विश्वभरि नै चर्चा हुने ‘गोरखा’

नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरि नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनकालदेखि लिएर शाहवंशको सुरुवात भएको जिल्ला हो गोरखा । गोरखनाथ, गोरखकाली र मनकामनासमेत गोरखामा ऐतिहासिक धार्मिकस्थल छ । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराईको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलार्ई हिमालपारीको गोरखा भन्ने गरिन्छ । त्यहाँ रहेका मनास्लु, हिमालचुली, नाधी चुली, बौद्ध हिमालहरुले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षण गराएको छ । पूर्वमा बुढीगण्डकी, पश्चिममा चेपे र मस्र्याङ्दी नदी, दक्षिणमा त्रिशूली नदी र उत्तरमा स्वशासित तिब्बत क्षेत्रको बीचमा रहेको गोरखा जिल्ला आजभोलि विदेशीहरु मात्र होइन स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । गोरखा जिल्लाका गुरुङ समुदायका ग्रामीणबस्ती वारपाक, लाप्राक जस्ता रमणीय ठाउँहरु पर्यटकहरुको गन्तव्य भएको छ । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको विस्तारले गर्दा गोरखा जिल्ला आजभोलि आन्तरिक एंव वाह्य पर्यटक भित्राउने जिल्लाको नाममा पर्न थालेको छ ।
गोरखाको इतिहास खोज्ने हो भने पृथ्वीनारायण शाह भन्दा पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरणको प्रयास भएको पाइन्छ । त्यस बेला पाल्पा राज्य ठूलो थियो । गोरखा पनि पाल्पा राज्यको अधीनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन् । त्यसपछि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरुले आफै राज्यको घोषणा गरी राज्य चलाउन थालेको इतिहास छ । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो । राज्य सञ्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नया परम्पराको थालनी भयो । जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थालियो । त्यसलाई लिगलिगकोटको दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ कि.मि. को दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए ।
नेपालको इतिहासमा नै गोरखा जिल्लाको पहिचान र महत्व छुट्टै रहेको छ । नेपाल एकीकरणको बेला ज्योतिषको ज्ञानबाट गणितीय शिक्षा दिने ज्योतिष कलानन्द ढकालको जन्म गोरखामा भएको थियो । साथै भिमसेन थापा, लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासँगको लडाइँमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो । यसैगरी शाह वंशका राजाहरुमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नरभुपाल शाह,र पृथ्वीनारायण शाहको जन्म पनि गोरखामा नै भएको थियो । गोरखाबासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकोले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको पनि मानिन्छ । यो जिल्लामा घासका ठूला ठूला फाँटहरु खर्कहरु रहेका छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।
राजसंस्थाको विलयपछि अहिले गोरखा जिल्लाको ऐतिहासिक स्थल धार्मिक पर्यटकीय स्थल बनेका छन । गोरखा पुग्ने मानिसहरुले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन् । पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । सदरमुकामबाट करीब ४० मिनेटको पैदल यात्रामा वा यातायातको साधनबाट पुग्न सकिने गोरखा दरबारले ऐतिहासिक महत्व राखेको छ । यो दरबार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाइ छ । गोरखा बजारको मध्य भागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाहरुको इतिहाससँग जोडिएको छ । यस दरबारले मल्लकालीन वस्तुकलाको नमुनाका प्रस्तुत गरेको छ । यस दरबारको झ्याल ढोका र टुँडालहरुमा पौराणिक काष्ठकलाको नमुना देख्न पाइन्छ । गोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ । यस स्थलबाट बिहानीको सूर्योदयको रमणीय दृष्य हेर्न सकिन्छ । यस स्थलले ऐतिहासिक महत्व समेत बोकेको छ । हालको गोरखा दरबार निर्माण हुनु अघि राजा राम शाहको दरबार यसै स्थानमा रहेको मानिन्छ । गोरखा दरबारको नजिक गोरखनाथको मन्दिर एवं गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ ।
गोरखा बजारमा एउटा चौतारो छ । यस चौतारोलाई राजा राम शाहले न्याय दिने चौतारोको रुपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाइ छ । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमालदेखि पहाडसम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ गोरखा । ऐतिहासिक कोट, शक्तिपीठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरबार र कोटमौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन् । गोरखाको लिगलिगकोट ऐतिहासिक स्थल हो । हरेक क्षेत्रका हरेक कुराको इतिहास हुन्छ । इतिहासले नै सबैकुरा समेट्छ । त्यसैले होला गोरखाको ऐतिहासिक लिगलिगकोट अहिलेको अवस्थामा पर्यटकीय स्थल भएको छ । खसराज्य स्थापना हुनुभन्दा पहिले लिगलिगकोट मगरहरुको अधीनमा थियो । त्यसैले नाम पनि मगर भाषामा रहेको छ । मगर भाषामा लिङलिङको अर्थ सुन्दर दृष्य, हुन्छ ।
गोरखा जिल्लामा लिगलिगकोट बाहेक अन्य सानाठूला गरी ३६ वटा कोटहरु छन् । सबैभन्दा बढी अग्लोकोट अजीरकोट हंशपुरमा छ । जसको उचाइ ६ हजार ५०० मिटर रहेको छ । अन्य कोटहरुमा उपल्लोकोट, जुन हनुमान भन्ज्याङको पूर्वपट्टि उकालो चढेपछि भेटिने कोट हो । जुन कोटमा बज्र भैरवको मूर्ति छ । गोरखा जिल्लाका अन्य रमणीय पहाडको शृङ्खलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाकोट, लकाङकोट, ताकुकोट, श्रीनाथकोट, बुङ्कोट जस्ता ऐतिहासिक कोट छन । तर पनि पश्चिम गोरखाको सामुन्द्रिक सतहबाट १ हजार ४ सय ३७ मिटर उचाइमा रहेको लिगलिगकोट ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । किनकि लिगलिगकोट आफैमा इतिहास हो । शाहवंशको राजतन्त्रको सुरुवात भएको ठाउसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ । यहाँबाट मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । लिगलिगकोटबाट गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल पनि अवलोकन गर्न सकिन्छ । गोरखा जिल्लाको दक्षिण सीमामा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल मनकामना हो । चाहे धर्मको लागि होस् अथवा शैक्षिक भ्रमणको लागि होस् मेची महाकालीका मानिस मनकामना पुग्ने गरेका छन् । मनकामना पुगेपछि त्यहाँ हेर्नुपर्ने ऐतिहासिक महत्वका स्थलहरु कतिपयले थाहा नपाउँदा केवल मन्दिरको दर्शन गरेर मात्र फर्किनेहरुको संख्या पनि कमी छैन । मनकामना माइको ऐतिहासिक कुरा सिद्ध लखन थापाको नामसँग जोडिएको छ । मनकामना पुगेपछि त्यहाँबाट अध्ययन गर्न सकिने धेरै कुराहरु रहेका छन् । धार्मिक कुरा त छँदै छ, चाहे प्रकृति प्रेमीहोस् अथवा संस्कृति प्रेमी सबैलाई अध्ययनस्थल मनकामना बनेको छ । मनकामना मन्दिरको बारेमा राजाराम शाहको नाम जोडिएको छ । आजभन्दा करिब तीन सय वर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउँमा एउटा किसानले हलोजोत्दा एउटा ढुंगामा ठेस लागेको र ढुंगाबाट दूध र रगत बग्न थालेछ । यो सुनेपछि लखन थापाले त्यहाँ तान्त्रिक पूजा गरेपछि रगत रोकिएछ । यो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए छन् । यहाँका मूल पुजारी सुरुदेखि हालसम्म पनि रैथाने थापामगर छन् । हालको मगर पुजारी पनि लखन थापाको १७ औं पुस्ताका सन्तान हुन् ।
घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ । आजभोलि सडक यातायात समेतको सुबिधा छ । ०७२ सालको बिनासकारी भूकम्पबाट सबैभन्दा बढी क्षति भएको बारपाक अहिले व्यवस्थित तरिकाले पुनः निर्माण भएको छ । दरौंदी नदीको किनारैकिनार पुगिने बारपाक जाँदा प्रसिद्ध दर्जनांै झरना र धेरै हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । बारपाकमा नेपालकै सुन्दर गाउँहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होमस्टेको समेत व्यवस्था गरेका छन् । पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइँझ्याइँ बाजा बजाएर स्वागत गरिन्छ । बाजागाजा सगँसँगै गाउँ घुमाई स्थानीय परिकार गहुँको केक खान दिने, अन्तरक्रिया कार्यक्रम गर्नेसमेत गर्ने गरेका छन् । बारपाकीहरुले सबैजसो घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिडो, खान पाउँछन् । बारपाक जाने आन्तरिक तथा वाह्य पर्यटकले मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र स्थानीय स्तरमा बनाइएको आधा गिलास रक्सी पनि दिइन्छ ।
गोरखा अपार जल भण्डार भएको जिल्ला हो । लार्के र ग्याला भन्ज्याङ्गको संगमस्थानबाट बुढीगण्डकी बग्दै आएको छ । यस नदीमा हिमालपारिको सामागाँउदेखि स्यारखोला, चुलिङग खोला, माछाखोला, नाबुङग खोला, थारुखोला, दोभान खोला, रिचिटे खोलाहरु बेनीघाटमा पुगेर त्रिशूली नदीमा मिसिन्छ । गोरखा जिल्लाको मध्य भागमा बग्ने नदीको नाम हो दरौदी । यो नदीको मुहान बौद्ध हिमालको फेंदीमा पर्ने रुपीनाला भञ्ज्याङगमा रहेको नारदकुण्ड हो । दरादी खोलामा भुसुण्डिखार, चुँदी, लाङदी, हाँडीखोला, लुदीखोला, शम्भु, जराङग, राङगरुङ खोलाहरु मिसिदै आबुँखैरेनीमा पुगेर मस्याङ्दी नदीमा मिसिन्छ । चेपेनदी ऐसिहासिक नदी पनि हो । जुन नदीमा द्रव्यशाह र नरहरि शाहको झगडा मिलाउन उनको आमाले दशधारा दूध बगाएकी थिइन । गोरखाको पश्चिम सीमाना भएर बग्ने चेपेनदीको शिर दूधपोखरी हो । चेपेनदीमा गोरखा जिल्लाबाट मिदीखोला, साहीखोला, स्वारखोला, कदलीखोला मिसिन्छ भने लमजुङगबाट कुएलेखोला चिल्लीखोला र बोराङखोला मिसिदै मस्र्याङदी नदीमा मिसिन्छ । सामागाउँ गुम्बा टोलमा वीरेन्द्र ताल अर्थात स्थानीय भाषामा ग्यागोलाच्छो भनिने ताल छ । छेकम्पारको छोसोङमा हिम नदीबाट बनेको ताल छ । यो ताल मुगुम्बा र देरोन गुम्बाको ठिक माथि रहेको छ । ठूलो दूधपोखरी उत्तरी गोरखाको उहियामा रहेको छ । सानो दूधपोखरी पोखरी खरीबोटको बौद्ध हिमालको फेदीमा रहेको छ
गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्ला अहिले गोरखा र पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, सुलिकोट, आरुघाट, गण्डकी, चुमनुब्री, धार्चे, भीमसेन गाउँपालिका समेत गरी १० स्थानीय तह भएको छ । भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्रीदेखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्रीदेखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ । साथै यसको कूल क्षेत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्र सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटरसम्मको उचाइँमा रहेर उत्तर दक्षिण फैलिएको भूगोल छ । सुन्तला एव अन्य फलफूल उत्पादनमा गोरखा जिल्ला अगाडि रहेको छ । मरस्याङ्दी नदी किनारका पालुङ्टार, च्याङ्लीटार, विरुवाटार र बुढीगण्डकी किनारको दर्वुङ्टार, क्यामुनटार मात्र नभएर मध्य गोरखा जिल्लाको दरौदी खोला आसपासका उर्बर खेतीयोग्य जमिनले गोरखालाई कृषि क्षेत्रमा उत्साह बढाएको छ ।
सडक यातायातले गोरखा जिल्लालाई आजभोलि धेरै सुविधा बनाएको छ । काठमाण्डौ–गोरखा मात्र नभएर जिल्लाको पूर्वी सीमामा पर्ने आरुघाटमा समेत सडक यातायात चल्न थालेका छन् । त्यसैगरी पश्चिम भेगको छेपेटार, पारपाक, आँपपिपल, हरिभन्ज्याङ्, लाङ्दी जस्ता पहाडी ग्रामीण बस्तीमा समेत मोटर पुगेको छ । चार दशक अगाडिसम्म हवाइ मैदान रहेको पालुङटारमा भने आज भोलि गौ चरणमा परिवर्तन भएको छ । तर सडक यातायातले भने पालुङटार, ठाटीपोखरी, च्याङलीटार र विरुवाटार समेतका ग्रामीण बस्तीमा सुविधा भएको छ । गोरखा पुगौ, ऐतिहासिक धार्मिक र प्राकृतिक मनोरम दृष्यको अवलोकन गरौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार