सिमसार क्षेत्र संरक्षण हुन सकेन

नेपालमा भएका नदिनाला, तालतलैया, पोखरीहरुमा पानीको मात्रा धेरै छ । सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने जमिन हो । जुन जमिनमा सामान्यतया दलदल अर्थात हिलो भै रहन्छ । राष्ट्रीय सिमसार नीति २०५९अनुसार सिमसार भन्नाले जलस्रोत वा बर्षाका कारण पानीको परिमाण रहिरहने, प्राकृतिक वा मानव निर्मित,स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानी भएको, धापिलो जमिन, दलदले जमिन,नदी बाट प्रभावित जमिन, ताल, पोखरी, जलभण्डार क्षेत्र र कृषि जमिन समेत जनाउँछ । सिमसार क्षेत्रमा विभिन्न किसिमका जीवजन्तु, पशुपंक्षी, कीटपतंग, रुखविरुवा आदी पाइने भएकोले पर्यावरणीय सन्तुलनको लागि सिमसार क्षेत्रलाई संवेदनशील मानिन्छ ।
नेपालमा ७ लाख हेक्टर सिमसार क्षेत्र रहेको छ । सन् १९८७ अप्रिलमा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गरेको छ । रामसार सुचीमा सुचिकृत नेपालका सिमसार क्षेत्रहरु मा कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, विसहजारी ताल चितवन, जगदिसपुर ताल कपिलवस्तु, घोडाघोडी ताल कैलाली, गोसाईकुण्ड रसुवा, शे–फोक्सुण्डो डोल्पा,सगरमाथा क्षेत्र सोलुखुम्बु, रारा ताल मुगु, माई पोखरी इलाम, फेवाताल लगायत वरीपरीका ९ ताल कास्की रहेका छन । नेपालका सिमसार क्षेत्रहरु मूलतः ताल र नदी किनारहरु धार्मिक, सांस्कृतिक एवं परम्परागत आस्थाका केन्द्रको रुपमा पनि प्रचलित छन् । इलामको माइपोखरी, जनकपुरका तालतलैया, मुक्तिनाथ र दामोदर कुण्ड, पाल्पाको सत्यवती, रसुवाको गोसाईकुण्ड, कैलालीको घोडाघोडी, डोटीको खप्तडपोखरी र मनाङको तिलिचो आदि यसको उदाहरण हुन् ।
नेपालमा झण्डै पाँच हजार ४०० को हाराहारीमा सिमसार क्षेत्र रहेको छ । जसले कुल क्षेत्रफलको २.६ प्रतिशत भू–भाग ओगटेका छन् । नेपालमा करिव पाँच हजार ताल, एक हजार ३८० जलाधार र पाँच हजार १८३ पोखरीहरु छन् । सीमसार क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ र बोटका लागि महत्वपूर्ण मानिन्छ । सिमसारमा अनगिन्ती सख्यामा जीवाणु, वनस्पति, कीटपतङ, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरु पाइन्छन् । जलवायु, भौगोलिक स्वरुप भूगर्भ र जल परिचालनलगायत भौतिक एवम् रासायनिक प्रक्रियाले सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाइन्छ । सिमसारभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई प्रकृतिको मृगौला भन्ने गरिन्छ । जमीनमा बग्ने सतहको भल सिमसारमा मिसिएपछि त्यसबाट बगाएर ल्याएका रासायनिक पौष्टिक तत्वहरु समेत सिमसारले सोसेर लिन्छ । यसले गर्दा शुद्धीकरण हुनुको साथै माछालगायतका जलचरलाई आहार प्राप्त हुन्छ ।
नेपालमा सिमसार क्षेत्र अत्यधिक उपभोगका कारण बिग्रँदै गएको छ । यो अत्यधिक चरण, जडीबुटी सकलन, पानीको प्रयोग र आवश्यकताभन्दा बढी दोहन थलोका रुपमा प्रयोग, प्रदूषणग्रस्त, धार्मिक पर्व, मेलापातमा तीर्थालुले जथाभावी पूजासामग्री विसर्जन गर्नु, वरपरका खेतमा रासायनिक मल तथा विषादी प्रयोगले सिमसार दूषित बन्दै गएको छ । बाह्य प्रजातिका माछा छाडिनाले स्थानीय जातका माछा विस्थापित हुन थालेका छन् । भूमि अतिक्रमणले सिमासार क्षेत्र हराउन थालेको छ । भूक्षय सिमसारका लागि अर्वुद रोगजत्तिकै खतरनाक भएको छ । वरपरबाट बगेर आउने भेलसँगै ढुङ्गा, बालुवा, पाङगो माटो थुप्रिएर सिमसार सुक्ने सम्भावना बढेको छ । सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ । सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर सिमसार क्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाइ दिन्छ ।
नेपालका सिमसारहरुको अवस्था सकंटग्रस्त बनेको र त्यसलाई संरक्षण नगर्ने हो भने जैविक विविधतामा ठूलो समस्या आउने संकेत देखिन थालेको छ । त्यसै पनि सिमसार क्षेत्रहरुको संरक्षणमा जुटनुपर्ने आवश्यकता देखिएको छ । जैविक विविधताको संरक्षण, जल, विज्ञान, पर्यटन, प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ । सिमसार लाखौँ, घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी कीरा र बोटविरुवाका लागि महत्वपूर्ण वासस्थान हो । जसले मानिसका लागि जीवनयापनको आधारसमेत प्रदान गरेको हुन्छ । वातावरणीय सन्तुलनका लागि मुख्य भूमिका निर्वाह गरिहेको सिमसार क्षेत्र सम्पूर्ण प्राणी एवम् वनस्पति जगतको अस्तित्व जोगाउने आधारभूत तत्व हो । सिमसारले पर्यावरणीय सन्तुलन, जलवायु परिवर्तन र जैविक विविधताको पर्यायको रुपमा लिने गरिन्छ ।
सिमसार क्षेत्रहरुमा गैँडा, बाघ, भालु, हात्ती, जरायो, मृग, बँदेलजस्ता वन्यजन्तु पानी पिउन आउने गरेको र साइबेरियाबाट समेत साइबेरियाली क्रेन चराहरु यहाँ आउने गरेका छन । कृषि उत्पादन,जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्वपूर्ण मानिन्छ । जलवायु, भौगोलिक स्वरुप,भूगर्भ र जल परिचालनलगायत भौतिक एवं रासायनिक प्रक्रियाहरुले गर्दा सिमसारहरुमा लाखौँ रैथाने तथा घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरु र बोटविरुवाको उच्चतम विविधता पाइन्छ ।
नेपालको ११ प्रतिशत जनसख्या पूर्णत सिमसार क्षेत्रमा निर्भर छन् । बोटे, दनुवार, माझीजस्ता २१ आदिवासी जनजाति समुदाय जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा नै आश्रित छन् । पछिल्ला वर्षमा सिमसार क्षेत्र नासिदै जाँदा त्यसको प्रत्यक्ष वा परोक्ष असर सिमसार क्षेत्रमा आश्रीत हुने समुदायलाई परेको छ । त्यो मात्र होइन कृषि उत्पादनमा समेत असर परिरहेको छ । सन् १९८० को दशकसम्म खाद्यान्न निर्यात गर्ने नेपालले अहिले करोडाँैको खाद्यान्न आयात गर्नु परिरहेको छ । नेपाल विश्वका भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औँ स्थानमा परेको छ । कृषि मन्त्रालयकाअनुसार सामान्य अवस्थामा पनि ४० जिल्लाको उत्पादनले वर्षभरि खान पुग्दैन । कृषिमा आधुनिकीकरण र दिगो उत्पादनका लागि पनि सिंचाइको पर्याप्त उपलब्धता जरुरी छ । जुन सिमसारको संरक्षणसँग सम्बन्धित छ । व्यावसायिकीकरण र आधुनिकीकरणको नाममा सिमसार क्षेत्र, माटो र वातावरणको ख्यालै नगरी रासायनिक मल र विषादीको जथाभावी प्रयोगले केवल क्षणिक उत्पादन दिएपनि त्यसले माटोको उर्वराशक्ति घटाउनुका साथै समग्र पर्यावरणलाई असर गरिरहेको छ ।
विश्वका लोपोन्मुख प्रजाति एकसिङ्गे गँैडा, साँेस, घडियाल गोही, अर्ना, ओत नेपालका सिमसारमा आश्रित र संरक्षित छन् । क¥याङकुरुङ, चखेवा, खोया हाँस, आइविस चराजस्ता सयौंँ घुमन्ते पंक्षी पनि हिउँदयाममा उत्तरी मुलुक रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपालका सिमसार क्षेत्रमा बसाइँ सरी आउँछन् । सिमसार संरक्षणले यस्ता दुर्लभ प्रजाति अवलोकनका लागि मात्र पनि नेपालमा बर्सेनि हजारौँ पर्यटक आउँछन् । यसले पर्यटनमा टेवा पु¥याउनुका साथै स्थानीयको जीविकोपार्जनमा समेत मद्दत गरिरहेको छ । तर पछिल्ला समय जलवायु परिवर्तन र सिमसार संरक्षण हुन छाडेपछि चरा र अन्य जीवको बासस्थानसमेत खल्बलिएको छ । बासस्थान र आहारमा आएको फेरबदलकै कारण बसाइँ सरेर नेपाल भित्रिने क¥याङकुरुङले बास बस्नै छाडेका छन् । जाडो सुरु हुनुअघि मंगोलियादेखि उड्न सुरु गर्ने क¥याङकुरुङ चीन, तिब्बत, माथिल्लो मुस्ताङ, धौलागिरि तथा नीलगिरि हुँदै भारत राजस्थानको किचनगाउँ र गुजरातको कच जाने गरेका छन् । जाडो छल्न बथानका बथान क¥याङकुरुङ भारतको राजस्थान र गुजरात जान्छन । तर बच्चा कोरल्न भने आफ्नै बासस्थान फर्कन्छन् । क¥याङकुरुङ अफ्रिका, टर्कीको एटलास माउन्टेन, काजकस्तान, चीन र रुसमा पाइए पनि ती चरा घुमन्ते जीवन बिताउछन ।
सिमसार क्षेत्र संरक्षण हुन सकेन भने जलवायु परिवर्तनमा समेत प्रभाव पार्दछ । हरितगृह ग्यासहरुको सोचन, तापक्रम नियमन र वर्षालगायत जलवायु प्रक्रिया परिचालनमा सिमसारको महत्वपूर्ण भूमिका हुन्छ । स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आवश्यकता बनेको छ । तर एकातिर नेपालका सिमसार क्षेत्र दिनानुदिन मासिंँदै छन् भने अर्कोतिर सिमसारको सदुपयोग हुनसकेको छैन । बढदो वन फँडानी, प्राकृतिक स्रोतको अतिक्रमणसँगै अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा किटनाशक विषादीको प्रयोग र जलक्षेत्रको अव्यवस्थित तथा अत्यधिक उपयोगका कारण सिमसारहरु नासिँदै गएका छन् । बाह्य तथा मिचाह प्रजाति जलकुम्भी, कुम्भीका, बेशरम, करौते, लहरे वनमारा आदिको सङक्रमणले सिमसार गम्भीर सकटमा परेको छ ।
सिमसार क्षेत्रको सम्बन्ध बहुआयामिक भएको हुनाले सिमसार संरक्षणको फाइदा बेफाइदा भन्नु भन्दा पनि सम्पूर्ण जीवको अस्तित्व जोगाइराख्ने कुरामा सिमसार क्षेत्र जोडिएर आउँछन् । पानीविनाको माछा मात्र होइन पानीविनाको अन्य जीवको अवस्था के होला ? गम्भीर हुनुपर्दछ, पानीविनाको जीव त पक्कै पनि सम्भव छैन र जीवको सम्भव नहुँदाको बखत पृथ्वीको समेत अस्तित्व जोखिममा पर्न सक्ने हुन्छ । सिमसार क्षेत्र व्यवस्थापनको लागि भइरहेका नीतिगत तथा संस्थागत प्रयासहरुको सशक्त समन्वय, सहयोग र साझेदारिता आवश्यक पर्दछ । आदिवासी जनजाति तथा स्थानीय समुदायहरुको भरपूर सहभागिताबाट मात्र सिमसार क्षेत्रहरुको उपयोग हुन सक्छ । सिमसारसँग सरोकार राख्ने सम्पूर्ण सरकारी, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रहरुबिच कार्यक्रममा दोहोरोपना आउन नदिन र ठोस उपलब्धि हात पार्न सहकार्य हुनु जरुरी छ ।
मुलुकभरका सिमसार क्षेत्रको पूर्ण विवरण सकलन गरी प्राथमिकता र सम्भाव्यताअनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ । सिमसार संरक्षण र दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय, संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी सिमसार क्षेत्रको संरक्षण गर्न जरुरी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार