आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक रोजगारीको प्रभाव

परिचय :
नेपाल अल्पविकसित तथा पहाडी भू–धरातलको बाहुल्य रहेको मुलुक हो । यो मुलुक समुद्रसँग नजोडिएकाले यसलाई भूपरिवेष्ठित मुलुक भनिन्छ । यो मुलुक मुख्य रुपमा पूर्व, पश्चिम र दक्षिणी सीमाना भारतसँग जोडिएको र उत्तर तर्फ विशाल हिम श्रृंखलाहरुले घेरी चीनसँग जोडिन गएको छ । यसैकारणले पनि नेपाललाई “इण्डिया लक्ड कन्ट्री” भन्ने गरेको सुनिन्छ । धर्म, संस्कृति र सामाजिक संस्कार आदिबाट घनिष्ठता कायम भई भारतसँगको खुला सीमा रहेको मुलुक पनि हो । उत्तरतर्फ विशाल चीन र दक्षिणतर्फ विशाल भारत बिचमा अवस्थित एवम् पृथ्वीनारायण शाहको शब्दमा दुई ढुङ्गाबीचको तरुल अवस्थामा च्याँपिएको मुलुकको रुपमा अथ्र्याइए पनि लोकतन्त्रका आजकोे जमानामा दुबै देशको सभ्यता, संस्कृति, मूल्यमान्यता र आर्थिक गतिशीलताको आदान प्रदान गर्ने एउटा महत्वपूर्ण तथा गतिशील पुल हो । यी दुई विशाल मुलुकबिच समदुरीको सम्बन्ध स्थापना गरी आपसीहितका आधारमा वैदेशिक सम्बन्ध कायम गर्नु पर्दछ । यी दुई मुलुक लगायत संसारका सबै मुलुकहरुसँगको सम्बन्ध पञ्चशीलताको सिद्धान्त तथा संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तका आधारमा स्थापना गर्नु पर्दछ । कुनै एउटा मुलुकतर्फ ढल्कने प्रवृतिले देशको हित नहुने र यिनीहरुको आर्थिक समृद्धिबाट मुलुकले फाइदा लिन सकिने अवस्था देखिंदैन । त्यसैले दुबै देशको आर्थिक समृद्धिबाट उच्चतम लाभ लिन सकेमा मुलुकले आर्थिक समृद्धि हासिल गर्ने प्रशस्त सम्भावना बोकेको मुलुक पनि हो । साधन स्रोतले सुसम्पन्न मुलुक हुँदाहुँदै पनि यसको समुचित व्यबस्थापन तथा उपयोग हुन नसक्दा गरिबीको अवस्थाबाट गुज्रिरहेको अवस्था छ ।
नेपाल अझै पनि कृषिप्रधान मुलुक हो । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः रुपान्तरित हुने क्रममा छ । हाल मुलुकको संरचनात्मक परिवर्तन देखिने क्रम सुरु भएको छ । मुलुक सुस्त ढङ्गले कृषि क्षेत्रबाट गैर–कृषि क्षेत्रतर्फ अगाडि बढ्दै गएको छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दो क्रममा छ भने गैह्रकृषि क्षेत्रको योगदानको बढोत्तरी हुँदै गएको छ । आ.ब. २०६८।६९ देखि २०७२।७३ सम्म कृषि क्षेत्रको औसत अंश ३३ प्रतिशत रहन गएको छ । आ.ब. २०७२।७३ मा मात्र कृषि क्षेत्रको योगदान घटी ३१.७ प्रतिशत र गैह्र कृषि क्षेत्रको योगदान ६८.३ प्रतिशत रहन गएको छ (आर्थिक सर्वेक्षण,२०७३ ः १६) । संरचनात्मक परिवर्तनको गति सुस्त छ । तर पनि सकरात्मक ढंगले भविष्यप्रति आशावादी हुने लक्षणहरु देखा पर्न थालेका छन् ।
मुलुकमा सामन्तवादको अन्त्य भएको छ । ढिलै भए पनि नेपाली जनताले पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । मुलुकमा एकात्मक र केन्द्रिकृत शासन प्रणालीको अन्त्य भई संघीय, समावेशी लोकतान्त्रिक शासन प्रणालीको सूत्रपात भएको अवस्था छ । केन्द्रमा अवस्थित अधिकारहरु गाउँ–नगरमा स्थापित भएका छन् । जनताका यी अधिकारहरु संविधान तथा ऐन नियमहरुमा सूत्रबद्ध गर्दै प्रत्याभूत गरिएका छन् । संविधानमै सामाजबाद उन्मूख अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समाजवाद सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेको छ । सबै राजनीतिक दलहरुले सामाजवाद प्रति प्रतिबद्ध रहँदै आवधिक निर्वाचन मार्फत जनताबाट अनुमोदन गराई आफ्ना नीति, कार्यक्रम तथा योजना लागू गर्दै अगाडि बढ्नु पर्ने अवस्था सिर्जना भएको छ । समाजवादको स्थापनाको लागि अब बल प्रयोग गर्नु पर्ने अवस्था देखिंदैन । शान्तिपूर्ण ढंगले जनमतमार्फत समाजवाद लागू गर्न सकिने अवस्था कायम भएको छ । त्यसैले देशभित्र प्राप्त साधन तथा स्रोतको सही परिचालन गरी वाह्य स्रोत समेत जुटाउँदै समृद्धि एवम् द्रूत आर्थिक विकासको लक्ष्यका साथ न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्न अगाडि बढ्नुको विकल्प देखिंदैन ।
वैदेशिक रोजगारीको अवस्थाः
विश्वव्यापीकरणका कारण भारतसँग मात्र सीमित रहेको रोजगारीका अवसरहरु नेपालीका लागि संसारभरका विभिन्न देशहरुमा खुला गरिएको अवस्था छ । नेपालमा कुल जनसंख्याको करिब ३० प्रतिशत अर्धवेरोजगार र २.३ प्रतिशत पूर्ण बेरोजगार रहेको अवस्था छ । देशको कुल जनसंख्यामा ५७ प्रतिशत आर्थिक रुपले सक्रिय जनशक्ति रहेको छ । देशमा पर्याप्त मात्रामा उद्योग तथा सेवा क्षेत्रको विकास हुन नसक्दा कृषि क्षेत्रमा आश्रित रहनुपर्ने अवस्था छ । कृषि प्रणाली निर्वाहमुखी हुनुको साथै यसको व्यवसायीकरण हुन सकिरहेको अवस्था छैन । देशमा हरेक वर्ष चारलाख पचास हजार जनशक्ति श्रम बजारमा आउने गर्दछ । देशभित्र पर्याप्त रोजगारिका अवसरहरु नहुँदा यो श्रम शक्ति देशबाट बाहिरिने अवस्था विद्यमान छ (१४औं योजना ः २४८) । साथै प्रतिदिन करिब १६०० जनशक्ति बैदेशिक रोजगारीका लागि देशबाट बाहिरिरहेको अवस्था छ । यो श्रमशक्ति दक्ष हुन नसक्दा विदेशी श्रमबजारमा उचित र सम्मानजनक हिसाबले पारिश्रमिक र सुविधा पाउन सकिरहेको अवस्था छैन । आ.ब. २०५०।५१ सम्म औपचारिक रुपमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ३६०५ रहेको थियो । हरेक वर्ष यो संख्यामा निरन्तर बृद्धि हुँदै गइरहेको छ । नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, खाडीमुलुकहरु लगायत संसारका विभिन्न मुलुकहरु भएका छन् । आ.ब. २०६३।६४ देखि २०७१।७२ सम्म वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने नेपालीहरुको संख्या ३२,०१,२६८ पुगेको छ । यसरी वैदेशिक रोजगारीका लागि विदेशिने महिलाहरुको संख्यामा पनि सुस्त बृद्धि हुँदै गइरहेको छ । यो संख्या २०७१। २०७२ मा १,३५,८०६ पुगेको छ (आर्थिक सर्वेक्षण २०७३ ः १२२) । खासगरी मुलुकमा लोकतन्त्रको बाहली पश्चात महिलाहरुमा आएको शैक्षिक जागरण, महिला सशक्तीकरण, महिला अधिकारको स्थापना र महिला पुरुष बिचको समान स्थितिले देशको राजनीतिक, आर्थिक, सामाजिक एवम् संस्कृतिक गतिविधिहरुमा महिलाहरुको सहभागिता उच्च हुँदै गएको आभास मिल्दछ ।
वैदेशिक रोजगारी समस्याको पूर्ण समाधान होइन । यो तत्कालीन समाधान मात्र हो । यो दीर्धकालीन समयका लागि एउटा ठूलो चुनौती पनि हो । जबसम्म देशभित्र कृषि, उद्योग र सेवा व्यवसायको समुचित विकास गरी प्रशस्त मात्रामा रोजगारीका अवसरहरु सिर्जना गरिंदैन तबसम्म मुलुकमा अस्थिरता र अन्यौलता रहिरहने देखिन्छ । दीर्घकालीन समाधानतर्फ ध्यान दिंदै स्वदेशमै विकासमार्फत रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ राज्यको प्रयास केन्द्रित हुनुपर्ने दखिन्छ ।
आर्थिक एवम् सामाजिक प्रभावः
अवसरको खोजीमा मानिसहरु मातृभूमि छोडी विदेशिने प्रचलन नयाँ होइन । प्राचीनकालमा मानव निर्मित सभ्यताहरु विकसित भएका कुराहरु ऐतिहासिक महत्वका ग्रन्थहरु र यात्रा वृतान्तहरुको अध्ययनबाट अवगत हुन्छ । आन्तरिक रुपमा अवसर नपाउँदा युवाहरु अवसरको खोजीमा विदेशिने प्रचलन अहिले ह्वात्तै बढेको छ । यो विशेषगरी यातायात तथा सञ्चारको तीव्र विकासका कारण तथा उदारवादी आर्थिक प्रणाली अवलम्वन भएबाट मानिसहरु एकै ठाउँमा सीमित रहिरहनु पर्ने, पुरानै मूल्यमान्यतामा रमाउनु पर्ने र गरिबीमा बाँचिरहनु पर्ने बाध्यता अब रहेन । मानिसले आफ्नो योग्यता, क्षमता र सीपको उपयोग गर्नका लागि संसार नै उनीहरुको पहुँचको विषय बनेको छ ।
वैदेशिक रोजगारीबाट नेपालले ठूलो धनराशी विप्रेषणको रुपमा देश भिœयाउने गरेको छ । आ.व. २०४७ सालमा कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रहेको विप्रेषण २०७०।७१ मा २८ प्रतिशत पुगी विश्वको विप्रेषण प्राप्त गर्ने देशहरुको सूचीमा तेस्रो स्थानमा रहेको छ । आ.ब. २०७१।७२ मा मात्र नेपालले रु. पाँच खर्ब ४३ अर्ब बराबरको विप्रेषण भिœयाएको छ । यसबाट नेपालको विदेशी मुद्राको सन्चितीको अवस्था सन्तोषजनक रही चालु खाता बचत समेत भएको छ ।
गरिबी न्यूनीकरणमा पनि विप्रेषणले राम्रो काम गरेको छ । २०५२ सालमा ४२ प्रतिशत गरिबीको रेखामुनि रहेको नेपालीको संख्या २०६८ मा आइपुग्दा १७ प्रतिशतले घटी २५ प्रतिशतमा झरेको छ (मिर्मिरे २०७३ ः २६ ) । विशेष गरी वैदेशिक रोजगारीका कारण ग्रामीण क्षेत्रहरुमा व्याप्त गरिबी न्यूनीकरणको अवस्थामा आइपुगेको छ । सहरी क्षेत्रहरुमा ग्रामीण क्षेत्रहरुको तुलनामा गरिबी न्यूनीकरणमा उत्साहजनक प्रगति हुन सकिरहेको अवस्था छैन । विगत समयमा ग्रामीण क्षेत्रहरुमा व्यापक गरिबीका कारण भोकमरी , अनिकाल तथा खद्यान्न संकट भएबाट बिहान बेलुका हातमुख जोर्न कठिन समस्या थियो तर वैदेशिक रोजगारीको अवसरले ग्रामीण जनताहरुको जीवन स्तरमा सकरात्मक सुधारका संकेतहरु देखिएका छन् ।
विप्रेषणबाट प्राप्त आम्दानीको ठूलो हिस्सा दैनिक उपभोगमा खर्च हुने गरेको छ । नेपाल जस्तो आयतमा भरपर्ने मुलुकको निम्ति स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु भन्दा आयात वृद्धि हुने र दीर्घकालीन रुपमा व्यापारघाटा बढाउने अवस्था अध्ययनबाट देखिएको छ । साथै विप्रेषणका कारण खर्च योग्य आम्दानीमा वृद्धि भई वस्तु तथा सेवाको मागमा वृद्धि भई मूल्य बढ्ने अवस्था सिर्जना भएको छ । विप्रेषण आयबाट प्राप्त रकम बचत गरी उत्पादनशील कार्यमा लगाउने भन्दा बिलासिताका सामान अनावश्यक वस्तु तथा अन्य उपभोग मै खर्च गर्ने प्रवृत्ति रहेको छ ।
नेपालको विदेशी मुद्राको सञ्चितीमा विप्रेषण आयको ठूलो भूमिका रहेको छ । विगत बाह्र वर्षको अवधिमा नेपालको विदेशी मुद्राको संचितीमा ६ अर्ब ७० करोड अमेरिकी डलरले वृद्धि भई २०७२ को असार मासन्त सम्ममा ८ अर्ब १५ करोड अमेरिकी डलर पुगेको छ (मिर्मिरे २०७२ः २९) । यसले वस्तु तथा सेवा आयात गर्न वैदेशिक ऋणको सावाँ व्याज भुक्तानी गर्न, सर्वसाधारणको शिक्षा, स्वास्थ्य आदिका लागि हुने विदेशी मुद्राको मााग व्यवस्थापन गर्न सहज भएको छ । साथै विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न विदेशी मुद्राको संचितीले उनिहरुबाट भएको लगानीको साँवा तथा प्रतिफल फिर्ता लैजान सहज हुने भएकोले थप लगानी आकर्षण गर्न सहज हुने अवस्था देखिएको छ ।
वैदेशीक रोजगारीको सुविधाका कारण मेनपावर कम्पनीहरुले धेरै मानिसहरुलाई आफ्ना कार्यालयहरुमा रोजगारी समेत दिएका छन् । स्वास्थ्य परीक्षण, अभिमुखीकरण, भाषा प्रशिक्षण लगायतका क्रियाकलापहरुमा धेरै संस्थाहरु संलग्न भएका छन् । साथै विप्रेषणको रकम आफन्तहरुलाई पु¥याउन गाउँ तथा सहरमा विप्रेषण कार्यलय एवम् बैंक तथा वित्तीय संस्थाहरु क्रियाशील छन् । यसले पनि मानिसहरुमा सकारात्मक सोंच निर्माण गर्न मद्दत पुगेको छ ।
वैदेशिक रोजगारीका निम्ति संसारका विभिन्न मुलुकहरुमा जाने नेपालीहरुलाई सम्बन्धित देशको मूल्य मान्यता आधुनिक संस्कृति एवम् परम्पराको बारेमा जानकारी हुने भएबाट उनीहरुको चेतनास्तर तथा ज्ञानको भण्डारमा समेत वृद्धि गर्न मद्धत पुगेको छ । यसले उनीहरुमा रहेको अन्धविश्वास, रुढिवादी चिन्तन र पछौटेपनको अन्त्य गर्न समेत मद्धत पुगेको छ । विदेशमा श्रम गर्ने क्रममा सिकेको सीप, प्रविधि र ज्ञानलाई त्यहाँबाट फर्केपछि स्वदेशमै उत्पादनशील क्रियाकलापमा लगाउन सके मुलुकको विकासमा मद्धत पुग्ने देखिन्छ ।
हाल आएर भारतमा मात्र रोजगारीका लागि जाने परिपाटिको अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि संसारका ११० मुलुकहरुलाई खुला गरिएको अवस्थामा कुनै मुलुकमा निर्भर रहनु पर्ने अवस्था छैन । यसबाट नेपाली कामदारहरुमा भारतीय हेपाहा प्रवृत्तिको अगाडि नझुक्ने र राष्ट्रियताको भावनाबाट उनीहरु ओतप्रोत भएको अवस्था छ । गत २०७२ सालको अधोषित भारतीय नाकाबन्दीमा नेपाली जनताले डटेर प्रतिवाद गरेको घटना ताजा छ । यसबाट नेपालीहरुमा राष्ट्रप्रतिको मोह बढेर गएको छर्लङ्ग हुन्छ ।
वैदेशिक रोजगारीले नेपालको वर्गीय ढाँचामा समेत उत्साहजनक परिवर्तन ल्याएको छ । विप्रेषण आयबाट मुलुकमा अहिले मध्यम वर्गको संख्यामा ह्वात्तै बृद्धि भएको छ । यिनीहरुको रहन–सहन, जीवनशैली एवम् सोंचमा समेत सकारात्मक परिविर्तन देखा परेको छ । यिनीहरुको चेतनास्तर समेत उच्च बनेको अवस्था छ ।
वैदेशिक रोजगारीले नेपालको सामाजिक जनजीवनमा केही नकारात्मक प्रभाव पारेको पनि छ । खासगरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको घरपरिवारमा सहरमा डेरा जमाइ बस्ने, विलासी जीवन बिताउने, अनावश्यक ढंगले खर्च गरी विप्रेषणको दुरुपयोग गर्ने र पारिवारिक सम्बन्धमा नै अवरोध आउने तथा सम्बन्ध विच्छेदसम्मका अप्रिय घटनाहरु हुने गरेका छन् । साथै युवा श्रमशक्ति विदेशिने भएबाट स्वदेशमा कृषि तथा निर्माण व्यवसायमा कामदारहरुको अभाव हुने, श्रमिकहरुको ज्यालामा अत्यधिक वृद्धि हुने र जग्गा जमिन बाँझै रहनेसम्मका अवस्था सिर्जना भएका छन् । विप्रेषणको दुरुपयोग भई कृषियोग्य जमिन घर घडेरीका लागि प्लटिङ गर्ने, अस्वभाविक ढंगले जग्गाको मूल्यमा वृद्धिहुने तथा सर्वसाधारणलाई ठग्ने प्रवृतिहरु मौलाएका छन् । यी विकृतिहरुको बाबजुद वैदेशिक रोजगारीले नेपाली जनजीवनलाई आर्थिक रुपले सबल बनाउन, देश प्रेम जगाउन, उत्पादन तथा निर्माणमा वृद्धि गर्न, चेतनास्तर उठाउन, अन्तर्राष्ट्रिय परिस्थिति र मानव सभ्यताका बारेमा तथा नयाँ प्रविधिको ज्ञान हासिल गर्न समेत मद्दत पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार