चिनको क्यानान् र सैनामैना नगर बिच भागिनी सम्बन्ध कायम हुने

ललित पाण्डेय/ रुपन्देही । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र चिनको क्यानान् प्रिफेक्चर नगर बिचमा भागिनी सम्बन्ध कायम हुने भएको छ ।
सैनामैना नगरपालिकाको कार्यालयमा मंगलबार क्यानान् प्रिफेक्चरका उपप्रमुख सि जेली सहितको टोलीले भागिनी सम्बन्ध कायम गर्ने सम्बन्धमा नगर प्रमुखसँग छलफल गरेको हो ।

चिनिया टोली क्यानन्का जेलीले सैनामैना नगरपालिकासँग भागिनी सम्बन्ध कायम राख्न ईच्छुक रहेको बताएका थिए । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले चिनको क्यानान् नगर र सैनामैना नगरपालिका बिच भागिनी सम्बन्ध कायम हुने बताए । भागिनी सम्बन्ध राख्नको लागि चिनीया टोलीसँग ड्राफ्ट आदानप्रदान हुने उनले जानकारी दिए ।

चिनिया टोलीसँगको भेटमा नगर प्रमुख कार्कीले सैनामैना नगरपालिका पनि बुद्ध कालिन शहर भएको बताए । भागिनी सम्बन्ध कायम भएपछि दुबै नगरका कला, शिक्षा सांस्कृति रहनसहन आदान प्रदान हुने प्रमुख कार्कीले बताएका छन । कार्कीले भने सैनामैना नगरपालिकामा ऐतिहासिक क्षेत्रहरु रहेका छन ।

जसको गुरुयोजना बनाएर विकास गर्न लागिको चिनिया टोलीलाई जानकारी गराएका थिए । नगरपालिकाको शैक्षिक विकासको लागि चिनको क्यानान् प्रिफेक्चर नगरबाट ५० लाख बराबरको शैक्षिक सामाग्री सहयोग आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
नगरपालिकाका सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिने उनले बताए ।

चिनिया टोलीलाई सैनामैना नगर प्रमुख कार्की सहित , उपप्रमुख बिना राना , प्रमुख प्रशासकिय अधिकृत कृष्ण भण्डारी , जनप्रतिनिधि ,कर्मचारीले नगरपालिकाको कार्यालयमा स्वागत गरेका थिए । चिनिया टोलीले सैनामैनामा भएका ऐतिहासिक रानी कुवा, ठुलो कुवा , सग्रालयको अवलोकन समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार