लगानी सम्मेलनको औचित्यता

हुमराज भुसाल
नेपाली अर्थतन्त्र एक विकासोन्मूख विशेषता रहेको र अनेकौं लगानीका अवसर र क्षेत्र रहेको मिश्रित अर्थव्यवस्था अपनाएको अर्थतन्त्र हो । जहाँ २१ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनिको जीवन बिताउन बाध्य छन् । सक्रिय जनसंख्याको ११.५ प्रतिशत मानव संसाधन निर्वाचनको समयमा मात्र रोजगारीमा आबद्धता रहेको हुन्छ । समाजवादउन्मूख राष्ट्रिय अर्थतन्त्र र स्वाधीनताको मूल लक्ष्य बनाएको वर्तमान नेपाली संविधान २०७२ कार्यान्वयनमा आएसँगै वर्षौ देखि अलपत्र रहेका राष्ट्रिय गौरवका आयोजना सुचारु भएको छन् । नयाँ नयाँ लगानीका वातावरण छैन भनेर विदेशीमा लगानी गर्न नेपाली लगानीकर्ता र विदेशीमा योग्य लगानीका अवसर खोजी रहेका वैदेशिक लगानीकर्ताका लागी वर्तमान नेपाली अर्थतन्त्र एक पूर्ण सम्भावना र सुरक्षित क्षेत्रका रुपमा विश्व अर्थतन्त्रमा परिचित भएको छ । देशको समग्र आर्थिक अवस्थाका बारेमा सकरात्मक तथा वास्तविक सूचना दिने सूचाङ्कहरुको प्रगति विवरण पनि धनात्मक रहेका छन् । वर्तमान समयमा सम्पन्न भएको लगानी सम्मेलन निकै नै प्रभावकारी रुपले सम्पन्न भएको कुरालाई हामी सबैले स्वीकार्नु आवश्यक छ । विशेषगरी नेपाली अर्थतन्त्रमा अनेकांै विकासका पूर्वाधार विकास विस्तार सञ्चालन गर्नका लागि निकै नै ठूलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । जुन पुँजी नेपाली अर्थतन्त्रबाट मात्र प्राप्त गर्न सकिने सम्भावना न्यून रहेकाले नै नेपाल सरकारले लगानी सम्मेलन आयोजना गरेको हो । नेपाली अर्थतन्त्रमा गरिबी बेरोजगारी असमानता प्राविधिक पछौटेपन पुँजीको अभाव प्रतिभा पलायन जस्ता समस्याहरु रहेकाले ती समस्याहरुको स्थायी रुपले समाधान गर्नको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्ने र सो लगानी सरकार आफैले गर्न नसक्ने वर्तमान परिपेक्षयमा गरिएको लगानी सम्मेलन नेपाली अर्थतन्त्रका हरेक प्रकारका समस्याको दीर्घकालीन समाधानको लागि एक कोसेढुङ्गा नै हो ।
नेपाली अर्थव्यवस्थामा विशेष वि.स.२००७ सालको परिवर्तनपछि मात्र निजी र वैदेशिक लगानीकर्ताहरु बाट लगानी गर्न कार्यको सुरुवात भएको पाइन्छ । लगानी सम्मेलन कुरा गर्दा यो भन्दा केही समय अगाडि पनि दातृ राष्ट्र सम्मेलन नाम दिएर २०७२ सालमा सम्पन्न गरिएको थियो । तत्कालीन समयमा नेपाली अर्थव्यवस्था महाभूकम्प २०७२ बाट पीडित भएको थियो । महाभूकम्पले सामाजिक आर्थिक पूर्वाधारमा पुराएको क्षति तथा त्यसको पुनः निमार्ण कार्यलाई तीव्रतका साथ अगाडि बढाउनको लागि आवश्यक पर्ने पूँजीँ जम्मा पार्नको लागि पनि यो लगानी सम्मेलन अपरिहार्य थियो । वर्तमान सरकारले विगतको दाता सम्मेलनबाट पाठ सिकेर पनि कुनै पनि मुलुक वा समूहसँग अवाञ्छित समझ्दारी पत्रमा हस्ताक्षर गरेको छैन । नेपालको प्रजातान्त्रिक शासन प्रणालीको करिब आठ दशक पुग्दै गर्दा गरिएको यो लगानी सम्मेलन आर्थिक सामाजिक रुपान्तरणका लागी ढिलै भए पनि चालिएको सुधारको पाइला हो । विगतमा देशको रुपान्तरणको लागी थुप्रै प्रयासहरु नभएका होइनन् तर तिनले आसातित गतिमा सफलता प्राप्त गर्न मात्र नसकेका हुन् । जसको जिम्मेवारी तत्कालीन राज्य सञ्चालकहरुले लिनु पर्दछ । कुनै पनि प्रकारका दीर्घकालीन महत्वका रणनीतिक योजनाहरु सञ्चालन र व्यवस्थापनमा धेरै मात्रामा लगानीको आवश्यकता पर्ने र सो लगानी नेपाली अर्थतन्त्रबाट सम्भव नभएकाले नै लगानी सम्मेलन आयोजना गरिएको थियो । जुन आसातित रुपमा नै सफल भएको छ जसका लागि आयोजक नेपालीलाई बधाइ तथा शुभकामना !
नेपालमा स्वदेशी तथा विदेशी लगानीको इतिहासलाई अध्ययन गर्दा पृथ्वीनारायण शाहको पालामा, मल्लकालमा, तथा लिच्छिवी कालको शासन कालमा नेपाली अर्थतन्त्रमा स्वदेशी मात्र सञ्चालित भएको पाइन्छ । तत्कालीन समयमा नेपाली अर्थतन्त्र आन्तरिक रुपबाट नै मजबुत रहेको कुरा नेपाली आर्थिक इतिहासका लेख रचनामा उल्लेख गरिएको पाइन्छ । राणा शासनकालको समयमा राणाका लागि शिक्षा, स्वाथ्य, यातायात, सञ्चार जस्ता सुविधा प्रदान गर्नका लागि वैदेशिक लगानी कर्ताहरुलाई नेपालमा भिœयाएको पाइन्छ । राणकालीन समयमा नेपाली अर्थतन्त्रमा विशेष गरी भारतीय तथा तिब्बती व्यापारीबाट आफ्नो व्यापार विस्तार गर्नका लागि लगानी भएको थियो । विशेष गरी वि. सं . २००७ सालदेखी वर्तमान समय सम्ममा नेपाली अर्थतन्त्रमा वैदेशिक लगानीकर्ता द्वारा गरिएका लगानीहरु विवादमा परिरहेको परिप्रेक्षमा अब गरिने लगानीहरु विवादबाट उन्मुक्त हुनु आवश्यक छ । विदेशीहरुबाट गरिएका लगानीहरु आर्थिक प्रतिफल बाहेक अन्य कुराको अपेक्षा गरे भने ती लगानीहरु नेपाली अर्थतन्त्र तथा सामाजिक व्यवस्थामा प्रतिउत्पादक हुने कुरामा दुईमत छैन । भारत, बेलायत, चिनले वि.सं. २००९ सालदेखि अमेरिकाकाबाट नेपालमा लगानी भएको छ भने २०२६ सालबाट जापान, युरोपेली मुलुकबाट विशेष चासोका साथ लगानी भएको छ । नेपाली अर्थव्यवस्था आफैमा सफल तथा सबल बनाउनको लागि पनि विभिन्न माध्यबाट देशी तथा विदेशी लगानी भिœयाउन जरुरी छ । विगतमा नेपालमा लगानी गर्न लगानीकर्ताहरु आकर्षित नहुनुमा देशको आन्तरिक राजनीति जिम्मेवार रहेको थियो तर वर्तमान समयमा नेपाल आफ्नो राजनीतिक समस्या समाधान गर्न सफल भएको छ ,यसकारण सबै लगानी कर्ताहरु ढुक्क भएर लगानी गर्दा हुन्छ भन्ने सूचना प्रवाह गर्न सरकार सफल भएको कुराले गर्दा लगानी सम्मेलन पूर्ण रुपमा सफल भएको बताउन सकिन्छ । वि.स. २०५१ सालदेखि देशमा शान्ति सुरक्षाका वातावरण बिग्रिएकाले २०६४÷०६५ सम्म कुनै प्रकारका वैदेशिक लगानी भएको पाइँदैन् । वि.स.२०६२÷०६३ तथा वि.स.२०७० साल पछिको राजनैतिक परिवर्तन पछि भने क्रमिक रुपमा वैदेशिक लगानी वृद्वि भएको छ । यद्यपि सोही समयमा घरेलु लगानीकर्ता बाट पनि लगानीका विविध क्षेत्रमा लगानी भैररहेको पाइन्छ । वर्तमान समयमा विशेष गरी नेपाली उद्योग ऊर्जा शिक्षा विद्युत सञ्चारमा लगानी आकर्षित बढेको पाइन्छ । यी लगानीका क्षेत्रहरुले समृद्ध नेपाल सुखी नेपाली बनाउनेमा कुनै पनि शङका गर्न सकिने आधारमा छैनन् ।
आर्थिक सर्वेक्षण २०७४÷०७५ का अनुसार नेपालमा विदेशी लगानीको अवस्था अध्ययन गर्दा चालू आर्थिक वर्षको प्रथम आठ महिनासम्ममा सञ्चालनका लागि स्वीकृति बापत उद्योग भएको कुल लगानीमा विदेशी लगानीको अंश १५.८ प्रतिशत रहेको छ । विदेशी लगानीका लागी स्वीकृति पाएका उद्योगहरुमध्ये परियोजना लागतका आधारमा भारतका लगानीकर्ताले कुल विदेशी लगानीको ३५ प्रतिशत हिस्सा ओगटेका छन् । चिनका लगानीकर्ताले २५.६ प्रतिशत लगानी रहेको पाइन्छ । जसले नेपाली अर्थतन्त्रमा वैदेशिक लगानीकर्ताहरु दिन प्रतिदिन थपिदै गएको कुरालाई प्रमाणित गर्दछ । आर्थिक वर्ष २०७१÷७२ मा रु. ६७४५.५ करोड विदेशी लगानी रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा रु ३४९१.१ वैदेशिक लगानी भित्रिएको समयमा भएको लगानी सम्मेलनले आगामी दिनहरुमा थप लगानी बढाउन सकारात्मक ऊर्जा प्रदान गरको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदनले पनि नेपालमा लगानीयोग्य वातावरणको सिर्जना भएको तथा २०१९ मा एसियाली मुलुकहरुमा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको सूचीमा तेस्रो नम्बरमा पर्ने प्रक्षेपण गरेको छ । विशेषगरी नेपाली अर्थतन्त्रका समस्याहरुलाई समाधान गर्नका लागि यस सम्मेलनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास , सहरीकरण, ऊर्जा , विद्युत जस्ता पक्षमा लगानी भिœयाउन सफल भएकै आधारमा यो लगानी सम्मेलन सफल भएको विश्लेषण गर्न सकिन्छ ।
नेपाल लगानी सम्मेलन २०१९ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन । सरकारले प्रस्तुत गरेका आयोजना र निजी क्षेत्रले घोषणा गरेका क्षेत्रमा लगानीको प्रस्ताव आएको हो । लगानी बोर्डका अनुसार सरकारले प्रस्तुत गरेका ५० वटा योजना मध्ये ११ वटामा लगानी गर्न १७ वटा प्रस्ताव पेस भएका छन् । ११ आयोजनाको अनुमानित लागत हालको विनिमय दरअनुसार १७ खर्ब १२ अर्ब १७ करोड रुपैयाँ हुन आउँछ । यसरी प्रतिबद्धता आएको लगानी ठूलो हिस्सा ऊर्जा , विद्युत, तथा व्यपारमा रहेको पाइन्छ । जसले नेपाली अर्थतन्त्रलाई समृद्धिको यात्रामा हिंडाउने कुरामा निश्चितता प्रमाणित गरेको छ । निम्नलिखित आयोजनमा लगानीका लागी आवेदन पर्नु तथा हस्ताक्षर हुनुले लगानी सम्मेलनको औचित्य प्रमाणित भएको छ ।
आवेदन परेका आयोजनाहरु ः
 काठमाडौं रिंगरोड बस ¥यापिड टान्जिट परियोजना — १६ अर्ब ५४ करोड
 तमोर जलाशय परियोजना — १ खर्ब ४९ अर्ब ३६ करोड
 धुलिखेल मेडिसिटी — ८ अर्ब १८ करोड
 पश्चिम सेती जलविद्युत् आयोजना —१ खर्ब ६३ अर्ब ७४ करोड
 काठमाडौँ बाहिरी चक्रपथ — २ खर्ब ७ अर्ब ७४ लाख
 निजगढ अन्तर्राष्ट्रिय विमानस्थल— ३ खर्ब ३१ अर्ब ९२ करोड
 अन्तर्राष्टिय सम्मेलन केन्द्र भक्तपुर — १ अर्ब ७७ करोड
 एकीकृत कृषि पूर्वाधार परियोजना बनेपा र चितवन ४९ करोड
 एकीकृत कृषि पूर्वाधार परियोजना हेम्जा — ६२ करोड २९ लाख
 एकीकृत कृषि पूर्वाधार परियोजना उर्लावारी ६० करोड २९ लाख
 काठमाडौँ मेट्रो — ३ खर्ब ३१ अर्ब ९२ करोड

समझदारीमा हस्ताक्षर भएका परियोजनाहरु ः
 चौधरी ग्रुप र सर्राफ ग्रुप — मल्टी मोडल लजिस्टिक पार्क — १० अर्ब
 चौधरी ग्रुप र स्काई पावर — ६ सय मेगावाटको सोलार
— ५० अर्ब
 सिजी लाइफसेल र टर्कसेल फाईभजी मोबाईल नेटवर्क —
२५ अर्ब
 प्रदेश २ र सिजी इन्फास्टक्चर — २ सय मेगावाट उर्जा प्लान्ट— १२ अर्ब
 एसबिआई बैक , एभरेष्ट बैंक , नबिल बैंक र सतलज — ९ सय मेगावाटको अरुण तेस्रो — ७८ अर्ब ६० करोड
 सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाईडोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र साङ्घाई ईन्भेस्टमेन्ट , डिजाईन एण्ड रिसर्च इस्टिच्युसन — १६० मेगावाटको कालीगण्डकी गर्ज निमार्ण — ४२ करोड
 डोल्मा फन्ड — २ अर्ब
 बल्क टर्मिनल लजिस्टिक पार्क — ६ अर्ब ५० करोड
 एनआरयन र उद्योग विभाग — प्रत्यक्ष वैदेशिक लगानी — १० अर्ब
 अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनी — नेपालमा उर्जा विकास — १ खर्ब ७५ अर्ब
 आईएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण — सिमरा विशेष आर्थिक क्षेत्र — अनुमानित १० अर्ब
 कोरियाली कम्पनी — २१६ मेगावाटको माथिल्लो त्रिशूली — ७२ अर्ब ८० करोड आदि ।
अन्त्यमा नयाँ वर्ष २०७६ को अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली तथा विशेषगरी पाठक तपाईलाई हार्दिक शुभकामना, नयाँ वर्ष सबैको शुभ बनोस । धन्यवाद ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार