उखुले ल्यायो खुसीयाली

पाल्पा । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ३ क्षेत्रमा उखु खेतीले खुसीयाली ल्याएको छ । सूर्योदय कृषि सहकारी संस्था रामपुरले यही उखु खेती क्षेत्रमा कृषि अनुदानमा आधारित कार्यक्रम अन्र्तगतको व्यवसायिक उखु खेती सार्वजनिक सुनुवाई कार्यक्रम गर्यो ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष दिनेशकुमार खनालले कृषिमा प्रदेश, नगर र वडाबाट वितरण भएका अनुदानका विभिन्न कार्यक्रमले कृषकलाई हौसला मिलेको बताए ।

कृषकले उत्पादन बढाउन सक्यो भने मात्र मुलुक आत्मनिर्भर हुने उनले बताए । उनले नयाँ प्रबिधि अपनाएर कृषि व्यवसाय अवलम्वन गर्न अनुरोध गरे । कृषकले कृषिमा गरेको लगानी अनुसार अझै पनि फाइदा लिन नसकिरहेको अवस्था रहेको छ ।

उन्नत जातका वीउ विजन, नयाँ नयाँ कृषि यान्त्रिकरणको प्रयोग गरेर मनग्य आम्दानी लिने गरी व्यवसाय गरेर आत्मनिर्भर बन्ने कुरामा उनले जोड दिए ।

वडासदस्य यज्ञमुर्ति घिमिरे, पत्रकार प्रकाश नेपाल, सुशीला रेग्मी लगायतले कृषकले अझैपनि परम्परागत ढंगले नै खेती गरेका कारण मेहनत र लागत अनुसारको उत्पादन लिन नसकिरहेको बताए ।

आम्दानी लिनका लागि नयाँ प्रविधिबाट व्यवसाय गर्न सुझाव दिए । जिल्ला सहकारी संघका सचिव भुपति पाण्डेयले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारे । उनले सहकारीले गर्नुपर्ने काम कर्तव्य र अधिकारका बारेमा सहभागीलाई जानकारी गराए ।

सहकारी बिगत तीन वर्षदेखि सामुहिक रुपमा उखु खेती गर्दै आएको छ । रामपुर क्षेत्रमा कृषकले उखु लगाउन छाड्दै गएका थिए । यही बेला सहकारीले व्यवसायिक तवरबाट करिव एक सय २० रोपनी क्षेत्रफलमा सामुहिक रुपमा उखु लगाएका छन् ।

गएको पुष माघमा चलेको रामपुर महोत्सवमा सहकारीले उखु, उखुको अधौरो खुदो, ताजा खुदोबाट मात्रै करिव दुई लाख २२ हजार बराबरको व्यापार गरेको थियो । उखु र खुदो बिक्रिबाट कुल पाँच लाख ६२ हजार बराबरको व्यापार गर्न सफल भएको सहकारीका अध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए ।

उखु खेतीलाई बिस्तार र व्यवसायिकरण गर्न प्रदेश सरकारले छ लाख अनुदान रकम सहयोग गरेको उनले बताए ।

रामपुर नगरपालिका वडा नं ३ स्थित किर्तिपुरमा सामुहिक खेती गरेको सहकारीले बेझाड बजारमा कार्यालय संचालन गरी खुदो बिक्रि गर्दै आइरहेको उपाध्यक्ष सोमबहादुर सेनले बताए ।

रामपुरमा संचालन भएको दुई वटा महोत्सवको आकर्षणको रुपमा सूर्योदय कृषि सहकारीको उखु, खुदो रहेको थियो । उखु खेती रामपुर क्षेत्रकै नमुना सामुहिक उखु खेतीका रुपमा चिनिन पुगेको छ ।

कार्यक्रममा सहभागीलाई समृद्धि बहुउद्धेश्यीय कृषि सहकारीका अध्यक्ष यमबहादुर सारुले धन्यवाद दिए भने कार्यक्रमको संचालन सहकारीका कोषाध्यक्ष सूर्यप्रसाद श्रेष्ठले गरेका थिए ।

संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार