बुद्धज्ञान र व्यावहारिक जीवन

फणीन्द्रकुमार न्यौपाने
आजभन्दा २५६३ वर्ष पहिले बैशाख पूर्णिमाका दिन तत्कालीन शाक्य गणराज्यमा राजा शुद्धोदन र रानी मायादेवीको पुत्ररत्नको रूपमा जन्मनुभएका राजकुमार सिद्धार्थले आफू ३५ वर्षको हुँदा बोधिज्ञान प्राप्त गर्नुभएको थियो । राजषी सयलमा वहाँको वाल्यकाल बितिरहेपनि जीवन र जगतका विभिन्न प्रकारका दुःखहरूलाई सिद्धार्थले नजिकबाट नियाल्नुुभएको थियो । बिरामी, वृद्ध र मृतक जस्ता निमित्तहरूबाट प्रभावित भई जीवन र दुनियाँमा हरेकले भोग्नैपर्ने यस्ता दुःखबाट उन्मुक्तिको उपाय खोज्ने क्रममा आफ्नो जीवनको २९ वर्षको उमेरमा राजकुमार सिद्धार्थले दरबार त्याग्नुभयो । यस घटनालाई महाभिनिष्क्रमण भनिन्छ । बोधिसत्व सिद्धार्थ महाभिनिष्क्रमण पश्चात तत्कालीन समयका प्रख्यात आचार्यद्वयबाट उत्कृष्ट ध्यान भावनाहरूको अभ्यास गर्न पुग्नुहुन्छ । साङ्ख्य दर्शनका आचार्य आलारकालामबाट सातौं र उद्दकरामपुत्रबाट आठौं तहको ध्यान भावनाहरूको अभ्यासबाट पनि अन्तरमनका गहिरा मनोविकारहरू निर्मूल नभएका कारण बोधिसत्व सिद्धार्थ तत्कालीन भारतवर्षमा प्रचलित देहदण्डनका विभिन्न उपायहरूतर्फ आकृष्ट हुनपुग्नुभयो ।
आहार परित्याग गरी देहदण्डनका कठोर साधनाहरूको ६ वर्षसम्म अभ्यास गर्दा पनि लक्षित ज्ञान नभेटेपछि बोधिसत्व सिद्धार्थ युक्ताहार विहारको मध्यम मार्ग अपनाउन पुग्नुहुन्छ । उक्त समयमा वहाँलाई आफू चारवर्षको बालक छँदा आफूले अभ्यास गरेको आनापान (श्वासप्रश्वास प्रतिको सजगता) ध्यान भावनाको स्मरण हुनपुग्दछ । यसै क्रममा बोधिसत्वले आनापान ध्यानको अभ्यास गर्न थाल्नुहुन्छ । महाभिनिष्क्रमण लिएकोे ६ वर्ष पछि, वैशाख प्रतिपदादेखि दुई हप्तासम्म आनापान भावना गर्दा बोधिसत्वमा आफ्ना क्लेशहरू निरूद्ध हुँदै गइरहेको अनुभूति भएको थियो । बैशाख पूर्णिमाको दिन सुजाताले दिएको खीर खाई सोत्थिय नाम गरेका ब्राह्मणले प्रदान गरेको आठमुट्ठी कुशलाई आसन बनाएर निरञ्जना नदीको किनारमा रहेको बोधि वृक्षमुनि अधिष्ठानपूर्वक तपस्यारत रहँदा सोही राती बोधिसत्वलाई सम्यक सम्बोधि ज्ञान प्राप्त भएको थियो । बुद्धत्व प्राप्त हुने क्रममा बोधिसत्वलाई रातको प्रथम याममा आफ्नो अनन्त पूर्वजन्मको स्मृति प्राप्त भएको थियो भने दोस्रो याममा शरीर र मनको उत्पत्ति विनाश धर्मको ज्ञान प्राप्त भएको थियो । रातको तेस्रो याममा कार्यकारण सम्बन्धको ज्ञान प्राप्त भई बोधिसत्वलाई सम्पूर्ण भवबन्धनबाट उन्मुक्ति मिलेको थियो । सिद्धार्थको सम्यक् सम्बोधि प्राप्ति यस्तो घटना बन्न पुग्दछ जसले धर्म र भगवान्को नाममा तत्कालीन समयमा प्रचलित विचार र अभ्यासलाई नयाँ मोड दिन पुग्दछ । धर्मको नाममा प्रचलित निस्सारयुक्त कर्मकाण्ड, काल्पनिक, अलौकिक सत्ता एवं जातिगत विभेदको जगलाई नराम्ररी हल्लाईदिन्छ र अध्यात्मको नयाँ युगको सुरूवात हुनपुग्दछ ।
ज्ञान प्राप्ति गर्दाको बुद्धको प्रथम उद्गार थियो अनेक जाति संसारं सन्धाविस्सं अनिब्बिसं गहकारक ……विसङ्खारगतं चित्तं तण्हानं खयमज्झगा ’ अथवा अनेक जन्ममा म यो संसारमा विनारोकावट दौडिरहेको थिएँ । यो शरीररूपी घर निर्माण गर्ने निमित्तको खोजीमा दुःखमय जीवनमा निरन्तर गुज्रिरहेको थिएँ । हे शरीररूपी घर बनाउने निर्माता ! अब तिमीलाई मैले चिनिसकें । तिम्रा घर बनाउने सम्पूर्ण सामग्रीहरू मैले नष्ट गरिसकें । किनकि मेरो मन अब संस्कारविहीन (विकाररहित) भइसक्यो । सम्पूर्ण तृष्णाहरू अब समुल नष्ट भइसके । तिमीले मेरा लागि अब नयाँ घर बनाउन सक्नेछैनौ अथवा अब मेरो अर्को जीवन हुनेछैन । बुद्धका यी प्रथम उद्गारहरूलाई नियाल्दा उहाँले चित्तविशुद्धिलाई नैै लक्ष्य बनाउनु भएको कुरा स्पष्ट छ । पालि साहित्यमा व्याख्या भए अनुसार चार असंख्य तथा एक लाख कल्पपूर्व भगवान् बुद्ध सुमेध नाम गरेका ऋषिको रुपमा जन्मिनुभएको थियो । उक्त समयमा दीपंकर सम्यक् सम्बुद्धबाट प्रभावित भई आफू पनि भविष्यमा सम्यक् सम्बुद्ध बन्ने उद्देश्य अनुसार विभिन्न जन्महरूमा सम्यक् सम्बुद्ध बन्न आवश्यक पर्ने पारमीहरूलाई पुरा गरी वहाँ आजभन्दा करिब २६ सय वर्ष पहिले सम्यक सम्बुद्ध बन्नुभयो । संसारबाट लोप भइसकेको चित्त विमुक्तीको मार्गलाई खोजेर अरूलाई सिकाउन सक्ने सामथ्र्य केवल सम्यक् सम्बुद्धलाई मात्र हुने भएकाले लोककल्याणका खातिर वहाँले यो कठीन यात्रा तय गर्नुभएको थियो । ३५ वर्षको उमेरमा सम्यक सम्बुद्ध बनिसकेपछि ८० वर्षमा महापरिनिर्वाण हुँदा सम्मको बाँकी ४५ वर्षको अवधिसम्म बुद्धले मानिसहरूलाई मनोविकारबाट उन्मुक्ति दिलाउने अभ्यासमा नै खर्चिनुभएको थियो । धर्मको नाममा विद्यमान विभिन्न अन्धविश्वास, कल्पना, कर्मकाण्ड एवं पाखण्डहरूबाट मानिसहरूलाई चित्तविशुद्धिको सरल, सिधा, सार्वजनीन एवं प्राकृतिक अभ्यासमा ल्याउनुनै बुद्धको महानता हो ।
भगवान बुद्धले व्यक्तिमा हुने चित्तको संज्ञानात्मक प्रवाहमा चित्त अशुद्ध कुन विन्दुमा हुन्छ भन्ने मार्मिक विषयमा देशना गर्नुभएको छ । यस क्रममा हाम्रो दैनिक जीवनमा इन्द्रियहरूले यीनका विषयहरूसंग स्पर्श गर्दा उत्पन्न हुने प्रथम चेतना देखि मनका विकार उत्पन्न हुने सम्मको प्रकृया र यसबाट उन्मुक्तिको उपाय बताउनु भएको छ । ६ वटा इन्द्रियहरूबाट यिनीहरूका आ–आफ्ना विषय धर्महरूसंग स्पर्श हुँदा ६ प्रकारका विज्ञानहरू उत्पन्न हुन्छन् । जस्तै चक्षुको रूपसँग स्पर्श हुँदा चक्षुविज्ञान, श्रोत्रको शब्दसँग स्पर्श हुँदा श्रोत्रविज्ञान, घ्राणको गन्धसँग स्पर्श हुँदा घ्राणविज्ञान, कायको रूपसँग स्पर्श हुँदा कायविज्ञान र मनमा विषय चिन्तन उत्पन्न हुँदा मनोविज्ञान उत्पन्न हुन्छ । यसरी उत्पन्न हुने विषयप्रतिको प्रथम चेतनालाई बुद्धले प्रयोग गर्नुभएको शब्दावलीमा विज्ञान भनिन्छ । यो संज्ञानात्मक प्रवाहको पहिलो विन्दु हो । चित्तले ग्रहण गर्ने विषय धर्मलाई मनको दोस्रो हिस्सा संज्ञानले आफ्नो पूर्व स्मरणको आधारमा मूल्याङ्कन गर्ने गर्दछ । संज्ञा धर्म प्रायः अविद्याको खोलमा रहेको हुनाले विषय धर्मप्रति राग, द्वेष वा मोहयुक्त भई मूल्याङ्कन गर्दछ । यसपछी संज्ञाको मूल्याङ्कनको आधारमा विषयहहरूलाई अनुभव गर्ने मानसिक धर्महरू उत्पन्न हुन्छन् जसलाई संवेदना भनिन्छ । संज्ञाको मूल्याङ्कनको आधारमा संवेदनाहरू राग, द्वेष अथवा उपेक्षा प्रधान भएर चित्तधारामा प्रवाहित हुन्छन् । मनको चौथो हिस्सा जसलाई संस्कार भनिन्छ, यसले संवेदनाले अनुभव गरेका राग तथा द्वेषहरूप्रति भुक्ताभावले प्रतिकृया जनाउँदछ र चित्तविकार बढाउने काम गर्दछ । संज्ञानात्मक प्रवाहको यो कडिमा संवेदनाहरूप्रति भुक्ताभावको सट्टा द्रष्टाभाव विकास भएमा संज्ञाहरूको वेहोसीका कारण उत्पन्न हुने राग, द्वेष वा मोहजन्य विकारहरूप्रति प्रतिकृया गर्ने मनको स्वभावको अन्त भई चित्त विकार बन्ने प्रकृया अवरूद्ध हुन्छ । अनित्य, दुःख र अनात्मयुक्त संवेदनाहरूको मौलिक स्वभावको ज्ञानको आधारमा संवेदनाहरूप्रति द्रष्टाभाव विकास गर्न सकिन्छ । यहि ज्ञान नै प्रज्ञा हो जसले व्यक्तिलाई भवचक्रको यात्राबाट धर्मचक्रतर्फ अग्रसर गराउँदछ । व्यक्ति आफ्ना सम्पूर्ण चित्तमयलहरू यहि ज्ञानको सहाराले हटाउन सामथ्र्यवान हुन्छ । सुख शान्ति चाहने व्यक्तिको निम्ति यहि नै एकमात्र विमुक्ति मार्ग हो जसलाई भगवान बुद्धर्ले एकायनो मग्गो ’ भन्नुभएको छ । भगवान बुद्धको महानता यहि हो कि वहाँले चित्तधारामा कुन विन्दुमा राग, द्वेष र मोह संस्कारहरूको जन्म हुन्छ र वृद्धि हुन्छ भन्ने विषयको अनुसन्धान मार्फत स्वयम् जान्नुभयो र दुनियालाई उक्त ज्ञान वताउनु भयो ।
बुद्ध देशित अभिधर्म साहित्यका अनुसार हाम्रो दैनिक जीवनमा हामी विहान ब्युँझेदेखि राती ननिदाउँदासम्म हाम्रा ६ इन्द्रियहरूबाट संज्ञानात्मक व्यवहारहरू गरिरहेकै हुन्छौँ । चित्तलहरहरूमा एकपछि अर्को चित्तहरू आ–आफ्ना सम्बन्धित विषयधर्महरुको साथमा उत्पन्न हुँदै नष्ट हुने क्रम चलिरहेकै हुन्छ । यो चित्त लहरहरुलाई अभिधम्म साहित्यमा चित्त वीथि भनिन्छ । चित्तले कुनै एउटा विषयधर्मलाई आलम्बन गर्दासम्म १७ प्रकारका चित्त लहरहरू उत्पन्न भई नष्ट भइसकेका हुन्छन् । चित्त व्यापारको यी लहरहरूमा नवौँ देखि पन्ध्रौँ लहरसम्म उत्पन्न हुने ७ वटा चित्तहरूलाई जवन चित्त भनिन्छ । यिनै जवन चित्तहरूलेनै व्यक्तिका कर्महरूलाई कुशल वा अकुशल बनाउने हुन् । त्यसकारण मनको कर्म सुधार्न चाहने मेधवी पुरूषकोे निम्ति जीवन धारा सुधार्ने विन्दु भनेको जवन चित्तधारालाई कुशल बनाउनु नै हो । यसप्रकार बेहोसीमा नयाँ अकुशल कर्म बनाउने जवन चित्तोत्पाद क्षणमा होसपुर्वक भुक्ताभाव हटाई द्रष्टाभावको विकास गर्न सक्नुनै मनको कर्म सुधार्ने कला हो ।
बुद्धदर्शनले व्यक्तिको सुख दुःख समृद्धि आदि आकांक्षाहरूमा परलौकीक शक्तिहरूको साथ एवम् आशिर्वादलाई पूर्णतः नकार्दछ । व्यक्ति अत्ताहि अत्तनो नाथो अर्थात आफ्नो मालीक आफैँ हो । उसको जीवनको गति बनाउने उ आफैँले हो । आफ्नो चित्तधारामा उत्पन्न हुने राग, द्वेष एवम् मोहजन्य मनोविकारहरूलाई सम्बद्र्धन गरेमा जीवन दुःखी बन्दछ । यो जीवन मात्र नभई प्रतिसन्धि मार्फत प्राप्त हुने पछिल्ला जन्महरू पनि नरकगामी हुनसक्दछन् । त्यसकारण चित्तको कर्मलाई सुधार्नुनै महत्वपूर्ण हो । धम्मपदको पहिलो श्लोकर्मा मनोप्पुब्बङ्गमा धम्मा मनोसेट्ठामनोमया …’ भनेर मननै हाम्रा वाणी एवम् शरीरका कर्महरूको जनक भएको कुरा उल्लेख गरिएको छ । प्रदुषित मनले कुनै वाणी अथवा शरीरका कर्महरू गरिएमा यसरी दुःखी भइन्छ जसरी वयलगाडीमा जोतिएका गोरूहरूको पछि चक्का लाग्दछ । त्यसकारण मनलाई परिशुद्ध पार्नु नै बुद्धज्ञानको मर्म हो । मनुष्य जीवनको सार्थकता नै यहि कुरामा छ कि उसले आफूमा चलिरहेको चित्तप्रवाहलाई चिन्न, बुझ्न र सुधार्न सक्दछ । कामलोकमा जन्म भएको प्राणी भएका कारण मनुष्यमा अधिकांश समय अकुशल चित्त धारा चल्न सक्दछ तर साथमा मनुष्य विवेकशील प्राणी पनि भएका कारणले उसले दैनिक जीवनमा उत्पन्न हुने यस्ता चित्तहरूको प्रवाहलाई चिनेर अकुशल चित्तोत्पाद गर्नबाट आफूलाई बचाउनुपर्दछ । यसको लागि सम्यक दृष्टिले युक्त भई अलोभ, अद्वेष र अमोहजस्ता कुशल हेतुहरूले सम्प्रयुक्त चित्तोत्पादमा निरन्तर अभ्यासरत रहनुपर्दछ । यहि नै बुद्धशिक्षाको सार हो र जीवन सफल बनाउने सूत्र हो ।
लेखक ः क्याम्पस प्रमुख, लुम्बिनी बौद्ध विश्वविद्यालय हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार