विपी पुष्पलालकोे सम्झनामा

नेपाली राजनीतिमा विराट व्यक्तित्वको रुपमा देखा परेका दुई राजनैतिक शिखर व्यक्तिहरु स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल हुन् । अहिले पनि नेपालको राजनीति उनीहरुको सैद्धान्तिक मान्यताको वरिपरि घुमिरहेको छ । विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवाद र पुष्पलालको संयुक्त जनआन्दोलनको नीति नै नेपाली समाज परिवर्तनको लागि मार्गदर्शन बनिरहेको छ । उनीहरुको चाहना अनुरुप परिवर्तन भएको छ । नेपालको संविधान २०७२ को भावना र मर्ममा विपी र पुष्पलालका विचारहरु लिपिबद्ध भएका छन् । अहिले पनि उनीहरु नै परिवर्तनका पेचिला मुद्दाहरुमा वैचारिक श्रोत बनिरहेका छन् । यी दुई शिखर पुरुषहरु नेपालका सम्मानित व्यक्तित्व हुन् । अहिलेका राजनीतिज्ञहरु यिनीहरुको मार्गमा हिंड्न सक्नुपर्छ ।
विश्वेश्वरप्रसाद कोइराला (१९७२—२०३८) नेपालको लोकतान्त्रिक आन्दोलनका महारथि हुन् । उनी नेपाली राजनीतिका प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् । नेपाली परिवेशमा लोकतान्त्रिक अभ्यासको माध्यमबाट समाजवादी समाज बनाउने उनको ध्येय मूलतः माक्र्सवादी दर्शनबाट प्रेरित भएको छ । उनी कार्ल काउत्सी, बर्नस्टन, रोजा लक्जेम्बर्ग, लिङ्कन, राममनोहर लोहियाजस्ता नेताहरुको लोकतान्त्रिक तथा समाजवादी चिन्तनबाट प्रेरित भएका हुन् । उनले नेपालमा समाजवादीहरुसँग मिलेर प्रजातन्त्रिक समाजवादको पक्षमा क्रान्ति गर्न चाहेका थिए । उनले पुष्पलालसँग तपाई समाजवादी नीति तथा कार्यक्रमको मोडल बनाउनु होस् म लोकतान्त्रिक प्रणालीको मोडल बनाउँछु भनेका थिए । उनको विषयलाई तत्काल जनवादी क्रान्तिमा होमिएका पुष्पलालले स्वीकार गरेनन् । यही मतभेदमा खेलेर नेपालमा तीस वर्षसम्म राजाको शासन आयो ।
उनी २०१५ सालको निर्वाचनबाट प्रधानमन्त्री भएका थिए । त्यो समयमा उनले राजा रजौटा प्रथाको उन्मूलन, बिर्ता प्रथाको उन्मूलन्, बेठी बेगारी प्रथाको उन्मूलन लगायतका कतिपय विषयमा सुधार गरेका थिए । वास्तवमा यो ऐतिहासिक कदम थियो । सामन्ती अधिरचनामा रहेको बाधक पक्षलाई हटाएर ओद्यौगिक समाज बनाउन र राष्ट्रिय पूँजी निर्माण प्रक्रियालाई तीव्र पार्न उनले खेलेका कदमहरु क्रान्तिकारी कदम थिए । तर विश्वेश्वर प्रसाद कोइरालाको लोकप्रियताबाट डराएर २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्र शाहले उनको लोकतान्त्रिक सत्तालाई धारा नम्बर ५५ मा रहेको अधिकार प्रयोग गरी समाप्त पारिदिए । त्यसपछि नेपालमा झण्डै तीस वर्षसम्म लगातार निरङ्कुश सत्ता टिकी रह्यो ।
त्यसरी नै पुष्पलाल नेपाली राजनीतिका अर्का महारथि पुष्पलाल (१९८१—२०३५) हुन् । उनी नेकपाका संस्थापक पनि हुन् । उनको नेतृत्वमा कलकत्तामा माक्र्सवाद लेनिनवाद सिद्धान्तलाई मुख्य श्रोत मानेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । उक्त गठनमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोसी र मोती देवीको सहभागिता थियो । हामीले यी पाँचै जनालाई नेकपाका संस्थापक मान्छौं । जोसी त्यही बेलादेखि नेपालमा साम्यवादी दर्शनको आरम्भ भएको हो । उनका दाजु गङ्गालाललाई तत्कालीन शासकहरुले मृत्युदण्ड दिएको हुनाले उनी दाजुको प्रेरणाले साम्यवादी आन्दोलनमा लागेका हुन् । उनले चीन रुस लयायत विभिन्न मुलुकमा भ्रमण गरी नेपाली भाषामा पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकाशन गरेका थिए ।
उनको मुख्य नीति भनेको नेपाली कङ्ग्रेससँग मिलेर संयुक्त जनआन्दोलनको माध्यमद्वारा निरङ्कुश सत्ता अन्त्य गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ भन्ने मान्यता राखेका थिए । यसलाई उनले संयुक्त जनआन्दोलन नीति भनेका थिए । राजनीतिमा संयम गुमाएर अतिवादीहरुले उनलाई दक्षिणपन्थीको आरोपसम्म लगाए । तर पनि उनी आफ्नो नीतिको पक्षमा दृढतापूर्वक उभिए ।
अन्त्यमा यी दुई महारथिहरु नेपाली राजनीतिका अजस्र श्रोत बने । यी श्रोत व्यक्तिहरुको सपना साकार पार्न हामीले उनीहरुका विचारहरुलाई सदा सर्वदा अङ्गीकार गर्नुपर्छ । आजको दिनमा हामी दिवंगत आत्माहरुलाई हार्दिक श्रद्धान्जली प्रकट गर्दै सम्मान गर्दछौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार