निर्दयी मेरी आमा

याे एक प्रेम कथा त होइन तर एक आमाको कथा हो । ती निर्दयी आमा जसको कोखबाट मैले अन्जानमा जन्म लिएको थिएँ । सायद जन्म नै नदिएको भए आज यसरी उनको बारेमा लेख्ने थिएन होला ।
आमा शब्द आफैमा कति प्यारो हुन्छ । कति भाग्यमानी हुन्छन् ती सन्तान जसले जीवनभर आफ्नो आमाको माया पाएर उनको आँचलमा आफ्नो जिन्दगी बिताउन पाउँछन् । डाह लाग्छ ती साथीहरूलाई देख्दा जसको आमा साथी सरह हुन्छिन् । डाह लाग्छ तिनीहरूलाई देख्दा जसले आफ्नो आमाको कोखमा दुःख, पीडा भुलेर रमाइरहेका हुन्छन् ।
आमा हुने व्यक्तिहरू उनको मायामा लुटपुटिएर उनको आशिर्वादमा सारा दुःख भुलाइ हासेर हिंडिरहेका हुन्छन् र यता म छु जसलाई आमाको पूरा अनुहार पनि राम्रोसँग याद छैन या भनुम् याद गर्न पनि चाहन्न ।
०५६ सालमा ९ महिना आफ्नो कोखमा राखेर प्रसव पीडा सहेर घरको जेठी छोरीको रूपमा जन्म दिएकी थिइन् मलाई मेरी आमाले । कति खुशी थिए रे सबै जना मेरो जन्म हुँदा । मेरो बुवा घरको कान्छो छोरा अनि म कान्छो छोराको पहिलो सन्तान । जन्म हुनेबित्तिकै आफन्तहरू कसैलाई नछुटाई सबैलाई एक–एक गरी खबर गरिएको थियो रे । म जन्मिएको खुशियालीमा ।
नेपाली समाजमा प्रायः छोरा जन्मिदा बढी महत्व दिइन्छ र खुसीयाली मनाइन्छ । तर मेरो परिवारमा छोराछोरी दुवैलाई बराबर दृष्टिकोणले हेरिन्थ्यो । खुसीले गदगद हुँदा मेरो परिवारले गाँउभरी मिठाइँ बाँडेको थियो रे यो मेरो बाबाले मलाई भन्नु भएको ।
जन्म भएको दिनदेखि छैटौं दिनसम्म खुब स्याहार–सुसार गरिएको थियो रे हामी आमा छोरीलाई ।
म जन्मनासाथ मलाई लिएर मेरा आमाबुवा दुवैले खुब सपना पनि सजाउनु भएको रहेछ । छोरीलाइ यस्तो बनाउने हो, उस्तो बनाउने हो भन्दै । दैवले पनि हाम्रि छोरिको भाग्यमा ठूलो कुरा लेखिदिउन, सफलताको राम्रो बाटो लेखिदिउन भनेर छैटौं दिनको रात सिरानी मुनि कपि–कलम पनि राखिदिनु भएको थियो रे ।
त्यतिबेला भावीले राम्रो कुरा लेख्यो वा लेखेन या त लेख्दा–लेख्दै भुल्यो होला । सायद लेख्दा–लेख्दै भुलेको हुनु पर्छ, त्यसैले त आज म यस्तो दिनहरू भोग्दै छु । खै के सोंचेर लेख्यो तर लेख्न चाहिँ पक्कै नराम्रो लेख्यो । त्यसैले आज सानो उमेरमा नै धेरै संघर्ष र पीडा खेपिरहेकी छु ।
एघारौं दिनको दिन घरमा पण्डित बोलाएर मेरो न्वारन गरिएछ र नाम पनि राखियो । तीजको समय म ३ वर्षको हुँदा मेरो बुवा आफ्नी दिदीलाई लिन चितवन आउनु भएको थियो ।
तीज मनाएर दिदीलाई छोड्न फेरि चितवन आउनु भयो । चितवनको व्यापारिक क्षेत्र वुवालाई राम्रो लागेछ । र, यतै बस्ने मनोसाय बनाएर पोखरा कास्की घर फर्किनु भयो ।
हाम्रो उज्जवल भविष्यको सपना बोकेर ३ वर्षको म अथवा हाम्रो परिवार सबैलाई लिएर चितवन आउनु भयो । चितवन आएपछि मेरो भाइको जन्म भयो र हामी ३ जनाबाट ४ जनामा परिवर्तन भयाै ।
दुई सन्तान ईश्वरको वरदान भने जस्तै अब अरू सन्तानको आशा नगर्दै उहाँहरूले परिवार नियोजनको स्थायी साधन प्रयोग गर्नु भएछ । आज भन्दा १४ वर्ष अगाडि पोखरा कास्कीबाट हामी चितवन आएका थियाै ।
आफ्नो भविष्य बनाउन, उचित शिक्षा पाउन र भौतिक आवश्यकताहरू सजिलै पूरा होस् भन्ने सोंचमा । चितवनमा आफ्नो घर त थिएन, भाडाको घरमा बस्यौ । र बुवाले व्यापार–व्यवसाय गर्ने सोंच बनाउनु भयो ।
चितवन आएको १ वर्षपछि म ४ वर्षको हँुदा मलाई सरकारी स्कुलमा भर्ना गरियो । सरकारी स्कुल भएपनि त्यो बेलाको चितवनको १ नम्बरमा गनिँदो रहेछ ।
आदिकवि भानुभक्त माध्यमिक विद्यालय, त्यतिबेला माध्यमिक नै थियो । म ४ वर्षको भए पनि नर्सरीमा भर्ना गरिएको थियो तर १७ दिनमै मैले कदेखि ज्ञसम्म कण्ठ पारेको थिएँ रे । नर्सरीबाट १ मा जाँदा प्रथम भएकी म पढाईमा निकै टाठी थिएँ रे । मेरो मिहिनेत पनि त्यहि दिनदेखि सुरु भयो । पढाई राम्रो भएको कारणले हो वा मेरो भाग्य भनौ, मलाई एउटा अन्तर्राष्ट्रिय संस्थाले निःशुल्क पढाउनी भएछ, कक्षा १ देखि १० सम्म । त्यो पनि आफूले रोजेको विषय । स्कुलको पढाई शुल्क मात्र नभै उनीहरूले कपि, कलम, ड्रेस, ब्याग पढ्नका लागि चाहिने हरेक सामान उनीहरूले नै दिने भएछन् ।
व्यापार–व्यवसाय पेसा अंगालेर जेनतेन आफ्नो परिवार पाल्नु भएको मेरो बुवाको काँधबाट मेरो पढाइको जिम्मेवारी कम भयो ।
पढाई सँग–सँगै म बिरामी हुँदा उपचार खर्च पनि सोही संस्थाले नै व्योहोरने गर्थे । म मात्र होइन म जस्ता २० लाखभन्दा बढी नेपाली बालिकाहरूको शिक्षाको जिम्मा त्यो संस्थाले लिएको थियो ।
म पढ्ने स्कुलबाट चाहिँ ३० जना थिए । गरिब तथा जेहेन्दार विद्यार्थीलाई उनीहरूले यो अवसर दिने गरेका थिए । हाम्रो परिवार भने मध्यम वर्गको थियो । मेैले भने मेरो पढाईका कारण यो अवसर पाएकी थिए ।
शहरको ठाउँ ४ जनाको परिवार, बाबा एक जनाको कमाईमा हामी ४ जनाको ज्यान पाल्नु पर्थ्याे  । त्यो पनि भाँडाको घरमा बसेर । सुरु–सुरुमा व्यापार राम्रै चलेपनि पछि–पछि भने सोंचेको जस्तो कमाई हुन छोड्यो । मेरो पढाइको खर्चको बोझ त कम थिया तर भाइ पनि भएको कारण हाम्रो आवश्यकताहरू पनि दिनानुदिन बढ्दो थिए । पुर्खाको सम्पत्ति पनि त्यति थिएन । सानै उमेरबाट बाबाले धेरै दुःख गर्नु भएको थियो र अहिले आफूले जति नै दुख भोगे पनि मेरो सन्तानले मैले जस्तो दुःख भोग्न नपरोस् भन्दै आफू विदेशिने सोंच बनाउनु भयो ।
नभन्दै ०६३ मा बाबाको कतारको भिषा लाग्यो र उहाँ हामी ३ जनालाई नेपाल छोडेर जानुभयो । त्यो समयमा अहिलेको जस्तो मोबाइल फोन सबैको हात–हातमा थिएन ।
कहिलेकाँही पसलमा गएर टेलिफोनबाट बाबासँग कुरा हुन्थ्यो भने कहिले काहीँ चिठ्ठी पनि पठाउने गर्नु हुन्थ्यो ।
बाबा विदेश जाँदा लागेको खर्च ठूलोबुबाले तिर्नुभएको थियो । आफ्नो मान्छेलाई केही समयपछि पैसा दिँदा पनि हुन्छ भनेर बुबाको सल्लाह अनुसार पहिला ऋण नतिरी फूपूको घर नजिकै आफ्नो घर किन्यांै ।
भाडाको घरबाट हामी आफ्नो घरमा बस्न लागेउ र बिस्तारै–बिस्तारै यताउताको ऋण पनि तिर्न भनेर बुवाले पैसा पठाउनु भयो र हामीले ति¥यांै ।
मलाई राम्रोसँग याद त छैन तर चिठ्ठीहरूमा हाम्रो यताको फोटोहरू आमाले बुवालाई पठाउनु हुन्थ्यो रे ।
यो सबै कुरा म ठूलो भएपछि बुबाले भन्नुभएको थियो ।
सबै घटनाहरू त राम्रोसँग याद छैन तर घर किनेपछि त्यो बेला भर्खर–भर्खर चलेको नोकिया सेटको मोबाइल फोन पठाइदिनु भएको थियो । बुवालाई उता काम गर्न गार्हो त हुँदो हो तर हाम्रो हरेक हरेक आवश्यकताहरू भने भन्ने बित्तिकै पूरा गरिदिनु हुन्थ्यो । केही चिजको कमी थिएन हामीलाई ।
तर भाग्यको खेल……०६५ साल माघ महिनामा हामीलाई भेट्न बाबा नेपाल फर्किने भन्नुभएको थियो ।
एक दिनको कुरा हो घरमा म, भाइ अनि ममी थियौं । ०६५ कै कुरा हो वैशाखको १३ गते घरमा एउटा अपरिचित व्यक्ति (केटा)आएको थियो । हामी बच्चाहरूलाई को मान्छे हो, किन आयो भन्ने कुरामा खासै चासो हुन्थेन । स्कुल बिदा थियो त्यतिबेला, भाइ र म खेल्दै थियांै । त्यो मान्छेले हामीलाई टन्नै खानेकुरा ल्याइ दिएको थियो । बच्चाको मन खानेकुरा भने पछि त्यसै रमाउँछ ।
साँझ पर्दै गयो त्यो व्यक्ति घरमै थियो । आमाले खाना पकाएर हामीलाई खान दिनु भयो र खाना खाएर भाइ र म छिट्टै सुतेउ । दिनभर खेलेको वैशाखको चर्को घाममा, थाकेको भएर होला छिट्टै निदाएछाै पनि । रातको करिब ११ बजे बाहिरबाट ओए ढोका खोल भनेर चर्को स्वरमा आवाज आयो । टिनको ढोका थियो बिस्तारै हाने पनि ठूलै आवाज सुन्निथ्यो ।
निन्द्रामा झस्किएँ, डर पनि लाग्यो । झ्यालबाट बाहिर हेर्दा एक हुल मान्छे थिए । र एक स्वरमा ढोका खोल भनेर चिच्याइरहेका थिए ।
म र भाइ के भएछ भनेर आमा–आमा भन्दै आत्तियौं । उठेर तल आउँदा आमा अर्धनग्न अवस्थामा हुनु हुन्थ्यो । बाहिरबाट भने छिटो ढोका खोल भन्दै आइमाई र लोग्ने मान्छेको आवाज एकैचोटि मिसिएर आएको थियो । यस्तो लाग्थ्यो पूरै समाज नै उठेर आएको जस्तो ।
म रुँदै सोध्न लागें आमा के भयो ? किन ढोका हानेका उनीहरूले ? हामीले केही गलत काम गर्यां र ? आमा मौन हुनुहुन्थ्यो ।
म भने रुँदै आमा ढोका खोलाैन के भएछ भन्दै थिएँ । म रोएको आवाज सुनेर होला बाहिरका मान्छेले नानी डराई नानी भन्ने आवाज भित्र आयो ।
सँगसँगै बाहिरबाट एउटा यस्तो आवाज पनि आयो नानी खाटमुनि कोही छ, हेर त । म डराउँदै हेरें यो त अघि दिउँसो आएको मान्छे पो हो ।
यति राति हाम्रो घरमा त्यो पनि खाटमुनि अर्धनग्न अवस्थामा । जुन दृश्य देखेर म आत्तिएँ, चिच्याएँ ढोका खोल्नू, ढोका खोल्नू भन्दै । भाइ पनि म सँगै रुँदै थियो ।
ढोका नखुलेपछि बाहिरबाट बेस्सरी धक्का हानेर बाहिरका मान्छेले ढोका खोले ।
बाहिर त मेरो फूपू, फूपूको छोराछोरीलगायत पूरै समाज नै मेरो घरको आँगनमा आएको रहेछ ।
मेरो ममी र त्यो मान्छे भने अर्धनग्न अवस्थामा । समाजले पुलिस पनि बोलाएर ल्याएको रहेछ ।
रातको ११ बजेको थियो तर मान्छेहरू १० बजेबाट नै घरबाहिर आएर चिहाउँदै बसेका रहेछन् । आइमाई मान्छे अनि केटाकेटी मात्र भएको घरमा त्यो नचिनेको मान्छे किन आयो भनेर वरिपरी छिमेकी सबैले शंका गर्दे हाम्रो फूपूलाई खबर गरेर मान्छे जम्मा भएका रहेछन् ।
ढोका खोलेपछि केही मान्छेहरूले फोटो खिचे त कसैले भिडियो । पुलिस पनि आएका हुनाले त्यो मान्छे र मेरो आमालाई लिएर गयो । म र भाइ ममीको हात समातेर आमा नजानु न, नजानु, हामीलाई छोडेर भन्दै रोयौं तर अहं कसैले सुनेन । आखिर लगेरै छाडे । रातीको १२ बज्यो मलाई र भाइलाई फूपूको घर लगियो, रातभर आमा जाने आमा भन्दै रोएँ तर रुँदारुँदै फूपूको काखमा निदाएछु ।
भोेलिपल्ट बिहानै, ठूलोबुबा पोखराबाट आउनु भयो । राति खिचेको सबै फोटो अनि भिडियो उहाँलाई देखाएर मेरो बाबालाई पनि सबै खबर गरेछन् ।
र फूपू, ठूलोबुबा अनि समाजका केही प्रतिष्ठित व्यक्तिहरू भएर पुलिस स्टेशन जान तयार भए म पनि रुँदै जान्छु भने र मलाई र भाइलाई पनि लिएर गए ।
त्यहाँ पुगेर हामीलाई सिधै आमा भएको ठाउँमा लगियो तर आमाले एकचोटी पनि हाम्रो मुखमा हेर्नुभएन । आमाको मन हो, आफ्नो सन्तान प्रति माया लाग्नुपर्ने रगतको नाता, उसको प्रसव वेदना जोडिएको छ हामीसँग तर अहं.. पापिनीको मनमा हाम्रो लागि कत्ति पनि माया थिएन ।
उसको त्यो व्यवहार देखेर त्यहाको मान्छेले थुथु गर्न लागे तर अहं… एकचोटी पनि हेरिन हाम्रो मुखमा । एकचोटी नानी भनेर बोलाएको भएपनि, सायद आमा हो, मनमा माया छ भन्ने हुन्थ्यो तर बोलाउनु त टाढाको कुरा हाम्रो मुखमा पनि हेरिनन् ।
त्यो व्यक्ति (केटा) र उसलाई सँगै राखिएको थियो । ठूलोबाबाले सम्झाउँदै जे गरिस् नराम्रो नै गरिस् हाम्रो इज्जतमा त दाग लगाइस् अब छोड् यो कुरालाई । सबै कुरा बिर्सिएर अब छोराछोरी सम्हालेर बस्, हिंड म सँग पोखरा भन्नुभयो ।
तर त्यो आइमाईलाई आफ्नो छोरा÷छोरीको भन्दा बढी माया त्यो मान्छेको माया रहेछ । आखिर उसले आमाजस्तो पवित्र सम्बन्धमा दाग लगाई । ठूलोबुबाले यति भनेर सम्झाउँदा अहं..उसलाई लागेन उसले म उसै सँग जान्छु भनी । त्यहाँ भएका सबै जनाले सम्झाए यस्तो नगर भनेर तर मानिन ।
अनि सबैले भने त त्यसैसँग जाने भए आफ्नो छोराछोरी पनि लैजा भनेर तर अहं… कत्ति पनि मानिन र आखिर हाम्रो अनुहारमा एकचोटि नहेरि त्यही पुरुषसँग नै गई । आमा–आमा भन्दै रोएँ तर फर्केर हेरिन । कत्तिसम्म निर्दयी हो त्यो आमा जसले सन्तानलाई के सहि के गलत भनेर छुट्टाउने सिकाउने आफ्नो हात समातेर दुनियाँ जित्न सिकाउने उमेरमा आफ्नै नराम्रो याद छोडेर गई ।
जन्म त दिइन तर आमा भनेर सुनिनन् । त्यो कालो रात र त्यो कालो दिन भुल्छु भनेर पनि भुल्न सक्दिन, बिर्सन सक्दिन । जन्म त दिइन् तर आमाको सबै बन्धन तोडेर गइन् ।
कसरी आमा भनु म उनलाई जसलाई आमा भएर आफ्नो कर्तव्य बोध पनि छैन । चार जनाको सुखी परिवार थियो हाम्रो तर एकजनाको गल्तीले सबैको जीवन तहसनहस भयो । केही कमी थिएन बुवाको भौतिक मायामा तर शारीरिक सुखको लागि मान्छेहरू यो हदसम्म गिर्न सक्दा रहेछन् ।
के शरीर नै सबै भन्दा ठूलो सुख हो ? शारीरिक भोगका लागि आफूले जन्म दिएको सन्तानको माया पनि लागेन, कति सम्म निर्दयी ती आमाको मन ।
भनिन्छ नि, काँचो माटोमा जस्तो आकृति बनायो उस्तै चित्र बसिदिन्छ, हो त्यस्तै भयो मेरो मन पनि,आफ्नो आकृतिको नमिठो याद छाडेर गइन् । उनलाई आफ्नो आमा भन्न पनि लाज लाग्छ । लाजभन्दा पनि घृणा बढी लाग्छ ।
कत्ति पनि खोत्लन मन थिएन ती यादहरू । एकदिन को कुरा हो म भरतपुरको दिपेन्द्र चोकमा काममा आउन भनेर बस कुरिरहेको थिएँ । अचानक उनी जस्तै एक जना महिला मेरो नजर अगाडिबाट गइन् ।
हामीलाई छाडेर गएको ९ वर्ष पूरा भयो तर अहिलेसम्म एकचोटी फर्केर आएकी छैनन् । आफ्नो छोराछोरी कुन हालतमा छन् भनेर बुझ्न पनि नखोजेको मान्छे कसरी आउन सक्छिन् भनेर नियालें ।
उनी होइन होला भनेर नजर मोडे तर फेरि आँखा त्यतै गयो र म पक्का भए उनी नै थिइन् । आमा भनेर पनि बोलाएँ, तर फर्किनन् । दुई÷तीन चोटि चिच्याएर बोलाएँ, फर्किनन् तर म झस्किएँ आफै चिच्याएको ठूलो आवाजले । सपना देखिरहेको रहेछु । आँसु झर्यो फेरि बिर्सन लागेको कुरा सम्झेर । जाने बेला त फर्केर हेरिनन् तर आज अचानक ९ वर्षपछि सपनामा आउँदा पनि फर्केर हेरिनन् ।
कसैको याद स्मृतिमा यतिसम्म गडेर बसेको छ नि आउँछ मात्र तर फर्केर जान मान्दैन अनि जसको याद हो उसलाई हाम्रो याद छ वा छैन, त्यो पत्तो नै छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार