माल कार्यालयमा बेथिति

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा मात्र हैन मुलुकभरमै माल कार्यालयमा मालामाल देखिन्छ । विशेष गरी जग्गा रजिष्ट्रशन गर्ने नाममा अहिले फेरि बेथिति बढेको छ । यस भन्दा पहिला निश्चित समयभित्र इन्टी« भएका राजिट्रशन फारामहरु सोही दिनमै पूरा हुन्थ्यो । एकै दिनमा पास गरेर ढुक्कसँग सेवाग्राहीहरु घरघर फर्कन्थे । त्यसबाट एक दिनमै सेवाग्राहीहरु लाभान्वित भएका थिए । तर पछिल्लो समयमा सफ्ठवेयरमा काम गर्न थालेपछि सेवाग्राहीहरु पुनः मर्कामा परेका छन् । कर्मचारीहरु समय बढाउँदै लगेर रजिष्ट्रशन गर्न १२ दिन ज्यादा लाग्न थालेको छ । सेवाग्रीहरुलाई दुःख दिइएको छ । तर पैसा दिने सेवाग्राहीलाई उसै दिनमा नै काम पूरा हुन्छ भन्ने सुनिदैछ ।
माल कार्यालय र नापी विभागहरु चुस्त हुन सकेका छैनन् । सप्ठवेयरको माध्यमबाट काम गर्दा अरु छिटो छरितो हुन्छ तर यसलाई ढिला गर्न थालिएको छ । ढिला गर्नुको रहस्य पैसासँग जोडिएकोछ । नापी विभागमा नाप नक्शाका कामहरु ज्यादा हुँदा अमिनहरुले गर्ने गल्तीको मार सोझा सिधा जनतामा पर्छ । यहाँसम्म कि अमिनले नक्शा तयार गर्दा नक्शामा छ, जग्गा फिल्डमा छैनजस्ता समस्याहरु राखेर सोझा सेवाग्राहीहरुलाई अत्यन्त दुःख दिएका छन् । सेवाग्राहीहरु नक्सा र लालपट्टा लिएर हिंडेका छन् तर घडेरीको अत्तोपत्तो छैन । फिल्डमा नभएको नक्शा कसरी तयार गरियो भन्दा त्यसको जवाफ कसैले दिदैनन् । नक्शामा हस्ताक्षर गरी दिएका नेपाल सरकारका अधिकृतहरु नै जवाफदेही छैनन् । सेवाग्राहीलाई समस्यामा फसाउने काम भएको छ । जग्गा किनिदिन सहयोग गर्ने मध्यस्थहरुले पनि स्पष्ट नभईकन जग्गा किनिदिने र पछि समस्यामा फस्ने फसाउने काम भएको छ । यस्ता समस्याहरुलाई हामीले हल गर्नुपर्छ ।
अहिले माल कार्यालय अस्तव्यस्त छ । रजिष्ट्रशन गर्ने काममा लेखापढी व्यावसायीहरुबाट नै मोलमोलाई गर्ने र मिलेर रजिष्ट्रशन गर्ने काम हुन थालेको सुनिदैछ । पाँच हजारसम्म घूश दिन सक्नेले आजको आजै रजिष्ट्रशन गरी घर फर्किएको सुनिदैछ । टोक्कन नबाँडीकनै बिना पालो पैसा दिन सक्ने व्यक्तिहरुलाई सेवा दिएर घरघर पठाउने अनि पैसा दिन नसक्ने सेवाग्राहीलाई १२ दिन कुराउने काम भएको सुनिदैछ । यसमा सम्बन्धित निकायहरु विशेष गरी प्रशासन, अख्तियार चनाखो हुनु पर्छ । हात हात पैसा लिएर एक दिनमै राजिष्ट्रशन गरी दिने हो भने त सोझा र असल सेवाग्राहीमाथि अत्याचार हुनेछ ।
अहिले परिवर्तनप्रति जनतामा विश्वास छैन । सामाजिक न्याय पाउन नसकेमा जनताहरु सत्ता प्रति आश्वस्थ हुन सक्दैनन् । जवाफदेही र जिम्मेवार संस्थाहरु चूप लागेर बस्ने अनि सेवाग्राहीहरु दिन दाहाडै ठगिने हो भने न्याय कसले दिने होला ? भोलि कर्मचारीहरुलाई भूमिगत पार्टीहरुले छापामार शैलीमा कालोमोसो दल्ने, गाली गलौच गर्ने कुटपिट गर्नेसम्मका कामहरु हुन थाले भने अधिकारीहरुले कानुनका कुराहरु गर्दै सेवाग्राहीमाथि नै खनिन थाल्ने देखिन्छ । यसले भ्रष्टाचारको सञ्जाल डरलाग्दो छ भन्ने पनि पारेको छ । त्यसको परिणाम राम्रो आउन्न । सेवाग्राही सरोकारवालाहरु समयमै चेत्नुपर्छ । यहीबाटै उग्रवाद मौलाउँछ । त्यसैले सबै सरोकारवालाले एक दिनमै काम हुने गरी सेवाग्राहीहरुलाई सेवा दिनु पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार