“स्वर्गद्वारी ! धरतीको स्वर्ग ।”

नेपाल हिमाल, पहाड, तराईको विकट भू–भाग भएको एक पवित्र भूमि हो , प्राचीन कालदेखि यस पवित्र भूमिमा ज्ञानी, गुणी, ऋषिमुनिहरु र पवित्र आत्माहरुले बास गर्दै, तपस्या गर्दै आएका छन् । ती मध्ये एक पर्छ राप्ती अञ्चलमा पर्ने प्युठान जिल्लाको स्वर्गद्वारा आश्रम । यो आश्रम ६,९६० फीट अग्लो पहाडको चुचुरोमा रहेको छ । आश्रम सबैभन्दा अग्लो चुचुरोमा रहेको छ । त्यहाँ पुगेर वरीपरि चारैतर्फ हेर्दा अन्य पहाड र डाँडाहरु स–साना देखिन्छन् । उत्तरतर्फ रहेको श्वेत धवलागिरी, अन्नपूर्णको हिमश्रृंखला समानान्तर देखिन्छ । स्वर्गद्वारा आश्रमको डाँडाको वरीपरि चारैतर्फ लाली गुराँसका वृक्षहरु छन् । हामी फागुनमा गएकोले लाली गुराँस फाट्टेफुट्टे मात्रै फुलेका थिए । चैत्र, बैशाखमा यी लाली गुराँस डाँडाभरि ढकमक्क फुलेर बडो आकर्षक सुगन्ध छरेर नयनाभिराम दृश्य प्रस्तुत गर्छन् । जानलाई आफ्नै साधन बस÷कार÷जीव भए सस्तो र सजिलो पर्छ । समय र धनको बचत हुन्छ ।
छिटो छरितो हुन्छ आफूखुखी हिंडडुल गर्न पाईन्छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको भालुबाङदेखि उत्तर लाग्नुपर्छ बाटो पक्की छ । राम्रो छ । सडक उति चौडा छैन । गाडी पास गर्न कुरेर, ठाउँ हेरेर उभिनु पर्छ । प्रारम्भमा राप्ती नदी फेला परे पनि पछि यो सडक झिमरुक खोलाको तिरैतिर उत्तरतर्फ लाग्दछ । सडक छेउछाउमा बाक्लो बस्ती छ । यो सडकको नामाकरण गरिएको छैन । सडकहरुको नामाकरण गर्दा शहीदहरुको नाम र धार्मिक पर्यटकीय सुप्रसिद्ध तीर्थस्थलहरुको नाममा गरिनु उचित हुन्छ । झिमरुक खोलाबाट विद्युत निकालिएको पावर हाउस पनि यही सडकको छेउमा पर्छ । झिमरुक यस प्युठान जिल्लाको एक सुप्रसिद्ध नदी पनि हो । जसपुर एक ठूलो बजार र बस्ती भएको ठाउँ हो । यहाँबाट प्युठान जिल्लाको सदरमुकाम खलंगा जाने पूर्वतर्फ बाटो बनेको छ । झिमरुक खोलामा पक्की पुल छ । त्यहाँबाट पनि यो सडक सोझै उत्तरतर्फ रोल्पा जिल्लाको सदरमुकाम लिवाङतर्फ लाग्छ । स्वर्गद्वारी जान यो सडक समातेर सोझै उत्तरतर्फ लाग्नुपर्छ । जसपुर देखि ५–७ किलोमिटरको दूरीमा भिङग्री भन्ने ठूलो बजार र बस्ती छ । यहाँबाट भिङग्रीबाट पश्चितर्फ १४–१५ किलोमिटर घुमाउरो कच्ची र भयावह सडक चढेर पहाडको टुप्पोमा स्वर्गद्वारी आश्रम पुग्न हाम्रो गाडीलाई एक घण्टा पैंतीस मिनट लाग्यो । बाटोभरि सल्लाघारी छ । धमाधम सडक निर्माण हुँदैछ । डोजर र श्रमिकहरु सडक निर्माणमा व्यस्त थिए । गत साल हो २०७५ साल फागुन ११ गते शनिबार बिहान ५ बजे हाम्र परिवारका पाँचजना सदस्य स्वर्गद्वारा भ्रमण गर्न निस्क्यौं । मेरो छोरा अर्जुन घिमिरेले आफै आफ्नो गाडी हाकेर हामी वृद्धवृद्धा मातापितालाई श्रवणकुमारले झैं नेपालका विभिन्न तीर्थस्थलहरुको सुरक्षित भ्रमण गराउने गर्छ ।
बिहान १० बजे हामी स्वर्गद्वारी आश्रमको फेदी भिङग्री पुगेका थियौं । त्यहाँबाट माथि टुप्पोमा पुग्दा ११ः३५ भएको थियो । यस सडकको नाम भालुबाङ–स्वर्गद्वारी सडक वा भालुबाङ्ग–झिमरुक सडक वा भालुवाङ्ग–लिबाङ्ग÷रोल्पा सडक राखे राम्रो हुने देखिन्छ । हुन त यो पंक्तिकार यो पूर्व–पश्चिम सडकमा काकडभिट्टादेखि नेपालगञ्जसम्म बिसौंपटक ओहोर–दोहोरो गरेको छ । तर ध्यान दिएको छैन । यसपटक गाडीमा डिजेल हाल्न भालुवाङको एक पेट्रोल पम्पमा गयौं । त्यहाँ ‘अर्घाखाँची’ भनेर लेखेको पायौं । सामान्य ज्ञानको पुस्तक पढेको हुँ, पूर्वपश्चिम राजमार्गले तराईको नछुने जिल्ला पर्सा (बिरगंज) हो भने पहाडको दुई जिल्ला मकवानपुर र अर्घाखाँची भनी लेखिएको थियो । अर्घाखाँचीको ५००–७०० मिटर छुने स्थान भालुवाङ वारी त्यहाँ रहेछ । जब हामी दिउँसो ११ः३५ बजे स्वर्गद्वाराको टुप्पोमा पुग्यौं, तब त्यहाँ एक ठूलो ट्रक, पाँच सात कार, जीप, उभिएको देख्यौं । त्यहाँ तीन पाङ्ग्रे अटो रिक्सा आएको देखेर हामीलाई सुखद आश्चर्य लाग्यो । बुझ्दा एक धार्मिक परिवारले रोल्पाबाट (लिवाङ्गबाट) रिजर्भ गरी ल्याएका रहेछन् । ८–१० मोटरसाइकलहरु पनि थिए । सवारीहरु उभिने ठाउँदेखि स्वर्गद्वारी मन्दिर परिसरसम्म लगभग एक किलोमिटरसम्म पैदल जान भ¥याङ बनाइएको छ । नसक्ने दर्शनार्थीहरुका निम्ति घोंडाको पनि व्यवस्था छ । प्रतियात्री रुपिया ३००÷– लिएर मन्दिरसम्म पु¥याउने व्यवस्था रहे । तर स–साना केटाकेटीहरु पनि हाँस्दै, उफ्रिदै भ¥याङमा आउजाउ गरिररहेका थिए । मलाई मन्दिर परिसर पुग्न पैदल ४५ मिनट लाग्यो । त्यहाँ गौशाला पनि छ भनिएको थियो । तीर्थयात्रीहरुले गाई निम्ति दाना र नुन किनेर दान गर्न लैजाँदा रहेछन् । त्यहाँ गाई निम्ति छुट्टाछुट्टै दाना र नुन लिने सूचना लेखेर राखिएको छ । यस पंक्तिकारले त्यहाँ “गाईहरु खोई ?” भनी प्रश्न गर्दा ‘चर्न गएका छन् ।” भन्ने जवाफ पाएको थियो । तर, हामीले टिभीमा विदेशमा देखेको जस्ता हष्टपुष्ट, अग्ला, स्वस्थ्य गाईहरु बस्ने गौशाला र चरन गाहा त्यहाँ दिएन । बाटोमा पैदल आउजाउ गर्दा सडक छेउछाउमा दुई चार झुत्रे, दुब्ला, जाडोले कठ्याङिग्रएर डल्लो परेर उभिएका करङ्को भाटा देखिएका गाईहरु चउरमा दाह्री दल्दै थिए । बडो दयनीय अवस्था थियो । नाम अनुकूल गाईहरु, गोरुहरु, बाच्छा बाच्छीहरु हृष्टपुष्ट, स्वस्थ्य, चिल्ला र आकर्षक राखिनुपर्छ ।
खाने पिउने होटेल र रेष्टुरेण्टहरु छँदै छैनन् । घरैबाट पुडी तरकारी बनाएर लिई जानु बुद्धिमानी हुनेछ । स्वास्थ्य चौकी थियो । तर बन्द थियो । यो वर्ष केही सुधार भभए होला । दुर्गभ भूभागमा भव्य निर्माण भएको मान्नुपर्छ । यहाँ स्वर्गद्वारामा एक सिद्ध पुरुष महाप्रभूले ७ दिनसम्म तपस्या गरी वि.सं. १९५२ को बैशाख शुक्ल पूर्णिमाका दिन सूर्यद्वारा प्रादुर्भूत तेजबाट अग्नी उत्पन्न गरी अखण्ड हवन, विश्व् शाीन्त र मानव मात्रको कल्याणका लागि आजसम्म निरन्तर जारी छ भनिन्छ । पुरातात्विकविदहरुले प्रामाणिकताको शोध गरी आकर्षक र आधुनिकीकरण गर्नु जरुरी देखिन्छ । दर्शनार्थीहरु र भक्तजनहरुलाई) प्रभावित पार्ने किसिमले बजार बृद्धि र सुविधा थपिनु पर्छ । सकेसम्म पहाडको फेंदी भिङग्रीबाट माथि टाकुरासम्म विद्युतीय केबलकारको (मनकामना मन्दिरमाझैं) सुव्यवस्था गर्न सके दर्शनार्थी भक्तजनहरु निम्ति सुविधामा तथा पर्यटकीय आकर्षणमा समेत बृद्धि हुने थियो । नेपाल प्राकृतिक सम्पदाहरुले भरीपूर्ण मुलुक हो । तर, पर्यटकीय आधारभूत आवश्यकताहरु तयार पार्न नसक्दा पर्यटक संख्यामा बृद्धि गर्न र बसाई लम्ब्याउन सकिरहेका छैनौं । हिमाली भेगमा तथा धार्मिक पर्यटकीय स्थलहरुमा टोय ट्रेन चलाउन सके मात्र करोडौंको संख्यामा पर्यटकहरु ल्याउन सकिन्थ्यो । भारतको दार्जिलिङ्गमा प्रत्येक वर्ष विश्वबाट लाखौं लाख पर्यटकहरु आउँछन्, त्यहाँको प्रमुख आकर्षण ‘टोय ट्रेन’ गर्दा पर्यटनहरु निम्ति चाहिने आवश्यक न्युनतम आधारभूत आवश्यकताहरुको निर्माण, रखनधरन गर्न नसक्दा हामीलाई दश बीस लाख पर्यटकहरु ल्याउन पनि वर्षमा हम्मेहम्मे पर्छ । किन ? वास्तवमा विश्वमा पर्यटकहरुको संख्या करोडौंमा छ । विश्वबारे जान्ने चाहना राख्नेहरुको परिमाण ठूलो छ । तर हामीले पर्यटकहरु निम्ति सरसफाई, सुरक्षा, सुविधा दिन नसक्दा परिमाण र बसाई लम्ब्याउन सकिरहेका छैनौं । सरकारले आगामी वर्ष सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रुपमा मनाउने निधो गरेको छ । तसर्थ हामी सबै संवेदनशील भएर यस सत्प्रयासमा लाग्नुपर्ने देखिन्छ । हाम्रो परिवार रात्री ८ बजे बुटवल घर फर्किएको थियो ।
पर्यटन वर्ष २०२०को लागि लेखिएको लेख ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार