लुम्बिनी भ्रमण वर्षको उत्कर्ष

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाउने निधो गरेपछि त्यसैका लागि दरिलो आधार तयार पार्न लुम्बिनी भ्रमण वर्षको तयारीमा लाग्यो ५ नम्बर प्रदेशको सरकार पनि । २०७६ साललाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर । ०७६ सालको बुद्धपूर्णिमा आँगनमै आइसक्यो । भ्रमण वर्षको आकर्षणको उत्कर्ष हो यो । आँगनमा आएको बुद्धपूर्णिमालाई सहर्ष स्वागत एवं सत्कार गर्न, उल्लासपूर्वक मनाउन र सहभागिता जनाउन ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भनिएको छ । प्रचार प्रसार पनि खुब गरिएको छ । राम्रो काम हो यो । तर …,
राम्रो काम गर्दा समय र तरिका पनि सोही अनुसारको तयार पारिएको भए, मिलाए अत्युत्तम हुन्थ्यो । उपयुक्त विषय, अनुपयुक्त समय भन्नपर्ने अवस्था तयार पारेको छ सिद्धार्थनगरदेखि लुम्बिनीहुँदै तौलिहवा(प्राचीन कपिलवस्तु)सम्म पुग्ने सडकको दुरावस्थाले । बाटो भत्काएर दुर्दशा देखाउन पर्यटक बोलाएजस्तो पर्न गएको छ । सडक फराकिलो पार्न भनेर पोहोरसालदेखि भत्काइएको हो र ०७७ सालसम्म पनि बनाएर सकिने सम्भावना छैन । भैरहवा र तौलिहवाबाट लुम्बिनी पुग्दासम्म पर्यटक र उसका सवारी साधन चिन्नै नसकिने अवस्थामा पुग्छन्, हुन्छन् । पानी परे हिलो र खडेरी भए धुलोले राम्रै धुलाई गर्छ । कर गरीगरी लुम्बिनी लगिएका अतिथिले अर्कोपल्टदेखि यो ठाउँमा आउन नपरोस् भनेर मनमनै कसम खाँदै फर्कदै गर्नपर्नेजस्तो समयमा भ्रमण वर्षको आयोजना गरेर कस्तो हर्ष र उपलब्धि हात लाग्ला ? सोचनीय छ ।
लुम्बिनीमा जाने पर्यटक मात्रै होइन, स्वदेशी योजनाकार, नीति निर्मातादेखि लिएर स्वदेशी तथा विदेशी चल्तापूर्जा पत्रकारहरुलाई पनि लुम्बिनीकै बारेमा जति लेख्न र कराउन पनि छूट छ । तर कपिलवस्तुका बारेमा राम्रा योजना अघि सार्ने, पार्ने, प्रदेशको राजधानी बनाउने र नाम तोक्ने अधिकार भने दिइएको छैन । दक्षिणतिरबाट खबरदारी हुन्छ बारम्बार । त्यसैले दाङ् र बुटवलमा प्रदेशको राजधानी बनाउन तानातान् भएका खबर मात्र छापिन्छन्, हल्लाखल्ला पनि गरिन्छन्, तर कपिलवस्तुको नामै लिइदैन, लिनै दिइदैन । लिने हिम्मत पनि गर्दैनन् कसैले । दक्षिणी दानापानीको असरको कसर हो यो । बुद्ध र लुम्बिनी चाहिने, भन्न पनि पाइने, खुबै गाइने, भजाइने र बाजा पनि बजाइने । कपिलवस्तुको त चर्चा गर्न पनि नपाइने ! यस्तो लोकतन्त्र छ नेपालमा । संघीयता छ नेपालमा । गणतन्त्र छ नेपालमा । प्राचीन शाक्य गणतन्त्रको जननीमा वर्तमान गणतन्त्रले विगतको आफ्नै इतिहास ब्युँताउन पाउँदैन । प्रयोग गर्न सक्दैन । छिमेकीको आदेशका भरमा चल्नपरेपछि यस्तै गर्नपर्छ, गरिन्छ । गौतम बुद्धका नाममा लुम्बिनी झकिझकाउ, सजिसजाउ र भरिभराउ भएर गुल्जार बन्छ । उनको गृहनगर दरबार रहेको कपिलवस्तु बेवारिसे हुन्छ र रुन्छ ।
हाम्रा देशका योजनकारहरु, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसमेत जब विदेशमा जान्छन्, तब उनीहरुले पनि नेपाल चिनाउँन पर्दा गौतम बुद्धको देश भनेर सगर्व फुर्ति लगाउँछन् । ती गौतम बुद्धको आफ्नै देश त कपिलवस्तु हो नि ! लुम्बिनी पनि त्यसैभित्रको एउटा रमणीय उपवन मात्र थियो, पर्दथ्यो । रोहिणीनदीदेखि पूर्वतिर कोलीय राज्य थियो । कपिलवस्तुको सीमा छुट्ट्याउने तत्कालीन रोहिणीनदीदेखि पश्चिमै छ लुम्बिनी अहिले पनि । त्यसका अवशेष अद्यपि देख्न सकिन्छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं साँस्कृतिक संगठन (युनेष्को), जापान, श्रीलङ्का, थाइलैण्ड, बेलायत, चीन, भियतनाम, कोरिया, बर्मा आदि देशले कपिलवस्तु र प्राचीन शाक्य गणराज्यको अन्वेषण गर्ने, लगानी पनि भर्ने गरेका छन् त्यसैले । तर दक्षिणी भूत देखेर तर्सने नेपाली नेता र योजनकारहरु सरकार र शक्तिमा रहुन्जेलसम्म जति लगानी ल्याएर, जुटाएर भ्रमण वर्ष मनाए पनि केही हुनेवाला छैन ।
हाम्रो देशको चलनै यस्तै छ । घरको जवान छोरो विदेश जान्छ, पसिना बगाउँछ, कमाउँछ र घर परिवार पाल्न खर्च पठाउँछ । छोराले पठाएको त्यो रकम बाबुआमा, सन्तान र सन्ततिले पाउनुभन्दा पहिलै अर्कैले उछिट्ट्याउँछ । पसिना बगाएर कमाउनेचाहिँ गरीब र बीचैबाट अर्कैको धन टप्काउने दलाल र बदमासचाहिँ धनी बनेको देखिएकै छ त्यसैले । गौतम बुद्ध र कपिलवस्तुका विषयमा पनि ठ्याक्कै त्यस्तै भयो । कपिलवस्तुका सुयोग्य सपुत गौतम बुद्धले आजभन्दा २५ सय वर्ष पहिले विदेशिएर पनि अझैसम्म आफ्नो घर, परिवार र देश सपार्न विदेशी मुद्रा पठाएकै छन् । उनैले पठाएको त्यो रकम बुझ्दै, बीचका दलालहरुले लुम्बिनी र गौतम बुद्धको नाम जप्दै। कपिलवस्तुलाई हेप्दै गरेको देख्दा गौतम बुद्धको आत्माले समेत कति धिक्कार्दो हो ?
लुम्बिनीमा भ्रमण वर्षको तयारीको तामझाम् पनि उत्कर्षमै छ । तर लुम्बिनी वरिपरिका स्थानीय बासिन्दालाई भने कौवालाई बेलपाक्यो हर्ष न विस्मात् भनेजस्तै छ । छिमेकी जिल्ला र पालिकाका कर्मचारी, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, सम्बन्धित पार्टीका ओसारिएका कार्यकर्ता, फाइदा पाएका र पाउने, लिनसक्ने संघ–सँस्थाका मान्छेहरु ओइरिन्छन् । शान्ति पदयात्रा गर्छन् । भिक्षु र लामा गुरुहरुबाट पूजासूजा पनि हुन्छ । प्रधानमन्त्री र राष्ट्रपतिसहित सम्बन्धित मन्त्री र मन्त्रालयका सचिव, उप–सचिवहरुले पुरानै कुरालाई नयाँकरण गरेर सुनाउँछन्, भोज भतेर गरेर सकेपछि अनि फर्कन्छन् । त्यसपछि उस्तै हुन्छ, रहन्छ लुम्बिनी । चारदिनकी चाँदनी फिर अन्धेरी रात भनेझै । आउने वर्षको बुद्ध पूर्णिमामा पनि उस्तै हुन्छ, गरिन्छ । फरक केही हुँदैन । पञ्चायतका पालामा पञ्चको, काँग्रेसका पालामा काँग्रेसको र कम्युनिष्टका पालामा कम्युनिष्ट कार्यकर्ताको भीडभाड र अह्रनखटन अलि बढी हुने हो । अरु केही होइन, हुँदैन ।
बाहिरबाट ओसारिएका मान्छेले मनाउने लुम्बिनी भ्रमण वर्षका कार्यक्रम कति भए, किन भए, अझै कति होलान् र तिनले के फरक पार्लान् भनेर वरिपरिका गाउँलेलाई सोध्यो भने चित्तबुझ्दो जवाफ पाइन्न । माथिबाटै आए, उतै गए, के के गरे, किन गरे, अझै कति गर्ने हुन् ? उनैलाई थाहा होला, हामीलाई किन सोध्नुहुन्छ ? उतै सोध्नुस्, जानुस्, भन्छन् । लुम्बिनीप्रति अपनत्व छैन, हुने मौकै दिइएन । भाडाका मान्छे आउने, भाडामै रमाउने, लुम्बिनीमा अड्डा जमाउने र कब्जा गर्नेहरुप्रति वितृष्णा पो छ त । प्रधानमन्त्री र राष्ट्रपति आउँदा उर्दी लगाएर भीड जुटाउन प्रतिष्पर्धा गर्नेले वरिपरिका विद्यालयका बालबालिकालाई चर्को घाममा भोकै र प्यासै उभ्याउँछन् । प्रभातफेरीमा दौडाउँछन् । खुब् दुःख दिन्छन्, भन्छन् । यस्तो दुःख र पीडा अलिकति कम गरिदिए पनि हुन्थ्यो भन्ने चाहना सुन्न सकिन्छ बरु । कपिलवस्तुमा गरिने कार्यक्रम पनि त्यस्तै हुन्छन् अधिकांश । तोकिएका र बोकिएका मान्छेका भाषण, ताली र गालीबाट मुक्त हुँदैनन् महत्वपूर्ण कार्यक्रमहरु पनि ।
नयाँ सरकार बनेपछि केही न केही गरेको देखाउन पर्ने, विवादरहित र सर्वस्वीकार्य खालको कार्यक्रम खोज्नुपर्ने, रोज्नुपर्ने बाध्यताले गर्दा पनि नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्ष परे, पारिए । आन्तरिक अवस्थाको उति ख्याल गरिएनछ । सल्लाह र सुझाव दिनुपर्नेले दिएनछन् र लिनेले पनि लिएनछन् । हतारमा निर्णय गरे, कार्यान्वयन गर्ने बेलामा अडचन आइपरे । दुःख दिन बोलाएजस्तो हुने भयो । राम्रै तयारी गरेर, बाटो साटो पनि बनाइसकेर, अरु दुईवर्षजति कुरेर, स्थानीय जनताको चाहना बुझेर, वरिपरिका जनताकै अगुवाईमा, सरकारचाहिँ सहयोगी बनेर सभ्य र भव्य तरिकाले गर्न लगाएको भए साह्रै उपलब्धिमूलक हुन्थ्यो । स्थानीय जनताले पनि अपनत्व लिन्थे, खुशी हुन्थे । पर्यटक आउँदा पनि रमाउँथे, सघाउथे । पर्यटकले खाने, खोज्ने, रोज्ने, किन्ने खालका सामग्री बनाउन, उत्पादन गर्न प्रोत्साहन गरेदेखि रोजगारी पनि पाउँथे, कमाउँथे । अहिलेको भ्रमण वर्ष पनि पहिलेकैजस्तो हुने भयो । फरक के रह्यो र ख्वै ?
भ्रमण वर्षको उत्कर्षको यो अवसरमा सवै ठीक ठाक छ, जनता खुशी छन्, तीनवटै सरकारको जयजयकार गरेर बसेका छन्, केही पनि कमी छैन, सवै सुखी छन्, भोक र शोक, दुःख दर्द हटेको छ भनेर लेख्नुपथ्र्यो होला । लेखिएन । लेख्न त खोजेको पनि हो । आधार भेटिएन । जस्तो देखियो, त्यस्तै लेखियो । गर्धन चिलाएको रहेछ नभनियोस् । यतिसम्म लेख्न पाउने अधिकारचाहिँ नखोसियोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार