यातायात स्वतन्त्र मजदुर संगठनद्वारा चालकलाई प्रशिक्षण

बुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँच कमिटीले सडक दुर्घटना न्यूनीकरण गर्न र सामाजिक सुरक्षा बारेमा ट्राफिक प्रशिक्षण कार्यक्रम बुटवलमा शुक्रबार सम्पन्न गरेको छ ।

सडक दुर्घटना न्यूनीकरण २०७५ राष्ट्रिय अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । प्रशिक्षण कार्यक्रममा १ सय २५ सवारी चालकहरू सहभागी थिए ।
कार्यक्रममा बोल्दै जिफन्ट राष्ट्रिय उपाध्यक्ष कमल गौतमले चालकहरु जिम्मेवार बन्नुपर्ने बताए । उनले चालकहरुले ट्राफिक नियमको पालना गरेर गाडी चलाए दुर्घटना कम हुने बताए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यसायी संघका सचिव रामचन्द्र भुसालले व्यवसायी र मजदुरको सम्बन्ध, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँच कमिटीका अध्यक्ष कृष्ण कंडेलले यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता र प्रहरी सहायक निरीक्षक माधव बुढाथोकीले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कमिटीले प्रदेश नम्बर पाँचमा १५ हजार चालकहरुलाई प्रशिक्षण दिँदैछ । शुक्रबारबाट सुरु भएको कार्यक्रम केही केही हप्ता चल्नेछ । रुपन्देहीको पडसरी, गुल्मी, बर्दघाट, पाल्पा दाङ, नेपालगञ्ज लगायतका ठाउँमा पनि प्रशिक्षण कार्यक्रम चलाइने छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँच कमिटीका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षता, संगठनका प्रदेश सह इन्चार्ज ठाकुर गैरेको स्वागत तथा सचिव प्रकाश बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार