विश्व रक्तदान दिवस मनाइयो

अस्ति १४ जुनको दिन विश्व रक्तदान दिवस मनाइयो । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रमसहित रक्तदानको महत्वबारे जानकारी दिने खालका ¥याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन यो दिवस मनाइन्छ ।
संसारमा विभिन्न जाति, धर्म वर्ग र सम्प्रदायका मानिस् छन । ती मानिसहरुका हरेक कुराहरु एक अर्कासँग मिल्दैन । तर संसारका सबै मानिसमा मिल्ने एउटा पदार्थ छ, त्यो हो रगत । जुन हरेक मानव शरीरको नसा नसामा बगिरहेको हुन्छ । रगतकोष समीश्रणबाट बनेको हुन्छ । रगत कुनै देश, जाति, राज्य र धर्म एवं सम्प्रदायको को छुट्टा छुट्टै हुन्न । कुनै जात अर्थात जनजातिहरुको शरीरको कुनै भाग काटेपनि रातै रगत बग्छ । रगतको रङमा मात्र हैन गुणमा पनि समानता पाइन्छ । एउटा जाति अर्थात कुनै मानिसको ज्यान रगतले बचाउन सक्छ । अर्को अर्थमा भन्नु पर्दा एउटा बाहुनको ज्यान दलितको रगतले बचाउन सक्छ अनि एउटा हिन्दुको ज्यान मुसलमानको रगतले बचाउन सक्छ । त्यसैले मानिसलाई रगतको आवश्यकता पर्दा रगत कुन जातिको हो, कुन वर्गको हो भनेर सोध्ने गरिन्न । त्यतिखेर रक्तदातको रगतको गु्रप कुन हो ? उक्त रगत शुद्ध छ कि छैन ? रगतमा आवश्यक पदार्थहरु छन् कि छैनन् ? रक्तदाताको शरीरमा प्रेसर, सुगर, हेपाटाइटिस, मलेरिया एचआइभी एड्स जस्ता रोग लागेका छन् कि छैनन् ? भन्ने कुराहरु मात्र हेरिन्छ । जसको लागि प्रयोगशालामा परीक्षण गर्नु पर्दछ ।
रगतका प्रकारहरु र यसको आयु रगतका सयभन्दा बढी गु्रपहरु हुन्छन् । नेपालको सन्दर्भमा विभिन्न प्रयोगशालाहरुले आर एच र एबिओ मिलाएर रगतलाई मुख्यतः ८ समूहमा विभाजन गर्ने गरेको पाइन्छ । जसमध्ये ओ नेगेटिभ समूहको रगत थोरै व्यक्तिमा पाइने हुँदा प्रायः यो समूहको रगतको जहिले पनि अभाव नै खड्किरहेको हुन्छ । ओ पोजिटिभ समूहको रगत ओ नेगेटिभ समूह बाहेक प्रायः अन्य सबै समूहलाई मिल्ने हुँदा यो समूहलाई यूनिभर्सल डोनर भन्ने गरिन्छ । भने एबी पोजिटिभ समूहको रगत चांहि जुनसुकै व्यक्तिले लिन सक्ने हुँदा यो समूहलाई यूनिभर्सल रिसिप्टेन्ट भन्ने गरिएको छ । सामान्यतया रगतमा पनि डब्लुबिसीको आयु एक हप्ता आरबिसीको आयु एकसय बीस दिन र प्लेटलेटसको आयु दुईदेखि तीन हप्तासम्म हुन्छ । रक्तसञ्चार केन्द्रमा राखेको रगत यदि माथि उल्लेखित अवधिमा प्रयोग नगरिएमा फाल्नुपर्ने हुन्छ । रक्त सञ्चार केन्द्रले रगतमा हुने पदार्थ मध्ये रगतलाई विभिन्न समूहमा विभाजन गरी वितरण गर्दछ । जस्तो कि कुनै विरामीलाई आरबिसी आवश्यकता हुँदा त्यही मात्र र डब्लुबिसी मात्र आवश्यकता हुँदा त्यही मात्र उपलब्ध हुने गरी तयार गरेको हुन्छ भने कसैको रगतमा एक्कासी प्लेटलेटसको मात्रा कमी भई उपचारको क्रममा प्लेटलेटसमात्र चाहिएमा प्लेटलेटस मात्र उपलब्ध गराउँछ ।
रक्तदान गर्न योग्य व्यक्ति रक्तदान गर्न चाहने रक्तदाताको उमेर १८ वर्षदेखि साठी वर्ष बीचको हुनुपर्दछ भने तौल ४५ केजी अनिवार्य हुनुपर्दछ । रक्तदान गर्ने मानिसको वजन ४५ के.जि. भन्दा माथि हुनु पर्दछ । ब्लड प्रेसर ११०. ७०–१६० ÷९५ मि.मि. मर्करी हुनु पर्दछ । त्यसैगरी रक्तदान गर्ने मानिसको हेमोग्लोविन १२ ग्राम अथवा यो भन्दा माथि हुनु पर्दछ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो कृयाशील अवस्थामा हुनु पर्दछ । जण्डिस, मलेरिया, टाईफाइड, एडस, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृगौलाको रोग, हेपाटाइटिस जस्ता रोगीहरुले रक्तदान गर्न हँुदैन ।
रगतको व्यवस्थापन गर्ने कार्यालयलाई रक्त सन्चार केन्द्र भनिन्छ । नेपाल रेडक्रसद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र नेपाल रेडक्रस सोसाइटिको केन्द्रीय कार्यालय काठमाण्डौमा रहेको छ । नेपाल रेडक्रसले ६२ जिल्लामा १०० स्थानमा रक्त सञ्चार सेवाकेन्द्र स्थापना गरेको छ । रक्त सञ्चार सेवा केन्द्रलाई सहज तरिकाले रगत उपलब्ध गराउन स्वयंसेवी रक्तदाताहरुको संगठन ब्लड डोनर्स एसोसिएसन पनि गठन भएको छ । केही अस्पताल बाहेक अधिकांश अस्पतालमा ब्लड बैंक छैनन् । यतिखेर रक्तसञ्चार केन्द्रलाई देशमा माग भइरहेको रगतको सहज ढंगले आपूर्ति गर्न कठिनाइ परिरहेको छ । प्रायजसो समयमा रगतको अभाव नै भइरहेको समाचारहरु सुन्नमा आइरहेको पाइन्छ । नेपालका अधिकांश मानिसहरुमा रक्तदान सम्बन्धी चेतना नहुनु र रक्तसञ्चार केन्द्रसँग रगत सङ्कलन गरेर राख्न सक्ने क्षमता कम भएकाले समय–समयमा रगतको अभावका हुने गरेको छ ।
विभिन्न खाले क्यान्सर मुटुरोगको शल्यक्रिया, प्रसुति दुर्घटनामा परेका बिरामीहरुका लागि बढी रगत आवश्यक हुन्छ । त्यस्ता अपरेशनहरु गर्दा विरामीको शरीरबाट धेरै रगत बग्ने गर्दछ र कम्तीमा एक पाउण्ड देखि बढीमा आठ दश पाउण्डसम्म रगतको जोहो गरेपश्चात मात्र डाक्टरहरुले अपरेशन गर्न शुरु गर्छन । मुटुको अपरेशन गर्दा भने फ्रेस रगत पनि चाँहिने हुन्छ । फ्रेस रगत तत्काल ठीक पारेर रगतका सबै परीक्षण गराए पछि मात्र अपरेशन शुरुगर्नु पर्ने हुन्छ । यसरी अपरेशन गरेको व्यक्ति मध्ये पनि केश हेरेर केहीलाई तीन चार दिनसम्म पनि लगातार रगत दिनुपर्ने हुन्छ ।
रक्तदान बारे आम नेपालीको धारणा आम मानिसलाई जीवनमा रक्तदान गर्नु पर्दछ । रगतले मानिसको जीवन बचाउँछ भन्ने कुराको भान त्यतिखेर मात्र हुन्छ । जतिबेला उसको आफन्त वा एकदमै नजिकको प्रिय मानिस रगतको अभावमा मृत्युशैयामा छटपटाइ रहेको हुन्छ र एक पाउण्ड रगतको लागि उसले यत्रतत्र भौंतारिदै कुद्नु परेको हुन्छ । वास्तवमा जीवनमा कहिल्यै रक्तदान नगर्ने व्यक्तिलाई रगतको आवश्यकता भएको समयमा पाइएन भनेर गुनासो गर्ने अधिकार नै रहन्न । गुनासो गर्नु अघि उसले आफ्नै मनलाई प्रश्न गर्नुपर्ने हुन्छ । किन आजसम्म जीवनमा मैले एकपटक पनि रक्तदान गरिन ? यस भन्दा अघि मैले रक्तदान नगरेको कारणले कतिजनाको अकालमै मृत्यु भयो होला ? अनि मेरो परिवारजन र आफन्तको रगतको अभावले मृत्यु भयो भने त्यसको जिम्मेवारी कसले लिने ? अस्पतालले रक्तसञ्चारले, सरकारले कि म आफैंले ? वास्तवमा रक्तदान नै जीवनदान हो । संसारमा जीवनदान भन्दा ठूलो दान कुनै छैन । आफ्नो शरीरभित्र खेरजाने रगत दान दिई अर्काको प्राण बचाउनु भन्दा ठूलो धर्म अरु केही होला त ?
आफ्नो शरीर निरोगी छउन्जेल, आफ्नो र आफ्नो परिबारमा कोही सख्त विरामी नहुन्जेल कसैलाई दुर्घटना नहुन्जेल,मानिसहरु भन्ने गर्छन् । कसले दिन्छ रगत ? आफ्नो शरीरमा भएको रगत पनि कसैले दिन्छ ? रगत दिएपछि त कमजोर भइहालिन्छ नि ? अनि कमजोर भएपछि विभिन्न रोग लाग्छन् । रगत जस्तो चिज पनि अरुलाई दिन्छन त ? प्रायः धेरै मानिस यही भन्छन् । तर जब आफ्नो परिवारको अथवा आफन्तको लागि रगत आवश्यक हुन्छ तब मात्र रगतको महत्व बुझने गर्दछन् । जब रगतको अभावले कुनै नजिकको नातागोता गुमाउनु पर्छ अनि मात्र थाहा हुन्छ रगतको महत्व ।
प्रायः आम जनमानसमा रगत दिदा कमजोर हुने र बिभिन्न रोगले संक्रमण हुने हुन्छ भन्ने भ्रम पनि फैलिएको छ । तर वास्तवमा शरीरमा भएका रगतहरुमध्ये निश्चित समयपछि पुरानो रगत पानी हुँदै शरीरमा नयाँ रगत बन्छ भन्ने कुरा आम मानिसलाई थाहा नै छैन । यसको लागि मानिसमा चेतना बढाउनु आवश्यकता हुन्छ । रक्तदान गर्दा स्वास्थ्यमा कमजोरी हुने हैन रक्तदान गर्ने मानिसको स्वास्थ्य अन्यको तुलनामा झन राम्रो हुन्छ भन्ने कुरा आम मानिसमा बुझाउनु पर्ने आजको आवश्यकता हो । एक अध्यनले के देखाएको छ भने–स्वास्थ्यकर्मीमा पनि रक्तदानप्रति अभिरुचि पाइएको छैन । यसो हुनुमा स्वास्थ्यकर्मीहरुमा नै चेतनाको कमी हुनुले हो । स्वास्थ्यकर्मीहरु रक्तदानमा चेतना ल्याउन सक्ने प्रमुख संवाहक हुन । उनीहरुमै रक्तदानप्रति त्यति धेरै अभिरुचि नपाइएको वर्तमान अवस्थामा सर्वप्रथम त स्वास्थ्यकर्मीमा अभिरुचि बढाइ त्यसलाई अन्य जनतासम्म पुराउनु आवश्यक देखिन्छ ।
अधिकांशलाई पहिलोचोटि रक्तदान गर्दा अलि रिंगटा लागेजस्तो अनुभव भएपनि त्यसको खासै पछिसम्म कुनै प्रभाव हुँदैन । एकपटक रक्तदान गर्ने व्यक्ति पटकपटक रक्तदान गर्न तयार हुन्छन् । रगत जस्तो बहुमुल्य चिजको कुनै सौदाबाजी गर्ने कुरा गर्नु त्यति स्वाभाविक त नहोला । तापनी केही गर्दा मानवीय स्वभावमा परिवर्तन हुन्छ भने त्यसमा पक्कै केही गर्नुपर्दछ । जसका लागि रक्त सञ्चार केन्द्रले सम्पूर्ण रक्तदाताहरुको तथ्याक राख्न जरुरी छ । उनीहरुको तथ्याक राखी रक्तदान गर्ने व्यक्ति र उसका आफन्तलाई चांहिएको समयमा रगत सजिलो तरिकाले उपलब्ध गराउन पर्दछ । पटक पटक रक्तदान गर्ने व्यक्तिहरुलाई छुट्टै सम्मानको व्यवस्था गर्नु पर्दछ । यसरी जम्मा भएको रगत रक्त सञ्चार कार्यालयले न्यूनतम परीक्षण शुल्क मात्र लिएर वितरण गर्ने व्यवस्था गर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार