हाम्रा शहर सफा हुनु अघि

पद्मप्रसाद शर्मा
नेपाललाई सन २०१७ सम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष राज्यद्वारा लिइएको थियो । विविध कारणले सम्भव भएन । खुला दिसा मुक्त क्षेत्र घोषणा गराउनका लागि दिलो ज्यानले लाग्नेहरु आ आफ्नो ठाउँमा लागेकै हुन् । सबै ठाउँमा एकै व्यक्ति वा एकै समूह लागेर सम्भव हुने रहेनछ । यो विगतले सिकाएको कुरा हो । यो अभियानमा लाग्नेहरु भित्र पनि कतै खोट छ कि भनेर यसको पनि मूल्याङ्कन गर्न जरुरी रहेछ । हामीकहाँ धेरै खोटको बारेमा जान्ने, बुझ्ने र मूल्याङ्कन गर्ने चलन छैन । बरु यसको साटो सत्यताको नजिक टाढा जे सुकै भए पनि खुराफाती कुरा गर्ने बानीको विकास भएको छ । मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गराउनका लागि केही समय पहिले राज्यले पनि अठोट गरेकै हो । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०६८सालमा सरसफाई गुरु योजना सार्वजनिक गर्नु भएको हो । उहाँले सार्वजनिक गरेको गुरुयोजनामा समन्वय गर्ने आठवटा संयन्त्रहरु थिए । ती हुन्ः
(१)भौतिक योजना तथा निर्माण मन्त्रालय
(२)अर्थ मन्त्रालय
(३) स्थानीय विकास मन्त्रालय
(४) शिक्षा मन्त्रालय
(५) स्वस्थ्य तथा जनसंख्या मन्त्रालय
(६)राष्ट्रिय योजना आयोग
(७)बाल बालिका तथा समाज कल्याण मन्त्रालय र
(८) वातावरण मन्त्रालय ।
यसरी आठवटा क्षेत्रलाई समन्वको जिम्मेवारी दिए पछि विभिन्न समन्वय समितिहरु पनि गठन भए जस अनुसार (१)केन्द्रमा राष्ट्रिय सरसफाइँ समन्वय समिति त्यस देखि यता (२)क्षेत्रीय खानेपानी,सरसफाई तथा स्वच्छता समन्व समिति (३) जिल्ल खानेपानी,स्वच्छता समन्वय समिति (४)न.पा र गावि.स.खानेपानी तथा स्वच्छता समन्वय समिति र (५)वार्ड स्तरीय खानेपानी स्वच्छता समन्य समिति । यी सबै समितिहरु परिचानलन गरी गा.वि.स तथा नगर पालिका तहमा साथै विद्यालय अनि समुदाय तहमा कार्यक्रम सञ्चालन गर्ने भन्ने थियो । सम्माननीय राष्ट्रपतिका हातबाट सरसफाई गुरु योजना सार्वजनिक हुँदा त्यहाँ उपस्थित सबैले हात उठाएर मुलुकलाई खुला दिसा मुक्त क्षेत्र बनाउने वाचा गरेको पनि हो तर निर्धारित समयमा नेपाललाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कामकुरा सम्भव भएन । यो सम्भव नहुनुका कारण विस्तारै खोज्दै जानु पर्दथ्यो । तर कारण खोजिएन किन ?राज्यले जसरी अठोट गरेको थियो त्यो अठोटमा राज्य किन चुक्यो ? र कहाँनेर चुक्यो ?भन्ने बारेमा विश्लेषण हुन जरुरी थियो । किनभने कुनै स्थानमा राजमार्ग निर्माण गर्नु भन्दा सरसफाइको कुरा हजार गुणा महत्वको हुने गर्दछ । जति जिल्लाहहरु खुला दिसा मुक्त क्षेत्र घोषणा भए ती जिल्लाहरुमा पनि धेरैले सकारात्मक कुरा गरेको अवस्था होइन । धेरैका नकारात्मक कुराहरु सुनिएका हुन तर नकारात्मक कुरा सुन्दा सुन्दै पनि अहिले प्रतिशतको कुरा गर्दा धेरै प्रतिशत सफल भएको मान्नु पर्दछ । जुन जिल्लाका जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिसम्मका समितिहरु आत्ममूल्याङ्कनका साथ काममा लागे अनि मात्र ती जिल्लाहरु सफल भए कतिपय जिल्लामहरुमा कामले नभएर कुराले एकले अर्कालाई उछिन्ने प्रवृत्ति बढेर गयो अनि सम्भव भएन ।
हाम्रा गाउँ शहरको सरसफाई भन्दा पहिले गाउँ सहरमा बस्ने मानिसका मन सफा हुनुपर्दछ । मन भन्दा अझ पहिले राजनीति सफा हुनु पर्दछ । राजनीति सफा नभएर मन सफा हुँदैन, त्यस्तै मन सफा नभएर राजनीति सफा हुँदैन । यी दुबै एक अर्काका पूरक हुन । सफा मन भएकाहरु राजनीतिमा सहभागि भए भने राजनीति सफा हुन्छ राजनीतिको नीति सफा भयो भने त्यस्मा लाग्नेहरु पनि सफा भएर सामेल हुने गर्दछन । हामीकहाँ राजनीतिमा लाग्नेहरु पनि धेरै सफा मन भएका भएनन र सफा मन भएकाहरुले राजनीतिमा सहभागिता जनाएनन् जस्तो लाग्दछ । जुन स्थानमा राजनीति र मन दुबै स्वच्छ भएकाहरु लागे वा अस्वस्थ मन भएकाहरुलाई स्वस्थ राजनीतिले परिमार्जन हुने प्रेरणा दियो वा धेरै स्वच्छ मनहरुले राजनीतिलाई स्वच्छ बनाए यही कुरा भन्न सकिन्छ ।
राजनीतिलाई धेरैले फोहरी खेल भन्ने गर्दछन । के यो फोहरी खेल हो ? राजनीति फोहरी खेल नहोला तर यसमा संलग्नहरु त सफा देखिनु पर्दछ । राज्यले एक पटक अठोट गरिसकेको कुराबाट पछाडि हट्न मिल्दैन । यसरी पछाडि हटनु पनि फोहरी खेल हो । राजहठ,बालहठ यस्तै यस्तै के के हठका कुरा गर्ने गरिन्छ । जबकी एउटा बालकले आफूलाई मनमा लागेको कुरा पाउनका लागि हठ गर्दछ । आफ्नो माग पुरा नभएसम्म उ रोएर हुन्छ कि कराएर हुन्छ कि माटोमा लडीबुडी खेलेर हुन्छ कि उसले सबै उपायहरु अपनाउँछ अनि मात्र उ त्यो वस्तु पाउन सफल हुन्छ । तर हाम्रो राज्यको कार्य देख्दा विडम्बना भन्नु पर्दछ । एक दिन एउटा सरकारले अठोट गर्छ अनि छ महिनामा त्यो सरकारलाई ढाल्नतिर प्रयत्न गरिन्छ । विद्यमान सरकार ढल्यो भने त्यसले गरेका सबै अठोटहरु पनि ढल्न पुगेको अवस्था हुने गर्दछ । राज्यले गर्ने अठोट सरकार परिवर्तन हुँदैमा वा पार्टी परिवर्तन हुँदैमा फेरबदल हुनु राम्रो हुँदैन । यो अठोट पार्टीको वा एउटा सरकारको होइन । यो अठोट राज्यको हो । राज्यकको अठोट मूल कुरा हो भने पार्टीको वा सरकारको अठोट दोश्रो कुरा हो । यसरी राज्यले अठोट गर्ने र पुरा गर्न तर्फ नलाग्ने हो भने राज्यले गर्ने अठोटमा विश्वास हुँदैन । पार्टी वा दलको स्वार्थ र नागरिकको स्वार्थ भन्दा भिन्न कुरा हो । राजनीति गर्नेहरु सत्ता प्राप्तिको कुरा लिएर तानातान गर्ने गर्दछन् । चलिरहेको सरकार ढाल्नुको अर्को कुनै कारण नेपालमा अहिलेसम्म देखिएको छैन । उसले भन्दा आफूले राम्रो गर्छु भनेर होइन । आफू र आफन्तको जामा फेर्नका लागि मात्र सरकार ढाल्ने र बनाउने खेल हो भन्ने बुझिन्छ । दलको चेतना एकातिर हुन्छ भने नागरिकहरुलाई त्यो तानातानमा केही चासो हुँदैन । उनीहरुको त्यो तानातानमा कुनै स्वार्थ लुकेको हुँदैन । त्यसैले उनीहरुले चासो पनि गर्दैनन् । कालो गएर गोरो आउनुमा तात्विक भिन्नता हुँदैन । कालो गएर कालो आएमा पनि बानी व्यहोरामा फरक भएको आउनु पर्दछ । अनुहार फरक भएको भन्दा पनि आनीवानीमा फरक हुनुपर्दछ । नागरिकले चाहेको यही हो ।
राज्यले लिएको अठोटकै मिति सन २०१७मा नेपाललाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सक्नु पर्दथ्यो । खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्र हुँदैन । हामी पूर्ण सरसफाइ अभियानका साथ अगाडि बढेका छौं र बढ्न अति आवश्यक पनि छ । कास्कीबाट आरम्भ भएको हाम्रो अभियान अहिलेम्म जम्माजम्मी ६५जिल्ला घोषणा हुन सम्भव भएको छ । यसरी हेर्दा देशको राजधानी जस्तो ठाउँ काठमाडौ जिल्ला नै घोषणा हुन नसकेको अवस्था छ । राजधानी भएको जिल्ला नमुनाकै रुपमा पहिलो नम्बरमा घोषणा भएको हुनु पर्दथ्यो । हाम्रो राज्यले अहिले सन २०२०सम्म नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने भनेको छ । यो दोश्रोपटक आएको अठोटमा पनि पूराहुने कुरामा आशंका गर्ने धेरै ठाउँहरु छन् । किनकी पहिलो पटक घोषणा हुनका लागि सम्माननीय राष्ट्रपति रामवरण यादव ज्यूकै मुखारविन्दबाट घोषणा भएको कुरा हो । त्यहाँ उपस्थित सबै जिम्मेवार व्यक्तिहरु हुनुहुन्थ्यो । राज्यका जिम्मेवार व्यक्तिहरुका हातहरु एकापसमा जोडिएका थिए । ती हातहरु खेलवाडमा उठेका होइनन् । निर्धारित समयमा मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा जसरी पनि हुनु पदथ्यो । सरसफाई गर्ने कुरा पहिले पनि भनियो यो कुनै राजमार्ग निर्माण गर्नु भन्दा हजार गुणा ठूलो कुरा हो । ठूलो नदीमा पुल बनाउनु भन्दा खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु (यसभित्र शौचालय निर्माण गर्नु र उचित प्रयोग गर्नु ,स्वच्छ खानेपानीको ब्यवस्था गर्नु आदि)अझ ठूलो र राम्रो कुरा हो । नदीमा पुल नबन्ने सम्म वर्षमा एक दुईजनाको ज्यान जाने हो तर दिसा खुला भयो र पानी स्वच्छ भएन भने त्यसबाट फैलने रोगले एकै पटकमा सयौं नागरिकको ज्यान जान सक्छ । यसकारण पुल भन्दा पहिले शौचालय निर्माण र उचित प्रयोगको कुरा प्रमुख भनेको हो । पुल आवश्यक छैन भनेको होइन । तुलनात्मक रुपमा मात्र शौचालय निर्माण र उचित प्रयोग अनि पानीको स्वच्छताको कुरा प्रमुख भनिएको हो । खुला दिसामुक्त क्षेत्र घोषणा पूर्ण सरफाईको एउटा पाटोमात्र हो । यसको सम्पन्नता लगत्तै पूर्ण सरसफाइको कार्यलाई अगाडि बढाउनु पर्दछ ।
यतिबेलासम्म बाग्मतीमा धेरै पानी बगिसकेको छ । अर्थात हामीले लिएको अठोटको समयमा पनि दुई वर्ष बिती सकेको छ । अझ एक वर्ष म्याद थप्ने प्रयास भइरहेको छ । यो मिति भन्दा यता समय थपिनु हुँदैन । राज्यले अठोट गर्नु पर्दछ र त्यसमा दिलोज्यानका साथ पूरा गर्न तर्फ राज्य लाग्नु पर्दछ । राज्यको अठोट केटाकेटी घरपुली खेलेको खेल होइन । मुलुक सफा स्वच्छ राख्नका लागि फोहर राजनीति र फोहर मनले हुँदैन । अव हाम्रा सहरहरु सफाहुनु अघि राजनीति र राजनीति गर्नेहरुको गम्भिर रुपमा ध्यान जानु पर्दछ त्यस अघि हामी सबैका मन सफा हुन जरुरी छ । अनिमात्र हमीले हाम्रा गाउँ सहर सफा राख्न सक्ने छौं । धन्यवाद !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार