‘प्रधानमन्त्री रोजगार ः योग्यता र सीपमा खेलाँची’

कपिल ज्ञवाली
बुटवल। एघार जनाको समुह रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयामिलदेखि डाइभरटोलसम्मको सडक छेउमा झार गोडमेल र सरसफाइमा ब्यस्त छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक छेउको ग्रिनरीमा यहि असार १ गते देखि गोडमेलको काम शुरु गरिएको हो ।

गेडमेलकै क्रममा तिलोत्तमा वडा न ४ भक्तपुरको कृष्ण जिसीपथकी २० बर्षिया सिर्जना भुर्तेल पनि भेटिइन् । बुटवल हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसबाट भर्खरै कक्षा १२ को परिक्षा दिएपछिको फुर्सदको समयमा यहि समुहका अन्य १० जनाजस्तै भुर्तेलपनि दिनहुं ८ घण्टा काममा खटिन्छिन् ।
हिजो जस्तो काम पाइएला भन्ने उनको मनमा थियो तर आज अस्वभाविक काम गर्नुपरेपछि उनी खुसी र सन्तुष्ट बन्न सकेकी छैनन् ।
अमिलो मन गरेर सिर्जना काममा त खटिएकी छन् तर उनको मनको प्रश्नको जवाफ भने भेटिएको छैन ।

आइटिक्षेत्र,कम्प्युटर वा शिक्षण पेशा उनको मनपर्ने काम हो ,उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भर्दा आफ्नो योग्यता,क्षमता र चाहनाको बारेमा सबै भरेर पठाएको बताइन् ।
‘राज्यले रोजगारी त दियो तर हामी जस्ता युवाको उचित मुल्यांकन भने गर्न सकेन ।’ उनले भनिन् । ‘फारम भर्दा सबै कुरा उल्लेख गरेकी थिएं अहिले काम सडकमा गर्नुपर्यो , के गर्नु के छाड्नु खै ’उनले गुनासो सुनाइन् ।’

तिलोत्तमा नगरले खटाएको काममा यो समुहमा स्थानीय सिर्जना भुर्तेल,कुलानन्द अर्याल,देबि गिरी,भरत कोइराला,जमुना गिरी,पार्वती बिक,देबी गिरी, बिष्णु परियार,कोपिला चालिसे,कमला परियार र लक्ष्मी बिक छन् ।एकातिर योग्यता,सीप,क्षमता छाडेर अर्काेतिर काम गर्नुपर्दा यहा सहभागि अधिकांशको चित्त बुझेको छैन ।

तिलोत्तमा ४ बिष्णुपुरकी ३९ बर्षिया देबी गिरीले पनि दैनिक ज्यालादारीमै काम गरेकी छन् तर उनलाइ दैनिक कति ज्याला पाइन्छ भन्नेसम्म पनि जानकारी छैन । सजिलो काम पाइएला भन्ने थियो तर चर्काे घाममा सडकमा काम गर्न निकै समस्या भएको उनको भनाइ छ ।उनी भन्छिन्—‘हामी खुसी छैनौं,त प्रयाप्त ज्याला छ न त हाम्रो पढाइको मुल्यांकन भो ।’ श्रमको सम्मान भएको छैन,अहिलेसम्म हामीलाइ दैनिक ५१५ दिने भनिएको छ,कति दिने हुन् खै त्योपनि थाहा छैन ।’

स्थानीय ४४ बर्षिय कुलानन्द अर्यालले सडकमा झार गोडेर दिन बिताउनु परेको भन्दै आफुले जानेको सीप प्रयोग गर्न नपाएको गुनासो सुनाउंछन् ।
३० दिनको रोजगारी दिएर मात्रै आफुहरुलाइ नहुने काममा खटिएकाहरुको भनाइ छ । कतिपयले यहि काम निरन्तरता दिन पाए आफुहरु बेरोजगार भएर बस्नु नपर्ने बताउछन् । सामान्य लेखपढ मात्रै जानेकी स्थानीय कमला परियारले भनिन्—‘घर फाल्टु बस्नु भन्दा यहि काम प्यारो छ ,एक महिनापछि पनि हामीलाइ काम दिनुपर्छ ।’

श्रमशक्तिको स्वदेशमै पूर्ण उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने सरकारको दीर्घकालीन सोच छ । मुलुकका ७ प्रदेश र ७५३ वटै स्थानीय तहहरु मार्फत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रमबारे असन्तुष्टि र आलोचना बढिरहेका प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले भने बेला यस्ता कार्यक्रमले नै मुलुकलाइ समृद्धिको दिशामा लैजाने दाबि गर्छन् ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ कतिपयले खिसिट्यूरे गरेका छन्,यो त राष्ट्रिय जागरण हो,अहिले यस्को परिणाम होइन,समृद्धिका लागि यहि नै उत्तम उपाय हो ।’

केसीले भने—‘यस्ले गांउगांउमा मान्छेलाइ युनाइट बनाएको छ ,यस्ले नया तरंग ल्याएको छ यस्लाइ सिखीट्युरे गर्ने बेला भएको छैन ।’चैत्र २८ २०७५ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकामा १ हजार २८ जनाले आवेदन भरेका थिए । त्यसमध्ये ७ सय ७२ जनाको मात्र रित पुगेको थियो त्यसबाट पनि ३ सय १६ जना पहिलो चरणमा छनौटमा परेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको भनाइ छ ।

‘सकेसम्म फारम भरेर छनोटमा पर्ने सबैको मुल्यांकन गरेरै काम दिइएको हो,पहिलो चरणमा भएकाले पनि भनेजस्तो काम सबैले पाउन सकेका छैनन्,हामी कोशीषमै छौं’ उनले भने ।छनौटमा परेकाहरु छनौट भएका बेरोजगार युवायुवतीलाई सडक निर्माण तथा मर्मत,कृषि तथा सिंचाई,गार्मेण्ट, खानेपानी,स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिए अनुसार बिभिन्न क्षेत्रमा काममा लगाइएको छ ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ ।नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समेत समावेश गरेको छ ।
सरकारले थालेको रोजगारीको अभियानलाइ सार्थक र अझै प्रभावकारी बनाउन श्रमबजारमा खटिनेहरुको योग्यता,सीप र क्षमताको पनि उचित मुल्यांकन हुन भने जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार