लुम्बिनीमा स्वागत

सी. पी. खनाल / मनोरञ्जन शर्मा
बुटवल । स्वागतम्, वर्ष २०७६ !
वैशाख १– हाम्रो गौरव, हाम्रो शिर उचो बनाउने सिद्धार्थ गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वसामु चिनाउने राष्ट्रिय अभियानको पहिलो दिन ।
यो वर्ष लुम्बिनी घुम्ने वर्ष हो । हामी बुद्ध जन्मेको देशका नागरिक, हामी अहिंसाका अगुवाका सन्तति, हामी पवित्र भूमि लुम्बिनीका बासिन्दा, यो भावनाका साथ लुम्बिनीमा ल्याउनुछ, लाखौं पर्यटक ।

२२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने निर्णय गरेको थियो ।

वैशाख १ गतेदेखि नै लुम्बिनी भ्रमण वर्षको सुरूवात हुने भए पनि यो कार्यक्रमको औपचारिक उद्घाटन वैशाख पूर्णिमाका दिन र समापन पनि २०७७ सालको वैशाख पूर्णिमाका दिन गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताए ।

लुम्बिनीका बारेमा प्रचारप्रसार मात्र नभई प्रबद्र्धनका विभिन्न कार्यक्रम र लुम्बिनीसहित अन्य बुद्ध जीवनीमा आधारित क्षेत्रहरूको समेत एकीकृत विकासका लागि पहलसमेत यो कार्यक्रममार्फत् हुने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको विश्वास छ ।

‘लुम्बिनीमा सबैभन्दा बढी प्रदेश ५ कै पर्यटक, त्यसपछि प्रदेशबाहिरका पर्यटक र मात्रै विदेशी पर्यटक भित्राउने हो भने मात्रै दीर्घकालीन हिसाबले लुम्बिनीमा पर्यटकको भ्रमण बढाउन सकिन्छ’, उनले लुम्बिनी भ्रमण वर्षको तयारी समितिको बैठकमा भने– ‘हामीले प्रदेशभित्रका धेरैभन्दा धेरै पर्यटक लुम्बिनी ल्याउनुछ, देशभरका पर्यटकलाई वर्षमा एकपटक लुम्बिनी घुम्ने वातावरण बनाउनुछ र विदेशी पर्यटकलाई आकर्षणको केन्द्र बनाउनुछ ।’
सन् २०१८ मा लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्या पनि १ लाख ६९ हजार भन्दा बढी थियो ।

नेपाली पर्यटकहरूको संख्या पनि १२ लाखको हाराहारीमा थियो भने भारतीय पर्यटकहरूको संख्या १ लाख ९२ हजार थियो । भ्रमण वर्षको समयमा विभिन्न आकर्षक कार्यक्रम तथा योजनाहरू ल्याएर पर्यटक आगमन संख्या गत वर्षभन्दा कम्तिमा पनि २० प्रतिशतले वृद्धि गराउन सकियो भने त्यो ठुलो सफलता मानिने यहाँका अध्येताहरू बताउँछन् ।

‘लुम्बिनी भ्रमण वर्षलाई बढीभन्दा बढी सदुपयोग गर्न सक्नुपर्छ’, संस्कृतिविद् डा. गितु गिरी भन्छन्– ‘प्रदेश सरकारले मनाउने भ्रमण वर्षले लुम्बिनीमा आउने पर्यटकलाई समय बिताउन सक्ने वातावरण बनाउन सक्नुपर्छ ।’ लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन नसक्नु नै मुख्य समस्या हो । वार्षिक १ लाख ६० हजारको हाराहारीमा आउने विदेशी पर्यटक लुम्बिनीमा औसतमा एक दिन पनि मुस्किलले मात्रै बिताउँछन् ।

पोखरा र काठमाडौँको तुलनामा आन्तरिक र भारतीय पर्यटक पनि लुम्बिनी निकै कम पुग्ने गरेको तथ्यांक लुम्बिनी विकास कोषसँग छ ।

यस्तो छ भ्रमण वर्षको कार्यक्रम
भ्रमण वर्षका माध्यमबाट लुम्बिनी र यस क्षेत्रको पर्यटकीय सम्पदाको खोज अन्वेषण गरी पर्यटनसम्बन्धी वातावरण निर्माणसँगै पर्यटकहरूको बसाई अवधि कसरी लम्ब्याउने भन्नेतर्फ पनि बहस हुनेछ ।

लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् ।

भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ । भ्रमण वर्षको कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन सुरू गरी ०७७ सालको वैशाख बुद्ध पूर्णिमाका दिन समापन हुनेछ ।

तर औपचारिक रूपमा भ्रमण वर्षका कार्यक्रम सञ्चालनका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिने बताइएको छ । कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रू चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।

लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । उनले प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको बताउँदै पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने बताए ।

भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने छ ।

यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ ।

यसअघि सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लुम्बिनीबाटै भ्रमण वर्षको घोषणा गरेका थिए भने तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले औपचारिक उद्घाटन र भिजन लुम्बिनी २०२० को आरम्भ गरेका थिए ।
निजी क्षेत्र उत्साहित
प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष को रूपमा मनाउने निर्णयसँगै यहाँका नीजि क्षेत्र उत्साहित देखिएको छ । लुम्बिनीमा चिनियाँ पर्यटकलाई बढी भन्दा बढी भित्र्याउन चीनमा प्रचार गर्न जरूरी रहेको र भारतीय पर्यटकहरूलाई पनि लुम्बिनी गन्तव्य बनाउन प्रचार प्रसार गर्न आवश्यक रहेको नाट्टा नेपाल प्रदेश ५का अध्यक्ष अध्यक्ष विष्णु शर्माले बताए । ‘वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन हामी निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गर्न तयार छांै’–शर्माले भने ।

वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउने कार्यक्रम सरकारको मात्र नभई सबै प्रदेशबासीको कार्यक्रमका रूपमा रहेकोले सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सिद्धार्थ होटल एशोसिसयसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।

भ्रमण वर्षसँगै आन्तरिक र बाह्य पर्यटक बढी भन्दा बढी भित्राउन प्रचारप्रसारसँगै लुम्बिनी सहित तिलौराकोट, कुदान, देवदह, रामग्राम लगायत बौद्ध जीवनीमा आधारित क्षेत्रहरूको प्रवद्र्धन गर्नुपर्ने पर्यटन व्यवसायीको भनाई छ ।

‘बुद्धस्थलमा पर्यटकहरूको सहज पहुँचका लागि यातायात साधन सञ्चालन र सडक पूर्वाधार मर्मत तथा निर्माण, पर्यटकीय सेवाका होटल रेष्टुरेन्ट सञ्चालन र अन्य सेवासुविधा प्रदानतर्फ पनि प्रदेश सरकारले सहकार्य गरी अघि बढ्न जरूरी छ–श्रेष्ठले भने ।

पर्यटक लक्षित विशेष प्याकेज तयार गरी सार्वजनिक गर्ने र धेरै पर्यटकलाई लुम्बिनीको बसाई अवधि बढाउने योजना रहेको लुम्बिनीका पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल संघका उपाध्यक्ष मिथुनमान श्रेष्ठले बताए । लुम्बिनीमा बासै नबस्ने पर्यटकहरूको बसाई अवधि बढाउने खालका गतिविधि गर्नु जरूरी रहेको र लुम्बिनी भ्रमणमा आउने जति पर्यटकलाई आतिथ्यता प्रदान गर्न आफुहरू तयार रहेको श्रेष्ठको भनाई छ ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रमले आफुहरूमा थप उर्जा प्रदान गरेको र लुम्बिनीको प्रवद्र्धन, विकास र प्रचारमा थप मात्रामा लाग्ने लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव तथा योजना प्रमुख ई. सरोज कुमार भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार