फलफूल तरकारी परीक्षण

सरकारले असार २ गते प्रकाशित गरेको राजपत्रको निकासी पैठारी सम्बन्धी नीतिगत आदेशमा ताजा फलफूल तरकारी अनिवार्य परीक्षण गरेर मात्रै नेपालभित्र भिœयाउन परिपत्र गरेको छ । यसरी परिपत्र पठाएपछि भन्सार नाकामा आएका फलफूल र तरकारीहरु परीक्षण विलम्बको कारण कुहिन थालेका छन् । यस विषयमा विलम्ब नगरी छिटोछरितो परीक्षण गरी उपभोक्तालाई विषदीरहित स्वच्छ र स्वस्थ्य तरकारी फलफूलहरु नेपाली बजारमा आपूर्ति गर्नुपर्छ ।
नेपाल सरकारले गरेको यो निर्णय उपभोक्ताको हितमा छ । यसलाई हामीले स्वागत गर्नुपर्छ । तर नेपाली उत्पादन कम भई आयात गर्नुपर्ने वर्तमान अवस्थामा हामीले आयात गर्दा विचार गर्नुपर्छ । नेपाली बजारमा आयातीत तरकारी र फलफूलहरु विषदीरहित छैनन् जसले हामी र हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पारिरहेको छ । यस्तो अवस्थामा विषादी तरकारी फलफूल आयात गर्न रोक लगाउनुपर्छ । सरकारको यो निर्णय उपभोक्ता हित अनुकूल छ ।
अहिलेसम्म नेपाली बजारमा भारतीय तरकारी फलफूलहरुको निर्वाध आयात गर्ने व्यवस्था थियो । नेपाली बजारलाई भारतीय बजारजस्तै ठानेर पैठारी हुन्थ्यो । तर अहिले तरकारी फलफूल बोकेका गाडीहरु सीमानाकामा आएर रोकिन थालेका छन् । सरकारले तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दूमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गरेपछि भन्सारमै रोकिन थालेका छन् । यसलाई छिटोछरितो परीक्षणको लागि योजना बनाउनु पर्छ ।
तरकारी र फलफूल परिक्षणको लागि प्रविधि चाहिन्छ । त्यो प्रविधि भन्सार, क्वारेन्टाइन, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कसैसँग पनि छैन । तरकारी र फलफूल विषादी परक्षणका लगि आवश्यक पर्ने पेस्टिसाइड एनलाइसिस प्रोमोटोग्राफी मेसिन नभएपछि गाडीहरु भन्सारमै रोकिएका हुन् । भन्सामा गाडी रोकेर विषादीको परीक्षण गर्न काठमाण्डौ स्थित केन्द्रीय कार्यालयमा पठाइन्छ । यसो गर्दा गाडीहरु धेरै समयसम्म रोकिनु पर्छ । यसरी रोकिंदा तरकारी फलफूल कुहिन थालेको छ ।
यस्तो अवस्थामा सबै सीमा नाकाहरुमा परीक्षणको प्रबन्ध मिलाउनु पर्छ । सरकारले यो विषयमा केही काम थाल्न खोजेको भए पनि तत्काल यस्तो प्रबन्ध नहुन सक्छ । यसले नियमित रुपमा तरकारी बजारमा काम गरिहेका व्यापारीहरुलाई निराश बनाउन सक्छ तर विदेशको उत्पादन स्वदेशमा ल्याएर विक्री वितरण गरी जीविकोपर्जन गर्ने व्यापारीहरुले पनि अब मुलुककै उत्पादनमा जोड दिनु पर्छ । मुलुकको उत्पादनमा पनि विषादीको प्रयोग भए नभएको परीक्षण भने गर्नुपर्छ ।
नेपाल सरकारले गरेको यो निर्णयले एकतिर विदेशबाट ठूलो परिमाणमा तरकारी फलफूल आउन कम हुन्छ भने अर्कोतिर स्वदेशी उत्पादनलाई प्रोत्साहन हुन्छ । अब विदेशी उत्पादनलाई हतोत्साहन गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकता छ । यसै विषयलाई ध्यानमा राखेर निकासी पैठारीको नीति बनाउनु पर्छ । विशेषतः तरकारी तथा फलफूलजस्तो अति आवश्यक खाद्य पदार्थमा ख्याल गर्न नसके मुलुकमा रोग ब्याधीले आक्रान्त पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार