तिलोत्तमा लगानी सम्मेलनको तयारीमा लगानीकर्तालाई विशेष छुट

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरमा लगानी भित्राउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ। कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा लगानी भित्राउनका लागि असोज ९ गते लगानी सम्मेलन आयोजना गर्न लागेको नगरप्रमुख वासुदेव घिमिरेले बताए।

सम्मेलनका लागि नगरपालिकाले १९ वटा परियोजना तयार पारेर छलफल चलाईरहेको छ। प्रमुख घिमिरेका अनुसार कृषि उपज प्रशोधन तथा व्यवस्थापन केन्द्र, एकीकृत फोहोरमैला व्यवस्थापन, सिटी कलेज, बाल तथा महिला अस्पताल, प्रादेशिक बसपार्क, औद्योगिक क्षेत्र, विजनेश हव, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्थल, स्मार्ट बालउद्यान, एकीकृत पर्यटकीय स्थल, मिनि नेपालजस्ता परियोजनाबारे स्वदेशी र विदेशी लगानीकर्तासँग छलफल चलिरहेको छ।

लगानी सम्मेलनमा सम्झौता गरी नगरभित्र लगानी गर्नेलाई परियोजना हेरी ५ देखि १० वर्षसम्म निश्चित प्रतिशत कर छुट गर्ने नगरप्रमुख घिमिरेले बताए। लगानी सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख घिमिरेले लगानी सम्मेलनमा देशभित्रका २ सय र विदेशी ५० गरी २ सय ५० जना लगानीकर्ताको सहभागिता रहने र २ अर्ब बराबरको लगानी भित्राउने गरी योजना बनाएको बताए।

उनले कतिपय परियोजनाहरू सामुदायिक निजी साझेदारी मोडेलमा सञ्चालन हुने खालका रहेको र केही सार्वजनिक जमीन लिजमा लिएर परियोजना सञ्चालन गर्ने खालका परियोजनाहरू तयार भएको बताए। ‘निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी वृद्धि गर्ने र नगरलाई समेत रोजगारसम्पन्न, सुविधासम्पन्न बनाउँदै समृद्ध बनाउने योजना हाम्रो हो–नगर प्रमुख घिमिरेले भने।

उनले सम्मेलनले सरकार, स्वदेशी र विदेशी लगानीकर्ताबीच सम्पर्क सञ्जाल बन्ने र त्यसले लगानीको लागि आगामी दिनमा पनि वातावरण तयार गर्ने बताए। ‘प्रदेश सरकारले पनि लगानी सम्मेलन गर्ने भनेको छ, उनले भने–त्यसका लागि पनि यसले सहयोग पु¥याउने छ।’सम्मेलन आयोजना गर्नका लागि २ दर्जन उपसमितिहरू गठन गरेर तयारी थालिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार