पाल्पामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकाले १ सय २१ र रम्भा गाउँपालिकाले ३० जना युवाहरुलाई रोजगार दिएको छ । रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई रोजगार दिएको जनाएको छ ।

गाउँपालिकाले पहिलो चरणको कार्यक्रमबाट ३० जना युवाहरुलाई रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

पिपलडाँडाको बेलपानी–मौलाथर मोटरबाटोको स्तरउन्नति गर्ने योजना सहित १२ जना महिला र १८ जना पुरुषहरुलाई रोजगारको व्यवस्था गरिएको हो ।

अध्यक्ष भण्डारीका अनुसार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबार एक कार्यक्रमका बीच शुभराम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश पाँचका सांसद नारायण आचार्यले अब युवाले रोजगारका लागि विदेशमा भौतारिनु नपर्ने बताए ।

उनले सरकारले स्वदेशमै रोगजारको ग्यारेण्टी गरेकाले इमान्दार र लगनशिल भएर काम गर्नुपर्नेमा जोड दिए । गाउँपालिकाले बेरोजगार युवाहरुलाई १७ दिन काम लगाउने गरी यो कार्यक्रम सञ्चालन गरेको हो ।

चार लाख रकम विनियोजन गरेर पहिलो चरणको यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । युवाहरुले विहान नौं बजेदेखि साझँ पाँच बजेसम्म काम गर्नुपर्नेछ । उनीहरुले दैनिक छ सयका दरले ज्याला पाउने छन् ।

पिपलडाँडास्थित बेलपानी मौलाथर मोटरबाटोको नाली बनाउने, पहिरो पन्छाउने, मोड बनाउने काममा उनीहरूलाई खटाइने अध्यक्ष भण्डारीले जानकारी दिए ।

उता, रिब्दीकोट गाउँपालिका रिब्दीकोट गाउँपालिकामा केन्द्रीय सरकारबाट प्राप्त बजेट अनुसार ६३ जना युवाले काम गर्न थालेका छन् । तर गाउँपालिकाले छुट्टै पाँच लाख बजेट विनियोजन गरेर थप ५८ जना गरी एकसय २१ जना युवालाई रोजगार दिएको छ ।

युवाले शनिबारदेखि काम गर्न थालेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।
सबैभन्दा धेरै बजेट प्राप्त भएको तानसेन नगरपालिकामा पनि कामदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

४२ लाख बजेट अन्तर्गत रहेर १८५ जना युवालाई रोजगार दिने लक्ष्य राखिएको प्रमुख अशोक कुमार शाहीले बताए। यस्तै रामपुर नगरपालिकामा २५ लाख बजेट प्राप्त भएको छ।

करिब १०० जना युवालाई रोजगार दिइने नगरप्रमुख रमणबहादुर थापाले बताए। उनका अनुसार आगामी असार एकगतेदेखि प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत यहाँका युवाले काम गर्नेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १६ लाख प्राप्त भएको बगनासकाली गाउँपालिकामा कामदार छनोट प्रक्रिया थालिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए। उनका अनुसार असार पहिलो साताबाट यो कार्यक्रम संचालन हुनेछ।

माथागढी गाउँपालिकामा १६ लाख बजेट प्राप्त भएको छ। १२ सय बढीले फारम भरेको भए पनि करिब तीनसय जना युवालाई छनोट गरी रोजगार दिइने गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए ।

यस्तै १३ लाख बजेट पाएको पूर्वखोला गाउँपालिकाले तीनसय युवालाई रोजगार दिने बताएको छ । अहिले आवेदन संकलन गर्ने र छनोट गर्ने काम भइरहेको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले बताए ।

निस्दी गाउँपालिकामा १३ लाख बजेट प्राप्त भएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यहाँका ९८ जना युवालाई रोजगार दिइनेछ ।

यस्तै १२ लाख बजेट प्राप्त भएको तिनाउ गाउँपालिकामा २०० जना युवालाई रोजगार दिने गरी छनोट प्रक्रिया चलिरहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।

रैनादेवी छहरा गाउँपालिकामा १९ लाख बजेटअन्तर्गत रहेर ३ सय २० जना युवालाई रोजगार दिने गरी प्रक्रिया अगाडि बढेको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिने युवाको संख्या बढी देखिए पनि काम गर्न इच्छुक युवा भने निकै कम रहेका छन्। विभिन्न सेवा सुविधा पाइने आशामा आवेदन दिएका रहेछन् माथागढी गाउँपालिकाकी उपाध्यक्ष निर्मला भटराईले बताइन् ।

विकास निर्माणको काम गर्नुपर्छ भनेपछि उनीहरू निस्क्रिय देखिएका छन् । रोजगार गर्न अएका युवालाई मोटरबाटो सफा गर्न, नाली खन्न, वनजंगल सफा गरेर महत्वपूर्ण जडिबुटी रोप्ने काम गर्न लगाइने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

मिहिनेत गर्ने युवालाई यो कार्यक्रम पश्चात अर्को आर्थिक वर्षदेखि गाउँपालिकाले नै बजेटको व्यवस्था गरेर निरन्तर रोजगार दिने प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । रोजगारको शिलशिलामा भारतमा बस्दै आएका रिब्दीकोट गाउँपालिका, ७ का यमबहादुर गाहाले बताए ।

थोरै तलबमा धेरै मिहिनेत गर्नुपर्ने र परिवारसँग समेत टाढा रहनुपर्ने बाध्यता अब हटेको उनले सुनाए । उनले भने निरन्तर ज्याला पाएर आफ्नै गाउँमा काम गर्न राम्रो हुन्छ । रिब्दीकोट र रम्भाले केहीलाई रोजगार दिएपनि अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन ।

यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ । जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार