साउनमा व्रत, हरियो चुरा र मेहन्दी किन ?

हरिया चुरा मेरा हातभरि
खुसी, उमंग अनि रमाइलो देशैभरि ।
वर्षा, प्रेम र झरीको सँगम साउन , महिलाहरुको विशेष महिनाको सुरुवात आजदेखि भएको छ । यो महिनाको सुरुवातसँगै गाँउ, सहरभरि नै हरियो चुरा, मेहेन्दी र शरीरमा पनि हरियो लुगा लगाउन सुरु भएको छ । मानांै यो एक किसिमको चलन संस्कृतिको रुपमा नै अघि बढिरहेको छ । यस महिनाले सानो–सानो उमेरका नानीहरुदेखि लिएर हजुरआमा उमेरसम्मका सबैलाई उत्तिकै छुने गर्छ । आखिर यही महिनामा मात्रै किन लगाउँछन् त हरिया चुरा र मेहेन्दी भन्ने कुरा धेरै जनालाई थाहा नहुन पनि सक्छ ।
हिन्दू धर्मग्रन्थका अनुसार ‘ साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् । सोही अनुसार यो महिनामा विवाहित महिलाले हरियो चुरा र हातमा मेहन्दी लगाए भने आफ्नो श्रीमान्को आयु बढ्नुका साथै श्रीमतीले व्रत बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमती प्रति श्रीमान्को सम्बन्ध प्रगाढ हुने गर्दछ । अनि अविवाहित महिलाले व्रत बस्दा मनले चिताएको सबै कुरा पुग्छ रे ।
सायद यही भएर पनि होला, यसको महत्व बढेको । यसको अर्को भनाइ पनि के रहेको छ भने , नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने बर्खा भरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।
यो महिनालाई शिवजीको महिना पनि भन्ने गरिन्छ । पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । साउन महिनाभरि सबै महिला दिदी बहिनीहरुको जमघट शिवालय मन्दिरहरुमा पहेंलो वा हरियो भेषमा देख्न पाइन्छ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन महिलाहरु व्रत बस्ने गर्दछन् ।
साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि होला यसको बेग्लै महत्व रहेको छ । साउने संक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन पनि छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । र नेपालभर स्नान, दान, होम, श्राद्ध जस्ता विशेष कार्यको सुरुवात पनि यही दिनदेखि गर्ने गरिन्छ । वास्तवमा यो महिना हरियो रंग प्रेम र वातावरणको प्रतीक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मान हो भनेर बुझ्न सकिन्छ ।
नेपाली महिलाहरूले यो महिनालाई निकै नै उत्साहका साथ मनाउने गर्छन् । यो महिनाभरि हरियो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा समेत महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्रीहरु लिएर जाने र एक आपसमा माया साटासाट गर्ने गर्दछ्न ।साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवजीको पूजा आराधना र व्रत बस्ने परम्परा छ । खासगरी महिलाहरु शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमवार व्रत बस्ने गर्दछन् । साथै श्रृङ्गार सामग्री व्यापारीहरूको लागि पनि यो महिना विशेष लाभदायी मानिन्छ ।
सोमबारे व्रतले महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका दिएको छ भने महिलाहरु बीचको दूरीलाई नजिकाई दिएको छ । सोमबारको व्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ । हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्पराप्रतिको एक हिस्सा हो । श्रीमान् प्रतिको प्रगाढ माया र पारिवारिक सुख दिने हुनाले अन्य धर्मका जातजातिका महिलाहरु पनि यस चाडलाई सकारात्मक ढङगबाट मनाउन थालेका छन् ।
हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलाभरि मेहन्दीले सजिएका किशोर किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संकार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएको हामी अनुमान गर्न सक्दछौं । हरिया चुरा किन लगाउने र लगाउँदा के हुन्छ भन्ने थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै मात्रामा भेटिने गर्दछन् । यस्तै धार्मिक परम्परा र आस्थाका कारण यस महिनाभरि नै महिलाहरुले व्रत पनि बस्ने गर्दछन् ।
तर पछिल्लो समय मेहन्दी र हरियो चुराको महत्व धार्मिक रुपमा नभएर फेसनको रुपमा मौलाएको होकि भन्ने पनि सुनिएको छ । चाडवाड र संस्कृतिहरूको जर्गेना भन्दा पनि शोख र फेसनको प्रभाव यसमा परेको देखिन्छ । यदि त्यस्तो हो भने हामि आफू खुसी लगाए पनि संस्कृतिलाई पनि जीवन्त बचाइ राख्नुपर्छ । त्यसलाई कसरी दिगो र मौलिकतामा ढाल्ने भनेर अनुशरण समेत गर्नुपर्ने हुन्छ ।
साउन महिनाभरि मात्र नभई दिनहुँ यस्ता पहिरनहरुले सजिदिँदा आफ्नो संस्कृति लोप हुने स्थितिमा बच्ने थियो । साउनमा व्रत बस्ने कुरा त एक हिसाबले धेरै राम्रो कुरा हो । विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन व्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाइदा नै गर्दछ । तर व्यक्ति आफू अस्वस्थ छ भने व्रत नबस्दा राम्रो अस्वस्थ्य छ भने आखिर व्रत के का लागि ? त्यसैले संस्कार र संस्कृतिलाई देखासिकीको रुपमा होइन, आफू सक्दो पछ्याउने गरौं । आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धभक्त भएर अनुशरण नगरौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार