बढ्दो यौन हिंसा रोकौं

हिंसाका धेरै प्रकार छन् । समाजमा यो सर्वत्र छ । यो महिलाले मात्र हैन, पुरुषले पनि भोग्दैछन् । हिंसाका रुपहरु धेरै छन् । मधेसी, थारु, दलित, जनजाति, अपाङ्गता, गरिब, अल्पसंख्यक यौनिक समुदाय सबैले कुनै न कुनै प्रकारको हिंसा भोग्नुपर्छ । उनीहरुको आत्म सममानमा चोट पुग्ने खालका हिंसाजन्य व्यवहार हाम्रो समाजमा छ । हिंसा ज्यादासे ज्यादा शक्तिशाली वर्ग वा व्यक्तिले कमजोर व्यक्ति वा वर्गलाई गर्छन् । तर यो जानेर हो वा नजानेर हाम्रो सोंच चिन्तन र जीवनशैलीमा पनि छ । यसरी अन्जानबस गरिएको हिंसालाई क्रिया प्रतिक्रिया र संवादबाट हटाउन सकिन्छ ।
अहिले हाम्रो समाजमा अरु हिंसाको तुलनामा यौन हिंसा तुलनात्मक रुपमा ज्यादा देखिदैछ । पहिलाभन्दा अहिले ज्यादा देखिनुका कारण खुल्ला समाज भएर पनि हो । बहुलवादी खुल्ला समाजमा क्रिया प्रतिक्रिया हुनाको कारण बढेको देखिएको छ । विगतमा वाक स्वतन्त्रताको अभावमा धेरै कुरा लुकाइन्थे । शक्तिशाली सामन्तहरुका कारण यस्ता घटनाहरु भित्रभित्रै छिप्थे । आजभोलि यो बढेको नभई सञ्चारमाध्ममार्फत प्रकट भएको हुन सक्छ ।
आपसी सहमतीका आधारमा गरिने यौन हिंसा हैन । यो स्वभाविकै हो । यसलाई कसैले छेक्ने कुरा हुँदैन । शक्ति हुनेले कमजोरलाई हिंसा बलमा पार्छ । शक्ति हुनेले प्रतिकार गर्ने हुनाले बलियालाई हिंसामा पर्नु पर्दैन । त्यसैले किशोरीहरुलाई जुडो, कराटे, ताइकन्डो जस्ता खेल सिकाएर बलियो बनाउनुपर्छ भन्ने गरिन्छ । कुनै कुनै समुदायमा त महिलालाई हिंसाको प्रतिकार गर्न छुरी बोकाउने संस्कृति नै छ । नेपालमा यस्तो सिकाइएको छैन । नेपालमा ज्यादासे ज्यादा १२ वर्ष मुनिका बालबालिकाहरु यौंन हिंसामा परेको देखिन्छ । कतिपय स्थानमा त वृद्धाहरु पनि जबर्जस्त करणीमा पर्छन् । यसो हुनुको कारण शारीरिक अशक्तता हो ।
अहिले मोबाइल सुविधाको कारण किशोर किशोरीहरुसँग फेसबुक, युटुबहरु र नेटमा गएर यौनसम्बन्धी धेरै अश्लील चित्रहरु सर्च गरेर हेर्ने चलन छ । यसले उनीहरुमा यौन उत्तेजना बढाउने हुँदा अवैध यौन सम्पर्क बढेको छ । यसले अवैध गर्भ रहने घटनाहरु बढेका छन् । गर्भपतनलाई कानुनी मान्यता दिएको कारण पनि बढेको हो । निजी तथा सरकारी अस्पतालहरुमा गर्भपतनका लागि आउने तथ्याङ्कहरुले यस्तो दृश्य देखाउँछन् । विगतका दिनहरुमा गर्भ रह्यो भने ठूला ठालू र अवैधानिक रुपमा गर्भ पतन गराउनेहरुले पैसा कमाउँथे । अहिले त्यो धन्दा घटेको छ । तर युवा अवस्थामा पुगेका युवा युवतीहरुले भने धेरै सचेत भइसकेका हुन्छन् । त्यसपछि भने उनीहरुले ख्याल गर्न थाल्छन् ।
समाजमा यौन कुण्ठामा परेका मान्छेहरु छन् । यौन कुण्ठामा परेका महिलाहरुले जति संयमता अपनाउन सक्छन् पुरुषले सक्दैनन् । यौन कुण्ठामा परेका असचेत युवाहरुलाई उत्तेजनाका कारण अन्धो भएर बालिकासँग जबर्जस्ती करणी गर्छन् । रक्सीले मातेको समयमा पनि यस्ता घटनाहरु घट्छन् । विशेषतः बालबालिकाहरु ज्यादा समस्यामा पर्छन् । जबर्जस्ती यौन तृप्तिपछि मार्ने र झाडी वा खोल्सामा मिल्याएर हिंड्ने दानवीय चाला पनि देखिन्छ । नमारेमा पनि यौन हिंसाको कारण बालिकाहरु कष्ट भोग्न विवश हुन्छन् । त्यसैले अभिभावकहरु केटाकेटीको रेखदेख र नियन्त्रणमा ख्याल गर्नुपर्छ ।
कुनैकुनै मुलुकमा यौन हिंसालाई कम गर्न भन्दै रेडलाईट एरियाहरु राख्ने गर्छन् । यसले अपराध गर्नबाट बचाउँछ । महिला पुरुष जो पनि यौन सन्तुष्टि लिनु परेमा त्यस्तो सेवा लिन्छन् । यसले यौन हिंसालाई कम गर्छ । यौन प्राकृतिक आवश्यकता हो । यो नैसर्गिक अधिकार हो । यौन रुपमा कोही पनि कुण्ठित हुन नपरोस् भन्ने विषयमा पनि समाज उदार हुनु पर्छ । यौन हिंसा अपराध हो तर यौन अपराध हैन, यो नैसर्गिक इच्छा हो । यसको सही व्यवस्थापन गर्नुपर्छ । विगतमा यसलाई व्यवस्थापन गर्न समाजले एकल विवाह गर्ने प्रचलन चलायो । शक्तिशाली सामन्तहरुले धेरै विवाह गरे पनि आधारभूत रुपमा भन्दा एकनिष्ठ विवाहले समाजमा धेरै शान्ति ल्याएको हो । अब बालबालिकाहरु र अशक्त वृद्धाहरुलाई परिवार र राज्यले ख्याल गर्ने सशक्तहरुलाई धर्म संस्कृतिलाई ख्याल गर्दै कुण्ठित हुन नपर्ने गरी यौन व्यवस्थापन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार