नेपालमा सडक दुर्घटनाको समग्र अवस्था

रीमा बि.सी.
सवारी साधनको चापका कारण पनि दुर्घटना हुन्छ, सडकमा ट्राफिक संकेतहरु नहुँदा,बत्ती तथा रेखाहरु नराख्दा, राखिएका पनि मर्मत नगर्दा दुर्घटना हुनसक्छ, सडकमा खाल्टा खुल्टी भए पनि पशु चौपायाहरु छाडा छोडिनाले,गति सीमा निर्धारण नहुँदा,सडक निर्माणका क्रममा सडक अनुगमनको प्रभावकारी कार्यान्वयन नहुँदा, सडक दुर्घटना वातावरण,मौसम र दैवी प्रकोपका कारण पनि दुर्घटना हुनसक्छ ।

कुनै पनि समाजका लागि यातायात आधारभूत आवश्यकताको विषय हो । यातायात बिना जीवनको गति त्यति सजिलो छैन । जलमार्गको सम्भावना कम भएको, रेलमार्गको विकास नभइसकेको र हवाई मार्ग अधिकांश नेपाली नागरिकहरुको पहँुच बाहिरको विषय भएकाले सडक यातायात एक भरपर्दो माध्यम बनेको छ । सडक दुर्घटनाका कारण विश्वभर वार्षिक करीब १३ लाखभन्दा बढी मानिसको ज्यान जाने गर्दछ । यो संख्या अत्यन्तै ठूलो संख्या हो । यति ठूलो संख्यामा मृत्यु कुनै पनि रोगव्याधीका कारण भएको आजसम्म मेरो जानकारीमा छैन । नेपालमा सडक दुर्घटनाको जोखिम अत्यधिक बढी छ । यहाँ प्रतिवर्ष २ हजारभन्दा बढीले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् । त्यसकारण सडक यातायात नेपालीहरुको विकल्पहीन विकल्पको रुपमा रहेको छ । पछिल्लो समय सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा छ । सडक दुर्घटना नभएको दिन सायदै कम छ । आजको यो लेखमा सडक दुर्घटनाको समग्र अवस्थाको विषयमा चर्चा गर्ने कोसिस गरेको छु ।
सडक दुर्घटना संसारमै मानव मृत्युको प्रमुख कारण मध्येको एक हो । नेपाल जस्तो अति कमविकसित राष्ट्रमा यो मानव मृत्युको प्रमुख कारण बनिरहेको छ । सडक दुर्घटनाको कारण अनेक हुनसक्छ । तर कारण जे सुकै भएपनि सडक दुर्घटनाकै कारण देशका ऊर्जाशील नागरिकहरुले ज्यान गुमाइरहेका छन् । त्यस्तै हजारौ व्यक्तिहरुले अपाङ्गता भएर कष्टकर जीवन जीउनु परेको छ । दुर्घटनाका कारण अर्बौको आर्थिक क्षति भएको छ । सडक दुर्घटनालाई शून्यमा झार्ने कुरा तत्काल चुनौती हुन सक्ला तर यसलाई बेलैमा ध्यान दिन सके न्यूनीकरण गर्न सकिन्छ र धेरै ऊर्जाशिल मानव श्रोतलाई मृत्युको मुखबाट बचाउन सकिन्छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएसओका अनुसार २०१५ को प्रतिवेदनमा विश्वमा वर्षेनि सवा १२ लाख मानिसहरु सवारी दुर्घटनाका कारण मृत्यु हुन्छ । जुन विश्वमा हुने मृत्युमध्ये सवारी दुर्घटनाका कारण १०औं ठूलो कारणमध्ये पर्दछ । यो दर न्यून आय भएका गरिब देशहरुमा दुर्घटनाजन्य मृत्युदर झनै उच्च रहेको छ भने धनी राष्ट्रहरुमा यसको दर कम भएको पाइएको छ । उच्च मृत्युदर भएका १० वटा राष्ट्रमध्ये ८ वटा त अफ्रिकी राष्ट्रहरु मात्रै रहेका छन् । जसमध्ये सबैभन्दा बढी दुर्घटना हुने देश लिबिया हो जहाँ हरेक एक लाखमा ७३ जनाको मृत्यु हुने गरेको छ । अफ्रिकी मुलुकहरुपछि एसियाली मुलुकहरुमा सबैभन्दा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाउँछ । जसमा सबैभन्दा बढी थाइल्याण्डमा ३६.२ प्रतिशत, इरानमा ३२.१ प्रतिशत, चीनमा १८.८ प्रतिशत,नेपालमा १७ प्रतिशत र भारतमा १६.६ प्रतिशत मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा दुर्घटनाको समग्र तथ्यांकलाई विश्लेषण गर्ने हो भने सवारी दुर्घटनाका कारण नेपालमा औसत दैनिक ७ जनाको मृत्यु हुने गर्दछ भने ४५ जना घाइते हुन्छन् । त्यस्तै सडक दुर्घटनामा १ जनाको मृत्यु हुँदा करीब ४ जना गम्भीर घाईते हुने र सरदर १० जना सामान्य घाइते हुने गरेको विभिन्न तथ्याङ्कले देखाउँछ । नेपालमा मात्र सडक दुर्घटनाबाट बार्षिक करीब ४० अर्ब भन्दा बढीको क्षति हुने गरेको छ । मृत्यु हुने मध्ये ९० प्रतिशत सडक पेटीमा हिंडने यात्रु, साइकल यात्री, सार्वजनिक सवारीका यात्रुहरु र ट्रक चालकहरु रहेका छन् । मृत्यु हुने मध्ये अधिकांश उत्पादनशील उमेर समूहका व्यक्तिहरु पर्दछन् । यो अत्यान्त्यै दुखद पक्ष हो ।
नेपालमा दुर्घटना हुनुका प्रमुख पाँचवटा कारणहरु रहेका छन् । सडक सुरक्षा सम्बन्धी कानुनको अपहेलना,कमजोर सडक, सवारी साधनको अवस्था,चालक तथा सडक प्रयोगकर्ताको हेल्चेक्राई,भौगोलिक बनोट, तीव्रगति जस्ता कारणहरु रहेका छन् । त्यस्तै लापरवाहीसहित गाडी चलाउनु, मादक पदार्थको सेवन गरी गाडी चलाउनु,ट्राफिक नियमहरुलाई बेवास्ता गर्नु, चालकलाई सवारी साधनको अवस्थाको विषयमा ज्ञान नहुनु, चालक अनिदो, थकान, तथा तनावमा सवारी चलाउनु, चालकको अनुभवको कमी,सवारीको गति सीमित नहुनु, चालकमा दक्षताको कमी, जथाभावी पार्किङ्ग गर्नु लेनको अनुशासन पालना नगर्नु,बे्रकिङ्ग दुरीको अनुमान नै नगरी अगाडिको गाडीको नजिकै बस्नु, प्राथमिकताको ख्यालै नगरी गाडी चलाउनु, यान्त्रिक कारणहरुमा सवारी साधनको अवस्था ठिक नहुनु, सवारी साधनमा गुणस्तरीय सामानको प्रयोग नहुनु, क्षमता भन्दा बढी भारी बोक्नु, धेरै पुराना र थोत्रा गाडीहरु मर्मत गरेर सञ्चालन गर्नु, रहेको छन् । त्यस्तै सडकको अवस्थाको कारणले पनि दुर्घटना हुन्छ । सवारी साधनको चापका कारण पनि दुर्घटना हुन्छ, सडकमा ट्राफिक संकेतहरु नहुँदा,बत्ती तथा रेखाहरु नराख्दा, राखिएका पनि मर्मत नगर्दा दुर्घटना हुनसक्छ, सडकमा खाल्टा खुल्टी भए पनि पशु चौपायाहरु छाडा छोडिनाले,गति सीमा निर्धारण नहुँदा,सडक निर्माणका क्रममा सडक अनुगमनको प्रभावकारी कार्यान्वयन नहुँदा, सडक दुर्घटना वातावरण,मौसम र दैवी प्रकोपका कारण पनि दुर्घटना हुनसक्छ ।
सडक दुर्घटनाको अवस्थालाई विश्लेषण गरेर हेर्दा र ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. ५ को तथ्यांक अनुसार आ.व.०७४÷०७५ मा रुपन्देही जिल्लामा मृत्यु हुनेको संख्या १ सय ३७ जना जसमध्ये पुरुष १ सय ५ जना महिला, १८ जना बालक १० जना र बालिका ४ जना रहेका छन् भने गम्भीर घाइतेको संख्या पुरुष २ सय ४३ जना, महिला १ सय ७८ जना, बालक ३३ जना र बालिका २५ जना रहेका छन् । त्यस्तै सामान्य घाइतेमा पुरुष ८८ जना, महिला ३० जना , बालक ४ जना र बालिका ६ जना गरी जम्मा १ सय २८ जना रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आ.व.०७५÷०७६ को श्रावणदेखि पुस मसान्तसम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा सडक दुर्घटनाबाट मृत्यु हनेको संख्या ३ सय १५ रहेको, गम्भीर घाइतेको संख्या ४ सय ८२ जना र सामान्य घाइतेको संख्या ३ सय ९९ जना रहेको छ । जसमध्ये मृत्यु हुनेमा पुरुषको संख्या २ सय २९ जना, महिला ५६ जना, बालक १८ जना र बालिका १२ जना रहेका छन् । त्यस्तै गम्भीर घाइते हुनेमा पुरुषको संख्या ३ सय २७ जना, महिला १ सय तीन जना, बालक ३६ जना र बालिका १६ जना रहेको र सामान्य घाइतेहरुमा पुरुष २ सय २५ जना, महिला १ सय ४ जना, बालक ३९ जना र बालिका २३ जना रहेका छन् ।
प्रदेश नं. ५ मा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला दाङ्ग र दोस्रो स्थानमा रुपन्देही रहेको छ । यो समयमा दाङ्गमा ६६ जनाको मृत्यु, १ सय आठजना गम्भीर घाइते, ६० जना सामान्य घाइते भएका छन भने रुपन्देहीमा मृत्यु हुनेको संख्या ५७ जना, गम्भीर घाइतेको संख्या १ सय तीन जना र सामान्य घाइतेको संख्या ६४ रहेको छ । त्यस्तै कपिलवस्तुमा मृत्यु हुनेको संख्या ४१ जना, गम्भीर घाइते ८४ जना र सामान्य घाइते ३५ जना रहेका छन् ।
सडक दुर्घटनाको अनुपातलाई विश्वव्यापी रुपमा हेर्ने हो भने नेपाल घातक सडक दुर्घटना हुने मुलुकमध्येको मुलुक पर्छ । विकसित मुलुकको तुलनामा नेपालमा सयौं गुणा दुर्घटना हुन्छन् । दक्षिण एसियाको अन्य मुलुकको तुलनामा नेपाल धेरै सवारी दुर्घटना हुने मुलुकमा पर्छ । नेपालको राजमार्गमा जापानको तुलनामा सयगुणा सडक दुर्घटनाको सम्भावना रहेको विभिन्न प्रतिवेदनबाट अध्ययन गर्न सकिन्छ । यसैगरी भारतको तुलनामा दश गुणा सडक दुर्घटनाको जोखिममा छ । खासगरी सहरी क्षेत्रमा मोटरसाइकल दुर्घटनाको संख्या बढी छ भने ग्रामीण क्षेत्रमा बस र ट्रक दुर्घटना बढी भएको पाइन्छ । नेपालमा लामो दूरीको बस दुर्घटनामा मृत्यु हुने तेह्र प्रतिशत र गम्भीर घाइते हुने एकत्तीस प्रतिशतको दर रहेको तथ्याङ्गमा उल्लेख छ ।
विश्वको कुनै पनि सहरमा नदेखिने हातको इशारामा गरिने ट्राफिक व्यवस्थापन नेपालको ट्राफिक प्रणाली प्रतिको व्यङ्गय हो । नेपालको राजधानी लगायत अन्य सहरमा ट्राफिक लाइट जडान गर्न ढिला भइसकेको छ । यस्तै लामो दूरीमा चल्ने यातायातका साधनलाई टाइम कार्डको प्रयोगद्वारा अत्यधिक गति कम गर्न सकिन्छ । साथै राजमार्गमा राडार गनद्वारा गाडीको गति मापन स्वचालित गरी अत्यधिक गतिलाई न्यूनीकरण गर्न सकिन्छ । उक्त कार्यबाट अत्यधिक गतिका कारण हुने दुर्घटनालाई कम गर्न मद्धत पुग्छ । रूट इजाजतलाई सरल र व्यवस्थित बनाउन यातायात व्यवसायी, नागरिक समाज, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका प्रतिनिधिसहितको समन्वय समितिमार्फत प्रभावकारी बनाइनुपर्छ ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न कच्ची सडकको स्तरोन्नति गरी कालोपत्रे बनाइनु पर्छ । कालोपत्रे सडकको घनत्व हाल ०.५ कि.मि. रहेकोमा दिगो विकास लक्ष्य अनुरूप ५ कि.मी. पु¥याइनुपर्छ । कालोपत्रे सडकसँगै रूट इजाजतलाई व्यवस्थित बनाइनुपर्छ । यातायात व्यवसायीसँगको सहकार्यमा नै सिण्डिकेट प्रथालाई अन्त्य गर्नुपर्छ । तब मात्र यात्रुलाई यातायातको साधन पर्याप्त भई सहज यात्राको छनोट प्राप्त हुन्छ । अन्यथा, सडक राम्रो भए पनि यात्रुको अत्यधिक भारले यात्रालाई जोखिमयुक्त बनाउँछ । दुर्घटना पश्चात् तत्काल उद्धार गरी घाइतेलाई उपचार गर्न राजमार्गको सीमित दूरीमा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताल स्थापना गर्नु आवश्यक देखिन्छ यसलाई सार्थक बनाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले छिटो भन्दा छिटो संवेदनशील भएर लाग्न पर्छ ।
अन्त्यमा सडक दुर्घटना संसारमा जहाँसुकै हुन्छन् । दुर्घटना शून्य गर्न सम्भव छैन त्यसर्थ विभिन्न उपाय अपनाएर सडक दुर्घटना कम गर्न भने पक्कै सकिन्छ । सरकारको लापरवाहीका कारण सडक दुर्घटना बढदे छ र निर्दोष मानिसहरुको बाँच्न पाउने अधिकार खोसिइरहेको छ । यस विषयमा तीन बटै सरका जवाफदेहि हुनुपर्छ । सार्वजनिक यातायात व्यवस्थापन प्रत्यक्ष मानिससँग जोडिएको विषय भएकोले । सार्वजनिक यातायात जति सुरक्षित हुन्छ, नागरिकलाई विकासको लाभ प्राप्तिको त्यति नै अनुभूति हुन्छ । यसर्थ हालै घटित सार्वजनिक यातायात दुर्घटनाबाट शिक्षा लिई नेपालको सडक र यातायातलाई न्यून जोखिमयुक्त बनाउन म तपाई अनि हामी सबैको योगदानको खाँचो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार