बुध ग्रह हरियो रंगले खुशी हुने भएकाले महिलाहरुले हरियो चुरा र कपडा धारण गर्दछन् । जसले गर्दा अध्ययन र व्यापारिक कामको सफलता प्राप्त हुने पनि मान्यता रहेको छ ।
हरियो रंगले जहिले पनी सकारात्मक साेंचतर्फ प्रेरित गर्दछ । यसले चेतनाको गतिलाई क्रियाशक्तिको माध्यमबाट फैलाउँछ । त्यसैले प्रकृतिले पनी रुख विरुवालाई हरियो बनाई मानव जीवनमा चेतनाको गति प्रदान गर्दछ । वातवरणीय क्रियाशक्ति हरियो रंगका पातमा आकर्षित हुन्छन् । त्यसैले हिन्दु नारीहरु पनि हरियो रंगको चुराप्रति सकारात्मक सोंच राखी आकर्षित भै हरियो रंगको चुरा लगाउँछन् भन्ने मान्यता रहेको छ । महिलाहरु जसले हरियो चुरा लगाउँछन् तिनिहरुमा पनि यही क्रियाशक्ति हातको नाडीमा आकर्षित भै सम्पूर्ण शरिरमा क्रियाशील हुन्छ जसद्वारा सकारात्मक र प्रेमको विचार उत्पन्न हुन्छ ।
यस्तै विवाहित महिलाहरुले हरियो चुरा लगाउने संकेत भनेको आफ्नो आभूषण चुराको माध्यमवाट शक्ति देविको पूजा गर्नेतर्फ प्रेरित हुन्छन् । साथै आफ्नो शुद्धतालाई संकेत गर्दछन् । यसरी देवि÷ महिलाको शक्ति हरियो चुरामा सक्रिय हुन्छ जसले सम्पूर्ण शरिरमा तरङ्ग प्रवेश गर्दछ र शान्ति प्र्रदान गर्दछ र नकारात्मक सोंचका क्रियाकलापहरु महिलाहरुमा आउन पाउँदैनन् । अर्को तर्फ हरियोले प्रजनन शक्ति र समृद्धिलाई संकेत गर्दछ त्यसैले महिलाहरुले हरियो चुरा लगाउँछन् ।
रंगको महत्व
हाम्रो संस्कृतिमा विभिन्न रंगका चुरा लगाउने आफ्नै किसिमको अर्थ छ जस्तै ः
१. रातो रंगले ऊर्जा र समृद्धिलाई संकेत गर्दछ ।
२. हरियो रंगले राम्रो भाग्य, सुखशान्ति, समृद्धि र प्रजनता ।
३. पहेलोले खुशियाली ल्याउँछ ।
४. सेतोले नँया कामको शरुवात गर्ने तर्फ प्रेरित गर्दछ ।
५. सुन्तला रंगले सफलता तिर इंगित गर्दछ ।
६. चाँदी रंगले शान्ति वा तागत प्रदान गर्ने तर्फ संकेत गर्दछन् भने
७. सुनौलो रंगले भाग्य र समृद्धिलाई संकेत गर्दछ ।

चुरा लगाउने मुख्य कारण ः
विभिन्न रंगका चुराको सांस्कृतिक महत्व तथा हरियो चुरालाई शारिरिक तथा धार्मिक पक्षसंग र विश्लेषण र व्याख्या गरिएता पनि अन्य वस्तुवाट बनेको चुराहरुको पनि आफ्नै वैज्ञानिक महत्व छ । जसलाई निम्नानुसार उल्लेख गरिएको छ ।
१. हात नाडीमा लगाउने चुराहरुको ठोकाइबाट रक्त सञ्चार बढाउँछ र ऊर्जा प्रदान गर्दछ ।
२. गर्भधारण गरेका महिलाहरुलाई चुराको ठोकाइवाट शान्त किसिमको संगीत प्राप्त हुन्छ र गर्भमा रहेको शिशुलाई यसले सकारात्मक क्रियाकलाप गर्दछ । यस्तै संगीतले गर्भधारण गरेका महिलाहरुमा तनावलाई हटाउँछ ।
३. अनुसन्धानवाट यो पत्ता लगाइएको छ कि सिसा चुरा लगाउने महिला भन्दा अन्य धातुका चुरा लगाउने महिलामा संवेग (इमोशन) बढी हुन्छ । त्यसैले सिसा चुराले महिलाको संवेगलाई नियन्त्रण गर्दछ ।
४.हरियो चुराले सकारात्मक साेंच ल्याउँछ किनभने हरियोले वायुमण्डलमा रहेका विभिन्न तत्ववाट राम्रोपना र शुद्धतालाई ग्रहण गर्दछ र महिलाहरुको नाडीबाट पूरै शरीरमा तरङ्ग उत्पन्न गराई सकारात्मक सोंच ल्याउने काम गर्दछ ।
५.हरियो रंग दैवीय शक्ति शान्तिको प्रतीक हो । त्यसैले विशेष गरी हिन्दु नारीहरुले हरियो रंगको चुरा लगाउने प्रचलन आएको हुन सक्ने मान्यता रहेको छ ।
निष्कर्षमा भन्न सकिन्छ कि साउन महिना र हरियो चुरा बीच नङ र मासुको सम्बन्ध रहेको छ । साउन महिना भगवान शिवजीको प्रतीक हो र हरियो चुरा सती देवी ÷ पार्वतीको प्रतीक हो । सती देवी ÷ पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउने आशाले हरियो चुरा लगाई कठोर तपस्या गरेकोले सो मनोरथ पार्वतीको पूरा भएको मान्यता रहेको छ । त्यसैले हाम्रा नेपाली हिन्दु नारीहरु पनि पार्वती देवी शक्तिकै प्रतीक हुन जसले आफ्नो इच्छा अनुसारको पति पाउन हरियो चुरा लगाई भगवान शिवको पूजा आराधना गर्दछन् भने विवाहित महिलाले आफ्नो पतिको आयु बृद्धि गर्नमा मद्दत गर्दछन् । यस्ता नारीहरुलाई घर परिवार समाजले पनि देवीको रुपमा लिनुपर्दछ । तिनीहरुमा विशाल दैवीय शक्ति रहेको पाइन्छ । तिनीहरुले आफ्नो घर परिवार, समाज, समुदायलाई अगाडि बढाउन सकारात्मक साेंचको माध्यमबाट भरपूर प्रयास गरिरहेका हुन्छन् र धर्मकर्म, संस्कृति र संस्कारलाई बचाई राखेका हुन्छन् ।
जय साउन महिना ! जय हरियो चुरा ! जय नेपाली नारी !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार