‘उल्कापात’ आमन्त्रणारम्भ !

यति शक्तिशाली र ऐतिहासिक सरकारले जहाँ टेक्यो उही पहिरो जान थाल्यो, के हुन लागेको हो यो ? लक्षण राम्रो छैन, शुभ संकेत मान्न सकिदैन । नर्कको बाटो लागेर स्वर्ग पुगिदैन । ‘उल्कापात’ आमन्त्रणारम्भको पूर्वसंकेत त होला नि !
नेपाल सरकारले केहीदिन अगाडि भारतीय भूमिबाट नेपालतिर भित्रिने तरकारी बिनापरीक्षण आउन नदिनेगरी रोक लागायो । एकहप्ता पनि टिकेन र फिर्ता लिन प¥यो । कार्यान्वयन गर्न सम्भव हुन्छ वा हुन्न भनेर, विचार गरेर, आधार तयार पारेर, पूर्वसूचना दिएर, समय तोकेर रोकिएको थिएन । पछि हट्यो, हट्न बाध्य हुनुप¥यो, पारियो त्यसैले । पूर्वतयारीबिना हचुवाका भरमा राम्रो काम गर्न खोज्ने, तर नसक्ने र पछि हट्ने उपक्रमको अन्तिम कडी हैन यो । अरु पनि हुनेछन् यस्ता कार्यान्वयन गर्न नसकिने काममा हात हलाउने र झिकाउने । सरकारलाई राम्रा काममा अघि सारेर, गर्न सक्दैन भन्ने पारेर, पछि हटाएर, बदनाम गराउने सरकारभित्रकै शक्तिशाली तत्वचाहिँ मजाले सफल भयो । गुठी विधेयकमाजस्तै । ठग् ठेकेदारलाई ठेगान लगाउने बाचा गराएर उनैसंग सटाएजस्तै, टँसाएजस्तै । मिडिया काउन्सिल विधेयकमा विवादमा पारेजस्तेै । मानव अधिकार आयोगलाई लगेर महान्यायाधिवक्ताको मातहतमा चल्नुपर्ने बुँदा थपाएर अन्तर्राष्ट्रियस्तरमा नराम्रो प्रचार पु¥याउन सफल भएजस्तै । यस्तै यस्तै अरु सस्तै, मस्तै ।

यताका किसानले मनग्गे उत्पादन गरेर, बिक्री नभएर, सडकमै तरकारी छाडेर÷फालेर हिड्न परेकाबेला, बन्दाको बारीमा टेक्टर चलाउन परेकाबेला, भारतीय तरकारी आयातमा रोक लगाइएको भए सफल हुन्थ्यो, किसान खुशी हुन्थे, जनसमर्थन पनि खुब मिल्थ्यो । तर यताका किसानका बारीका तरकारी सकिएर, वर्षेबाली लगाउन ठीक्क परेकाबेला, उताको तरकारी रोक्दा वित्तिकै पाँचगुणाले बढ्यो महँगी । भान्सामा पाक्ने परिकार घटे । यता महँगी ह्वात्तै बढ्ने, उता सीमानाकामा रोकिएका मालबाहक साधनमा तरकारी सड्ने, भारत सरकार चिढिने, नेपालको सरकार पनि जनताबाट टाढिने र उपभोक्ता टेढिने काम भयो । एउटै मट्यांग्राले त्यति धेरै चरा मारियो, अर्थात् दुस्प्रभाव पारियो । योजनाबद्ध तरिकाले फँसाइएको हो यो । नराम्ररी फँस्यो सरकार । रोक्न लगाएर, नसकिने रहेछ भन्ने बनाएर, पछि हटाउने काम त भएकै थियो । त्यति राम्रो काम गर्न किन नसकेको भनेर सार्वजनिक रुपमा ठटाउने उपक्रम पनि सुरु भएको छ अहिले ।

विश्व व्यापार संगठन अन्तरगत अन्तर्राष्ट्रिय सम्झौता अनुरुप सवै देशहरुले उपभोग्य वस्तु फलफुल, तरकारी र विरुवाको आयात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरुप भए नभएको परीक्षण गर्न पाउँछन, गर्नुपर्छ । कसैको दबाबमा आएर सरकार कर्तव्य विमुख हुन मिल्दैन – भीम रावल ।
भनिन्छ, छौंडाहरु आफै चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् ।
यी छौंडाहरु आफै चलमलाएका हुन् की कसैले छाडेका ? – विष्णु रिमाल ।
जब लेख्छन सरकारका सल्लाहकार छौंडा खेलाउने बोक्सी र बीरका कबिता
के होला त्यस देशको नभएर गाइजात्रा र रमिता – किशोर नेपाल ।
तरकारी किने पनि पैसा भारतमै जान्छ, बिरामी भए पनि पैसा भारतमै जान्छ । हाम्रा असल छिमेकीका दुवै हातमा लडडु – विनय कसजु ।

ट्वीटर र फेसबुकबाट टिपिएका प्रमाण हुन यी । जति पनि छन् अरु । अघि बढ्दा साथ नदिने, पछि हट्दा पनि सुख र जस नदिनेहरु । अपजस भिराउने र गिराउनेहरु ।

अति शक्तिशाली सरकारलाई शक्तिहीन र सामथ्र्यहीन सावित गर्ने राम्रो उदाहरण बन्यो विषाक्त भारतीय तरकारी रोक्ने विषय । प्रहरीद्वारा पक्राउ गरिएका प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताको कथित मुठभेडका नाममा गरिएको हत्याले पनि कम बदनाम गराएको छैन । प्रधानमन्त्री र राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्कदा हुने सडक र आकाश ठप्पले त झन् धेरै चर्चा पाएको छ । प्रधानमन्त्री उपस्थित हुने कार्यक्रममा आशनग्रहणका लागि राखिएको अलग सोफा र स्थानीय सरकारका मेयर तथा प्रदेश सरकारका मन्त्रीका पिर्के सलामीले जग हँसाए । सुषुप्तावस्थामा रहेका अतृप्त आकांक्षा तृप्तीका नराम्रा उदाहरण हुन यी र हुन् रुख चढाएर फेद् काटिएका प्रमाण । यस्ता तमाम काममा अघि सार्नेहरुले झुकाएर झेको झार्ने, मेख मार्ने र धरापमा पार्ने षडयन्त्र गरेका छन् । बारम्बार त्यस्ता धरापमा पर्दा पनि थाहा पाइदैन, सचेत भइदैन, फेरी पनि उस्तै निर्णय गरिन्छ भने काँध थाप्ने कोही हुँदैनन्, हुने छैनन् । जस्तै सत्ताले पनि सधै सवैका चाहना पुरा गर्न सक्दैन । वहाना खाजेर, पालो पर्खेर र गौडो ढुकेर बसेको तत्वले मौकामा चौका हान्न चुक्दैन ।

लोकप्रिय हुने लोभ देखाएर अघि सार्ने र गर्न नसक्ने बनाएर पछिपार्नेहरुले सरकारको सोझोपनको फाइदा उठाएका पनि होलान् । आलोचकहरुप्रति आक्रोशपूर्ण र अशोभनीय प्रतिक्रिया जनाउन उक्साएर समर्थक र शुभेच्छुकहरुले सहयोग र सहकार्यगर्ने सम्भावनाबाट टाढा पु¥याउँदै छन् । सरकारका छेउ किनारमा छोइन पुग्दा र कहिलेकाहिँ नजिक पर्दा पनि दाग् लाग्ने हो कि भन्ने डर पैदा गराएका छन् धेरैलाई । भित्रैको सुनियोजित षडयन्त्र र ‘घेराबन्दी’को जालमा परेर कमजोर बनेको सरकारले बाहिरका विरोधीलाई शत्रु देख्न थाल्दा पत्रु सावित गर्न चाहनेहरुलाई सत्र परेको छ । जुन सरकार जति कमजोर बन्छ भित्रभित्रै, उसको उत्तिकै चर्को स्वर हुन्छ बाहिर भन्ने कुरा पुनः पुष्टि गराउँदै छन् । सरकारका प्रवक्ताका साप्ताहिक रुपमा सुन्न पाइने प्रतिशोधपूर्ण घृणात्मक÷हिंसात्मक अभिव्यक्ति र अरु मन्त्रीका बोलीका कुरै छाडौं । स्वयं प्रधानमन्त्रीका अभिव्यक्तिप्रति प्रदीप गिरी जस्ता सन्तुलित विचारकले समेत ‘प्रधानमन्त्रीकै भाषा शैलीमा मैले टिप्पणी गर्न सक्दिनँ । हामी सवैलाई थाहा छः हाम्रो प्रधानमन्त्री जस्तो ठट्यौला र गैरजिम्मेवार बोली बोल्ने विश्वमा अरु कोही छैन होलान्’ भनेर टिप्पणी गर्नुपर्ने अवस्था तयार भैसक्यो । ‘अहंकारको डकार र क्षय रोगीको खकार’ भन्नेहरुलाई खुराक पुग्नेगरी प्रकट हुने प्रधानमन्त्रीका उद्गार नै सरकारी उपहार ठान्नेहरुको कमी छैन । उत्तरी छिमेकी मित्रराष्ट्र चीनको जिम्मेवार निकायले केरुङ् काठमाण्डौ रेलको हल्ला चलाएर राजनीतिक रोटी सेकेको मन पराएन । मौन कुटनीति अपनाउने चीनले मुखै फोरेर सचेत पार्नुलाई सामान्य रुपमा लिन मिल्दैन । अतिले पारेको क्षति हो यो ।

क्रियात्मक हुनुपर्ने सरकार प्रतिक्रियामै रमाउन थालेको छ अचेल । बजारमा उठेका हजार हल्लाको जवाफ दिएर सकिदैन, दिन पनि हुँदैन भन्ने कुरै बुझेन । सामान्य आलोचना पनि पचाउन सक्दैन र प्रतिवादमा उत्रन्छ, पखला लागेको जानकारी दिन्छ । जसले गर्दा गर्नुपर्ने काम गर्न पाउँदैन, सक्दैन । अकर्मण्य र किम्कर्तव्यविमूढ भयो । जता पाइला चाल्यो, उतै भासियो । नासियो । आत्तियो त्यसपछि । साथ पाएन । आक्रोश पोख्न थाल्यो । झन्पछि झन् एक्लिदै गयो । दुईतिहाई बहुमतको शक्तिशाली सरकार शक्तिहीन भएको पुष्टि उसैको बोली र व्यवहारले ग¥यो । आफैले खनेको खाल्टोमा खस्यो, फँस्यो । यसैलाई दुईवर्षे उपलब्धि मान्ने त होला नि !

राणा, पञ्चायत, बहुदलहुँदै गणतन्त्रमा प्रवेश गरेको देशको परिवेश उस्तै रहेपछि राजनीतिप्रति वितृष्णा जाग्दैछ । राजनेता र राजनीतिलाई घृणा गर्नेहरुले भन्न थालेका छन् – जुन जोगी आए पनि कानै चिरेका, मुखमा राम राम बगलीमा छुरा भिरेका । यस्तो अवस्था देखेका प्रदीप गिरीले ‘राजनीतिज्ञ र राजनीतिप्रति पैदा भइरहेको वितृष्णा र उदासिनताका बीच भोलि चिलले चल्ला टिपेजस्तै एउटा तानाशाह वा देशी विदेशीले कसैलाई उचालेर कु गर्दा पनि जनता सडकमा नआइदिने खतरा रहन्छ । त्यसैले राष्ट्रपतिले, प्रधानमन्त्रीले र प्रतिपक्षका नेताले के बुझ्नु पर्छ भने जनतामा लोकप्रियता क्षीण हुँदै गयो भने पूर्व, पश्चिम, उत्तर, दक्षिण वा आकाशबाट बज्रपात भएजस्तै उल्कापात हुने सम्भावना र खतराले जन्मलिन सक्छ’ भनेर सचेत गराएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रको शाही सरकार, दलहरुको अलमलको दलदलबाट उम्काउन ल्याइएको खिलराज रेग्मी नेतृत्वको सरकार सम्झे हुन्छ । उस्तै र उही तरिकाले इतिहास नदोहोरिन सक्छ भविष्यमा । राजनीतिप्रतिको वितृष्णा र सरकारी अलोकप्रियताले ‘उल्कापात’ भएर उदाएका थिए ती । अब आउने ‘उल्कापात’ त्यस्तै र आयु पनि त्यत्तिकै छोटो नहुन सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार