प्रलेसको वैचारिक पक्ष र उठेका बहस

खोमा तरामु मगर
एकजना अमेरिकी लेखक यदुआर्दो गालेआनाले भनेझैं लेख्नु भनेको केही हदसम्म मृत्युसित लड्नुजस्तै हो, यो लडाइँ हामीभित्र र बाहिर फैलिएको मुर्दा उदासी र निस्पृहताको विरुद्ध हो ।

गत मंसिर ७ र ८ गते दाङको लमहीमा प्रलेस नेपाल प्रदेश नं. ५ को प्रथम प्रादेशिक सम्मेलन सम्पन्न भयो । सम्मेलनमा प्रदेश अन्तरगतका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक लेखक साहित्यकारहरुको सहभागिता रह्यो । सम्मेलनले केशव थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । सम्मेलनसँगै प्रलेसबारे केही वैचारिक चासो र जिज्ञासाहरु समेत उठेका छन् । यद्यपि प्रलेसमा देखिएको वैचारिक स्खलन र यसको औचित्यबारे उठेका प्रश्नहरु नयाँ भने होइनन् । त्यो बहस २०३७ सालतिर पारिजात र प्रश्रितवीचको ‘साइकल’ विवाद, श्यामप्रसाद शर्माले ‘महेन्द्र प्रज्ञा पुरस्कार’ ग्रहण गर्दा होस् वा ‘महाकाली सन्धि’ विवादले प्रलेसभित्र ठूलो बहस सिर्जना गरेको थियो । चौथो राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा सम्मेलन बहिष्कारको अवस्था समेत सिर्जना भयो । त्यसपछि फेरि प्रलेसले संयुक्त मोर्चाको अवधारणालाई आत्मसात गदै निरन्तर अहिले ६५ वर्षको आफ्नो गौरवमय इतिहास सहित ११ औं राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ ।
रुपन्देहीको प्रगतिशील आन्दोलनको इतिहास पनि झण्डै ५० वर्षको सेरोफेरोमा छ । उमेरको दृष्टिकोणले यो एउटा सामान्य मान्छेको जीवनमा साँच्चिकै पूर्ण र परिपक्क समय हो । यद्यपि २०६९ को पाँचौ जिल्ला सम्मेलन बहिष्कार प्रकरण बाहेक यसअघि र पछिका जिल्ला सम्मेलनहरु भव्य रुपमा सम्पन्न भएका छन् र फेरि हामी आठौं जिल्ला सम्मेलनको संघारमा आइपुगेका छौं । रुपन्देहीमा यसको झण्डै सयभन्दा बढी सदस्यहरु रहेका छन् । तर अझै पनि थुप्रै प्रगतिशील÷प्रगतिवादी लेखक साहित्यकार एवं संस्कृतिकर्मीहरु प्रलेस भन्दा बाहिर छन् र प्रलेसको वैचारिक पक्ष र औचित्यमाथि औला उठाइरहेका छन् । यो प्रश्न प्रलेसभित्र र बाहिर दुवैतिर अहिले सघन बनेर उभिएको छ । यही सघन प्रश्नहरुको चौघेरामा प्रदेश नं. ५ को प्रथम सम्मेलन सम्पन्न भएको छ ।
प्रलेसमा देखिएको वैचारिक विचलनको सन्दर्भमा उठेका केही प्रतिनिधि प्रश्नहरु हेरौं–
१. कवि मीन राना लेख्नुहुन्छ, “विचलन पनि कतिसम्म भएको छ भने हाम्रा साथीहरूमा इमान भन्ने नै छैन । घरबाट प्रलेसको सम्मेलनमा हिँड्दा एउटा पार्टीमा भएको मान्छे सम्मेलनमा प्रतिनिधित्व अर्कै पार्टीबाट गर्छन् र केन्द्रीय समितिमा अर्कै पार्टीबाट निर्वाचित हुन्छन् । अनि घर आइपुग्दा अर्कै पार्टी भइसक्छन् । … हैन यस्ता पातपातैमा हिँड्नेहरूले चर्को बोल्दैमा भाऊ दिन थालियो भने प्रलेस कस्तो संगठन बन्ला ?” (प्रलेस रुपन्देही अङ्क ३, ०७५)
२. कवि दलबहादुर गुरुङ लेख्नुहुन्छ, “प्रगतिशीलताका बारेमा वा प्रगतिवादका सन्दर्भमा प्रश्न त उठाइएका थिए भेलामा तर जवाफ कसले दिने ? जवाफ दिने आयोजक नै नाजवाफ देखिन्थे । कारण उनीहरु पनि प्रगतिशीलता र प्रगतिवादका सन्दर्भमा स्पष्ट भिजन राख्न सक्ने हैसियतमा थिएनन् । यो नै प्रलेस,नेपालमा देखिएको एउटा मूल समस्या हो । मूल जड नै यही हो ।” (दाङ सम्मेलनबाट फर्किएर समयचक्र अनलाइनमा)
३. समीक्षक एवं कवि रामचन्द्र श्रेष्ठ लेख्नुहुन्छ, “साहित्यकारले एनजिओको झोला बोक्यो भने त्यो समाजको दर्पण बन्छ कि बन्दैन ? त्यो प्रगतिशील साहित्य कसरी होला ? जो मान्छेको पेसा एनजिओ वा साहित्य भन्ने प्रष्ट छैन । जसको पहिचान एनजिओकर्मी हो वा साहित्यकार भन्ने नै संकटमा छ । उसले कसको भाषा बोल्छ ? एनजिओको वा आफ्नो चक्षुले देखेको सत्यको ?” (फेसबुक स्टाटस)
प्रलेसबारे गरिएका माथिका टिप्पणीहरु प्रनिनिधि उदाहरण हुन् । प्रलेस यतिबेला सङ्कट र संक्रमणको घडीबाट गुज्रिरहेको छ । विभिन्न घटकीय समीकरणका आधारमा बनेको प्रलेसको भूमिका सांस्कृतिक रुपान्तरणको पक्षमा कमजोर भएको महसुस माथिका उदाहरणबाट बुझ्न सकिन्छ । राष्ट्रघात, महङ्गी, भ्रष्टाचार तथा दलालीकरणले सीमा नाघेको बेला, छोरीचेलीहरुको बलात्कारले देश रोइरहेको बेला, साम्राज्यवाद–विस्तारवादले देशको सार्वभौमिकतामाथि हस्तक्षेप गरिरहेको बेला आमूल परिवर्तन चाहने सचेत स्रष्टा एवं जनताले प्रलेसको भूमिका अझ सशक्त, ओजपूर्ण र सार्थक भएको हेर्न र देख्न चाहनुलाई अन्यथा लिनुहुँदैन ।
लेखकहरु सत्ताको स्थायी प्रतिपक्षी हुन् र सत्ता वा कुनै शक्तिकेन्द्रको भरिया हुन सक्दैनन् । लेखकले विचारको हस्तक्षेपद्वारा आफ्नो समयको बौद्धिक नेतृत्व गर्छ तर आज लेखकहरु सत्ताको सबैभन्दा भोगी भएका छन् र दास र चाकरीमा लिप्त छन् । आज प्रलेस यो समस्याबाट अछुटो छैन । सत्ता पक्ष र सत्ता विरोधीका बीचमा तालमेल कसरी हुने हो, प्रश्न यहींनेर छ । आज सत्ताको केन्द्रमा दलाल पुँजीवाद छ । के प्रलेस आजको दलाल पुँजीवादका विरुद्ध लड्न तयार छ ? के प्रलेस भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद विरुद्ध लड्न सक्छ ? जनताको आधारभूत जीवन परिवर्तनका लागि के प्रलेस नयाँ क्रान्तिको पक्षमा उभिन तयार छ ? विभिन्न जनविरोधी षड्यन्त्रका विरुद्ध प्रगतिशील लेखक–साहित्यकारहरूले संघर्ष गर्ने कि आत्मसमर्पण ? के प्रलेस र नेपाल प्रज्ञा प्रतिष्ठान उस्तै उस्तै हो ? नेपालको विकसित राजनीतिक परिस्थितिमा प्रलेसको भूमिका के हुने ? आदि प्रश्नहरु अहिलेको ज्वलन्त प्रश्न हो । त्यसकारण केही मान्छेहरुका लागि लेखकीय क्षेत्र बुद्धिविलास हुन सक्ला तर आमूल परिवर्तनका खातिर निरन्तर लागिरहेका लेखक–साहित्यकारहरूका लागि यो जीवन–मरणको सवाल हो ।
‘प्रलेसमा वैचारिक स्खलन भयो’ ‘प्रलेसवारे जवाफ दिने कसै भएन’ भनेर चौबाटोमा टोलाएर बस्ने समय होइन यो, यद्यपि समस्याहरु गम्भीर छन् । हामीले यसलाई उजागार गर्दै आएको पनि छौं । तर यसको वैचारिक आदर्शलाई कायम राख्न, अझ उन्नत बनाउन र कमजोरीहरुलाई सच्याउँदै आन्दोलनमा सार्थक उपस्थिति जनाउन सबैको प्रयत्न र चासो हुनु जरुरी छ । यसमा सबैभन्दा जिम्मेवार प्रलेस नेतृत्व र यसका सवै सदस्य हुनुपर्छ । हामीले प्रलेसको वैचारिक नीति र मान्यताभित्र रहेर कति काम गर्न सक्यौं ? प्रलेसको वैचारिक आदर्श रक्षाका लागी हामीले कति प्रयत्न ग¥यौ ? सबैले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्छ । प्रलेस सामन्तवाद, साम्राज्यवाद विरोधी अन्तर्वस्तु बोकेको संगठन हो । यसको प्रस्तावनामा यही कुरा उल्लेख छ । यो सबैको साझा होइन, तर द्वन्द्वात्मक भौतिकवादलाई मान्ने स्रष्टाहरुको साझा संगठन हो । यो द्वन्द्वात्मक भौतिकवादको सौन्दर्य चिन्तनलाई आधार मानेर सिर्जना गर्ने स्रष्टाहरुको साझा संगठन भएकोले आजको दलाल पुँजीवादका विरुद्ध प्रलेसले निराशा र कुण्ठा बोकेर होइन, नयाँ उत्साह र जाँगरका साथ जनस्तरबाट सिर्जनात्मक हस्तक्षेप बढाउँदै जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । बौद्धिकतालाई नाफासँग मात्र जोड्ने र बजारमा बिक्रीको माल गराउने दलाली एनजीओ संस्कृतिका विरुद्ध प्रलेस र यसमा संबद्ध स्रष्टाहरु बोल्नुपर्छ । आज उपभोक्तावादको फेसबुके साहित्यले गम्भीर र वैचारिक लेखन किनाराकृत छन् र विचारसँग कुनै सरोकार नराख्ने लेखक र सिर्जनाहरुको मूल्य महँगो छ । बजारमा भाडाका लेखक फस्टाएको छ र उपभोक्तावादी प्रचार आतङ्कले सुन्दरलाई कुरुप र कुरुपलाई सुन्दर बनाएको छ । त्यसकारण भूमण्डलीकृत साम्राज्यवाद विरुद्ध प्रतिपक्षी लेखन आजको प्रलेसको दायित्व हो, र हुनुपर्छ ।
हामीलाई अहिले चरम अवसरवादको घुम्टोले छोपेको छ । अँध्यारो कोठाभित्र सत्ताको चुस्की लिने, दलाल–पुँजीपति घरानाद्वारा स्थापित पुरस्कार (मदन, नई पुरस्कार आदि) थाप्न मरिहत्ते गर्ने तर सडकमा ‘प्रगतिशीलता’ को नारा डकार्ने जस्ता ढोंगी र अवसरवादी कुरा सायद अर्को हुन सक्तैन । यसले प्रगतिशील आन्दोलनलाई बदनाम गरिरहेको छ । यसका विरुद्ध वैचारिक पक्षधरता सहितको लेखन र संगठनको गतिशीलता आजको आवश्यकता हो । एकजना अमेरिकी लेखक यदुआर्दो गालेआनाले भनेझैं लेख्नु भनेको केही हदसम्म मृत्युसित लड्नुजस्तै हो, यो लडाइँ हामीभित्र र बाहिर फैलिएको मुर्दा उदासी र निस्पृहताको विरुद्ध हो ।
त्यसकारण प्रलेसको औचित्य र यसबारे चिन्ता हुनु स्वाभाविक छ तर यसको औचित्य अझै सकिएको छैन । प्रलेसमा देखिएको वैचारिक, संगठनात्मक र संघर्षको क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागी निम्न कुरा ध्यान दिनुपर्ने जरुरी देखिन्छ–
१. प्रलेस संयुक्त मोर्चा भएकोले यसमा सबै घटकको समान सहभागिता र अपनत्व हुनुपर्छ र सोही अनुरुपको कार्यपद्धति विकास गर्नुपर्छ । यसको वैचारिक नीति, संगठन तथा संघर्षका बारेमा थप बहस चलाउँदै जानुपर्छ ।
२. प्रलेसमा आबद्ध स्रष्टाहरुले वैचारिक पक्षधरतालाई मुख्य ध्यान दिनुपर्छ र लेखकीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि विचारधारात्मक बहस तथा छलफल चलाउँदै जानुपर्छ ।
३. प्रलेसमा आबद्ध घटकहरू सानो–ठूलो भन्ने हुनु हुँदैन । वैचारिक आदर्शका दृष्टिकोणले सबै घटकलाई समान ढंगले हेर्नुपर्छ । यो आलोचनात्मक चेतनासहितको लेखकीय मोर्चा भएकोले फरक विचारको सम्मान गर्नुपर्छ ।
४. घटकीय संगठनमा आबद्ध नभएका तर प्रगतिशील आन्दोलनमा रहेका स्रष्टाहरुलाई प्रलेसमा समेट्दै जानुपर्छ र त्यहाँभित्र देखिने विचारधारात्मक अन्तर्विरोधहरूलाई मैत्रीपूर्वक हल गर्दै जानुपर्दछ ।
५. साहित्यको बजारीकरण, उपभोक्तावादी सांस्कृतिक चिन्तन र सबैखाले वैचारिक विचलन विरुद्ध प्रलेसले प्रतिरोधी आन्दोलनलाई अगाडि बढाउनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार