श्रीमती, सासू र सालाको हत्याप्रयास

घनश्याम पौडेल-अर्घाखाँची। अर्घाखाँची भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक युवाले श्रीमती, सासू र सालाको हत्याप्रयास गरेका छन् ।

भूमिकास्थान नगरपालिका वडा नंं. ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भूमिकास्थान नगरपालिका वडा नं. ८ लम्चीमा ससुरालीमा आएर खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए ।

खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन् । घाइते तीनैजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो ।

बुटवलमा पनि उपचार हुन नसकेपछि तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ । पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

२–३ वर्ष पहिलेदेखि श्रीमान्– श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयले बताए । दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाइएको थियो ।

मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका छन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार