लुम्बिनी क्षेत्रमा पर्यटनको विकासः सम्भावना र चुनौती

नुरजंग के.सी.

ऐतिहासिक रुपमा विश्लेषण गर्दा लुम्बिनीको सम्बन्ध भनेको मायादेवी मन्दिरसँग छ । जहाँ भगवान गौतम बुद्ध जन्मेका थिए । प्राचिन कालमा त्यहाँका मानिसहरुले मायादेवीको मन्दिरलाई रुम्विनी भनि सम्बोधन गर्दथे । पछि रुम्बिनीबाट रुमिनदेवि भयो अन्त्यमा रुमिनदेवी भन्दाभन्दै लुम्बिनी भन्न थालिएको भन्ने भनाई पाइन्छ ।
नेपालको तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत तराईको मध्यमाग भारतसंग जोडिएको र उत्तरमा गण्डकी, पूर्वमा नारायणी र पश्चिम राप्ती नदीले सीमा बनाएको ८९७५ वर्ग कि.मि. क्षेत्रफल रहेको क्षेत्र लुम्बिनी हो । विश्वमान चित्रमा यस क्षेत्रको अवस्थिति उत्तरी अक्षाँस २७० १७’ देखि २८०१७’सम्म र देशान्तरीय विस्तारको रुपमा ८२०४३’ देखि ८४०२३’ को बीचमा रहेको छ ।
साविक लुम्बिनी अञ्चलमा ७ वटा जिल्लाहरु रहेका छन् जसमध्ये कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासी तराई अन्तरगत पर्दछन् भने अर्घाखाँची, गुल्मी र पाल्पा पहाडी क्षेत्र अन्तर्गत पर्दछ । यस क्षेत्रको पहाडी भागहरुको धेरैजसो संरचनाको निर्माण चुरे पहाडको उत्पत्ति हुने समयमा भएको पाइन्छ र केही उत्तरतर्फका भागहरु महाभारत पहाडसँग सम्बन्धित रहेको छ । यसको उचाई दक्षिणमा लगभग १०० मी. देखि उत्तरतर्फ महाभारत पहाड पर्ने हुनाले ३००० मी जति छ । उत्तर र पूर्वतर्फ सीमावाट बग्ने कालीगण्डकी र नारायणी ठूला नदीका साथै तिनाउ र वाणगंगाका साथै जगदिशपुर ताल, गजेडी ताल, सुकेलाल आदि रहेका छन् । उपोष्ण किसिमको मनसुनी हावापानी पाइने यस क्षेत्रमा प्रशस्त जीवजन्तु तथा चराचुरुङ्गीको उपस्थितिले पर्यटकलाई आकर्षित गरिएको छ ।
७ वटा जिल्ला समेटेर बनेको साविक लुम्बिनी अञ्चल पर्यटन विकासमा दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो । पर्यटकीय गन्तव्य बन्न सक्ने प्राकृतिक साँस्कृतिक साहसिक, ऐतिहासिक तथा धार्मिक महत्वका क्षेत्रहरु एकै साथ पाइने यस अञ्चलमा पर्यटन विकासको सम्भावनालाई थप पुष्टि गरेको छ ।
नेपालमा पर्यटनसंग जोडेर आर्थिक, सामाजिक तथा सांस्कृतिक फाइदा लिन सक्ने सम्भावना भएका धेरै क्षेत्रहरु रहेका छन् । यसमध्ये लुम्बिनी धार्मिक महत्वको भएको हुनाले धार्मिक पर्यटनका दृष्टिकोणले लुम्बिनी एउटा प्रमुख क्षेत्र हो । जहाँ शाक्यमुनी गौतमबुद्धको जन्मस्थल हो । विश्वसम्पदा सूचीमा सूचीकृत बुद्धको मान र सन्देशलाई आत्मसात गर्ने बौद्ध धर्माबलम्बीहरुको पवित्र स्थल लुम्बिनी बौद्धधर्माबलम्बीहरुको लागि मात्र होइन, गैर बौद्ध धर्माबलम्बीहरुको लागि समेत आकर्षण केन्द्र हो । भगवान गौतम बुद्धका जीवनमा अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा परिचित लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरलाई बौद्ध धर्माबलम्बीहरु जीवनमा एक पटक पुग्नै पर्ने पवित्र स्थलका रुपमा रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा हुनु र लुम्बिनी नेपालको सीमानाभित्र पर्नु नेपालका लागि ठूलो गौरवको विषय बन्दै आएको छ ।
लुम्बिनी र आसपासका क्षेत्रहरु मूलतः लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न सकिएमा ठूलो संख्यामा पर्यटकहरु ल्याउन र लुम्बिनी बसाइ अवधि बढाउन सकिनुका साथै यस क्षेत्रका मानिसहरुको आर्थिक क्षमता बढाउन सकिन्छ ।
लुम्बिनीमा पर्यटकीय गन्तव्यहरु ः
क) लुम्बिनी–भगवान गौतमबुद्धको जन्मथलो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको छ । अशोकस्तम्भ मायादेवि मन्दिर, विहारखण्ड सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरी यहाँका आर्कषक सम्पदा हुन् ।
ख) तिलौराकोट –शाक्य वंशको ऐतिहासिक पुरानो राजधानी कपिलवस्तुको तिलौराकोट, जहाँ सिद्धार्थ युवराजको रुपमा शुरुवाती २९ वर्ष विताएका थिए ।
ग) देवदह– भगवान बुद्धको मावली, प्राचीन कोलिया अधिराज्यको राजधानी ।
घ) रामग्राम–उत्खनन नगरिएको शाक्यमुनि गौतमको स्तुपा रहेको छ ।
ङ) जगदीशपुर ताल– कपिलवस्तुमा अवस्थित सिमसार क्षेत्रमा सूचीकृत यस तालमा साइवेरियादेखि चराचुरुङ्गी आउने गरेको पाइन्छ । चरा अवलोकनको लागि महत्वपूर्ण स्थल ।
च) जितगढी–बुटवल स्थित ऐतिहासिक किल्ला जहाँ गोर्खा फौजले अंग्रेज फौजलाई हराएका थिए ।
छ) रानीमहल–पाल्पामा रहको नेपालको ताजमहलको रुपमा परिचित । यो महल प्रेमको विम्बको रुपमा समेत बुझ्ने गरिन्छ ।
ज) रुरुक्षेत्र–हिन्दुहरुको पवित्र धार्मिक स्थल, चार धाममध्येको एक महत्वपूर्ण स्थल ।
झ) रेसुङ्गा–तपोभूमिको रुपमा रहेको यो स्थान हिन्दु धर्मालम्बीहरुको पवित्रस्थल हो । शृङ्गी ऋषिले तपस्या गरेको यस भूमिमा सिद्धेश्वर महादेव, अग्निकुण्ड र गौशाला रहनुका साथै सुन्दर दृश्यलोकनका लागि समेत यो स्थल पवित्र रहेको छ ।
ञ) पाणिनि तपोभूमि –अर्घाखाँचीमा रहेको यस स्थलमा ऋषि पाणिनीले ध्यान तपस्या गरेको मानिन्छ । संस्कृति व्याकरणका रचनाकार पाणिनि तपोभूमिमा थुप्रै मठमन्दिरहरु समेत रहेका छन् ।
ट) अन्य स्थानहरु–रामपिथेकश पार्क, मणिमुकुन्द वनस्पति उद्यान, भैरवस्थान, रम्भादेवी सुपादेउराली, मौलाकाली,पाल्ही भगवती, सिद्धबाबा, सत्यवती बज्यै, त्रिवेणाीधाम,थारु भिलेज, वाणगंगा, सुकेताल, अर्घाकोट, छत्रकोट, नुवाकोट, बल्याङ्गगढी, बाल्मिकी आश्रम, अमलटारी आदि आकर्षणका केन्द्रहरु छन् ।
यसका साथै हरियो बन, विभिन्न किसिमका चराचुरुङ्गी सारस निलगाइ अजिगंर आदि प्राकृतिक सम्पदाका अतिरिक्त साथै पुरातात्विक स्थल तथा ताल, नदी, वनजंगल आदि त्यत्तिकै मनोरम रहेका छन् । यसरी पूर्व नारायणीदेखि पश्चिमसम्मको बृहत्तर लुम्बिनी क्षेत्रमा कैयन् प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु विद्यमान छन् । पाषणयुगीन मानवको अनुकूल बासस्थानको रुपमा रहेको चुरे शृङ्खला एवम् भित्री मधेसयुक्त यस क्षेत्रको बुटवलको उत्तरपट्टि चिडियाखोलामा वि.स. २०३७ सालमा १ करोड १० लाख पुरानो रामापिथेकशको माथिल्लो बंगरा फेला परेको थियो । प्राचीन मानवीय एवम् अन्य जीवजन्तुहरुको क्रियाकलाप र प्राकृतिक प्रभावबाट केही परिवर्तन देखिएका प्राचीन संरचना र आस्तित्वमा रहेका कलात्मक एवम् आकर्षक सामाग्रीहरु समेत छन् । खुल्ला सङ्ग्रहालयको रुपमा रहेको लुम्बिनी अञ्चलनमा पुरातात्विक भग्नावेशहरु छन् । झरही, कोठी, तेलार, दानव, तिनाउ, रोहणी, डण्डा, वाणगंगा रिडी, कालिगण्डकी आदि नदीको छेउछाउमा विकसित प्राचीन संस्कृति र सभ्यताका केन्द्रहरु अहिले प्रायः बेवारिसे अवस्थामा छन् भने मणिमुकुन्द दरबार, हनुमानगढी जस्ता ऐतिहासिक धरोहरा पनि रहेका छन् । थारु सङ्ग्रहलय, लुम्बिनी सङ्ग्राहलय र सैनमैनामा रहेको सङ्ग्रहालयले पर्यटकहरुलाई लोभ्याउन सक्दछ । बौद्ध धर्मसँग सम्बन्धित स्थानहरु यहाँ प्रशस्त रहेको हुँदा तीर्थयात्रिय एवम् धार्मिक पर्यटकहरुको सख्या उल्लेख्य बृद्धि गर्न सकिन्छ ।
वर्तमान अवस्था ः
मुलुकको मुख्य पर्यटकीय स्थल लुम्बिनीमा बेलहिया नाका हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्या पछिल्लो समय बृद्धि भएको छ । राजनीतिक परिवर्तनसंगै देशमा राजनीतिक स्थिरता साथै बन्दहड्ताल जस्ता गतिविधि कम हुँदै जान थालेपछि पर्यटक आगमनमा पनि बृद्धि भएको छ ।सन् २०११ लाई पर्यटक वर्षको रुपमा मनाएपछि सार्वजनिक गरिएको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन हरेक वर्ष विशेष रुपमा पर्यटकीय कार्यक्रम जारी राख्ने सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनायो । वि.स. २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पको असर तथा दक्षिणी सीमानाका अवरोधको कारण लुम्बिनीमा गतवर्षभन्दा पर्यटकहरु आगमनमा कमि आएको देखिन्छ । प्रदेश ५ सरकारले लुम्बिनीलाई विशेष महत्व दिई लुम्बिनीलाई उत्कृष्ट पर्यटकीय स्थल बनाउन लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ ।
विश्व सामु बुद्धको जन्मथलो लुम्बिनीको महत्व बढी रहेको बेला सन् २०१२मा १३६०६७ जना विदेशी, १२०५८३ जना भारतीय र ५३९२१० जना नेपाली गरी ७९५८६० जना पर्यटकहरु लुम्बिनी भित्रिएका थिए । जब कि सन् २०१३ मा १२५४९२ जना विदेशी पर्यटक, १५०२५२ जना भारतीय पर्यटक र ५७३५२९ जना नेपाली गरी जम्मा ८४९२७३ जना आन्तरिक तथा वाहय पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । सन् २०१४ मा भन्दा सन् २०१५ मा ५९.५८ प्रतिशतले पर्यटक आगमनमा ह्रास आएको छ । वि.स. २०७२ सालको विनासकारी भूकम्प र सोही सालमा दक्षिणी सिमा नाका अवरोध र मधेसी मोर्चाको बन्दहड्तालले गर्दा लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुको संख्यामा कमी आएको हो । त्यसैगरी सन् २०१८ मा सन् २०१७ मा भन्दा १.२० प्रतिशतले पर्यटक आगमनमा ह्रास भएको छ । सन् २०१८ मा १६९९०४ विदेशी पर्यटक, आन्तरिक पर्यटको सूचीमा पर्ने भारतीय पर्यटक १९३६३५ जना र आन्तरिक पर्यटककै सूचीमा रहेको नेपाली पर्यटक ११,७०,५७१ जना गरी १५,३४,११० जनाले लुम्बिनी दर्शन गरेका थिए ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१५ बाहेक अन्य वर्षहरुमा बौद्ध धर्मालम्बीहरु साथै अन्य तेस्रो मुलुकबाट पर्यटक आगमनमा बृद्धि भएको देखिन्छ । सन् २०१५ मा विनासकारी भूकम्प तथा आन्तरिक राजनैतिक द्वन्द्वको कारण पर्यटक आगमनमा उल्लेख्य ह्रास भएको छ ।
बौद्ध धर्मालम्वी मुलुकहरु थाइल्याण्ड, म्यान्मार, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, चीन, जापान लगायतका मुलुकका पर्यटकहरुको मुख्य गन्तव्य लुम्बिनी हो । अन्य यूरोपेली तथा अमेरिकी मुलुकका पर्यटकहरुमध्ये केही लुम्बिनी जाने गरे पनि धेरै सोझै काठमाडौं, पोखरा, चितवन, मुस्ताङ्ग, जाने गर्दछन् । लुम्बिनी भ्रमण गर्ने पर्यटक संख्याको आधारमा श्रीलङ्का अगाडि छ ।
सन् २०१८ मा लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकहरुको कुल संख्या १५३४११० जनामा श्रीलङ्का सबैभन्दा बढी ३५.२९ प्रतिशत छ भने दोस्रोमा थाइल्याण्ड १५.७० प्रतिशत, तेस्रोमा म्यान्मार, १४.९१ प्रतिशत, चौथोमा चीन १०.८६ प्रतिशत र गणतान्त्रिक कोरिया ३.८२ प्रतिशत रहेको छ भने अन्य देशहरुको १९.४२ प्रतिशत रहेको छ । लुम्बिनीमा विदेशी पर्यटकको आगमनमा बृद्धि भएतापनि १० प्रतिशत पर्यटक पनि लुम्बिनीको होटलमा वास बस्दैनन् । सन् २०१८ मा १०८ मुलुकका नागरिकहरुले लुम्बिनी भ्रमण गरेतापनि आन्तरिक पर्यटकको संख्या भने ६.९ प्रतिशतले कमी आएको छ । देशमा सहज अवस्था तथा राजनीतिक स्थिरता हुँदापनि आन्तरिक पर्यटक घट्नु र वाह्य पर्यटकको न्यून बृद्धि हुनु पक्कै नै सकारात्मक मान्न सकिदैन । लुम्बिनी क्षेत्रमा पूर्वाधार बढ्न नसक्नु, गुणात्मक पक्षलाई ध्यान पु¥याउन नसक्दा पर्यटकहरुलाई लुम्बिनी बसाल्न र बसाई अवधि लम्ब्याउन सकिएको छैन ।
प्रदेश ५ सरकारले मुलुक कै उत्कृष्ट पर्यटकीय गन्तव्य लुम्बिनीलाई विशेष महत्व दिएर लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम अगाडी सा¥यो । भ्रमण वर्षको मुख्य उद्देश्य पर्यटक आगमन संख्या बढाउने र लुम्बिनीमा पर्यटकहरुको बसाई अवधि लम्ब्याउनु रहेको छ । उक्त भ्रमण वर्ष मनाउन प्रदेश सरकारले ४ करोड १९ लाख रुपैयाँ विनियोजन ग¥यो । उद्घाटन तथा समापन कार्यक्रमका लागि ८५ लाख, कार्यपत्र लेखनमा २० लाख, सरसफाई तथा डस्टविन खरिदमा २० लाख र ब्रोसर छपाईमा २० लाख खर्च गर्ने गरी विभिन्न शीर्षकमा बजेट छुट्यायो तर लुम्बिनी क्षेत्रका सरोकारवाला तथा जनप्रतिनीधिहरुसँग छलफल नै नगरी हतार हतारमा लुम्बिनी भ्रमण वर्ष मनाउने कार्यक्रम राख्दा प्रभावकारी हुनेमा शंका छ । लुम्बिनी जाने आउने बाटोको अवस्था बेहाल छ । बाटोको मर्मत तथा स्तरोन्नतिको कार्य द्रूत गतिमा नहँुदा पर्यटक आगमन संख्या मार परिरहेको छ । तर प्रदेश सरकारले लुम्बिनी क्षेत्रको पर्यटकीय पूर्वाधार तथा प्रवद्र्धनमा लगानी गर्नुको सट्टा भ्रमण वर्षको नाममा विभिन्न शीर्षकमा रकम विनियोजन गरी खर्च गर्नु राष्ट्रिय सम्पत्तिको सदुपयोग मान्न सकिदैन ।
चुनौती ः
लुम्बिनी क्षेत्रमा पर्यटकको अथाह सम्भावना र विगतको तुलनामा लुम्बिनी र आसपासमा पर्यटकको आगमनमा केही बृद्धि भएको देखिए तापनि यस क्षेत्रमा पर्यटन प्रचूर मात्रामा फस्टाउन सकेको छैन । विशेषगरी लुम्बिनी क्षेत्रमा पर्यटकहरुको लागि अत्यावश्यक सेवामा गुणस्तरीय बृद्धि गर्न सकिएको छैन । पर्यटन क्षेत्रबाट प्राप्त लाभ ग्रामीण क्षेत्रसम्म विस्तार गरी सामाजिक आर्थिक विकास गर्न पर्यटकीय पूर्वाधार, पर्यटकीय स्थलको संरक्षण र विकास, पर्यटकीय नयाँ गन्तव्यको पहिचान गर्ने, सम्पदाको अधिकरण रोक्न सकिएको छैन । जसले गर्दा धेरै संख्यामा पर्यटकहरु भिœयाई बसाई अवधि लम्ब्याएर बढी खर्च गराउन सकीरहेको छैन । किनकी लुम्बिनी क्षेत्रमा पर्यटन विकासमा धेरै नै समस्या छन् । यस क्षेत्रमा पर्यटन विकासका प्रमुख चुनौतीहरु निम्न छन् ः
प्राचीन सम्पदाहरुको बढ्दो अतिक्रमण रोक्न ।
नियमित सुरक्षित, भरपर्दो र सर्वसुलभ यातायात सेवा व्यवस्था गर्न ।
भैरहवा क्षेत्रीय विमानस्थलको निर्माण समय मै सम्पन्न गर्न ।
पर्यटन क्षेत्रबाट प्राप्त आय स्थानीय बासिन्दाहरुलाई लाभान्वित गराउन ।
पर्यटकीय पूर्वाधार निर्माणमा लगानी बढाउन ।
पर्यटकीय नयाँ गन्तव्यको पहिचान र सेवा सुविधामा गुणात्मक बृद्धि गर्न ।
पर्यटकहरुको बसाइ अवधि र खर्चमा बृद्धि गर्न ।
मौलिक कला संस्कृतिको संरक्षण र विकास गर्न ।
व्यवसायिक कुशल, इमान्दार र दक्ष जनशक्तिको विकास गर्न ।
सुविधा सम्पन्न होटल, लज र रेष्टुरेन्टको उचित व्यवस्था गर्न ।
पर्यटकीय सूचना प्रणालीको पर्याप्त व्यवस्था गर्न ।
लुम्बिनीलाई मुलुक कै पर्यटन हव बनाउने प्रक्रिया अगाडि बढाउन ।
नेपालीको मौलिक आतिथ्य र संस्कारलाई व्यवहारमा उतार्न ।
अन्तराष्ट्रिय मुलुकहरुमा नेपालप्रति परेको नकारात्मक प्रभाव हटाउन ।
लुम्बिनी क्षेत्रमा जथाभावी खुलेका प्रदूषणजन्य सिमेन्ट, इँट्टा लगायतका उद्योगहरु ।
लुम्बिनी आवतजावत गर्ने बाटोको मर्मत तथा स्तरोन्नतिको कार्य द्रूत गतिमा अगाडि बढाउन ।

समाधानको उपायहरु ः
लुम्बिनी र आसपासका क्षेत्रहरुमा पर्यटन विकासको अथाह सम्भावना र महत्वलाई मध्यनजर गर्दै कानुनी, संस्थागत, विकासात्मक र प्रवद्र्र्धनात्मक कार्य गर्दै जानु पर्दछ । पर्यटन क्षेत्रबाट प्राप्त फाइदाहरुको समुचित वितरण गर्ने संयन्त्रको निर्माण गर्ने र यस क्षेत्रका जनताहरुको जीवनस्तर उठाउने एक मात्र माध्यम बन्न सक्ने पर्यटनको विकासका लागि देहायका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्दछ । अवसर र सम्भावनाहरुको भरपुर उपयोग गरी राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई उल्लेख्य बढाउन सकिन्छ ।
पर्यटकयि पूर्वाधारमा लगानी बढाउने, लुम्बिनी आवतजावत गर्ने सडकको स्तरोन्नतिको कार्य तत्काल पूरा गर्न ।
सुरक्षित, भरपर्दो र सर्वसुलभ स्थल तथा हवाइयातायातको सुनिश्चित गर्ने । साथै भैरहवामा निर्माणाधीन अन्ताराष्ट्रिय विमान स्थलको निर्माण कार्य समय मै सम्पन्न गर्ने ।
हरियाली तथा पर्यावरणीय संरक्षणमा जोड दिने ।
परम्परागत मौलिक कला, संस्कृतिहरुको संरक्षण र प्रबद्र्धन गर्ने ।
पर्यटन सम्बन्धी मेला तथा महोत्सवहरुमा अन्तराष्ट्रिय स्तरमा सहभागिता गराउने ।
पर्यटन क्षेत्रमा स्थानीय बासिन्दाहरुको सहभागिता सुनिश्चित गर्ने ।
व्यवसायिक कुशल, इमान्दार र दक्ष जनशक्ति निर्माण गर्ने,
नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रबद्र्धन र बजारीकरण गर्ने ।
पर्यटकीय होटल, लज तथा रेष्टुरेन्टको गुणस्तरीयता कायम गराउन गुणस्तर मापदण्ड मूल्याङ्कन प्रणालीको विकास र विस्तार गर्ने ।
पर्यटकहरुको सुरक्षा ग्यारेन्टी गर्ने ।
पर्यटकीय तथ्याङ्क सूचना र जानकारी गराउन एकीकृत सूचना प्रणालीको विकास गर्ने ।
पर्यटकीय गन्तव्यहरुमा आधारभूत सेवा, सुविधा सहज पहुँच र पर्यटन सम्बन्धी क्रियाकलापमा जोड दिने ।
पर्यटकीय गन्तव्यमा मनोरञ्जनात्मक तथा सांस्कृतिक तथा प्रचारात्मक कार्यक्रम गर्ने ।
हाम्रो मौलिक संस्कार र आतिथ्यलाई व्यवहारमा उतार्नुपर्ने ।
लुम्बिनी र आसपासको क्षेत्रलाई पर्यटन हवको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने ।
भैरहवादेखि लुम्बिनीसम्म वातावरणीय प्रभावको मूल्याङ्कन नगरी जथाभावी खुलेका सिमेन्ट, इँट्टा लगायतका प्रदुषणजन्य उद्योगहरु त्यस ठाउँबाट स्थानान्तरण गर्नुपर्ने ।
शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्रहरु अथाह पर्यटकीय सम्भावना र महत्व भएको क्षेत्र हो । यसको समुचित विकास र प्रबद्र्धनका साथै प्रचारप्रसार गर्न सकेमा रोजगारी, आर्यआर्जनमा बृद्धि भई नेपाली जनताको जीवनस्तर उकास्न समेत सहयोग पु¥याउँदछ । यहाँ ग्रामीण पर्यटनको अझ महत्व छ । विशेष गरी लुम्बिनी र आसपासका क्षेत्रहरुमा गौतमबुद्धसंग सरोकार राख्ने लुम्बिनी, बुद्धका मूर्तिहरु, कपिलवस्तु, देवदह, आध्यात्मिक तथा धार्मिक स्थलहरु रहेका छन् । त्यसैगरी प्राकृतिक उपहारको रुपमा जगदीशपुर ताल, गजेडी ताल, नन्दभाउनु ताल, सत्यवती ताल, सुकेताल, आदि कैयन् कृत्रिम सरोवरहरु विद्यमान हुन् । पहाड, भित्री मधेश तथा मधेशको समिश्रण युक्त भौगोलिक संरचना, हरियाली तथा रमणीय प्राकृतिक क्षेत्रहरुले अतिथिहरुलाई लोभ्याउन सक्ने प्रचूर पूर्वाधार विद्यमान छ । विगत केही वर्ष यता यहाँको कला संस्कृति, भेषभूषा, रहन सहन आदि झल्कने र वैकल्पिक पर्यटक गन्तव्यको जानकारी दिने उद्देश्यले विभिन्न मेला महोत्सवहरु गरिदै आएको छ । प्रचार प्रसार विकास र पबद्र्धन कार्य जत्ति गरे पनि पुग्दैन । कार्यक्रम र खर्च गरेर मात्र सृजनशीलता प्रबद्र्धन हुँदैन । यसका लागि दूरदृष्टि र नविनतम् सोंचको खाँचो पर्दछ । पर्यटन एउटा क्रियाशील उद्योग हो । यसका लागि सदैव केही न केही नवीन कार्यहरु भइरहनु पर्दछ । पर्यटन एउटा सृजनशील उद्योगका साथै सामाजिक विज्ञान पनि हो । विश्व आर्थिक गतिविधि र समकालिन मानिसहरुको मनोविज्ञानलाई बुझन् सकेमा मात्र पर्यटनबाट सफलता हासिल गर्न सकिन्छ ।
पर्यटन उद्योगमा विविधता ल्याउन सांस्कृतिक, मनोरञ्जनात्मक खेल, साहासिक पर्यटकलाई जोड दिनुपर्दछ । पर्यटनलाई दीगो र भरपर्दो बनाउन पर्यटकको बसाइ अवधि लम्ब्याइ बढी आर्थिक लाभ लिन प्राकृतिक सौन्दर्यता, मौलिक आतिथ्य र संस्कार तथा जैविक विविधतालाई जोगाउनु पर्दछ । पर्यटन क्षेत्रमा देखिएका समस्याहरु समय मै समाधान खोज्नु पर्दछ । यी सबै गतिविधि सञ्चालन गर्न स्थानीय जनता र निजी क्षेत्रलाई विश्वासमा लिन सक्नु पर्दछ । यसो गर्न सकेमा विश्वासको वातावरण बनी पर्यटन क्षेत्रमा देखापरेका समस्या तथा चुनौतीहरु समय मै समाधान गर्न एथेष्ट लगानी जुट्छ र लुम्बिनी क्षेत्र मुलुक कै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्दछ । जसबाट नेपाल र नेपालीहरुको सदियौ देखिको चाहना मुलुकको समृद्धि र आर्थिक विकास पर्यटन क्षेत्रबाटै सम्भव हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार