नववर्ष २०७६ समृद्धिको वर्ष बनोस्

  • सम्पादकीय
  • हामी नव वर्षको आँगनमा आई पुग्यांैं । गतिशील समयको निरन्तर प्रवाहसँगै विक्रम संवत्को पात्रो अनुसार २०७६ सम्म आई पुग्यौं । नव वर्ष २०७६को सुखद उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुप्रति हार्दिक बधाई तथा शुभकामना ।
    हामी नयाँ वर्षको साथमा आन्तरिक सामथ्र्यलाई चुस्त दुरुस्त बनाउँदै बलियो आधारमा टेकेर अघि बढ्दैछौं । हाम्रा आदरण्ीय विज्ञापन दाता र पठकहरुको न्यानो मायाबाट जनसंघर्ष दैनिको ऐतिहासिक ओजस्विता र क्रान्तिकारी विचारलाई पुनः ब्युँझाएर सामाजिक न्याय र परिवर्तनको संवाहक बनाउन सुझाव दिइरहनु भएको हुनाले अबका दिनदेखि हामीले‘ दैनिक पत्र’ दैनिकलाई विकास र समृद्धिको संवाहकको रुपमा लिएका छौं र ‘जनसंघर्ष’लाई सामाजिक न्यायको संवाहकको रुपमा लिने गरेका छौं । आदरणीय लेखक विद्वानहरुका लेखहरुलाई पनि त्यसरी नै व्यवस्थित गरिनेछ ।
    नेपाली समाजमा परिवर्तन आयो । आर्थिक रुपमा भन्ने हो भने ग्रमीण कृषि निर्भर अर्थतन्त्र बदलिएर औद्योगिक बजार अर्थतन्त्र मौलाई रहेको र नेपालीहरुको जीवनमा नयाँ अर्थ व्यवस्थाले प्रभाव पारिरहेको हुनाले उपरि संरचनामा परिवर्तन आएको मूल्याङ्कन राजनैतिक विश्लेषकहरुको रहेको छ । त्यसैले पनि यस अर्थव्यवस्थालाई उपयुक्त पोषण दिएरर द्रूत बनाउने उपायहरुतिर लाग्नु आजको आवश्यकता हो । अर्थतन्त्र पनि जैविक अङ्ग जस्तै हो । यसलाई राम्रो नीति बनाएर अन्तर्राष्ट्रिय लगानीलाई अनुकूल वातावरण बनाएर द्रूत बनाउन सकिन्छ । त्यसको लागि राज्य लाग्नु पर्छ ।
    नेपाली अर्थतन्त्रमा दलाल अर्थतन्त्रको बाहुल्यता छ । जबसम्म नेपाली बजारमा आन्तरिक उत्पादन हुन सक्दैन, त्यो शून्य बजारमा विश्व बजारबाट स्वतः आयात हुन्छ । रेमिटान्सले भए पनि नेपालीहरुको जीवनस्तर पहिलाको तुलनामा बढेको छ । उपभोगको प्रवृत्ति बढेको हुनाले व्यापारीहरु विश्व बजारबाट नेपाली उपभोक्ताहरुलाई चाहिने सामानहरु उपलब्ध गराएका छन् । यो बजारको विशेषता हो । यसले आयात बढाएको छ र शोधान्तर स्थितिमा प्रतिकूल प्रभाव पारेको छ । निर्यात गर्न सकिएको छैन । तत्काल आयात प्रतिस्थापन गर्न सक्ने सम्भावना छैन । त्यसको लागि एक दशक लाग्ने अनुमान गर्न सकिन्छ ।
    विदेशी सामानहरु नेपाली बजारमा ल्याएर व्यापार गर्नेहरु आर्थिक रुपमा भन्दा दलाल हुन् । नेपालमा अहिले हजारौं दलालहरु छन् । नेपालमा दलाली अर्थव्यवस्थाको अवस्था निकै लामो समयसम्म रहिरह्यो भने मुलुकको अवस्था खस्कदै जान्छ । त्यसैले अबका दिनहरुमा दलालहरुमा संकेन्द्रित पुँजीलाई राम्रो नीति बनाएर औद्योगिक क्षेत्रमा रुपान्तरण गरी औद्योगिक वातावरण निर्माण गर्न सकिन्छ । यो चक्र जस्तै हो । यो चरण समाप्त भएर राष्ट्रिय पुँजीको विकास हुने समय आउँछ । यसको लागि देशभक्तहरुको नेतृत्व हुनु आवश्यक पर्छ । संक्रमणकालीन चरणमा देखिएको दलाल पुँजी विस्तारै औद्योगिक पुँजीतिर लैजान सकिन्छ । यसमा निष्ठा र समर्पणको खाँचो छ ।
    नेपाली अर्थ व्यवस्था त्यति कमजोर पनि छैन । गत वर्षको तथ्याङ्कमा नेपालमा करिव ९ लाख उद्योगहरुमा ३४ लाख श्रमिकहरुले काम गर्छन् । वैदेशिक श्रममा पनि भारत लगायत अन्य मुलुकमा भण्डै ५० लाख रोजगार पाएका छन् । विदेश जानु रहर हैन वर्तमानको बाध्यता हो । विदेश गएका नेपालीहरुले त्यहाँको प्रविधिको ज्ञान गरेर सीप सिकेर पुँजी लिएर नेपाली बजारमा उद्योग र सेवामूलक व्यवसाय गर्न थालेका छन् । यसले नेपाली बजार चलायमान हुँदै अगडि बढ्न थालेको छ । वित्तीय संस्थाहरुको विकास र विस्तारले यसलाई बल पुग्न थालके छ । वैदेशिक लगानीको अवस्था सुध्रिएको छ । शान्तिका सम्भावनाहरु बढेका छन् । यसले हामीलाई आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्न थालेको छ ।
    अन्त्यमा यो वर्ष नेपाल लगानीको लागि अनुकूल वर्ष हुनेछ । दलाल पुँजीलाई राष्ट्रिय पुँजीमा रुपान्तरण गर्ने सुझहरु पलाउँदै जानेछ । सरकारले २०७५ लाई आधार वर्षको रुपमा मानेको र आगामी वर्ष लगानी वर्ष हुनेछ र नेपालमा आगामी दश वर्षमा ओद्योगिक रुपमा निकै ठूलो सफलता मिल्नेछ । नेपाल विश्वमा गनिन र जानिन लायकको हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार