विष्णु पौडेल, अपेक्षा र समालोचकीय संस्कृति

ऋषि आजाद
मेरो विचारलाई चुनौतीको रुपमा हैन, बिल्कुल सुझावको रुपमा ग्रहण गर्नु होला । तपाईको बढ्दो र चढ्दो व्यक्तित्वप्रति हामी खुसी छौं । बढ्दो र चढ्दो प्रभावले तपाईलाई राजनीतिक उत्कर्षमा पु¥याएको छ । तपाई निर्धक्क लाग्नुस् । हाम्रो समर्थन छ । तर कार्यकर्ताका गुनासाहरु नसुन्ने कुराप्रति हाम्रो फरक मत छ । अब तपाईको व्यक्तिगत सोंचाई र जीवनशैली मात्र हैन, पार्टीका सम्पूर्ण नेताहरुको सोंचाई र जीवनशैलीमै आमूल परिवर्तन गर्नुपर्छ । यही तरिकाले पार्टी चलाएर अब पार्टी जनतामा स्थापित हुँदैन । समयले हामीलाई असीको दशकमा पु¥याउँदै छ । हाम्रा सोंचाईहरु र आदतहरु ६० दशक अघि नै छन् ।

मानिसहरु व्यक्तिमाथि खनिन्छन् । ईश्र्यावस उक्त व्यक्तिलाई विस्थापन गर्न सके मेरो स्वप्न पूरा हुन्छ भन्ने ठान्छन् । त्यसको लागि उनीहरु ट्रिक ट्याक्टिस गर्छन् । मैले व्यक्तिलाई भन्दा विधिलाई मान्छु । ट्रिक ट्याक्टिस हैन, विधिको सर्वोच्चता स्थापना गर्न चाहन्छु । मूल्य र मान्यताको राजनीति शुरु गर्नुपर्छ भन्छु । विधि र विधानको लिकमा हिंड्नुपर्छ भन्छु । तपाईं हामी सबै विधिको लिकमा हिंड्नु पर्छ । केन्द्रका व्यक्तिहरु विधि मिचेर छाडा हुँदा स्थानीय तहका कार्यकर्ताहरु टुलुटुदलु हेरेर बस्दैनन् । उनीहरु ज्यूँदा छन् । आँखा खोलेर बस्छन्् । त्यसैले बोल्छन् । बोल्नु प्रतिक्रिया दिनुलाई अपराध ठान्ने संस्कार हावि छ । मैले रूपन्देही जिल्ला स्कूल विभागमा बसी राजनीतिक समीक्षा गरिरहँदा समालोचकीय संस्कृति मन नपार्ने राता आँखेहरुले मलाई दबाब दिन थाले । त्यसपछि म आफ्नो आस्था जीवित राखी राजीनामा दिएर स्वतन्त्रता प्राप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको लागि समालोचकीय संस्कृति निर्माण गर्दैछु । यसले अहिले हाम्रो समाजमा राम्रो गति लिएको छ ।

समालोचकीय संस्कृति गुण दोषको पारख गर्ने संस्कृति हो । तपाईहरुले गुणै गुण देखून् र गुणै गुणको प्रचार गरिरहून भन्न चाहनु हुन्छ । तर हाम्रो आँखाले दुबै कुरा देख्छ । सहीलाई सही र गलतलाई गलत देख्छ । अहिले म राजनीतिबाट निवृत भएर बसेको छु । निवृत भनेको अर्थ चूपचाप लाग्नु भने हैन । हजुर हामीले मिलेर बनाएको पार्टीमा धमिरा लाग्छ भने पीर त पर्छ नै । त्यसैले पनि बीच बीचमा बोल्ने मन लाग्छ । म बोल्छु । सुन्दै गर्नु होला ।

अहिले सरकार प्रभावकारी हुन सकेको छैन । अहिले गुठीलाई व्यवस्थित गर्न भनी ल्याइएको विधेयक विरुद्ध गुठीयारहरु सडकमा आए । सरकारलाई असफलै पारे । चिकित्सा क्षेत्रको सुधारका लागि ल्याइएको भनिएको चिकित्सा विधेयकको विरुद्ध चिकित्सकहरु सडकमा आए । त्यसमा पनि भनेजस्तो भएन । सार्वजनिक खरिद नियमावलीको संशोधन गर्न ल्याइएको संशोधन विरुद्ध पनि निर्माण व्यवसायीहरु सडकमा आए । त्यसलाई पूरै काबुमा ल्याउन सकिएन । मानवअधिकारको पक्षमा ल्याएको भनिएको विधेयकको विरुद्धमा मानवअधिकार कर्मीहरु सडकमा आए । त्यसमा पनि ब्याक हुनु प¥यो । पत्रकारको हितमा ल्याइएको भनिएको मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारहरु सडकमा आए । त्यसमा पनि सरकार ब्याक हुनु प¥यो । लोकसेवा, आयोगको विज्ञापन विरुद्ध संसदीय समिति तथा आदिबासी तथा जनजातिहरु सडकमा तीव्र आक्रोस देखाइरहेका छन् । आखिर यो किन भईरहेको छ ? किन प्रधानमन्त्रीलाई तपाईहरुले नियन्त्रण गर्न सक्नु भएको छैन ? किन उनी स्वच्छन्द बन्दै गएका छन् ?

जनताले तपाईको विवेकपूर्ण केन्द्रीय भूमिका खोजेको छ । अहिले प्रचण्ड र ओली तपाईको साहारामा छन् । सरकार असफल भए त्यसको अपजस तपाईंलाई पनि आउँछ । किन यस्तो हुँदैछ ? किन सरकारको व्यापक आलोचना हुँदैछ ? तपाईलाई यस्तो कुरा निकट कार्यकर्ताहरुले बुझाएका छन् कि नाईं ? अहिलेको अवस्था रहेमा आगामी निर्वाचन जित्न सकिदैन । आगामी निर्वाचन जितिएन भने हामी पश्चिम बंगाल र केरलामा झै हुन्छौं । त्यसपछि तपाईहरु दुब्लाएका हात्तीजस्ता भएर काठमाण्डौको गल्लीमा देखिनु हुनेछ । राज्यसत्तामा हामी पुनः फर्कन सक्ने छैनौं । तपाईहरु त काठमाण्डौको चक्रपथभित्र पुगी ढुक्कसँग बस्नु होला त्यसपछि हाम्रो प्रेमपूर्ण भेट दुरुह हुनेछ ।

पार्टीमा सामन्ती अवशेष छ । हरेक विचार, निर्णय र क्रियाकलापमा सामन्ती अवशेष भेटिन्छ । सबैतिर मध्यस्थहरु हालीमुहाली छन् । मध्यस्थहरु पार्टीका भाइरस हुन् । तिनीहरुले पार्टीलाई स्मशानघाटतिर लैजाँदैछन् । तपाईले ती बाधक पक्षलाई समयमै चिन्न सक्नु भएन । बरु त्यसले गर्दा तपाई नै आलोचनाको शिकारमा पर्नुप¥यो । अहिले पनि तपाईंको नजरमा तिनीहरु नै प्रिय बनेर ठोक्किदैछन् । माया लाग्ला तर छोड्दिनुस् । तिनीहरु सर्वश्व हैनन् । सर्वश्व त हामी सार्वभौम जनता हौं । बीचको मध्यस्थ लेयर तोडेर हामीसम्म आउनुस् हामीलाई विश्वास गर्नूस हामी तपाईलाई माया गर्छौं ।
अब निर्वाचन आउन तीन वर्ष छ । दुई वर्षपछि त को उमेदवार होला भन्ने अनुमान र अड्कल लगाउन थाल्नेछन् । यो निर्वाचन क्षेत्रबाट तपाईकै सिट सुरक्षित छ । पार्टीभित्र प्रतिस्पर्धा गरे पनि तपाईं अत्यधिक मत लिएर उमेदवारमा जित्नु हुन्छ । नैतिक राजनीतिमा प्रतिस्पर्धाबाट सत्तामा जानु पर्छ । तर किन हो कुन्नि तपाईंहरु निर्वाचनमा डराउनुहुन्छ । यस निर्वाचनबाट तपाईलाई केन्द्रीय व्यक्तित्व बन्न अवरोध हुनेछैन ।

तर तपाईहरुले विगतको जस्तै स्थानीय तहबाट तीन तीन जना सिफारिस गरेर पठाउने अनि ती तीनजनाको ह्याकुलो नापेर बार्गेनिङ्ग गर्दै उमेदबार बनाउने अपारदर्शी र शंकास्पद पद्धति अपनाउन छोड्नु पर्छ । यसले तपाईहरुलाई ज्यादै निन्दित बनाएको छ । अनि अर्बौ रुपैयाँ नभए निर्वाचन जितिदैन भन्दै पार्टीलाई धन जोरजामतिर लाग्ने भ्रष्ट प्रवृत्तिको अन्त्य गर्नतिर ध्यान दिनुस् । पैसा नै सबैथोक हो भन्ने नेताहरुको प्रवृत्तिमा लगाम लगाउनु पर्छ । विगतमा वाइडबडी, एनसेल काण्डजस्ता अपारदर्शी खेलहरु खेलेर पैसा जम्मा गर्ने र निर्वाचनमा पुनः सत्तामा आई जमिन्दारी चलाउने प्रचलन हट्नुपर्छ । सञ्चारमा आएको राज्यलक्ष्मी काण्डले पार्टीलाई आलोचित बनायो । तपाईहरुका अहिलेका सम्भाषणहरुमा त्यता ध्यान गएको छैन । निर्वाचनलाई सुधार गर्न सकिन्छ । निर्वाचनमा सुधार गरी प्रशासनलाई बलियो बनाएमा पैसा चाहिन्न । यसले लोकतन्त्रलाई बलियो बनाउँछ । अब दाम खाएर भोट हाल्ने जमाना गए ।

निर्वाचनले नेताहरुलाई भ्रष्ट बनाएको छ । निर्वाचन नेताहरुको लागि उत्सव भएको छ । निर्वाचनमा मध्यस्थहरुले करोडौं रुपैयाँ दिएर सघाउँछन् । स्थानीय तह र समानुपातिक नेताहरुबाट पैसा कमाउँछन् भन्ने आरोप छ । तपाईहरुका व्यवहारहरु पारदर्शी नहुँदा यसमा आंशिक सत्यता होला । अब सधैभरि चन्दा, लेबी र राजश्वबाट जिन्दगी चलाउने हैन । वास्तवमा ख्याल गर्नुस त तपाईहरुका जीवन लेबी चन्दा र राजश्वले चलेको छैन र ? विप्लवहरु पनि त्यही सिक्दैछन् । कङ्ग्रेस त्यही गरिरहेका छन् । यस्तो परजीवी बानी छोड्नु पर्छ । यसले तपाईहरुको सोंचाई चिन्तन नै परजीवीजस्तो बनाएको छ । यसबाट न त आफू आत्मनिर्भर बनिन्छ न त मुलुकलाई आत्म निर्भर बनाउन सकिन्छ । अर्को कुरा मुलुकभर भ्रष्टाचार बर्खाको गन्धेझार झै मौलाएको छ । यो सरकाले आजसम्म भ्रष्टाचार विरुद्ध ठिङ्ग उभिएर सदाचार कायम गर्लाजस्तो देखिदैन । आम जनतामा पलाएको आशा फेरि निराशाको पाटातिर फर्कियो । पलाएको निराशा पुनः फर्काउन गाह्रो छ । यसमा विष्णु पौडेलले निर्णयक भूमिका देखाउन सक्नु पर्छ ।

अहिले पार्टी अहिले पूरै राणकालीन पजनी प्रथामा चलेको छ ।यो समयमा एकीकरण हुँदा दुबै पार्टीलाई एक बनाउन मनोनित प्रथा बाध्यता हो । यस विषयमा हाम्रो भन्नु केही छैन । पार्टी एकीकरणमा तपाईले दिएकोे ऐतिहासिक योगदान प्रशंसनीय छ । त्यसैले त्यो समयमा मनोनित कदमलाई हामीले निरपेक्ष रुपमा हेरेनौं । आगामी महाधिवेशनमा पनि त्यही राणाकालीन पजनी प्रथा नै कायम राख्ने हो कि जगैदेखि लोकतान्त्रिक पद्धतिमार्फत कार्यकर्ताबाट चुनिने गरी निर्वाचनको व्यवस्था गर्ने हो ? यो विषयमा तपाईहरु स्पष्ट हुनुपर्छ । विगतमा मदन भण्डारीले कार्यकर्ताको सम्प्रभूतालाई स्थापित गर्न प्रतिस्पर्धाको माध्यमबाट नेताहरु निर्वाचित हुने निर्वाचन पद्धति अपनाए । अहिले तपाईहरुले यो निर्वाचन पद्धतिलाई ध्वस्त पारेर कार्यकर्तामा निहित सम्प्रभूता दुई तीनजना नेताको हातमा पु¥याउनु भयो । यसले गुट जन्मायो । यसमा तपाईको भूमिका पनि छ । साठीको दशकपछि निर्वाचनलाई औपचारिकता दिने तर दुई तीन दिनसम्म थकाएर सर्बसम्मतको नाममा आफ्नै मान्छे शक्तिमा ल्याउने खेलमा हजुरहरुलाई धेरै माथापच्ची गर्नुप¥यो । अहिले त सिधै मन परेकाहरुलाई मात्र मनोनित गरेर पठाउनु भएको छ । मन नपरेका बाहिर परेका छन् । यसले तपाईलाई हाइसञ्चो बनाएको छ । निर्वाचन नजिती ढुक्कसँग सत्ता र शक्तिमा बस्न पाउने पद्धति तपाईहरुलाई राम्रो लाग्यो होला तर त्यसले समाजमा नराम्रो प्रभाव पारिरहेको छ । तपाईहरुलाई मन पर्ने पद्धतिले पार्टी सदस्यलाई रैती बनाएको छ । अब स्थानीय तहदेखि केन्द्रतिर निर्वाचित हुँदै जाने पद्धति ल्याएर हाम्रो पार्टीलाई बलियो बनाउनु पर्छ । हामी सम्प्रभू बन्नुपर्छ । यसमा तपाईको योगदान हुनुपर्छ ?

मनोनित प्रथाले कार्यकर्ताहरु निरिह र कमजोर भए । यसको प्रभाव राजनीतिक संस्कृतिमा प¥यो । कार्यकर्ताहरु अवसर पाउनको लागि सय किलाको मालासम्म लिएर स्वागतद्वारमा उभिन तयार भए । हजुरहरु प्रफुल्ल भई माला लगाउन तयार हुनु भयो । प्रहरी प्रशासनमा पनि बढुवाको लागि शक्तिशाली नेताको घरमा धाउनु पर्ने अवस्था भयो । पार्टीमा लालफिताशाही संस्कृति मौलायो । बन्दै रहेका लोकतान्त्रिक पद्धतिहरु बिग्रिए,भत्किए । सबै पद्धतिहरु केन्द्रीकृत भए । नेताको मन झुपडीबाट विस्तारै महलतिर स¥यो । कार्यकर्तामा चाकडी चाप्लुसी जी हजुरी वनमारा झारझै फैलियो । नेताहरुलाई पैसा दिएर खुसी पार्नेजस्तो अवस्था आयो । तपाईहरुलाई निर्वाचनमा जसबाट धेरै धन प्राप्त हुन्छ त्यतैतिर कृतज्ञता प्रकट गर्नु पर्ने भयो । अवसरहरु तिनैले पाउने अवस्था आयो । पार्टी सामान्य जनताबाट टाढियो । योग्यहरु बढारिन थाले ।

तपाईंहरुले सुकुम्बासीको नारा लगाएको धेरै वर्ष भयो । बुटवलमा त अस्थायी बसोबासीबाटै राजनीति गर्दै आइयो । त्यसैबाट तपाई राजनीतिक रुपमा स्थापित हुनु भयो । तर अहिले बुटवल उपमहानगरपालिकाले १६ घर विस्थापित गरी ३५ दिनसम्म घामपानी सहेर भोक हडतालमा बस्न बाध्य गरायो । सर्वहारामाथि शिकार खेल्न थालियो । यसले सबै अस्थायी बसोबासीहरु तर्सिए । अब शिवराज र विष्णु पौडेलले के नारा लिएर सुकुम्बासी झुक्याउन आउने होलान् भन्दै व्यापक मात्रामा चर्चा भयो । त्यो कुराको सूचना तपाई निकट कार्यकर्ताहरुले तपाईलाई बताउन चाहँदैनन् होला । तपाईहरु पनि २०४६ साल अघिका राजाजस्ता बन्नु भएको छ । सब ठिक छ, महाराज ! भन्दै राजालाई थमथमाउनेहरुले बिगारेजस्तै तपाईहरुलाई थमथमाएर राख्ने मध्यस्थहरुलाई चिन्न सक्नु भएन ।

सामन्ती अवशेष नहटाई समाजवादमा पुग्न सकिदैन । तपाईलाई काठमाण्डौबाट हिंडेको सुईको पाएर गाडी घोडा लिन आउनेहरु कति हुन्छन् ? संसारै जितेजस्तो फूलमाला लगाएर भैरहवादेखि बुटवलसम्म गाडीका लाबालस्करले जयजकार गर्दै ल्याउँछन् । यसले तपाईलाई खुसी बनाउँछ होला । अझ मन्त्री भएको समयमा त बेहालै हुन्छ । त्यो समयमा हामीहरु मध्यस्थहरुको लात खाएर त पचास कोस पर हुत्तिन्छौं । कार्यक्रमहरुमा तपाईलाई पूर्व राजहरुको शैली अनुरुप ड्यासमै राख्छन् । अहिलेसम्म पनि तपाईहरुलाई सामन्ती अवशेषको विषयमा पत्तोफाँट छैन । तपाईहरु सिधै राजतन्त्रले स्थापना गरेको साँस्कृतिक विरासदमा टेकेर हिंड्दै हुनुहुन्छ । यसले हामीले राजावादी विरुद्ध बोल्ने साहस गुमायौं । उही शाही चमक दमक र आडम्बरको जगमा टेकेर समाजवादका भाषण गर्न सुहाउँदैन । नेताहरुमा अलिकति पनि व्यवहारिक परिवर्तन आएको देखिएन ।

माक्र्सवादी शिक्षाको अर्थ व्यवहारमा परिवर्तन ल्याउनु हो । कुरा गरेर हुँदैन समाज बदल्नु पर्छ । शिक्षाले त आदतमै परिवर्तन ल्याउनु पर्छ । ज्ञान, सीप र अनुभवमा परिवर्तन ल्याउनु पर्छ । तर आश्चर्य ! नेकपामा ६,७ दशक पार गरेका व्यक्तिहरु पनि व्यवहारिक रुपमा परिवर्तन हुन सकेनन् । तपाईंहरुको व्यवहारमा परिवर्तन आएन । यो गम्भीर प्रश्न हो । यस विषयमा अब तपाईहरुले आफ्नो आदत र शैलीमा धेरै परिवर्तन ल्याउनु पर्छ ।

राज्य प्रणालीका आफ्नै खालका परिभाषा,कानुन होलान् । तर पार्टीहरु र पार्टीमा आबद्ध कार्यकर्ताहरु बीचमा त बन्धुत्व, भाइचारा र हार्दिकता हुनु पर्छ । त्यहाँ वर्ग विभाजन हुनुहँुदैन । कमरेड्ली भावना भनेको यही हैन र ? तर विडम्बना ! त्यहाँ पनि विभेदका दरारहरु अरु बलिया बन्दैछन् । नेता, कार्यकर्ताहरु र आम साधारणहरु बीचमा वर्गीय खाडल बन्दैछ । त्यो खाडल या दरार पुर्न र हार्दिकता बढाउन लर्डशैली बन्द गर्नुपर्छ । पार्टीमा लर्ड अर्थात भारदारी स्वभाव चल्दैन । तपाईकै अगाडि तपाईंले देखिने गरी भारदारी शैली चल्दै छ । तपाईंलाई आभास भएर पनि बोल्न सक्नु भएको छैन । किनकि तपाईलाई तिनीहरुको मात्र भर विश्वास छ । तिनीहरुले तपाईलाई बदलिन दिएका छैनन् । तपाई बदलिए उनीहरुको राजशी शान समाप्त हुन्छ । उनीहरुमा रहेको सम्भ्रान्त नासिन्छ ।

पार्टीमा कुनै सभा विशेषमा देखिने मन्चीय प्रणालीमा प्रष्ट रुपमा सामन्ती अवशेष देखिन्छ । आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा शक्तिशाली वर्ग अटन खटन भएर मन्चमा बस्छन् । कार्यकर्ताहरु तल बस्छन् । कहिलेकाहिं त मन्च भाँचिएर घाइते भएका समाचारहरु आउँछन् । त्यहाँ तल र माथिको प्रचलन छ । तपाईहरुका भाषणहरुमा खाली तल माथिको शब्द प्रयोग हुन्छ । तपाईं माथिका हामी तलमा भयौं हैन ? हामीललाई जन्मजात तल बनाउने तपाईहरुको जनवादी संस्कृतिमा खोट छ । त्यसैले तपाईहरुले तल माथिको विकल्पमा केन्द्र, प्रदेश र स्थानीय तह शब्द प्रयोग गर्नुस । मञ्चहरुलाई भद्धा नबनाउनुहोस् ।

तपाईहरुका मञ्चीय कार्यक्रमहरुमा माथि बस्नेहरुलाई फूल, माला,अबीर खादा,मायाको चिनो,ब्याच,आदि चाहिन्छ । यसले कार्यक्रमहरु महङ्गा भएका छन् । आयोजकहरु सधै दिग्दार हुनु पर्छ । मान सम्मान पनि नेताहरुलाई मात्र चाहिन्छ । तपाईका अगाडि अरु अपमानित हुनुपर्छ । तपाईहरुलाई माला, खादा पनि महिलाले लगाई दिनु पर्छ । स्वागत पनि महिलाले गर्नुपर्छ । महिला सेवकको रुपमा प्रस्तुत हुने संस्कृति बढ्दो छ । महिलाहरुलाई मन्च पाउन गाह्रो छ । मन्च पाए पनि बोल्न पाउन गाह्रो छ ।

मन्चहरु समावेशी पनि हुँदैनन् । ड्यासमा बस्नेहरुलाई पहिचान, प्रशंसा स्तुति, सबै चाहिन्छ । तपाईहरुका सम्बोधनहरु अनावश्यक लामा हुन्छन् । बोल्ने समय छुट्याउने हो भने तपाईहरुका ब्रमाण्डी तात्छन् । परिसरमा बस्नेहरु केवल आदेशन निर्देशन सुन्न आएका निरिह कामदार जस्ता देखिन्छन् । त्यहाँ आयोजकको मनोविज्ञान पनि लर्डहरुलाई खुसी पार्ने खालको हुन्छ । उनीहरुले तपाईहरुलाई सोधेर सग्ला सग्ला अग्ला अग्ला महानुभावहरुलाई छानी छानी तपाईहरुलाई मन पर्ने मान्छे ड्यासमा विराजमान बनाउँछन् । वास्तवमा हजुरहरु आएको कार्यक्रममा जानु भनेको हाम्रो हैसियत गुमाउनु हो । त्यो ठाउँमा हाम्रो इज्जत रहँदैन । तपाईका कार्यकर्ताहरुले मान्छेलाई पनि गुहु र गोबर छुटाउनु पर्छ भन्दै बोल्छन् । सिधै तँ योग्य छस् माथि जा तँ अयोग्य छस् तल बस् भन्नेजस्तो व्यवहार देखाउँछन् । यसमा तपाईंरहरुको भूमिका छ । त्यसमा पनि प्रमुख अतिथि, विशिष्ठ अतिथिको लडाई हुन्छ । कोही त प्रमुख अतिथि नपाएर कार्यक्रमबाट रिसिदै बहिस्कार गरी बाहिरिन्छन्् । परिसरमा बस्नेहरु असाध्य हेला भएको महशुस गर्छन् । हालत खराब छ । कसरी सुधार गर्नुपर्ला ?

वास्तवमा विगतमा अशिक्षा र अन्धकार थियो । त्यो समयमा नेताहरुप्रति जनता र कार्यकर्ताहरुको असीम माया थियो । उनीहरुले त्याग, तपस्या गरिरहेका थिए । त्यसको लागि जनताहरु तपाईहरुप्रति कृतज्ञ थिए । उनीहरुले दिलैदेखि स्वागत गर्थे । अहिले त्यो अवस्था छैन । नेताहरुका काठमाण्डौंमा महल ठड्याइएका छन् । गाडी घोंडा नोकरचाकर प्रशस्त छन् । यो अवस्थामा जनताबाट अलग थलग भई फरक व्यवहार देखाउँदा धेरैको मन रुदैंछ । अब नेताहरुमा सम्भ्रान्तीय संस्कृतिको विकास हुँदैछ ।

अहिले पहिलेका जस्ता सोझा सिधा कार्यकर्ता छैनन् । तपाईका कार्यक्रममा सयौं प्रबन्धकहरु, व्यवस्थापकहरु, सिइओहरु, उच्च पदस्थ सेवा निवृतहरु, डाक्टरहरु, इन्जिनियरहरु, प्राध्यापकहरु विविध विषयका विशेषज्ञहरु आउँछन् । अझ बुटवलमा त पढेलेखेको ठूलो जमात छ । सबैको पहिचान र आत्म सम्मानमा लालसा छ । उनीहरुले विभेद मन पराउँदैनन् । तल र माथिले उनीहरुलाई नराम्ररी पिरोल्छ । आफूमाथि अपमान भएको ठानी चित्त दुखाउँछन् । त्यही कारण होला त्यो वर्ग कार्यक्रममा आउन छोडेको छ । त्यसैले अब हाम्रा मन्त्रीहरु, साँसदहरु सभासदहरु सबैले भर्टिकल व्यवहार हैन, होरिजेन्टल टाइपको व्यवहार प्रदर्शन गर्नुपर्छ । मन्चमा ३ जनाभन्दा धेरै राखिनुहुन्न । मन्त्री र साँसदको अगाडि कार्यकर्ताहरुमाथि विभेद नगरौं । आफ्नै निर्वाचन क्षेत्रमा आफै प्रमुख अतिथि हुन नपाएर पीर नमानौं ।

अन्त्यमा म अरुले झै तपाईबाट अपेक्षा राख्ने मान्छे हुँ । तपाई मेरो राजनीतिक गुरु पनि हो । मैले गुरु शब्दलाई उनका अगाडि नतमस्तक भई चूपचाप उभिने शास्त्रीय अर्थमा लिएको छैन । आधुनिक अर्थमा लिन खोजेको छु । आधुनिक अर्थ भनेको समालोचकीय संस्कृति हो । समालोचकीय संस्कृति समाजवादको आधार हो । समालोचकीय संस्कृतिमा गुरुलाई अत्यन्त आदर र सम्मानपूर्वक खण्डन गरिन्छ । हामीलाई माक्र्सवादका कखरा सिकाउने तपाई हो । तपाईको प्रभाव हामीमा गम्भीर रुपमा परेको छ । तपाई त मेरो विचारको प्रतिनिधि पात्र मात्र हो । यो कुरा तपाईमार्फत सिङ्गो नेकपालाई भनेको हुँ । यसमा मेरो भन्ने अधिकार छ । यो विकृतिलाई समाप्त पार्नको लागि गरिएको सामुहिक आरधना हो । मरो भनाइ कार्यकर्ताहरुको भनाइ हो । यसलाई पचाउन नसकेर अन्यथा नसम्झनु होला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार