प्राणी कुञ्जः सकारात्मक धारणा

नेपाल सरकारले विश्वका अन्य मुलुकहरूमा झैँ जैविक एवं वानस्पतिक विविधताको रक्षा गर्नको लागि प्रदेश सरकारको माध्यमबाट सातै प्रदेशमा प्राणी कुञ्ज बनाउने धारणा अघि सारेको छ । यो अत्यन्त सकारात्मक कुरा हो । यही धारणाअनुसार प्रदेश नम्बर ५ को बुटवल उपमहानगरपालिका नजिकको जितेश्वरी सामुदायिक वन क्षेत्रलाई प्राणीको लागि अनुकूल बासस्थान भएको विशेषज्ञहरूले ठहर गरेका छन् ।
प्राणी निकुञ्ज केवल पर्यटकहरूको लागि मनोरञ्जनको साधन मात्र नहोस् । त्यहाँ सबै प्राणीहरू इको सिष्टमका आधारमा बाँच्न सकून् । सबैलाई आहाराको राम्रो प्रबन्ध होस् । सबै प्राणीहरू चोरी शिकारीबाट सुरक्षित होऊन् । मानिस मात्र हैन प्राणीहरू पनि स्वतन्त्र होऊन् । सबै प्राणीहरूलाई बाँच्नको लागि कति वर्ग स्क्वायर फिट जमिन चाहिन्छ, त्यतिका आधारमा व्यवस्थापन गर्नुपर्छ । प्राणी र वनस्पतिको लागि चाहिने स्वच्छ पानी पोखरीहरू, प्रजननका लागि आवश्यक स्थान, भीषण वर्षा र चिसोबाट सुरक्षित हुनका लागि बलिया सेडहरू, कृत्रिम ओडारहरू, शीतल छहारीहरू, वरिपरि लगाउने सुरक्षित बाउन्डरी आदिको आवश्यक पर्छ । प्राणीको लागि उपचारको व्यवस्था, पर्यापर्यटकको अवधारणाअनुसार पर्यटकहरूलाई सुरक्षित ट्रेकिङ्गको व्यवस्था, आकासे पुलहरू, होटलहरू, बीचबीचमा पार्कहरू, टावरहरू सबै चाहिन्छन् ।
त्यसको लागि संरक्षण विकास फाउन्डेशन अन्तर्गतका वन्यजन्तु विशेषज्ञहरू, पर्यटनविद्हरू, पशु चिकित्सकहरू, प्राणी उद्यान विज्ञ, भूगर्भविदहरूको विशेष टोलीले बुटवलको जितेश्वरी सामुदायिक वनलाई तीन दिनसम्मको अध्ययन अनुसन्धानबाट सबै दृष्टिले प्राणी अनुकूल ठह¥याएका छन् । यो सामुदायिक वन राजमार्गबाट करिब डेढ किमी टाढा छ । उत्तर दक्षिण फैलिएका राम्रा र चौडा सडकहरू छन् । साल सिसौको घना जङ्गल छ । नजिक बस्ती पनि छ । सबै स्थानमा वृक्षारोपण भएको छ । विद्युतको सुविधा छ । आवश्यक अनुसार पानीका श्रोतहरू छन् । प्रशस्त ढुङ्गा भएको हुनाले पर्यटकहरूको लागि रकगार्डेन बनाउन सकिन्छ । वाटर पार्कको पूर्वाधार बनेको छ । मिलन पार्क, पिस पार्क आदिका सुन्दर आधारहरू बनेका छन् । पाणिनि पार्कको अवधारणा अघि आएको छ । ऐतिहासिक संग्रहालय बनाउने सोंच छ । खेल मैदानहरू बनेका छन् । यसबाट यो स्थानमा प्रशस्त पर्यटकहरू आउने सम्भावना छ ।
अर्को सकारात्मक कुरा यसको आसपासमा आखेटकालीन संस्कार भएका व्यक्तिहरू छैनन् । वन र प्राणीलाई माया गर्ने समुदाय छ । सामुदायिक चेतना भएका असल नागरिकहरूको बसोबास छ । यसबाट भोलि प्राणीहरूको चोरी शिकारी हुँदैन । यसले पनि जितेश्वरी सामुदायिक वनलाई प्राणी उद्यान बनाउन सकिन्छ भन्ने निष्कर्षमा विज्ञहरू पुगेका छन् । प्रदेश सभासदहरू, मेयर उपमेयरहरू, वडाध्यक्षहरू, सदस्यहरू सामाजिक अभियान्ताहरू, पार्टी नेता तथा कार्यकर्ताहरू सबैको सकारात्मक चिन्तन भएको हुनाले यो प्राणी उद्यान नेपालकै लागि नमुना हुन सक्छ । यसबाट भविष्यमा राज्यलाई प्रशस्त फाइदा हुन सक्छ भन्ने उनीहरूको निष्कर्ष छ ।
अन्त्यमा यस परियोजनाले लुम्बिनीमा आउने लाखौं पर्यटकहरूलाई आकर्षण गर्न सक्छ । यस क्षेत्रको आर्थिक गतिविधिहरू बढाएर जीवनस्तरमा सुधार ल्याउन यो योजना अत्यन्त महत्वपूर्ण छ । यस योजनाले बुटवलबासी मात्र हैन सिङ्गो ५ नम्बर प्रदेशको आर्थिक अवस्थामै परिवर्तन आउन सक्छ । त्यसैले यसको लागि अब गुरुयोजना बनाउने, डिपिआर तयार गर्ने काम यही वर्षको बजेटबाटै हुनु पर्छ भन्ने राय स्थानीय जनप्रतिनिधिहरूको छ । यसको लागि प्रदेश सरकारको सक्रियता आवश्यक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार