अरूहरूमा केन्द्रित सेवा

१. अरूहरूको जीवन सजिलो बनाउन गरिने सबै कामहरू सेवा हून् ः हामीले गर्ने सबै काम व्यापार हो वा सेवा भन्ने कुरा हाम्रो मनोवृत्तिमा भर पर्दछ । अत्यन्त दुर्गम भेगमा रहेको व्यक्तिले त्यहाँ बसोबास गर्ने बासिन्दाको खाँचो पूरा गर्ने भित्री आशयले कुनै व्यापार शुरु ग¥यो भने हामी के भन्छौ ? एकातिर क्रेता वा स्थानीयबासीको खाँचो, बाध्यता, स्थानीय स्तरमा सामानको उपलब्धता हेरेर अध्यधिक मूल्य तिरी नाफा कमाउनेहरू पनि छन् भने अर्कातिर दुर्गम भेगमा रहेका स्थानीयहरूको खाँचो पूरा गर्न न्यूनतम लागतमा गुणस्तरका अत्यावश्यक वस्तु वा सेवा उपलब्ध गराउने मनसायले व्यवशाय शुरु गर्नेहरू पनि छन् । कसैले गरेको पेसा वा व्यवसायबाट व्यक्तिको मनोवृत्ति थाहा हुन्छ । सेवा गर्छु भन्नेहरूले यथोचित मूल्यमा सामान वा सेवा उपलब्ध गराई आफ्ना सेवाग्राहीहरूको जीवन सजिलो बनाए वा मौका यही हो भनी बाध्यताको फाइदा उठाएर अझ मालामाल भए; यसैबाट वास्तविक सेवा कस्तो रहेछ भन्ने जान्न सकिन्छ । सेवाको मनोवृत्ति पनि थाहा हुन्छ ।
२. नेतृत्वमा रहेकाहरूले म कसको सेवा गर्दैछु भनेर सन्तुलित मनोवृत्तिले सोच्नु पर्छ ः
निश्चय नै हामी जसको नेतृत्व गर्दैछौं वा प्रतिनिधित्व गर्दैछौं, उनीहरूकै सेवा गर्दछौं र गर्नु पर्दछ । व्यवसायमा लगानी गर्ने मालिकहरूको प्रतिनिधित्व गर्ने व्यवस्थापक र विभिन्न विभागीय प्रमुखहरू वा कामदार÷कर्मचारीहरूको प्रतिनिधित्व गर्ने कर्मचारी प्रतिनिधि वा युनियन लिडरहरू; सबैले आफ्नो आफ्नो लक्षित समूहको सेवा गर्ने जिम्मेवारी पाएका हुन्छन् । कहिले कहिँ मालिकको सेवा गर्दा कामदार कर्मचारीको हितका कुरा बिर्सने र उनीहरूप्रति कठोर बन्दै जाने वा कामदार÷कर्मचारीहरूको हितका कुरा गर्दा व्यवसाय नै टाट पल्टने जोखिम भोगिरहेका र जसका हितका लागि काम गरिएको हो भन्छौं त्यही वर्गकै अहित भई हातमुख जोर्ने उपायबाटै बन्चित भएका अवस्थाहरू साक्षी छन् । नेपालका धेरैजसो संस्थानहरू सेवामा सन्तुलन राख्न नसकेर नै धरासायी भएका हुन् भन्दा अत्युक्ति नहोला । रुख रहेसम्म फल र गाई भैंसीको जीवन रहेसम्म मात्र दूधको आशा गर्न सकिन्छ । एउटाको सेवा गर्न लाग्दा अर्कालाई आघात पर्छ भने त्यो सेवा हुन सक्दैन, सन्तुलित भएन भने दीर्घकालीन प्रतिफल पाउन सकिँदैन ।
३.नेतृत्वमा रहेकाहरूले समुदायको आवश्यकता थाहा गर्न सक्नु पर्दछः
जबसम्म मानिसहरूको वास्तविक आवश्यकता थाहा हुँदैन, हामीले गर्ने सेवा प्रभावकारी हुन सक्दैन । प्रभावकारी सेवा प्रदान गर्ने हो भने हामी अरूहरूको आवश्यकतामा केन्द्रित हुनु पर्दछ । हो, विभिन्न काम वा कुरा गर्ने प्रक्रियाहरू छन्, नीति नियमहरू छन् र असल प्रकारले कार्य सम्पादन गर्न यसको पालना हुन आवश्यक छ । तर यी सबै हाम्रा लक्षित समूहलाई सजिलो बनाउनका लागि हो र फाइदा दिनकै लागि हो । यदि हाम्रा नीति नियम, निर्देशिका, प्रक्रियाहरूले सर्वसाधारणलाई फाइदा पुग्दैन भने यसको काम छैन, हात्तीको दारा मात्र देखाउनका लागि हुन् । मानिसहरूको आवश्यकताका बारेमा हामी जति जान्दछांै र जति संवेदनशील बन्दछौं उति प्रभावकारी सेवा दिन सकिन्छ । अन्यथा हाम्रा सेवा देखावटी हुन पुग्छन् । किनकि आवश्यकता पूरा नगर्ने सेवाको कुनै महत्व हुँदैन ।
४.सेवामा केन्द्रित जीवनले व्यक्तिगत सुख सुविधा त्याग्न कर लगाउँछः
शरीरको अभिलाषा पूरा गर्न मरिमेट्ने लम्पटहरूको कारण देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । व्यक्तिगत, पारिवारिक वा निहित स्वार्थ पूरा गर्न मौका पाएसम्म मानिसहरू व्यक्तिगत सुख, सुविधा र सम्मानका लागि आफ्ना सबै संस्थागत संस्कृति, नियम कानुन, पदीय जिम्मेवारी र वर्षौं लगाएर कमाएको सम्मानलाई समेत दाउमा राखेर लागिपरेका छन् । संघ संस्थामा काम गर्ने कामदार ÷ कर्मचारीलाई दैनिक गुजाराका लागि यथोचित पारिश्रमिक दिन सकिएको छैन भन्ने मालिक र हाकिमहरूको रबैया होस् वा जनताको सेवाका लागि समर्पित हौं भन्ने समाजसेवी वा राजनैतिक पार्टीका तौर तरिका, जीवन शैली होस् अझ देशकै शान्ति, सुरक्षा र समृद्धिको जिम्मा लिएको सरकारका प्रतिनिधिहरू किन नहुन्, सबैलाई हेर्दा लाग्छ कि मौका पर्दा सबै आस्था वा विश्वासको आवरण उतारेर सबै एकै ठाउँमा उभिन्छन् । भ्रष्टाचार, घूसखोरी, जातीय, क्षेत्रीय, लिंगीय विभेद, अनैतिकताका सहभोजमा सामेल हुन्छन् । स्वास्थ्यका बारेमा पाँच तारे होटलमा राखिएको बैठकको दुई दिनको खर्चले दूरदराजमा रहेका जिल्ला भरिका मानिसहरूले स्वास्थ्य केन्द्रबाट उपलब्ध गराइने भनिएको अतिआवश्यक निःशुल्क औषधी महिनाभरि पाउन सक्थे । क्षतिको अवलोकन र मूल्यांकनका लागि निस्कने नेताहरू, समाजसेवीहरू र खटिएका सरकारी र गैरसरकारी कर्मचारीहरूको भ्रमण खर्चमात्रले पनि विपदमा परेका मानिसहरूले पहिलेको अवस्था भन्दा अझ राम्रो जीवन जिउन पाउँथे । एक आनाको मुर्गालाई तीन आनाको मसला भनेझैं पचास हजारकोे राहत बाँड्न पाँच लाखको तामझाम गर्नेलाई के भन्ने र ? नेताज्यूहरूले लगाएका १५१ किलोको माला अझ एउटै माला तीनजनालाई लगाइएको देख्दा देश र समाजको सेवा गर्ने सपथ लिएकाहरूको यो आडम्बरी जीवन कहिलेसम्म भनेर अचम्म मान्नुबाहेक वा सेवाद्वारा जनतालाई रिझाउन नसक्नेहरूले ठूलाठालुलाई रिझाई मौकामा चौका हान्ने पुरानै संस्कृतिको नयाँ शैलीबाहेक अरू के संज्ञा दिने ? के भनेमा उचित होला ? देश र जनताको सेवाका लागि त्यागको आवश्यकता छ । आज देश र समाजले स्वार्थ पूर्तिका लागि होइन, सेवामा केन्द्रित जीवन जीउने नेतृत्व खोजेको छ ।
५.सेवामा केन्द्रित भएकाहरू आफ्नो जीवन सेवाका काममा समर्पित गर्दछन् ः
देश र जनताको सेवाका लागि आफ्नो जीवन सुम्पिएको थोरै तर प्रभावशाली व्यक्तिहरूका उदाहरण हामी हेर्न सक्छौं । सन १८५० को दशकमा बेलायत, फ्रान्स र अरू राज्यहरू मिलेर रुसमा आक्रमण गरे । क्रिमियामा भएको लडाईमा घाइते भएकाहरूलाई नर्स प्रशिक्षक र व्यवस्थापकका रूपमा सेवा दिन अहोरात्र खट्ने फ्लोरेन्स नाइटिंगेल उनको सेवामा भएको समर्पणताका कारण द लेडी विथ द ल्याम्पको नामले नर्सिङ्ग सेवामा संसारभरि प्रसिद्धि कमाइन् । दक्षिण अफ्रिकामा भएको रंगभेद विरुद्ध क्रान्तिको नेतृत्व गर्ने करिब २७ वर्ष जेल जीवन बिताएका र त्यहाँका प्रथम काला राष्ट्रपति नेलशन मण्डेला र बेलायती उपनिवेश विरुद्ध अहिंसात्मक आन्दोलनका नेतृत्व गर्ने भारतका महात्मा गान्धी अरूहरूको जीवन सजिलो बनाउने कुराका उत्कृष्ट उदाहरण हून् । नेपालकै जहानिया र एक तन्त्रिय शासनका विरुद्ध आवाज बुलन्द गर्नेहरूले आफ्नो जीवनको पर्वाह गरेनन् बरु देश र समाजको लागि जीवन आहुती दिएको कथा हामी सुनिरहेकै छौं । आफ्नो देश र जनताको सेवा गर्नेहरू क्षणिक र सकींर्ण स्वार्थबाट माथि उठ्छन्, अरूहरूको सेवाको लागि जीवन दिन तयार हुन्छन् तर सुविधा भोगी वा लालची हुँदैनन् न त आफ्नो असक्षमता लुकाउन बहाना बनाउँछन् । तर उनीहरू जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्छन् अनि आपूmपछि आउने पुस्ताका लागि अत्यन्त सकारात्मक उदाहरण छोड्दछन् ।
६.नेतृत्वमा रहेकाहरूले मनभित्रबाट सेवा गर्नु पर्दछः
कति मानिसहरू अरूहरूलाई देखाउनकै लागि सेवा गर्दछन् । सेवाका नाममा अर्थोपार्जन र मान सम्मान नै उनीहरूको ध्यय बन्दछ । विज्ञापन, ब्यानर, अतिथिहरूको लाम, फोटो, लाइभ भिडियो, चर्का भाषण, राष्ट्रिय स्तरका पत्रिका तथा टेलिभिजनमा समाचार आदि नै सेवाका प्रमाण बन्दछन् । हजारांै अण्डा पार्ने माछाहरूको आवाज सुनिदैन तर एउटा अण्डा पार्ने पोथी थाँक्रामाथि चढेर गरेको कट्यास कट्यासले घरका सबैका कान ठाडो हुन्छन् । ल पोथीले अण्डा पा¥यो भनेर खुशी हुन्छन् । देश र जनताको वास्तवमै सेवा गर्नेहरू प्रतिकूल परिस्थितिमा पनि निरन्तर सेवा गरिरहन्छन्, न दाम खोज्छन्, न मान सम्मान नै । उनीहरूको मनभरि जनताको जीवन कसरी सजिलो बनाउँन सकिन्छ, कसरी देश र समाजको चौतर्फी विकास हुन्छ, यसैमा ध्यान दिन्छन् र तल्लिन रहन्छन् । फलेको बोटलाई नै झटारो हानिन्छ वा सोझो रुखनै मानिसहरूले काट्न खोज्छन् भन्ने जानेर विचलित नभई चुपचाप सेवामा लागिरहन्छन् । किनकि यो उनीहरूको सेवा देखाउनका लागि होइन तर मानिसको जीवन सजिलो बनाउनकै लागि मात्र हो । अनि यो स्वार्थपूर्तिको सेवा होइन तर निस्वार्थ र हृदयभित्रदेखिकै सेवा हो भन्ने सबैले देख्छन् र बुझ्दछन् पनि ।
७.अरूमा केन्द्रित सेवा अरुहरुसँग मिलेर गरिन्छ, एक्लै गरिदैन ः
हामीले देखेका धेरैजसो समाज सेवाका काम एक्लै वा परिवारका केही मानिसहरू मिलेर गरेको पाउँछौं र उनीहरू बेलाबखत आलोचनाको पात्र भएका छन् । पहिलो त एक्लै गरिएको सेवाले ठूलो क्षेत्र ओगट्न सक्दैन, अति आवश्यक काम कुराहरू देख्न र समेट्न सकिदैन, उपलब्ध श्रोत र साधनको प्रभावकारी प्रयोग गर्न सकिदैन । दोश्रो यो समावेशी हुँदैन, जवाफदेहीपन र पारदर्शिताको प्रश्न सँधै रहिरहन्छ । यदि हामी देश र जनताको सेवाका लागि साँचो र निस्वार्थ मनले लागेका छौं भने धेरैलाई सहभागी बनाई समाजको खाँचो परिपूर्ति गर्ने काममा सबैलाई समेट्न तयार हुनुपर्दछ । म ठीक, मैले गरेको सबै जायज, मै त हुँ भन्ने साँघुरो घेराबाट बाहिर आई हामी, हाम्रो काम, हाम्रो सेवा, हामी सँगसँगै धेरै गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ अघि बढ्नु पर्दछ । एक्ला एक्लै गरिएको कामको कुल प्रतिफलभन्दा सेवामा केन्द्रित मानिसहरू सँगसँगै मिलेर गरेको कामको जम्मा प्रतिफल निक्कै धेरै हुन्छ भन्ने जानेर सेवामा संलग्न भएकाहरू आ–आफ्ना व्यक्तिवादी डम्फू छोडेर सबैसँग तालमेलको नौमती बाजा बजाउने तिर लाग्नुपर्दछ ।
८.हामी जिम्मेवार नागरिक हौं भन्नेहरूले आफ्नो कामको मुल्यांकन गर्नुपर्दछ ः
एक पटक फेसबुकमा कसैले लेखेको थियो, “रक्सीले स्वास्थ्य बिगार्छ, घर–परिवार बिगार्छ, महँगो पनि छ तर यो जताततै पाइन्छ, मानिस आफैं यो खोज्न साँझ बिहान र राती पनि दर्गुछन् अर्कोतिर दूधले स्वास्थ्य सपार्छ, बालक र वृद्धलाई नभई हुँदैन, तुलनात्मक रूपले सस्तो छ र दूधवालाले घरघरमा पु¥याउँछ र पनि किन्नेहरू हच्कन्छन् । किन ?” व्यापार त व्यापार नै हो, तर मानिसलाई जीवन दिने कि मृत्युतिर डो¥याउदै कालको मुखमा धकेल्ने ? कुन र कस्तो व्यापार ? सबैको हित हुने कि अरूलाई बिगारेर आफ्नो चाहिँ मोटाउने ? हरेक व्यक्तिले विचार गर्नु पर्ने कुरा यहि हो; के म वास्तवमै सेवा गर्दै छु ? के मैले गरेको कामले मानिसहरूको जीवनमा सजिलो बनाएको छ ? के मैले गरेको कामले मानिसहरूले फाइदा पाएको महसुस गरेका छन् वा मैले सेवा गरेको छु भन्ने ममात्रै हुँ ? हामी जुनसुकै पेसा वा व्यवसायमा किन नहोऔं, यी प्रश्नका उत्तर खोज्ने हामी जिम्मेवार नागरिकहरूको कर्तव्य हो, नैतिक दायित्व पनि हो । केही वर्ष पहिले ललितपुरको सातदोवाटो नजिक एउटा सहकारी खाले पसलमा सामान किन्दै गर्दा चाउचाउ, मैदा, कुरकुरे जस्ता सामान त्यहाँ बेचिदैन भन्ने थाहा भयो । यसको कारण के रहेछ भनी सोधियो र आफ्नो नाफाभन्दा जनताको स्वास्थ्य उनीहरूको सरोकार रहेको कुरा बताइयो । आफ्नो नाफा कमाउने स्वार्थभन्दा अरूको हित हेर्दै व्यापार गर्नेहरू पनि हुँदा रहेछन् नि ! आफ्नो निहित स्वार्थ पूरा गर्न जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कि देशको जिम्मेवार नागरिक बनी सबैलाई सचेत गराउँदै आम नागरिकको हितमा उभिने ? छलकपटरहित, सोझा, अन्जान मानिसहरू र बालापनमा रमाउनेहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा गतिरोध ल्याउने, परिवारमा सँधै कलह मच्चाउने, विभिन्न रोगका जोखिम निम्त्याउने, अझ मन्द विषको रूपमा काम गर्ने वस्तु वा सेवालाई प्रोत्साहन दिने कि यसलाई न्यूनीकरण र निषेधको बाटो अवलम्बन गर्ने यो पनि हामीले साेंच्नै पर्दछ । कहिँ क्षणिक फाइदाका पछि लाग्दा हाम्रै सन्ततिलाईसमेत जोखिममा पारेका त छैनौं वा बन्चरो आफ्नै खुट्टा मै लाग्ने त होइन ?
९.सबै सँगै मिलेर अझ प्रभावकारी सेवा दिन सकिन्छः
हामी नेतृत्वमा रहेकाहरू कुनै कुनै प्रकारले देश र जनताको सेवामा संलग्न छांै । हामीले सेवा गरेका छौं, मानिसहरूलाई भनेका छौं र यो उनीहरूले सुनेका छन् र के गरेका छौं सो नजिकबाट हेरेका छन् । के हामी साँच्चै सेवाका काममा केन्द्रित छौं वा हामीभित्र स्वार्थ लुकेको छ, यो धेरैको चासो हुन्छ र मानिस यो प्रमाणित भएको हेर्न खोज्दैछन् । हामीले आफैंलाई नियाल्नु परेको छ, हाम्रो मन छाम्नु परेको छ र जाँच्नु परेको छ । सबैलाई टेवा पु¥याउने प्रकारको निस्वार्थ सेवामा रहिरहने हो भने हाम्रो स्वार्थमा लटपटिएको मन सफा पानीले धुनु परेको छ । सफा हृदयबाटमात्र अरूहरूका लागि वास्तविक सेवा गरिन्छ, अरूसँग मिलेर अझ धेरै गर्न सकिन्छ र आफैंले देखाइरहन पर्दैन, सबैले देख्ने गरी प्रभावकारी सेवागर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार