त्रि.वि.को मानविकी सङ्काय अन्तर्गतका कार्यक्रमहरूको अवस्था

डा.घनश्याम न्यौपाने परिश्रमी
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा जेठो र विशालकाय विश्वविद्यालय हो । यस विश्व विद्यालयले अन्य विश्वविद्यालयहरूको जेठो दाजुको भन्दा पनि पिताको भूमिका निर्वाह गरेको छ । यसर्थ यसलाई नेपालका विश्वविद्यालयहरूको जनक मान्नु उपयुक्त हुन्छ । साँच्चिकै यो विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालय तथा उच्च शैक्षिक प्रतिष्ठानहरूको अभिभावकका रूपमा रहेको छ । २०१२ सालमा सङ्गठित भई २०१६ साल ज्येष्ठ १३ गते त्रि.वि. ऐन पारित भएपछि २०१६ साल आषाढ ३० गते शुक्लपक्षको नवमी तिथिका दिन विधिवत् रूपमा स्थापना भएको यस विश्वविद्यालयको वार्षिक जन्म दिवस अहिले पनि आषाढ शुक्ल नवमीका दिन मनाउँदै वा मान्दै आइएको छ । यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो गौरवपूर्ण पहिचानसहितको अस्तित्व कायम गरेको छ । वास्तवमा यो विश्वविद्यालय संसारकै ठूला विश्वविद्यालयहरूको पनि अग्र पङ्क्तिमा रहेको छ ।
त्रिभुवन विश्वविद्यालय वर्षका दृष्टिले अहिले झन्डै छ दशककोे प्रौढ विश्वविद्यालयका रूपमा प्रतिष्ठित छ । यस विश्वविद्यालयले मुलुकको आवश्यकता र विश्वको शैक्षिक जगत्का विविध आयाम समेतको अध्ययन, अध्यापन तथा अनुसन्धानका साथै क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उच्च जनशक्ति तयार गर्ने महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । नेपालका सन्दर्भमा आज पनि यस विश्वविद्यालयबाट उत्पादित उच्च शैक्षिक जनशक्ति नै अधिकांश क्षेत्रमा प्रयोग भइरहेको कुरा प्रस्ट छ । शैक्षिक, न्यायिक, प्रशासनिक, वित्तीय तथा प्राविधिक क्षेत्रमा यस विश्वविद्यालयबाट उत्पादित मानवसंसाधन नै आज अधिकांश रूपमा कार्यरत देखिन्छ । यस विश्वविद्यालयअन्तर्गत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा दक्षिण तराईदेखि उत्तर हिमाली प्रदेशसम्म विभिन्न क्षेत्रमा फैलिएर रहेका ६१( पहिले ६० वटा मात्र आङ्गिक क्याम्पसहरू थिए, गतवर्ष झापाको सुरङ्गा क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा लिइएको ) छन् भने १००० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस ÷कलेजहरू छन् । यी क्याम्पसहरूमा यस विश्वविद्यालयअन्तर्गतका करिब ९४ वटा प्राज्ञिक कार्यक्रमहरू सञ्चालनमा छन् । आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस ÷कलेजहरू, विद्यार्थीहरूको भर्ना सङ्ख्या, पठन पाठन हुने विषयहरू, चलअचल सम्पत्ति, शिक्षक, कर्मचारी आदिका आधारमा त्रिभुवन विश्वविद्यालयलाई विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयका रूपमा लिन सकिन्छ । यस विश्वविद्यालयले आफ्नो स्थापना कालदेखि नै नेपालको आवश्यकता बमोजिमको दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । राष्ट्र विकासका सन्दर्भमा त्रि.वि. ले आफ्नो स्थापना कालदेखि नै मूलतः सर्वसाधारण नेपाली जनताका छोराछोरीहरूलाई जुन ढङ्गले सस्तो र सुलभ हुने गरी शिक्षा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ त्यो आफैँमा उल्लेखनीय प्रशंसनीय छ ।
यस विश्वविद्यालयले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन तथा विश्वविद्यालयको प्राज्ञिक गरिमा र महŒवलाई उच्च राख्न सक्नुपर्दछ । समयचक्रका क्रममा यस विश्वविद्यालयका अगाडि अनेकौँ चुनौतीहरू पनि छन् । यस्ता चुनौतीहरूलार्ई चिर्दै नेपालको उच्च शिक्षामा अग्रगामी भूमिका खेल्नु यस विश्वविद्यालयको प्रमुख दायित्व देखिन्छ । अहिले पनि यस विश्वविद्यालयले मुलुकको करिब ८० प्रतिशत बढी उच्च शिक्षाको भार संवहन गरिरहेको अवस्था छ । वास्तवमा नेपालको हरेक क्षेत्रका लागि आवश्यक उच्च शिक्षामुखी मानवसंसाधन उत्पादनमा त्रि.वि.को योगदान अतुलनीय छ भन्दा अत्युक्ति हुँदैन । यस विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सन्दर्भमा आफ्नो साङ्गठनिक स्वरुपअन्तर्गत पाँचवटा अध्ययनसंस्थान, चारवटा सङ्काय, चारवटा अनुसन्धान केन्द्र, पचासवटाभन्दा बढी केन्द्रीय विभागहरू र १००० भन्दा बढी सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरूमा विभिन्न तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस विश्वविद्यालयबाट केही अध्ययनसंस्थानमा बाहेक प्रवीणता प्रमाणपत्र तह पूर्णतः विस्थापन (फेजआउट) भइसकेको वर्तमान अवस्थामा स्नातक, परास्नातक(पिजिडी), स्नातकोत्तर, दर्शनाचार्य(एम्.फिल.) र विद्यावारिधि(पि.एच.डी.) तहसम्मका अध्ययन अध्यापन र अनुसन्धानका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय त्रि.वि.का चार सङ्कायहरू (मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय) मध्येको सबैभन्दा ठूलो सङ्काय हो । यस सङ्काय अन्तर्गत स्नातक तहलाई विषयका आधारमा पाँच तहमा वर्गीकरण गरिएको र बिएतर्फ ४०वटा विषयका साथै बिएफए, बिएफएस, बिसिए, बिएसडब्लु रविदेशी विद्यार्थीका लागि विशिष्ट स्नातक(जुन हाल विश्वभाषा क्याम्पसमा मात्र सेमेस्टर पद्धतिअनुसार सञ्चालित छ) जस्ता आधुनिक विषयहरु थप गरी पठनपाठन भइरहेका छन् भने परास्नातक(पिजिडी)मा चारवटा, स्नातकोत्तर तहमा ३४वटा, एमफिलमा ७वटा र पिएच. डी.मा २५ वटा विषयहरूको पठनपाठन र शोध अनुसन्धान हुँदै आइरहेका छन् । यस सङ्कायमा शोधअनुसन्धानका विषय तथा क्षेत्रहरू पनि अन्य सङ्कायहरूका तुलनामा अधिक रहेका छन् । हिजोका दिनमा त्रिभुवन विश्वविद्यालयमा सर्वाधिक विद्यार्थीहरूको चाप यसै सङ्कायमा नै हुने गर्दथ्यो । वास्तवमा मुलुकको शैक्षिक, न्यायिक, प्रशासनिक, प्राविधिक तथा वित्तीय क्षेत्रमा यस सङ्कायबाट उत्पादित जनशक्ति नै प्रचुर मात्रामा खपत हुने गर्दथ्यो । तर प्रवीणता प्रमाणपत्र तह विस्थापन र स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भइसकेपछि यस सङ्कायमा क्रमशः विद्यार्थीहरूको चाप घट्दोे छ । वर्तमान अवस्थामा यस संकायअन्तर्गतका कतिपय विषयहरू (हिन्दी, संस्कृत, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि)मा विद्यार्थीहरूको सङ्ख्या अत्यन्त न्यून छ । केही क्याम्पसहरूमा त यी विषयमा विद्यार्थीहरू शून्य रहेको दयनीय अवस्था समेत छ । हिजोका दिनमा राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा अग्रणी भूमिका निर्वाह गर्दै आएको भए तापनि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको वर्तमान अवस्था सन्तोषजनक देखिँदैन । अहिले यस संकायअन्तर्गतका केही विषय साँच्चिकै सङ्कटको अवस्थामा छन् । अतः सम्बन्धित पक्षका लागि यो निकै चिन्ताको विषय नै बन्न पुगेको छ । यद्यपि यस वर्षको स्नातकोत्तर तहका केही विषयको प्रवेश परीक्षामा संलग्न विद्यार्थी सङ्ख्या विगतका वर्षहरुको तुलनामा वृद्धि भएको जानकारी मिलेको छ । यो खुसीको कुरा हो ।
त्रि.वि.का सर्वाधिक शिक्षकहरू यसै संकायअन्तर्गत कार्यरत छन् । विश्वविद्यालयले यस संकायका लागि ठूलो आर्थिक भार वहन गर्नुपरेको छ । तर विद्यार्थीहरूको घट्दो अवस्थाले अहिले आएर यस संकायको प्रतिष्ठामा नै आघात पुगेको अनुभूति हुन्छ । मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरूमा आजको परिप्रेक्ष्यमा विद्यार्थीहरूको आकर्षण किन घटिरहेको छ र विद्यार्थीहरू मानविकी तथा सामाजिक शास्त्रसँग सम्बद्ध विषयहरूप्रति उदासीन हुनाको कारण के हो भन्ने कुरा आज गम्भीर सवाल बन्न पुगेको छ । अतः यस विषयमा गम्भीर रूपले चिन्तन र बहस गर्नु तथा भावी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । यद्यपि विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रयत्न नगरेको होइन । तर पनि यी कार्यक्रमहरूको स्तरमा ह्रास देखिनु दुःखको विषय हो । यसको स्तरोन्नतिमा यसप्रकारका प्रमुख चुनौतीहरू छन् – १)प्रवीणता प्रमाणपत्र तह विस्थापन (फेजआउट) भइसकेपछि ११ र १२ कक्षामा मानविकी तथा सामाजिक शास्त्रसँग सम्बन्धित विषयप्रति शैक्षिक संस्थाहरूको बेवास्ता, अनास्था हुनु र यस्ता विषयहरूप्रति विद्यार्थीहरूको उदासीनता देखिनु, २)विद्यार्थी र अभिभावकहरूमा समेत यस्ता विषयको अध्ययनतर्फ रुचि न्यून हुँदै जानु, ३)अनुसन्धान वा प्रयोगात्मक कार्यलाई प्राथमिकता नदिइनु, ४)शिक्षकहरूलाई अनुसन्धानतर्फ प्रेरित नगर्नु तथा पुनर्ताजगीकरणका लागि समय समयमा गोष्ठी तालिम आदिको व्यवस्था नहुनु, भइहाले पनि औपचारिकतामा मात्र सीमित गर्नु, ५)शिक्षकहरूले आफ्ना विषयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा चिन्ता र चासो नदेखाउनु तथा चिन्तन नगर्नु, ६)विद्यार्थी तथा शिक्षक दुवै शैक्षिक गुणस्तर वृद्धितर्फभन्दा राजनीतिबाट प्रभावित र सञ्चालित हुनु, ७)सम्बन्धित विषयका विज्ञ÷ विशेषज्ञ तथा शिक्षकहरू यस्ता विषयको स्तरोन्नतिमा सक्रिय नदेखिनु, ८)विद्यार्थीहरूमा गाइड, तथा गेसपेपर पढेका भरमा उत्तीर्ण हुने विश्वास बढ्नु, ९)शिक्षकहरू(खास गरी आंशिक र करार)को चयन दलीय विचार र निगाहमा हुनु, प्रतिस्पर्धाका आधारमा नगरिनु, १०)शोधअनुसन्धानलाई अनिवार्य रूपमा पाठ्यक्रममा समावेश नगरिनु, गरे तापनि प्रयोगात्मक क्रियाकलापलाई प्रभावकारी नबनाइनु, ११)शैक्षिक कार्यक्रम तथा विषयहरू बजारको माग अनुकूलका नहुनाले उत्तीर्ण भइसकेपछि पनि रोजगारीका अवसर कम प्राप्त हुनेहुँदा विद्यार्थीहरूले यस्ता विषयको अध्ययनलाई प्राथमिकता नदिनु, १२) शिक्षण विधिमा व्याख्यान तथा नोट लेखाउने पुरानै पद्धति अद्यपर्यन्त कायमै रहनु, १३)विश्वविद्यालयीय उच्च निकायको समेत यस विषयमा अपेक्षा अनुसारको चासो नदेखिनु र १४)राज्य स्तरबाट पनि यस सङ्काय अन्तर्गतका विषयहरूको स्तरोन्नतिमा गम्भीरतापूर्वक नसोच्नु ।
उक्त चुनौतीहरुको समाधान खोज्दै अब त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा विद्यार्थीहरूको आकर्षण बढाउनु नितान्त आवश्यक भइसकेको छ । विद्यार्थीहरूलाई आकर्षित गर्ने सन्दर्भमा उक्त कार्यक्रमहरूको स्तरोन्नतिमा सर्वप्रथम ध्यान पुग्नु पर्दछ । आजको युग प्रतिस्पर्धाको युग हो प्रतिस्पर्धाका लागि स्तरीय शिक्षा चाहिन्छ । स्तरीय शिक्षाका लागि प्रथमतः पाठ्यक्रम स्तरीय हुनुपर्दछ । पाठ्यक्रम स्तरीय भएर मात्र पुग्दैन सोको प्राप्तिका लागि सोही अनुरूपको पठनपाठन र पाठ्यपुस्तक, सन्दर्भ ग्रन्थ आदिको प्रबन्ध हुनु पनि जरुरी छ । अझ बढी स्तरीय शिक्षाका लागि योग्य, कर्मठ र कर्तव्यपरायण शिक्षकको भूमिका सर्वाधिक अपेक्षित हुन्छ ।
निष्कर्षमा भन्नुपर्दा वास्तवमा आज त्रि.वि. भित्रको अध्ययन अध्यापनको पक्ष होस् वा प्रशासनिक आन्तरिक व्यवस्थापनको पक्ष होस् दुबै पक्षको सञ्चालन चुस्त दुरुस्त रूपमा हुन नसकिरहेको अवस्था छ । जबसम्म यस विश्वविद्यालयको प्रशासनिक संयन्त्र र त्यसको व्यवस्थापन पक्ष सशक्त बन्न सक्दैन तबसम्म स्वस्थ र स्तरीय शैक्षिक एवम् प्राज्ञिक क्रियाकलापको आशा गर्नु निरर्थक हुनेछ । विश्वविद्यालय भनेको उच्च शिक्षा सम्बन्धी यस्तो खालको प्रतिष्ठान हो जहाँ ज्ञान र विज्ञानका पाठहरु सिक्ने र सिकाउने तथा प्रयोग गर्ने र गराउने कार्य हुन्छ । ज्ञान सैद्धान्तिक भएर मात्र पुग्दैन व्यावहारिक पनि हुनु पर्दछ । ज्ञान सिक्नेले यी दुबै प्रकारका ज्ञान आर्जन गर्न इच्छुक हुनु पर्दछ भने सिकाउनेले पनि दुबै प्रकारका ज्ञान प्रदान गर्न सक्षम हुनु आवश्यक छ । यसर्थ गुणस्तरीय रूपमा ज्ञान प्रदान गर्नका लागि योग्य र दक्ष शिक्षकको आवश्यकता पर्दछ । अतः शिक्षकहरूलाई पुनर्ताजगीकरणका लागि तालिम दिइरहनु आवश्यक हुन्छ । व्यावहारिक ज्ञानका लागि शिक्षक र विद्यार्थी दुबै पक्षलाई अनुसन्धान कार्य अत्यावश्यक मानिन्छ । त्रि.वि. मा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातक र स्नातकोत्तर तहमा अनुसन्धान कार्यले अपेक्षित मात्रामा प्राथमिकता पाएको छैन । यसका लागि बजेटको उचित व्यवस्था पनि छैन । त्रि.वि. प्रशासन तथा राज्य दुबै पक्षको ध्यान यसतर्फ सकारात्मक ढङ्गले पुगेको पनि देखिँदैन । वास्तवमा उच्च शिक्षामा सरिक वा क्रियाशील रहने प्रत्येक व्यक्तिका लागि अध्ययन र अनुसन्धान जस्ता कुरा अपरिहार्य हुन्छन्. । अध्ययनलाई अनुसन्धानमुखी बनाउनु आजको युगीन आवश्यकता हो । यस सन्दर्भमा त्रि.वि. ले नीतिगत कुराहरू अगाडि सारेको भए पनि तिनलाई नियमन गर्न नसकेको स्पष्ट छ ।

यद्यपि नेपालमा अहिले विश्वविद्यालय वा सोसरहका शैक्षिक प्रतिष्ठानहरूले दर्जनको सङ्ख्या नाघेको अवस्था छ तापनि मुलुकका लागि उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख विश्वविद्यालयका रूपमा आज पनि त्रि.वि. को भूमिका नै अग्रणी र महŒवपूर्ण छ । यस विश्वविद्यालयले उच्च शिक्षाका क्षेत्रमा नेतृत्वदायी भूमिका नै खेलेको छ । यसर्थ त्रि.वि. मुलुकका लागि र कतिपय सन्दर्भमा अन्तर्राष्ट्रका लागि समेत आवश्यक उच्च शैक्षिक स्तरका जनशक्ति उत्पादन गर्ने प्रमुख केन्द्र नै हो भन्दा फरक पर्दैन । तर यस्तो विश्वविद्यालय अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र जस्तो महŒवपूर्ण सङ्कायको आजको अवस्था एकदमै सोचनीय छ । यो अवश्य पनि चिन्ताको विषय हो भन्ने कुरा सम्बन्धित सबै पक्षले गम्भीरतापूर्वक मनन गर्नै पर्दछ । यदि यस सङ्कायअन्तर्गत सञ्चालित कार्यक्रमहरूको स्तरोन्नतिका लागि समयमा नै दृष्टि पु¥याउन नसक्ने हो भने भोलिका दिनमा यो सङ्काय त्रि.वि. का लागि उपलब्धिहीन तर आर्थिक भार मात्र बहन गर्नु पर्ने निकाय हुनेछ । यसर्थ बेलैमा सोच्ने र यसको अस्तित्व बचाउन सचेतता र सक्रियतापूर्वक लाग्नु पर्ने समय आइसकेको छ । वास्तवमा एम.ए. र बि.ए. कार्यक्रमहरूको स्तरोन्नतिका लागि स्पष्ट खालको भावी रणनीतिक योजना निर्माण गरी त्यसको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र मानविकी तथा सामाजिक शास्त्र सङ्कायको साख भोलिका दिनमा पुनस्र्थापित हुन सक्नेछ ।
लेखक त्रिवि विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा पूर्वीय भाषा विभागका प्रमुख र नेपाली विषयका सहप्राध्यापक हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार