गन्तव्य समाजवाद, बाटो फरक

नेपालमा अहिले समाजवादको बहुतै चर्चा, परिचर्चा हुन थालेको छ । सबै राजनीतिक दलहरु र समूहहरुले समाजवाद आफ्नो लक्ष भएको बताउँछन् । यी सबैले समाजवादको बारेमा विभिन्न चर्चा परिचर्चा विमर्श गर्ने गर्दछन् । नेपालको संविधानमा पनि समाजवाद स्थापना गर्ने कुरा गरिएको छ । देशको सबैभन्दा ठूलो सत्तासीन पार्टीले पनि समाजवादमा जाने आफ्नो लक्ष रहेको बताइरहेको छ । नेपालमा त अझै अगाडि बढेर समाजवाद कार्यान्वयन गर्न शान्तिपूर्ण तथा हिंसात्मक बाटो ग्रहण गरेका राजनीतिक दलहरु पनि छन् । संविधानमै समाजवादउन्मूख अर्थ व्यवस्था निर्माण गर्ने अभीष्ट राखिएकोले सबै पक्षको समाजवाद मूल गन्तव्य भएको छ । समाजवादको विरुद्धमा बोल्ने कसैको हैसियत देखिदैन । मन नपरे पनि, चित्त नबुझेपनि समाजवादको विरोधमा आफनो विचार ओकल्ने कसैको हिम्मत देखिदैन । सबैले बाचा गरेका छन् । जनता सामु कबुल गरेका छन् । समतामूलक समाज, समाजवादी समाज निर्माण गर्ने उद्घोष गरेका छन् । यस अवस्थामा समाजवाद नेपाली जनजिभ्रोमा अत्यन्त लोकप्रिय भएको छ । तर समाजवाद प्राप्त गर्ने यिनीहरुको बाटो भने एउटै भएको देखिदैन । कसैले हिंसामा विश्वास गर्छन् भने कसैले शान्तिपूर्ण जनअभिमतको बाटो भएको बताउँछन् । बाटो फरक भए पनि गन्तव्य भने एउटै देखिन्छ ।

आज देशमा दर्जनांै राजनीतिक दलहरु क्रियाशील छन् । यिनीहरुले नेपाली जनतालाई रोग, भोग,अशिक्षा तथा अन्याय अत्याचारबाट मुक्त गरी लोक कल्याणकारी समाजवादतर्फ अभिमुख हुने आफ्नो राजनीतिक अभीष्ट रहेको बताइरहेका छन् । तर सबै राजनीतिक दलहरुको बीचमा समाजवादको चरित्र बारे समान दृष्टिकोण, समान धारणा र समान अभिमत रहेको देखिदैन । नेपालको वर्तमान प्रमुख प्रतिपक्ष पनि समाजवादकै कुरा गर्दछ । यसले स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आफ्नो पार्टीको प्रमुख ऐजेन्डा रहेको बताउँछ । नेपालको सबैभन्दा ठूलो पार्टी सत्तासीन पार्टी पनि आफ्नो अभीष्ट वा लक्ष समाजवाद नै रहेको बताउँछ । मधेस केन्द्रित दलहरु पनि समाजवादमै जाने भनिरहेका छन् । मोहनविक्रम सिंहको पार्टी, मोहन वैद्य तथा विप्लव नेतृत्वको पार्टी सबैले समाजवाद नै गन्तव्य भएको बताउँछन् ।

त्यसैले नेपालको माटो वा धर्तीमा जन्मे उम्रेका सबै व्यक्ति, समूह, पार्टी सबै समाजवादमा जाने वा समाजवाद स्थापना गर्ने धारणा राख्दछन् । तर सबै राजनीतिक दल र व्यक्तिहरुको समाजवादमा जाने बाटो र समाजवादको चरित्र वा परिभाषा एउटै देखिदैन । विप्लव लगायत साना कम्युनिष्ट दलहरु वैज्ञानिक समाजवादको कुरा गर्दछन् । यिनीहरुले भने समाजवादमा उत्पादनका सम्पूर्ण साधनहरु राजकीय वा सामुहिक स्वामित्वमा रहनु पर्दछ र निजीपूँजी वा सम्पत्तिको कुनै अस्तित्व नरहने कुरा गर्दछन् । उनीहरु भन्छन् निजी सम्पत्ति नै शोषणको मुख्य आधार हो र वर्गीय समाजको अन्त्य हुनु पर्दछ । पूर्ण सार्वजनिक सवामित्व भएको समाज स्थापना गर्नु उनीहरुको अभीष्ट रहेको देखिन्छ । यिनीहरुले समाजवाद निर्वाचनमार्फत जनताको अभिमतबाट प्राप्त हुँदैन र यसको प्राप्तिको लागि सशस्त्र बलको प्रयोग गर्नु अनिवार्य छ भन्दछन् । बल प्रयोग बिना समाजवाद आउँदैन भन्ने उनीहरुको विश्वास छ । त्यसैले यी खुद्रा साना वामपन्थी पार्टीहरुले शान्तिपूर्ण ढङ्गले जनअभिमतमार्फत समाजवादमा जाने कुरालाई स्वीकार गर्दैनन । सशस्त्र सङ्घर्ष, लगायत दीर्घकालीन जनयुद्धको बाटोबाट मात्र समाजवाद स्थापना हुने उनीहरुको राजनीतिक दिशा छ । उनीहरु समाजवाद टिकाउन सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य ठान्दछन् । वर्ग समन्वयमा होइन, वर्ग सङ्घर्षमा विश्वास गर्दछन् । यी वाम राजनीतिक दलहरुलाई उग्र वामपन्थी वा जडसूत्रवादी भनी आलोचना गर्ने गरेको पाइन्छ । संसारमा दोश्रो विश्व युद्धपछि सशस्त्र बलद्वारा समाजवाद स्थापना भएको उदाहरण पनि भेटिदैन र यस खालको समाजवाद संसारमा रक्षात्मक अवस्थामा देखिन्छ ।

नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतअन्य दक्षिणपन्थी दलहरु बढो कठिनतापूर्वक समाजवादको उच्चारण गरेको सुनिन्छ । उनीहरुले समाजवादको व्याख्या विश्लेषण गरेका कुनै राजनीतिक प्रतिवेदन पनि देखिदैनन् । यसका संस्थापक तथा राजनीतिक विचारक स्वर्गीय वि.पीकोइरालाले नेपालको बाटो प्रजातान्त्रिक समाजवाद हुने कुरा औलाएका हुन् तर उनको देहावशानपछि उनका अनुयायीहरुले यो विचारलाई ग्रहण गरेको पाइँदैन । यो विचार र दृष्टिकोणलाई यो पार्टीले दरो गरी पक्डेर हिंडेको देखिदैन । यो पार्टीको नेतृत्वमा उदारवादी तथा नवउदारवादी विचार एवम् दृष्टिकोण भएका व्यक्तिहरुको बाहुल्यता भएकोले समाजवादको भ्रममा परेको अनुभूति हुन्छ । अनुभूति मात्र होइन, वास्तविकता पनि के हो भन्ने २०४७ साल पछिका हरेक अवधिहरुमा नेपाली काँग्रेसले नेपालको राज्य सत्ताको बागडोर समाल्दै आएको छ ।

यो पार्टीको सरकारको आर्थिक कार्यक्रम, नीति तथा योजनाहरुमा समाजवाद स्थापना गर्ने कुनै लक्षण देखिएनन् । आफनो गाउँआफै बनाऊ, वृद्धभत्ता, अशक्त भक्ता जस्ता लोक कल्याणकारी विशेषताहरु रहेको आर्थिक सामाजिक प्रणाली यसले अवलम्बन गर्न सकेन । अल्प अवधिको कम्युनिष्ट सरकारले कम्तीमा पनि लोककल्याणकारी विशेषताहरु रहेको आर्थिक प्रणाली अवलम्बन आँट ग¥यो । सो समयमा यो पार्टीले सस्तो लोकप्रियताका लागि बजेट कनिका छरे झै छ¥यो भनी टिप्पणी गरेको पाइयो । त्यसैले यसले लोक कल्याणकारी राज्यको भूमिका समेत निर्वाह गर्न सकेको पाइएन । उदारवाद, नवउदारवादको प्रभावमा परी एकाध सार्वजनिक स्वामित्वमा भएका सार्वजनिक संस्थानहरुलाई निजीकरण गर्ने नीति अवलम्बन गरेबाट यो पार्टीको समाजवादी चरित्र उदाङ्गो भएको महशुस गरिएको छ । यो पार्टीले साना तथा सीमान्तकृत गरिब निमुखा जनताहरुलाई लक्षित गरी कुनै आर्थिक क्रार्यक्रमहरु ल्याएको देखिदैन । यसले सधै दलाल तथा नोकरसाही पूँजीपतिहरुको हितको समर्थन गर्ने र उनीहरुकै हितअनुकूलको राजनीतिक आर्थिक प्रणाली अवलम्बन गर्ने चेष्टा देखाएको पाइन्छ । यसले गर्दा २०७४ सालमा भएको आमनिर्वाचनमा यिनीहरु स्खलित भएको, जनसमर्थन गुमाएको अवस्था छ । यो दलले लोकतान्त्रिक समाजवादको आदर्शलाई गुमाइसकेको जनताहरुको बुझाई छ ।

देशमा अर्को राजनीतिक दल तथा सत्तासीन पार्टी पनि क्रियाशील छ । यसले नेपालको पछिल्लो निर्वाचनमा भारी बहुमत प्राप्त गरी शासन सत्तामा स्थापित छ । यसै दललाई नेपाली जनताले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको जिम्मा सुम्पेका छन् । यो राजनीतिक दलको अभीष्ट समाजवाद हो । यो पार्टीले आफ्नो चुनावी धोषणा पत्रमा समाजवाद स्थापना गर्ने लक्ष राखेको छ । यसले समाजवादको स्वरुप वा चरित्र बारे पनि दिशाबोध गरेको छ ।

निजी तथा सार्वजनिक स्वामित्वको उचित समयोजनद्वारा निर्मित नेपाली विशेषतासहितको समाजवाद आफनो लक्ष रहेको बताएको छ । नवआविष्कार, स्वस्थप्रतिस्पर्धा र निजी सम्पत्ति समेत रहेको र कुशल व्यवस्थापनसहितको समाजवादले आर्थिक बृद्धि तथा कार्य दक्षता बढाउने भएकोले यी सबै विशषताहरुलाई अँगाली लोकतान्त्रिक दलीय प्रतिस्पर्धासहितको समाजकावादलाई यो दलले आफनो गन्तव्य निर्धारण गरेको छ । समाजवाद भनेकै सबै जनताको हितको प्रतिनिधित्व हुने, समतामूलक समाजको निर्माण गर्ने, सबैखाले विभेद र शोषणको अन्त्य हुने, सबै प्रतिभाले फल्ने, फुल्ने तथा विकसित हुने समान अवसर प्राप्त गर्ने पद्धति हो । यस खालको समाजवाद यो दलको अभीष्ट रहेको छ । यो समाजवादमा आर्थिक विकास एवम् उन्नति द्रूततर गतिमा हुने र आधुनिक सभ्यता एवम् संस्कृतिको जग बस्ने खालको समाज यो राजनीतिक पार्टीको उद्देश्य रहेको देखिन्छ । यो सत्तासीन पार्टीले शान्तिपूर्ण जनअभिमतबाट समाजवाद स्थापना गर्ने तर सशस्त्र युद्धलाई समाजवाद स्थापना गर्ने बाटोको रुपमा ग्रहण गर्दैन ।

यसले एक दलियता सबैखाले अधिनायकत्व र निरङ्कुशताको विरोध गर्दछ । यो सबै उत्पीडित जनताको हितको रक्षा र प्रतिनिधित्व गर्ने विचार वा दृष्टिकोणबाट ओतप्रोत छ । यसले समाजवाद प्राप्त गर्ने बाटो शान्तिपूर्ण निर्वाचन वा जनअभिमत प्राप्त गर्ने बाटोलाई अवलम्बन गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यसले दलिय प्रतिस्पर्धा, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, आवधिक निर्वाचन, कानुनको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्त, प्रेस स्वतन्त्रता, मानवअधिकार, बहुलबाद, खुला समाजआदि जस्ता लोकतन्त्रका अन्तरवस्तुलाई दह्रो गरी ग्रहण गरेको छ । हत्या, हिंसा, बलात्कार यो दलले स्वीकार गर्दैन । जो कोहीलाई पनि कानुनको अधीनमा ल्याई कारवाही गर्ने र शान्त, सभ्य, सुसंस्कृत तथा भद्र यसको उद्देश्य रहेको छ ।

यी त भए नेपालका राजनीतिक दलहरुको चरित्र, स्वरुप तथा बाटोका साथै समाजवादको अर्थ र प्रयोग बारे संक्षिप्त चर्चा । अहिले नेपाल समाजवाद निर्माण गर्ने बाटोमा लाग्नुको विकल्प छैन । समाजवाद यस्तो विकल्प हो जसले समाजमा अभाव, गरिबी, विभेद, उत्पीडन आदिको अन्त्य गरी उच्च आर्थिक वृद्धिसहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्य बोकेको हुन्छ । यो समाजवाद नेपाली विशेषता अनुकूलको मौलिक किसिमको हुनु पर्दछ । सोभियत मोडेलको वा चिनियाँ मोडेलको समाजवाद नभई नेपाली धर्ती सुहाउँदो समाजवाद निर्माण गर्नु आजको चुनौती हो । हामी नेपालीपनि सिर्जनशील पर्दछ । कोरा नक्कल गरी शास्त्रीय समाजवादको पक्षपोषण भन्दा आफ्नै मौलिक विशेषतासहितको समाजवाद बढी टिकाउ र जनताको मन जित्ने हुन सक्दछ । अस्तु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार