नेकपा सरकारमा थुप्रै छोटे राजाहरु हाबी भए : नेता पौडेल

सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी नागरिकको हक हितका लागि भोलिदेखि आफूले मधेस सम्वाद कार्यक्रम सुरु गर्ने बताएका छन् ।

‘मधेसी जनताको हक हित के गर्दा हुन्छ, समस्या के हो ? म भोलिदेखि सम्वाद सुरु गर्छु’, नेपाल प्रेस युनियन सिन्धुली शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘दुई तिहाई नेतृत्वको नेकपाको सरकार नेपाली राजनीति इतिहासकै असफल सावित भएको छ ।’

नेता पौडेलले वर्तमान सरकारका कारण लोकतन्त्र नै खतरामा परेको समेत आरोप लगाए । उनले भने, ‘नेपालमा डेमाक्रेसी सिध्याउन नेकपा सरकार, पैसा थुपार्ने, पैसाकै भरमा चुनाव गर्ने र पैसाकै भरमा पार्टी किन्ने प्रवृत्तिले लोकतन्त्र नै सिध्याउन लागिपरेको छ ।’

उनले एउटा राजा हटाए पनि नेकपा सरकारमा थुप्रै छोटेराजाहरु हाबी भएको भन्दै उनीहरुसँग लड्न निक्कै कठिन भएको बताए । उनले नेकपाको वर्तमान सरकारसँग ‘ओरल्ली’, ‘मोरल्ली’ र ‘पोलिटिकल्ली’ लडाइँ लड्नु पर्ने तर्कसमेत गरे ।

नेता पौडेलले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भले देशलाई सर्वसत्तावादतर्फ लैजान लागेको भन्दै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले कठघरामा उभ्याएरै छाड्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार